१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३ शनिबार
  • Saturday, 17 May, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ जेठ ३ शनिबार १८:३५:oo
Read Time : > 1 मिनेट
समाचार

नेपाल र चीन सरकारका प्रतिनिधिबिच किमाथांकामा भेटघाट

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ जेठ ३ शनिबार १८:३५:oo

नेपाल सरकार र चीन सरकारका प्रतिनिधिबिच शनिबार किमाथांकामा भेटवार्ता भएको छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल र चीन सरकारका प्रतिनिधिहरूबिच भेटवार्ता भएको हो। 

भेटवार्ताका क्रममा सीमा सुरक्षा, नाका नियमित बनाउने, सीमा क्षेत्रका संरचना निर्माणलगायत विषयमा छलफल भएको संखुवासभाका प्रजिअ पोखरेलले बताए। प्रजिअ र प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको टोली शनिबार बिहान ८ बजे हेलिकोप्टरमार्फत किमाथांका पुगेका थिए। प्रजिअ पोखरेलले नेपाल र चीन जोड्ने मितेरी पुल र सडक निर्माण गर्न चीन सरकार सकारात्मक रहेको र लगानीको वातावरण बनाइदिन आग्रह गरेको बताए। ‘चीन सरकार नेपालको सिमानाका पुल, सडकजस्ता पूर्वाधारका विषयमा लगानी गर्न सकारात्मक छ। तर, नेपाल सरकारमार्फत औपचारिक आग्रह नभएकाले समस्यामा परेको छ, त्यो वातावरण बनाइदिनुहोस् भनेर उहाँहरूले भन्नुभयो।’ प्रजिअ पोखरेलले भने, ‘मैले सीमा नाका, पुलका साथै भन्सारको विषयमा पनि कुरा उठाए उहाँहरू त्यसमा पनि भौतिक पूर्वाधारको क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ।’

प्रजिअ पोखरेलको टोलीले किमाथांकास्थित भन्सारपरिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सीमा पोस्ट, सिमाना राखिएका विभिन्न सीमास्तम्भहरूको समेत निरीक्षण गरेका थिए। चीनका स्थानीय अधिकारीहरूसँग संक्षिप्त कुराकानी गरी अन्य द्विपक्षीय विषयमा समेत छलफल भएको जनाएको छ।

उत्तर–दक्षिण कोशी राजमार्गलाई महत्वका साथ स्तरोन्नति गरिरहेको हुँदा अबको केही वर्षमा यो नाकाबाट आयात निर्यात हुने नेपालको तर्फबाट जानकारी गराएको प्रजिअ पोखरेलको भनाइ छ।

बिआरआईअन्तर्गत सडक, पुलजस्ता भौतिक पूर्वाधारमा लगानी गर्न चीन सरकार सकारात्मक रहेको उनको भनाइ छ। चीन सरकारले बिआरआईअन्तर्गत सिमाना किमाथांकादेखि नुमसम्म सडक स्तरोन्नति र मितेरी पुल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

पछिल्लो समय किमाथांका नाका नियमित गर्ने विषयमा कुराकानी अघि बढेको छ। गत १४ माघमा किमाथांका नाकासम्म उत्तर-दक्षिण कोशी सडकको ट्र्याक छिचोलिएपछि किमाथांका नाका व्यवस्थित गर्ने विषयले प्राथमिकता पाएको हो।

गत ५ चैतमा सदरमुकाम खाँदबारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना किमाथांका नाकालाई व्यापार आयात निर्यात गर्न कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूसँग दुईदिने अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूतावासका आर्थिक तथा व्यापारिक काउन्सिलर सियू र चिनियाँ दूतावासका सेक्रेटरी चेन योङको उपस्थिति थियो। सियूले नेपालको पूर्वाधारलगायतको क्षेत्रमा चीन सरकार लगानी गर्न सकारात्मक रहेको तर नेपाल सरकारले औपचारिक रूपमा पत्र नलेख्ने गरेको बताएका थिए। 

नेपालका व्यापारीहरू किमाथांका नाका जतिसक्दो चाँडो व्यवस्थित रूपमा खोलिनुपर्ने र खुला रूपमा आयात-निर्यात हुन पाउनुपर्ने माग गर्दै आएका छन्।