
तीन दिनपछि बुधबार साँझबाट आयल निगमले देशभर पेट्रोल–डिजेल वितरण सुरु गरेको छ। रकम संकलन र विद्युतीय बिल जारी गर्ने इआरपी सफ्टवेयर बिग्रिएर सोमबारदेखि निगमले बजारमा पेट्रोल–डिजेल पठाएको थिएन।
बुधबार दिउँसो केन्द्रीय कार्यालयका उच्च अधिकारीहरू नै भक्तपुरको लोकन्थलीस्थित इआरपी कार्यालय पुगेर साँझ सफ्टवेयर मर्मत गरेपछि निगमका देशभर रहेका डिपोले रातिसम्म लगाएर तेल वितरण गरेका छन्।
निगम प्रवक्ता मनोज ठाकुरले सफ्टवेयर सञ्चालनमा आएलगत्तै साँझदेखि देशभरका डिपोले मागअनुसार पेट्रोल–डिजेल बिक्री गरेको बताए। ‘उच्च भोल्टेजका कारण सफ्टवेयर बिग्रिएको थियो। बुधबार साँझ मर्मतपछि काम सुरु भएको छ,’ उनले भने। उनले देशभर इन्धन अभाव नहुने गरी डिपोहरूले रातिसम्म काम गरेको बताए।
कोशी प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख पुस्कर कार्कीका अनुसार साँझ ६ बजेदेखि राति ९ बजेसम्म एक लाख ८० हजार लिटर पेट्रोल र दुई लाख लिटर डिजेल वितरण गरेको जानकारी दिए।
यस्तै, मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख प्रलयंकर आचार्यले ५ लाख ६० हजार लिटर पेट्रोल र १५ लाख ८० हजार लिटर डिजेल बिक्री गरेको जानकारी दिए। ‘पेट्रोल पम्पले मागेजति तेल दिएका छाैँ,’ आचार्यले भने ।
काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा इन्धन वितरण गर्ने थानकोटबाट बुधबार रातिसम्म पेट्रोल सात लाख ५० हजार लिटर र डिजेल आठ लाख लिटर वितरण गरेको कार्यालय प्रमुख अशोक साहले जानकारी दिए।
थानकोटको वितरण प्रणाली सहज बनाउन केन्द्रीय कार्यालयबाट नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइत र वितरण विभाग प्रमुख पूर्ण रिजाल पनि खटिएका थिए।
गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख रामकुमार न्यौपानेका अनुसार १ लाख ७० हजार लिटर पेट्रोल र ३ लाख लिटर डिजेल वितरण भएको छ।
लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाका प्रमुख शैलेन्द्र भुसालले राति अबेरसम्म लगाएर ४ लाख ६९ हजार लिटर पेट्रोल र १० लाख ५७ हजार लिटर डिजेल वितरण गरेको जानकारी दिए। उनले प्रदेशभर अभाव नहुने गरी पेट्रोल पम्पको मागअनुसार इन्धन वितरण गरेको जानकारी दिए।
इन्धन डिपो, नेपालगन्जका प्रमुख मनोहर डिसीका अनुसार पेट्रोल १ लाख ५० हजार लिटर र डिजेल ५ लाख ८२ हजार लिटर बिक्री भएको छ। कर्णाली प्रदेशका लागि पेट्रोल ४० हजार लिटर र डिजेल एक लाख २० हजार लिटर बिक्री भएको सुर्खेत कार्यालय प्रमुख दीपक घिमिरेले जानकारी दिए।
इआरपी सफ्वेयरमा आएको समस्याले हवाई इन्धन वितरणमा पनि असर नगरेको काठमाडौंको सिनामंगलस्थित इन्धन डिपो कार्यालय प्रमुख प्रदीप यादवले जानकारी दिए। वायु सेवा कम्पनीबाट अग्रिम धरौटी लिएर मात्रै तेल दिने प्रणाली भएकाले निगमको आन्तरिक समस्याले हवाई इन्धन वितरणमा असर नगर्ने यादवले बताए।
सुदूरपश्चिममा ४० हजार लिटर पेट्रोल र १ लाख ८० हजार लिटर डिजेल बिक्री भएको धनगढी डिपोमा कार्यरत इन्जिनियर जगदीश जोशीले जानकारी दिए।