Skip This
शहीद मेमोरियल अस्पताल मापदण्डविपरीत सञ्चालनमा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
२o८२ बैशाख ३१ बुधबार २१:३१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

शहीद मेमोरियल अस्पताल मापदण्डविपरीत सञ्चालनमा 

नियामक निकायको नाम मात्रको अनुगमन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार २१:३१:oo

धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेँसीस्थित क्याम्पस चोकमै दुई ठुला अस्पताल सञ्चालनमा छन्। एउटा सरकारी धादिङ अस्पताल, अर्काे निजीस्तरबाट सञ्चालित शहीद मेमोरियल अस्पताल । सरकारी अस्पतालको करिब २० मिटर दूरीमा रहेको शहीद मेमोरियल अस्पतालले सामान्य मापदण्डसमेत पूरा नगरी सेवा प्रवाह गर्दै आइरहेको छ। सरकारीस्तरबाट भएको अनुगमन र निर्देशनलाई समेत अटेर गर्दै यो अस्पताल मापदण्डविपरीत चलिरहेको छ।

१५ शय्या क्षमताको स्वीकृति लिएको शहीद मेमोरियल अस्पताल नवीकरण भएको छैन । सरकारी अस्पतालको करिव पाँच सय मिटर दूरीभित्र अर्काे अस्पताल सञ्चालन गर्न नपाइने मापदण्ड भए पनि यस अस्पतालले कसरी अनुमति पायो अन्योल छ। अनुमति लिएपछिका कतिपय मापदण्डसमेत पूरा नगरेको जिल्ला अनुगमन समितिले जनाएको छ। 

अस्पतालका प्रबन्ध निर्देशक दीपक रेग्मी भने ५० शय्या क्षमता विस्तारको लागि प्रक्रियामा रहेकोले नवीकरण नगरेको बताउँछन् । ‘आकस्मिक सेवाबाहेक अन्य सेवा सुरु भएको छैन । शनिबार काठमाडौंबाट रेडियोलोजिस्टहरू आउनुहुन्छ, मेसिन राम्रो छ यसकारण उक्त सेवा दिइरहेका छौँ । १५ शय्या क्षमताको हो, तर ५० शय्या क्षमता बनाउने प्रक्रियामा छौ। केही मापदण्ड पूरा भएका छैनन्, ती पनि पूरा गर्छाैँ,’ उनले भने ।

०६४ मा १५ शय्याको अनुमति लिएर सुरु गरेको अस्पतालले अहिले ५० शय्या क्षमता विस्तारसहित विशेषज्ञ सेवा, अत्याधुनिक प्रविधियुक्त भन्दै विज्ञापन गरिरहेको छ। तर, अस्पतालमा एकजना हेल्थ असिस्टेन्ट मात्रै छन् । अस्पतालले बिरामी भर्ना गरेर सेवा सुरु नगरेकाले चिकित्सक एकजना पनि नरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ। 

धादिङ अस्पतालकै डाक्टरहरूसँग समन्वय गरी बिरामी तान्ने र मोटो रकम असुल्ने गरेको सेवाग्राहीहरूको आरोप छ । स्थानीय राजकुमार श्रेष्ठ भन्छन्– शहीद अस्पतालमा पनि धादिङ अस्पतालका डाक्टरहरूले सेवा दिन्छन् । धादिङ अस्पतालमा पुगेका बिरामीलाई डाक्टरहरूले शहीद अस्पतालमा जान सिफारिस गर्छन् । धादिङ अस्पताल र शहीद मेमोरियल अस्पतालबिच डाक्टर मात्र होइनन्, भित्रभित्रै सेवा र बिरामीसमेत ऐँचोपैँचो चल्छ ।’ 

शहीद मेमोरियल अस्पताल अनुगमन गर्न बुधबार पुगेका जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेसहितको टोली सामान्य कागजपत्र मात्रै हेरेर फर्किएको छ । न त फार्मेसीको अनुगमन भयो, न त अन्य सेवाका विषयमा सोधखोज नै । अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारीले भने, ‘सेवा कस्तो छ, औषधिलगायत सामानको डेट छ, छैन हेर्ने हो । कानुनी प्रक्रिया र मापदण्डबारेमा हामी जानकार होइनौँ, सम्बन्धित निकायमा जानकारी गराउछौँ, कारबाही र अन्य विषयमा माथिको टोली आउनुपर्छ।’ 

शय्या विस्तारको बहानामा मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको अस्पतालले बुधबार अनुगमन टोली पुग्दा पनि बिरामीको उपचार गराइरहेको थियो। तर, जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक किरण नगरकोटी भने अस्पतालले सेवा प्रवाह नगरेको बताउँछन्। ‘१५ शय्या सञ्चालनको स्वीकृति लिएर सेवा सुरु गरेको रहेछ। अहिले ५० शय्या विस्तारकाे पक्रियामा रहेछ,’ उनले भने, ‘अस्पताल सञ्चालनमा रहे पनि बिरामी भर्ना गरेर सेवा दिएको रहेनछ।’ 

स्वास्थ्य मन्त्रालयको नीति नियम तथा निर्धारित मापदण्डअनुसार स्वीकृतिअनुसार अस्पताल सञ्चालन नभए जुनसुकै समयमा स्वीकृति रद्द हुनेछ। तर, अनुगमन टोलीले अस्पताललाई नवीकरण नभई सेवा प्रवाह गरिरहेको देख्दादेख्दै हलुको निर्देशन दिएर फर्किएको छ। 

नीलकण्ठ नगरपालिकाका नगर प्रमुखदेखि विभिन्न सरकारी संघ संस्थाका प्रमुखहरू मापदण्डविपरीत सञ्चालनमा रहेको अस्पतालको विषयमा मौन छन् । स्वास्थ्य मन्त्रालयले समेत मापदण्ड पालनमा कडाइ नगरेका कारण यस्ता स्वास्थ्य संस्थाहरू मनपरी ढंगले सञ्चालनमा छन्।