
नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा हिनामिनामा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। ६० करोड ३९ लाख ७७ हजार २७१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको थियो।
सुरुमा सरकारको दबाबमा मुद्दा नचलाउने प्रक्रिया अघि बढेकोमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउने निर्णय गरेर सरकारी वकिल कार्यालयलाई सोहीअनुसार निर्देशन दिएको थियो। निर्देशनलगत्तै मुद्दा दायर भएको हो।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंहसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। तर, कसैलाई पनि पक्राउ नगरी मुद्दा दायर गरिएको छ।
बालमन्दिरको जग्गा नियम मिचेर बृहस्पति विद्यासदनलाई लिजमा दिएर संस्थालाई ठगी गरेको भन्दै मुद्दा दायर भएको हो। सिंहसहित तुलसीनारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी गुरुङ (कोने), दीपकराज श्रेष्ठ, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेविरुद्ध मुद्दा दायर गरिएको छ।