
मदन भण्डारी लोकमार्गको उदयपुरको त्रियुगा नगरपालिका–९ मथाने खण्डमा अटो रिक्सा र मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व गाईघाटतर्फ आउँदै गरेको प्र १–०५–००१ह ०३१० नम्वरको अटो रिक्सा र सोही दिशाबाट आउँदै गरेको प्र १–०२–०४३ प ५७४३ नम्वरको मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकल चालक मोरङ लेटाङ नगरपालिका–७ वाराङ्गी बस्ने वर्ष २६ का अजय लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए ।
डिएसपी दोङका अनुसार अटो रिक्साले बाटो मोडनेक्रममा मोटरसाईकलसँग ठोक्किँदा मृतक लिम्बु गम्भिर घाइते भएका थिए । घटनास्थलबाट उद्धार गरी जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा लिम्बूको मृत्यु भएको दोङको भनाइ छ ।
हिजो शुक्रबार साँझ दुर्घटना भएपछि तत्काल फरार रहेका अटो चालक त्रियुगा नगरपालिका–७ का ३८ वर्षका भुसेलाल दनुवारलाई प्रहरीले खोजतलास गरी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
गएको बिहीबार मात्र उदयपुरको सदरमुकाम गाईघाटको भित्री सडकमा पर्ने त्रियुगा नगरपालिका–१२ मा बोलेरो जीपको ठक्करबाट दुई बालिकाको मृत्यु भएको थियो ।