
काठमाडौं महानगरपालिकाले उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको उपाधि रक्षा गरेको छ । गोदावरी– १० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा काठमाडौंले आयोजक गोदावरी नगरपालिकालाई सडनडेथमा ८–७ ले निराश बनायो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । प्रतियोगिताको विजेता काठमाडौंले पाँच लाख र उपविजेता गोदावरीले तीन लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे । सेमिफाइनलमा काठमाडौंले कीर्तिपुर नगरपालिकालाई ३–० तथा गोदावरीले दक्षिणकाली नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेका थिए ।
यसैगरी, काठमाडौंले समूह चरणमा चाँगुनारायण नगरपालिकालाई ५–० र मध्यपुरथिमि नगरपालिकालाई १–० ले हराएको थियो । यता समूह चरणमा महालक्ष्मी नगरपालिकालाई ६–१ ले तथा बागमती गाउँपालिकालाई ७–० ले हराएको गोदावरीले ललितपुर महानगरपालिकासँग १–१ को बराबरी खेलेको थियो । प्रतियोगितामा काठमाडौं उत्यकाका १३ पालिकाको सहभागिता थियो ।