Skip This
प्रदेश युवा सम्मेलनः राज्यको हरेक क्षेत्रमा युवा सहभागिता बढाउन जोड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
२o८२ बैशाख २९ सोमबार २o:३८:oo
Read Time : > 1 मिनेट
समाचार

प्रदेश युवा सम्मेलनः राज्यको हरेक क्षेत्रमा युवा सहभागिता बढाउन जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार २o:३८:oo

बागमती प्रदेशको राजधानी हेटौँडामा जारी तेस्रो संस्करणको प्रदेश युवा सम्मेलनको दोस्रो दिन ‘नीति, नेतृत्व र युवा सहभागिता’ तथा ‘शिक्षा, सिप र सिर्जना’ दुई विषयमा प्यानल छलफल भएको छ। आइतबारबाट सुरु भएको सम्मेलनको सोमबारको सत्रमा युवासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दामा विचार आदानप्रदान गरिएको हो।

सोमबारको पहिलो सत्रअन्तर्गत पत्रकार दिलभूषण पाठकको सहजीकरणमा भएको छलफलमा कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य जीवन परियार, सत्तारूढ दलका प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका युवा नेता पूर्णबहादुर घर्ती प्यानलिस्टको रूपमा सहभागी थिए। छलफलमा नेतृत्व हस्तान्तरण, नीतिगत सहभागिता र युवाको राजनीतिक भूमिकामाथि गहन विमर्श भएको थियो।

नेता परियारले सामाजिक र राजनीतिक परिवर्तनमा युवाको भूमिका निर्णायक रहेको उल्लेख गर्दै युवाले राजनीतिप्रति घृणा होइन, सक्रिय सहभागिता जनाउनुपर्ने बताए। यस्तै, बर्तौलाले युवामैत्री नीतिको फलस्वरूप आफूले नेतृत्वको जिम्मेवारी पाएको तर्क गर्दै देशको स्वाभिमान र समृद्धिको लागि युवाहरु एकजुट हुनुपर्ने धारणा राखे।

नेता घर्तीले उमेर नभई विचार, पद्धति र क्षमता नै नेतृत्वको मापदण्ड हुनुपर्ने बताए। छलफलमा सहभागी युवाहरूले प्रभावकारी युवा नीति कार्यान्वयनको अभाव, महिला, दलित र युवाको न्यून प्रतिनिधित्व तथा पुस्तान्तरणको खाँचोजस्ता विषय उठाएका थिए।

दोस्रो सत्रमा ‘शिक्षा, सिप र सिर्जना’ विषयमा प्यानल छलफल भएको थियो। बागमती प्रदेश सांसद सुष्पा भुजेल, मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष अनन्त पौडेल र शिक्षाविज्ञ अनन्त कश्यप घिमिरे प्यानलिस्टका रूपमा थिए। सांसद भुजेलले १८ देखि ३५ वर्ष उमेर समूहका ६० प्रतिशत युवामा सिपको अभाव रहेको बताउँदै शिक्षालाई सिर्जनशीलतासँग जोड्न नसकिएकोमा चिन्ता व्यक्त गरिन्।

क्याम्पस अध्यक्ष पौडेलले युवा पलायनको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै, नीति निर्माताहरूले यसको गहिरो विश्लेषण गरी समाधानको बाटो खोल्नुपर्ने बताए। छलफलमा सहभागी युवाहरूले डाक्टरजस्ता पेसाकर्मी पनि आन्दोलनमा जानुपर्ने अवस्थाले शिक्षा प्रणालीमाथि प्रश्न उठाएको भन्दै गुनासो गरे।

प्रदेश युवा परिषद् बागमतीको आयोजनामा भइरहेको सम्मेलनले सिर्जनशीलता, उद्यमशीलता र युवा सहभागिता प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। सम्मेलन मंगलबारसम्म चल्नेछ।