
दुई आणविक अस्त्रसम्पन्न मुलुक भारत र पाकिस्तानबिच हालैको तनावका क्रममा ११ पाकिस्तानी सैनिक मारिएको र थप ७८ घाइते भएको पाकिस्तानी सेनाको मिडिया शाखाले मंगलबार एक विज्ञप्तिमा खुलाएको ‘द डन’ले लेखेको छ ।
सेनाको विज्ञप्तिमा सात महिला र १५ बालबालिकासहित ४० नागरिकको ज्यान गएको र १२१ अन्य घाइते भएको उल्लेख भएको समाचारमा उल्लेख छ । अप्रिल २२ मा भारत प्रशासित कस्मिरको पहलगाममा २६ जना पर्यटकको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणमा इस्लामाबादको संलग्नता रहेको आरोप लगाएर भारतले आक्रमण गरेपछि युद्ध सुरु भएको हो ।
मे ६–७ को रात नयाँदिल्लीले अप्रेसन सिन्दूरको नाममा पाकिस्तानमा शृंखलाबद्ध हवाई हमला सुरु गरेको थियो । त्यसपछि दुवै पक्षले एक–अर्कामाथि मिसाइल हानेका थिए ।
अमेरिकी हस्ताक्षेपछि दुई पक्षले युद्धविराममा सहमति जनाएको अमेरिकी पक्षले बताएको छ । शनिबार दुई देशबिचको तनाव चरम सीमामा पुगेको समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूको मध्यस्थतापछि भारत र पाकिस्तानबिच युद्धविराम भएको घोषणा गरेका थिए ।