१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३ शनिबार
  • Saturday, 17 May, 2025
२o८२ जेठ ३ शनिबार o८:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३ शनिबार o८:२३:oo

प्रमुख प्रतिपक्ष दल माओवादीले शुक्रबारदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गकेन्द्रित जनतासँग माओवादी जागरण अभियानको थालनी गरेको छ । तराईका जिल्लामा हुलाकी राजमार्गकेन्द्रित अभियान सकेपछि माओवादी पहाड उक्लिएको हो । 

पाटनमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गआसपासमा बस्ने नागरिकका समस्या सुनेर सिंहदरबारसम्म पु¥याउने र सरकारका गलत काममाथि खबरदारी गर्ने बताए । ‘मध्यपहाडका समस्या सिंहदरबारलाई सुनाउन यो अभियान चलाएको हो । राजमार्गकेन्द्रित माओवादीका अभियान तराई, पहाड र हिमालका बासिन्दाका कुरा सुन्ने र उनीहरूलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने रहेको छ,’ हुलाकी मार्गमा बसोबास गर्ने नागरिकका समस्या सुनेर वर्तमान सरकारसमक्ष प्रस्तुत गरेको बताउँदै प्रचण्डले भने । 

प्रचण्डले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा सुशासनको पक्षमा काम गरेकाले बिचौलिया, दलालले सरकारबाट बाहिर आउन बाध्य पारेको दोहो¥याए । उनले सरकारका कामप्रति असन्तुष्टि व्यक्त गरे । ‘यो सरकारले भ्रष्टाचारीलाई सम्मानित गर्ने, राम्रा मान्छेलाई दण्डित, अपमानित गर्ने गरेको छ,’ उनले भने, ‘अहिलेको गठबन्धनको सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन । त्यसमा अनेक खालका चलखेल र प्रपञ्च भएका छन् । यो सरकार बिल्कुल गलत दिशातिर गएको छ ।’ 

प्रचण्डले मध्यपहाडी लोकमार्गबाटै सरकारका गलत कामविरुद्ध चुनौती दिने दाबी गरे । ‘म सरकारलाई यहीँबाट चुनौती दिन चाहन्छु, तपाईंहरूले यसरी नै जनताको आवाजलाई, जनताको मतलाई बेवास्ता गरेर भ्रष्टाचारलाइ नै प्रशय दिने, विकृति–विसंगतिलाई नै प्रशय दिने हो भने माओवादी मात्र होइन, तराई, मधेश, पहाड, हिमालका र सबै दलका कार्यकर्ता शक्तिशाली आन्दोलनमा आउनुपर्ने अवस्था बन्नेछ । त्यसबाट तपाईं सबैको भविष्य के हुन्छ ? अहिल्यै सोचेर बस्न आग्रह गर्न चाहन्छु,’ उनले भने । पछिल्लो उपनिर्वाचनमा माओवादी एक्लै चुनाव लड्दा पहिलो पार्टी बनेको र स्ववियुमा समेत राम्रो नतिजा आएकाले आउँदो ०८४ मा माओवादी ‘आफ्नै खुट्टामा उभिएर’ चुनाव लड्ने उनले बताए । 

महाकाली करिडोर, कञ्चनपुरमा सुक्खा बन्दरगाह, सुदूरपश्चिम विश्वविद्यालय, दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता सुदूरपश्चिमका ठूला काममा माओवादीको योगदान रहेकोसमेत उनको भनाइ छ ।  

अभियानमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाल तथा महासचिव देव गुरुङसहितका केन्द्रीय नेताको सहभागिता छ ।