Skip This
सैनिक कल्याणकारी कोषमा ठगी : पूर्वमेजरलाई नेपाल ल्याउन इन्टरपोलको सहयोग माग 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ३० मंगलबार o७:२९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सैनिक कल्याणकारी कोषमा ठगी : पूर्वमेजरलाई नेपाल ल्याउन इन्टरपोलको सहयोग माग 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार o७:२९:oo

नेपाली सेनाको कल्याणकारी कोषमा हिनामिना गरी विदेश फरार भएका दुई पूर्वसेनानी (मेजर)लाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ । आपराधिक लाभ मुद्दामा फरार रहेका पूर्वसेनानी समीरकुमार गुरुङ र लक्ष्मण अधिकारीलाई नेपाल ल्याउन इन्टरपोलको सहयोग मागिएको हो । 

गुरुङ बेलायत तथा अधिकारी अमेरिका रहेको अनुसन्धानमा खुलेको छ । उनीहरूकै योजनामा सैनिक कल्याणकारी कोषबाट फर्जी सैनिक कर्मचारी खडा गरी उनीहरूको नाममा चेक काटेर हिनामिना भएको थियो । गुरुङविरुद्ध साढे तीन करोड तथा अधिकारीमाथि दुई करोड २१ लाख हिनामिना गरेको अभियोगमा आपराधिक लाभ मुद्दा दायर भइसकेको छ । 

गुरुङलाई गत माघमै प्रहरीले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । पूर्वजमदार रवीन्द्र लुंगेलीलाई पक्राउ गरी त्यसवेला प्रहरीले मुद्दा दायर गरेको थियो । गत बिहीबार प्रहरीले यही घटनामा दोस्रो मुद्दा दायर गरेको हो । पूर्वसेनानी अधिकारी र पूर्वजमदार आत्मराम थापालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । हाकिमहरूको निर्देशनमा काल्पनिक कर्मचारीको नाममा काटिएका चेक साट्न जाने रवीन्द्र र आत्मराज हाल पुर्पक्षका लागि कारागारमा छन् । 

नेपाली सेनाबाटै आएको जाहेरीका आधारमा सो घटनाको अनुसन्धान गरी मुद्दा दायर गरिएको जिल्ला प्रहरीपरिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । किर्ते र हिनामिनामा संलग्न बहालवाला सैनिकमाथि भने सेनाले आफैँ छानबिन गरिरहेको छ । प्रहरी स्रोतका अनुसार विदेशमा फरार भएका आफ्ना पूर्वकर्मचारीलाई नेपाल ल्याउन सेनाले नै इन्टपोलमार्फत समन्वय गर्न आग्रह गरेपछि प्रहरीले प्रक्रिया अघि बढाएको हो । 

गत १ जेठमा अवकाश पाएका सेनानी गुरुङलगत्तै बेलायत गएका थिए । सोही हिनामिनामा संलग्न प्युठ टीकाराम गोतामेमाथि पनि आन्तरिक कारबाही चलिरहेको छ । 

सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गतको आवास तथा बिमा शाखाबाट फर्जी चेक बनाएर लामो समयसम्म रकम हिनामिना भएको हो । सैनिक कर्मचारीले अवकाशको समयमा कल्याणकारी कोषबाट यस्तो सुविधा पाउँछन् । तर, निर्देशनालयमा कार्यरत केही कर्मचारीले फर्जी व्यक्तिको नाममा चेक काटेर पैसा निकाली बाँडीचँुडी गरेर खाएका हुन् । कल्याणकारी कोषका लेखापरीक्षकले यस्तो हिनामिना पत्ता लगाएका हुन् । 

पूर्वसेनानी अधिकारी मुछिएको घटना भने आर्थिक वर्ष ०७४/७५ मा हो । त्यस समयमा एक सय ४४ वटा चेकमार्फत एक करोड ७४ लाख २१ हजार रुपैयाँ हिनामिना भएको थियो । त्यसमध्ये ४० वटा चेक पूर्वजमदार थापाले साटेका थिए । उनले बयानमा भनेका छन्, ‘मिति ०७३/११/९ देखि ०७५/६/१७ सम्मको अवधिमा ४० वटा चेकमार्फत ४७ लाख ६४ हजार एक सय ८५ मैले भुक्तानी लिई सो चेकबमोजिमको सबै रकम तत्कालीन सेनानी लक्ष्मण अधिकारी, तत्कालीन सेनानी बोधराज कार्की र तत्कालीन प्रमुख सेनानी रोशन खड्कालाई नगदै दिएको हुँ । उक्त काम गरेबापत मलाई सेनानी लक्ष्मण अधिकारीसमेतले बिदामा सहुलियत, पेट्रोलको कुपन र क्यान्टिनमा खाजा खाएको पैसा तिरिदिने गरेका थिए । मैले अपचलन गरेको रकम लिएको छैन ।’ प्रहरीमा उनले पैसा नलिएको बताए पनि सेनाको बोर्ड अफ इन्क्वायरीमा भने ३० लाख रुपैयाँ अपचलन गरेको स्विकारेका थिए । 

उनकै बयानका आधारमा हाल पदमै रहेका कार्की र खड्कालाई पनि सेनाले आन्तरिक छानबिन गरिरहेको छ । तर, पूर्वसेनानी कार्की भने फरार भएकाले कतिपय विषय प्रस्ट हुन नसकेको सैनिक स्रोत बताउँछ । चेकमार्फत भुक्तानी दिने प्रणालीको फाइदा उठाएर यस्तो हिनामिना भएको हो । हाल सेनाले अवकाशमा जानेहरूलाई यस्तो सुविधाबापतको रकम बैंक खातामै दिने गरेकाले फर्जी चेकका आधारमा हुने अनियमितता रोकिएको छ । हाल दुईवटा मुद्दा दायर भइसकेकोमा अन्य समयमा पनि यस्तो हिनामिना भएको आशंकामा छानबिन चलिरहेको सैनिक स्रोत बताउँछ । 

सहायक रथी खड्का सेनाको हिरासतमा 
कल्याणकारी कोषको आवास तथा बिमा शाखाबाट भएको हिनामिनामा सहायक रथी रोशन खड्कालाई सेनाले हिरासतमा राखेर छानबिन गरिरहेको छ । प्रमुख सेनानी हुँदा उनी सो हिनामिनामा संलग्न थिए । हालै पक्राउ परेका पूर्वजमदार आत्मराम थापाले काल्पनिक व्यक्तिहरूको नाममा काटिएको चेकको रकम बैंकबाट निकालेर आफूले खड्कालाई समेत बुझाएको बयान दिएका छन् । त्यसपछि उनलाई हिरासतमा लिइएको सैनिक स्रोत बताउँछ । उनीसँगै मेजर बोधराज कार्कीलाई पनि हिरासतमै राखेर छानबिन भइरहेको छ ।