१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १९ शुक्रबार o९:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रेशम चौधरी पक्राउ प्रकरण : जनमत र नागरिक उन्मुक्तिबिचको एकता अनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार o९:oo:oo

रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको जनमत र नागरिक उन्मुक्ति पार्टीको एकता अनिश्चित बनेको छ । सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टको ‘फेक’ पत्रपछि पार्टी एकता घोषणास्थलबाटै पक्राउ परेका नागरिक उन्मुक्तिका संरक्षक चौधरी बुधबार करिब पाँच घण्टापछि रिहा भएका थिए । उक्त घटनाको भित्री कारण समीक्षा गरेर पुनः एकता घोषणा सभा आयोजना गर्ने जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानले जानकारी दिए ।

‘एकता गर्ने नै हो । सबै कुरा टुंगिसकेको छ । फेरि त्यस्तै घटना त हुने होइन भन्ने समीक्षा गरेर अगाडि बढ्छौँ । त्यो समीक्षापछि एकताको मिति तय हुन्छ,’ उनले भने । चौधरी पक्राउ परेपछि एकता घोषणा अन्तिम समयमा रोकिएको थियो । सर्वोच्चका कर्मचारी विष्टलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । नागरिक उन्मुक्तिका सांसद गंगाराम चौधरीले दुई पार्टीको छलफलपछि एकता घोषणाको नयाँ मिति तय हुने बताए । ‘छलफल गरेर नयाँ मिति तोक्छौँ,’ उनले भने ।

बुधबार प्रज्ञा भवनमा पार्टी एकता घोषणा सभा राखिएको थियो । प्रतिनिधिसभामा जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । यो एकतापछि नागरिक जनमत पार्टी तराई–मधेश क्षेत्रको सबैभन्दा ठुलो दलका रूपमा स्थापित हुनेछ । हाल जसपा नेपाल पाँच सिटमा खुम्चिएको छ भने विभाजित जसपासँग सात सांसद छन् ।

लोसपाका चार सांसद छन् । नयाँ पार्टीमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी संरक्षक नै रहने समझदारी छ । जनमत पार्टीका अध्यक्ष सिके राउत कार्यकारी अध्यक्ष र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष हुने, पहिलो वरीयतामा चौधरी, दोस्रो वरीयतामा राउत र तेस्रो वरीयतामा श्रेष्ठ हुने सहमति छ । चुनाव चिह्न नागरिक उन्मुक्ति पार्टीको ढकिया हुनेछ ।