
१४ टोली सहभागी ‘बी’ डिभिजन लिगमा सात हार व्यहोरेको नयाँबस्ती अंकतालिकाको पुछारमा
सहिद स्मारक ‘बी’ डिभिजन लिगको ११ मध्ये सात खेलमा हार व्यहोरेपछि नयाँबस्ती युवा क्लबलाई रेलिगेसनको दबाब बढेको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा झापा एफसीले नयाँ वस्तीमाथि ३–१ को जित निकाल्यो । झापासँगको व्यहोरेको हारसँगै नयाँबस्तीमाथि रेलिगेसनको दबाब बढेको हो । १४ टोली सहभागी ‘बी’ डिभिजन लिगमा लगातार हारले नयाँबस्तीको यसै क्षेत्रमा रहने सम्भावना गणितीय आधार मात्र बाँकी रहेको छ ।
नयाँबस्ती आठ अंकका साथ तालिकाको पुछारमा छ । जितसँगै झापा ११ खेलमा १५ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ । लिगको ११औँ चरण हुँदा शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेड ‘ए’ डिभिजनमा उक्लिन मात्र एक जित टाढा छ । प्लानिङले १० खेलबाट २४ अंक जोडेको छ । समान खेलबाट २२ अंक जोडेको श्री भगवती क्लब दोस्रो स्थानमा छ । ‘ए’ डिभिजनमा उक्लिन भगवतीलाई तीन खेलमा चार अंक आवश्यक छ । सरस्वती युवा क्लब ९ र नयाँबस्ती युवा क्लब ८ अंकका साथ तालिकाको पुछारमा छन् । झापालाई जित दिलाउन राजेश दाहालले दुई तथा बबिन बोहराले एक गोल गरेका थिए । नयाँबस्तीका लागि सुमन योङ्याले एक गोल फर्काएका हुन् । खेलको पाँचौँ मिनेटमा बबिनको गोलमा झापाले अग्रता लिएको थियो । खेलको ३९औँ मिनेटमा राजेशले २–० को सहज अवस्थामा पुर्याए । सुमनले ६८औँ मिनेटमा गोल गर्दै नयाँबस्तीलाई खेलमा फर्काउने प्रयास गरे । राजेशले ८५औँ मिनेटमा गोल गर्दै झापालाई सहज जित दिलाउन सफल भएका हुन् ।
आरसिटीको अवस्था सहज बन्दै
लगातार जितसँगै रानीपोखरी कर्नर टिम (आरसिटी) ‘बी’ डिभिजन लिगको सहज अवस्थामा पुगेको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग ६ पटक जितेको आरसिटी कुनै समयमा रेलिगेसनमा पर्ने सम्भावना थियो । लगातार जितपछि आरसिटी सहज अवस्थामा आफूलाई पुर्याएको छ । सोमबार भएको खेलमा आरसिटीले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई २–१ ले हरायो । आरसिटीका लागि अजित गुरुङ र निखिल तामाङले गोल गरेका थिए । बिबिसीका लागि अभिषेक रानामगरले एक गोल फर्काए ।
जितसँगै आरसिटी रेलिगेसन खतराबाट अगाडि बढेको छ । आरसिटी १४ अंकका साथ सातौँ स्थानमा उक्लियो । हारले बिबिसीलाई रेलिगेसन मन्डराएको छ । बिबिसी १२ अंक जोड्दै १०औँ स्थानमा छ । दुई खेल बाँकी रहँदा बिबिसीलाई बाँकी दुई खेल जित्नैपर्ने दबाब छ । खेलको १४औँ मिनेटमा अजितले आरसिटीलाई अग्रता दिलाएका थिए । ८२औँ मिनेटमा निखिलले अग्रतालाई दोब्बर बनाए । इन्जुरी समयमा अभिषेकले एक गोल फर्काएका हुन् ।