१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
Invalid date format ११:४८:oo
Read Time : > 2 मिनेट
अर्थ

निजीकरण गर्न चल्दा–चल्दैका दुई सरकारी सिमेन्ट उद्योग बन्द

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४८:oo

१५ वैशाखको मन्त्रिपरिषद् बैठकले निजीकरण गर्ने निर्णय गरेको पाँच दिनपछि हेटौँडा सिमेन्टको प्लान्ट बन्द, आइतबारदेखि उदयपुर सिमेन्ट पनि ठप्प

चलिरहेका दुई सरकारी सिमेन्ट उद्योगलाई १५ वैशाखको मन्त्रिपरिषद् बैठकले निजीकरण गर्ने निर्णय गरेपछि अहिले बन्द गरिएको छ । निजीकरण गर्ने सरकारी निर्णयलाई सघाउ पुर्‍याउन व्यवस्थापनले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग बन्द गराएका हुन् ।

मन्त्रिपरिषद् बैठकले निजीकरण गर्ने निर्णय लिएको पाँच दिनपछि २० वैशाखमै हेटौँडा सिमेन्ट बन्द गरिएको थियो भने उदयपुर सिमेन्ट उद्योगले मौज्दातमा रहेको कोइला सकेर आइतबारदेखि उत्पादन रोकेको छ । क्लिंकर उत्पादन रोकेका दुवै उद्योगले अहिले सिमेन्ट बिक्रीका लागि उद्योग खुला राखेको जनाएका छन् ।

१५ दिनमा उदयपुरद्वारा सात करोडको सिमेन्ट उत्पादन

उदयपुर सिमेन्टका निमित्त महाप्रबन्धक महेशप्रसाद साहले कोइला अभावका कारण उद्योग बन्द गरेको जानकारी दिए । १५ दिन चलेको उद्योगले सात करोड मूल्यको सिमेन्ट उत्पादन गरेको बताए । ‘१५ दिन चलेर चार हजार आठ सय मेट्रिकटन सिमेन्ट उत्पादन गरी कोइला अभावमा उद्योग बन्द भएको हो,’ उनले भने । उदयपुर सिमेन्टलाई व्यवस्थापकीय रूपमा कमजोर बनाउन सरकारले करिब दुई वर्षदेखि महाप्रबन्धकसमेत नियुक्त गरेको छैन । २५ जेठ ०८० मा तत्कालीन महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले राजीनामा दिएयता साहले निमित्त जिम्मेवारी पाइरहेका छन् ।

साहले तुरुन्तै कोइला किन्ने पैसा अभाव भएकाले उद्योग बन्द गरेको जिकिर गरेका छन् । तर, दैनिक खपतका आधारमा कोइला अभाव नहुने गरी किनेर मौज्दात राख्ने विगतको अभ्यास थियो । यसपटक उद्योग बन्द गराउने नियत राखेरै कोइलाको मौज्दात सकाएको स्रोतको भनाइ छ ।

साहले सरकारबाट प्राप्त गरेको १६ करोड ऋणबाट मर्मत गरी उद्योग चलाएको र ६ करोड रुपैयाँ बाँकी रहेको जानकारी दिए । ‘मर्मतपछि नियमित रूपमा सिमेन्ट उत्पादन गर्ने क्षमता विकास भएको छ,’ साहले भने, ‘तर, निजीकरण गर्ने सरकारको तयारी छ । यसबिचमा कोइला नै अभावका कारण बन्द गर्नुपर्ने बाध्यता पनि भयो ।’ केही नीतिगत र आर्थिक सहयोग गरे उद्योग निजीकरण नगरी पूर्ण क्षमतामा चलाउन सक्ने साहको दाबी छ । ‘उद्योग कुन र कस्तो मोडालिटीमा निजीकरण हुने हो भनेर काम गर्न पनि हतोत्साहित भइरहेको स्थिति छ । उद्योगको सम्पत्तिको मूल्यांकन कसरी हुन्छ भन्ने कुराको अन्योल भएको छ ।’

हेटौँडा सिमेन्टको गोदाममा ५६ हजार बोरा मौज्दात

हेटौँडा सिमेन्ट पनि १० दिनअघिबाटै बन्द छ । उद्योगमन्त्री दामोदर भण्डारीले आफूअनुकूलको निर्णय गराउन उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्त गरेका छन् । चैत अन्तिम साताबाट सञ्चालनमा आएको उद्योगको क्लिंकर उत्पादन गरेर तयारी सिमेन्ट बोरामा प्याकेजिङ गर्ने र ढुंगा क्रसिङ गर्ने काम मात्रै भइरहेको निमित्त प्रबन्धक नवीन कर्णले जानकारी दिए ।

‘उद्योगको किल १० दिनदेखि बन्द छ । मर्मतको काम चलिरहेकाले एक–दुई दिनभित्रमै किल सञ्चालनमा आउँछ,’ उनले भने, ‘ढुंगा क्रसिङ र प्याकेजिङको काम भने चलिरहेको छ ।’ उत्पादन बन्द गरिएको उद्योगमा ५६ हजार बोरा सिमेन्ट मौज्दात रहेको र बिक्रीबाट प्राप्त रकमले तत्काललाई उद्योग सञ्चालन खर्च व्यवस्था गर्ने उनले जानकारी दिए ।

बागमतीका मुख्यमन्त्री भन्छन्–प्रदेशलाई जिम्मेवारी दिए निजीकरण हुन दिन्नौँ, नाफामा जाने गरी आफैँ चलाउँछौँ
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले निजीकरणको सूचीमा परेको हेटौँडा सिमेन्ट उद्योग र जीर्ण रहेको हेटौँडा कपडा उद्योगको स्वामित्व प्रदेशलाई दिए नाफामा चलाएर देखाउने बताएका छन् ।

हेटौँडामा आयोजित ‘मुख्यमन्त्रीसँग युवा संवाद’ कार्यक्रममा बोल्दै उनले भने, ‘हेटौँडा सिमेन्ट र कपडा उद्योग प्रदेश सरकारलाई चलाउन दिइयो भने दुई वर्षमै नाफामा लैजान सक्छौँ । यस विषयमा हामीले अध्ययन, अनुगमन गरिसकेका छौँ,’ उनले भने ।

उनले संघीय सरकारको गलत मानसिकताले सरकारी उद्योगहरू रुग्ण अवस्थामा पुगेको आरोप पनि लगाए । प्रदेशमा उपलब्ध जनशक्ति र स्रोतका भरमा दुवै उद्योगलाई पुनः सञ्चालन गर्न सक्ने क्षमता भए पनि अधिकार नदिएको उनले गुनासो गरे ।