
गर्मीले पठनपाठन प्रभावित हुन थालेपछि सिराहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयमा ‘एक कक्षा, एक पंखा’ कार्यक्रम लागू गरेको छ ।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज नगरप्रमुख महेशप्रसाद चौधरीले विद्यालयका प्रधानाध्यापकलाई कक्षाकोठाको संख्याअनुसार ३३० थान ‘सिलिङ पंखा’ वितरण गरेका हुन् ।
नगरपालिकाले आफ्नो १५औँ नगर सभाबाट चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक कक्षा, एक पंखा’ कार्यक्रम तय गरेअनुसार विद्यालयलाई पंखा वितरण गरिएको नगरप्रमुख चौधरीले बताए । उनले भने, ‘चर्को गर्मीले विद्यार्थीको पठनपाठन प्रभावित भएपछि एक कक्षा, एक पंखा हुनुपर्ने उद्देश्य राखेर पंखा वितरण गरिएको हो । पंखा नपुगेका विद्यालयमा आवश्यकताअनुसार पुनः वितरण गर्नेछौँ ।’
लहान नगरपालिकामा ५९ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये १७ माध्यमिक र ४२ वटा आधारभूत विद्यालय छन् । कक्षाकोठामा पंखा नहुँदा गर्मी मौसममा विद्यार्थीहरूले पढाइ छाड्ने गरेका पाइएपछि नगरको उक्त कार्यक्रममार्फत पंखा वितरण गरिएको नगरको शिक्षा शाखाका कर्मचारी अमिरीप्रसाद यादवले बताए । उनले यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।