– ‘ओए, तेरो भर्ना गर्न जाने । ठीक पर् !’ आमाको आदेश सुनेँ ।
– ‘क्या हो तो ?’ मैले अबोध जवाफ प्रश्न फर्काएँ ।
– ‘तँलाई अर्को स्कुलाँ भर्ना गर्ने क्या !’ आमाको संक्षिप्त उत्तर आयो । नबुझिने गरी ।
‘भर्ना’ शब्द कानमा पर्नासाथ म डराएँ । त्यसको अर्थ बुझ्न म आठ वर्षे बालकलाई कम्ता सकस परेन । त्यो समयमा धरानेहरूमा गाईबस्तु पाल्ने मोह बाक्लो थियो । हाम्रो घरमा पनि गाई थियो । वेला–वेलामा किन हो, आमाले गाईलाई आज भर्ना गराउने भनेको सुन्थेँ । कुरो बुझदिन्थेँ। र, पनि त्यो दिन साँढे गोरु भएको ठाउँ पत्ता लाउन मैले संसार चहार्नुपर्थ्यो । कहिलेकाहीँ साँढे उसको देशदर्शनमा हुन्थ्यो क्यार ! खोज्दा मरिगए नभेटिने । कहिले भने हामीले खोज्नै नपर्ने ! साँढे आफैँ गोठमा साबूत हाजिर हुन आइपुग्थ्यो । प्रेमिकाको घरमा घुसेको कुनै आसिकीझैँ ।
साँढेगोरुको हालको अस्थायी ठेगाना पत्ता लाएपछि लन्ठा थपिन्थ्यो । आमासँग साँढेकहाँ गाई पु-याउन जानुपर्थ्यो । र, एउटा किलामा गाई छोटो दाम्लाले बाँध्नुपथ्र्यो । त्यहीँनेर मैले गाई रुँघेर बस्नुपथ्र्यो । त्यस्तो वेला साँढेको चर्को फाँफाँ र फुँ फुँ म बाल–बबुरोले खुबै व्यहोरेको थिएँ । बुबा परदेशमा ! घरमा अलि हुर्केको भुरो मै थिएँ । आठ वर्षको उमेरमा मैले यी सबै खेपेको थिएँ ।
त्यस्तो वेला उन्मत्त साँढे अरू वेलाभन्दा थप रिसाहा हुन्थ्यो । त्यसले हान्ला र मार्ला भनेर म सधँै त्रसित रहन्थेँ । कहिलेकाहीँ डोहो-याइरहेको गाई मैमाथि उक्लिएर मेरो पनि सात्तो लिएको थियो । गाईको समेत मति बिग्रिएर हन्डर मैले नै खेपेको थिएँ । अरू त अरू भर्नाको समयमा साँढेले बरा बाँधेको गाईलाई कति दुःख दिएको होला नि भनेर मेरो बाल मन औधी पिरोलिन्थ्यो । तर, म निरुपाय थिएँ । आमाले अह्राएको खुरुखुरु मान्नै पर्थ्यो ।
त्यस दिन मेरो आफ्नै भर्ना गर्ने कुरो कानमा परेपछि के हुन लाग्यो भनेर पहिले त डराएँ । कुरो बुझेपछि मानसपटलबाट साँढेगोरुको डर त हट्यो । तर, मेरो मनमा फेरि अमिलो पानी बग्न थाल्यो । पढिरहेको छँदाखाँदाको स्कुल छाडेर फेरि किन अर्को स्कुल जाने ? कता छ त्यो ? पढिरहेका स्कुलमा बल्लतल्ल मेरा केही साथी बनेका थिए । तिनीहरू मसँग रहलान्÷नरहलान् ? यी सबैको जवाफ फेला नपर्दै स्कुल जान म ठीक परेँ वा ठीक पारिएँ । नातामा दिदी साइनो पर्ने कुमारी दिदी र आमा मलाई लिएर बाटा लाग्नुभयो । वहाँहरू एक–आपसमा बात मार्दै अघि–अघि हुनुहुन्थ्यो । लुरुलुरु पछिपछि । बाटाभरि कम्मरमा नअडिएको हाफपेन्टले मलाई दिनु दुःख दियो । बारम्बार त्यो तल झर्ने र उचाल्ने । यस कर्मबाट मेरो एउटा हातले फुर्सद पाएन ।
धरानको चतरा लाइनबाट गुज्रिँदै थियौँ । बाटामा खेल्दै गरेका, दौडँदै गरेका केटाकेटीका झुन्डतिर मेरो नजर घरिघरि बरालिन्थ्यो । कोही डण्डीबियो खेलिरहेका । कोही मोजाको भकुन्डो खोसाखोस गर्न दौडिरहेका । तीसँगै गुरुरुरुरु खेल्न मलाई जाउँजाउँ लाग्थ्यो ।
– ‘कति ढिलो हिँडेको ? अगाडि आँखा नहेरी
हिँड्छ ? गाडीले हान्ला ऐले ?’
आमाले कराएको सुनेँ । हेर्दा म सय कदमजति पछि नै छुटेको रहेछु ।
ठ्याक्कै त्यही वेला धरानबाट सप्तकोसीको किनारामा बसेको चतरा बजार जाने गाडी छुटेको रहेछ । वृद्धभत्ता खालाजस्तो बेलायती ल्यान्डरोभर गाडी देखियो । पइँया दायाँ–बायाँ हल्लाउँदै त्यो आयो । धुलो उडाउँदै आयो । मछेउ भएर पश्चिमतिर बग्यो । एक मुठी धुलो मलाई छरेर गयो । वरपर उभिएका पुराना काठेघरलाई पनि पुग्ने गरी धुलो उडाएर त्यो गयो । देखेँ, दुईवटा भुस्याहा कुकुरलाई झोँक चलेछ । ती अलि परसम्म भुक्दै त्यो गाडी लखेट्दै गए । सायद तीनको राजनीतिक सिमाना त्यतै नजिक थियो । त्यहाँसम्म लखेटे । फिर्दा, दुश्मनमाथि विजय पाएर घर फिरेको लडाकु मुद्रामा फर्के ।
हामी चतरालाइनमा ढुंगा छाप सडकमाथि हिँडिरहेका थियौँ । अचेलको जस्तो कालो अलकत्रे बाटो थिएन । उमेर अलिक हुर्किएपछि बुबा पुस्ताबाट सुनेको झझल्को आउँछ । विसं ०१५÷०१७ सालतिर धरानका मूल रास्ता चौरास्तामा ढुंगा छाप्न थालिएको थियो । चतरालाइनमा पनि त्यही वेला ढुंगाछापे सडक बनेको थियो । त्यसै पनि ‘चतरा जाने बाटो खतरा’ भन्ने गफ चल्थ्यो । अन्त रुटमा गाडी चल्न नसक्ने गरी थलिएका गाडीहरू धरान–चतरा रुटमा दादा भएर दौडिन्थे । गन्तव्य चाहे धरान होस् वा चतरा पुगेर ओर्लिएपछि धुलो टकटक्याएर मात्र आफ्ना जन र अरूका जन छुट्टिन्थे– धुलोको करामतले गर्दा ! चतरावाला ल्यान्डरोभर गाडी मान्छेलाई सिन्कीझैँ खाँद्न मस्सुर थिए ! अट्नेलाई भित्र कोच्ने ! नअटेका जतिलाई रूखमा चमेरा झुन्ड्याएजस्तो जताजतै झुन्ड्याउने ! गाडी पछिल्तिर, दायाँ–बायाँ साइडतिर । छतको हुडमा बस्न पाउने त भाग्यमानी बाल्कोनीवाला भई गए । हुडवालागीत गाउँदै रबिन्सन क्रुसोझैँ आसन जमाउँथे । मान्छेले मात्रै नपुगेर त्यस्ता गाडीको आङमा ढाकरपनि टाँगिएका देखिन्थे । त्यतिवेलासम्म धरान छिमेकी जिल्लाको किनमेल गर्ने बजार थियो । धनकुटा, तेह्रथुम, संखुवासभा वा भोजपुरतिरबाट ढाकर बोकेर झरेका मान्छे हिउँद लागेपछि ग्वारग्वार देखिन्थे । नुन, तेल, कपडा खेप्न । किनमेल सकेकाहरू चुइँ–चुइँ भारी बोकेर उँभो पहाडतिर आफ्नो मुकामतर्फ उक्लिन्थे ।
– ‘तलाईं पख्...’आमाले फेरि कराएको सुनेँ ।
भेट्न आतिएर दौडेँ । आच्या....तत्क्षण मेरो चप्पलले बाटामा भैँसीको गोबर किल्चेछ । छिछिछिछि....चप्पल छिचोलेर मेरो खुट्टा र औँलाका कापभरि गोबर गजगज भएछ । दिङदिङले छोप्यो । आमा फेरि च्याँट्ठिनुभयो । धुनलाई पानी थिएन । सडक किनारामा हिउँदयामले खाएर बाँकी राखेको एकमुठी घाँस उभिएको देखेँ । त्यसैमा खुट्टा दल्न लागेँ । चप्पल दल्न लागेँ । लागेको गोबर त पुछियो । तर, चप्पल र खुट्टो उधुम गन्हाउन लाग्यो ।
– ‘तेरा आँखा फुट्या छन् । अघिदेखि भन्या भनै छु....हेर्नु–ओर्नु छैन ।’ आमाको यो पल्टको स्वरमा आक्रोश टम्म थियो ।
एकछिन त जसोतसो आमा र कुमारी दिदीसँगै हिँडे ।
ती दिदीले तेल थपिन्, ‘बडिआमा आज यसको भर्ना–सर्ना हुन्न....खुट्टो गनाँ छ ।’
‘यत्रैसित्ति’ भन्दै मनमनै सोचेँ । फेरि अर्को ठाउँ टक्क अडिएँ । अघि बढ्नै बिर्सिएजस्तो भो । त्यसरी मेरो मन लठ्याउने शिव सिनेमा हल थियो । सामुन्ने उभिएको थियो बडेमानको त्यो भवन । बम्बई कलकत्तातिरको जस्तो त्यो रंगीचंगी घर । वरिपरि मुसा पनि छिर्न नदिने गरी ठडाएको पर्खाल । पर्खालले घेरेको ठूलो कम्पाउन्ड । मेरो बालसुलभ मनले के मान्थ्यो ! डेग चलिनँ । त्यतिवेला सिनेमाहलको मूल गेटमा उभिएको रहेछु । हलमा लागिरहेको फिलिमको बडेमानको पोस्टर रहेछ । साँच्चैका मान्छेभन्दा पोस्टरका मान्छेहरू चार–पाँच गुणा ठूला र भीषण देखिन्थे । पोस्टरबाट फुत्त निक्लेर अहिल्यै मैमाथि खनिन्छन् कि जस्तो लाग्थ्यो । पोष्टरको एकातिर धर्मेन्द्र । मेशिनगन चलाउँदै गरेको । अर्कोतिरबाट डाँकुको बोस अजित– धर्मेन्द्रलाई बन्दुक ताकिरहेको । केटाकेटी छँदा हामी फिलिमको हिरोको दुस्मनलाई डाँकु नै भन्ने गथ्र्यौँ । पोस्टरको मुन्तिर अलि सानो आकारमा फूलजस्ती कोमल हिरोइन हेमामालिनी थिई । तर, मलिन भावमा नाचिरहेकी । सायद डाकुको बोस अजितको कब्जामा हेमामालिनी थिई र मजबुरन नाचिरहेकी थिई । सायद उद्धारका लागि हिरो धर्मेन्द्र नआउन्जेलसम्मको अवस्था थियो त्यो । ए, बाबा ! क्या टुनामुना लाएजस्तो भयो त्यो पोस्टरमा ! आँखा अन्त हट्नै नमान्ने ! क्या बात थियो त्यो दृश्यमा !
‘क्लिक–क्लिक–क्लिक’ गर्दै बत्तीको झिल्का ममाथि फाल्यो । उठ्ने आदेश दिएपछि म उठेँ । स्कुल भर्ना गर्ने पासपोर्ट साइजको त्यो फोटो अझै मेरो पुरानो कुनै एल्बममा सही–सलामत भेटिन्छ । र, त्यसले मलाई चतरालाइनको त्यस दिनको स्कुल यात्राको सम्झना आलो बनाउँछ ।
शिव सिनेमा हलको मूलगेटमा डफ्फाका डफ्फा मान्छे थुप्रेका थिए । कोही धरानतिरका जस्ता अलि सुकिला–मुकिला । कोही इटहरी र मधेशतिरका जस्ता मध्यम सुकिला–मुकिला । कोही पहाडतिरका जस्ता सुकिसकेको अमिलो पसिना गन्हाइरहेका । जेहोस्, त्यो भिड अजिब थियो । आजभोलिको भाषामा भन्दा समावेशी थियो । म त्यहाँ पुग्दा गेटपालेले गेट कतिखेर खोलिदेला भनी कुरेर बसेका रहेछन् ती तीनै थरी । उमेरवाला धरानेहरूको वेषभूषा चर्चा गर्न लायकको थियो । केटापाटीका नांग्लाजत्रा कमिजका कलर र गोगोपेन्ट एकसे एक थिए । केटीपाटीका अर्को ताल थियो । तीनको पेन्ट उँभो टाइट र तल केटापाटीको जस्तो गोगो थियो । जेहोस, कति फुर्सदिला थिए मान्छे, त्यतिवेलासम्म । सहरी जीवनले नच्यापेका । भागाभागमा जिउनु नपरेका । उभिएर बात मारिरहेका । अहिले हुँदो हो त ती सबै मोबाइलमा घोप्टो परिरहेका हुन्थे । केको फिलिम हलको गेटमा ठडिएर गफिएका हुन्थे त्यसरी !
एक्कासी मलाई कसैले बलपूर्वक लतारेजस्तो भयो । म शिव सिनेमा हलको सामुन्ने अडिएको देखेर दिदीले हत्केला पक्रेर तान्दै थिइन् । सायद आमाको आदेश घोकारेर लिएर आउनू भन्ने थियो । आमानेर पु¥याएपछि आमाबाट पहिला एक चड्कन मेरो गालामा बज्यो । त्यसपछि ‘आँखा चिम्लेर हिँड’ भन्ने फौजी आदेश गि-यो । अझै आमाले लबटा थप्न खोज्दै हुनुहुन्थ्यो ।
– ‘भो, भो अब नकुट्नु न बडिआमा ।’ दिदीले बीचबचाउ गरेको सुनेँ । म बाटामा हिँडिरहेका मान्छेको वास्ता नगरी रुन लागेँ । आखिर म आठै वर्षको छाउरो थिएँ । बजारको बीचोबीच रुन मलाई केको लाज–सरम ?
शिव सिनेमा हलबाट अघि बढेपछि म नबिराई रुँदै हिँडिरहेँ । डर पनि थियो । त्यसैले आमालाई छोडिनँ । दिदीले मेरो हात अँठ्याइराखेकी थिइन् । हिँड्दै जाँदा बाटोमा सुँगुरको मासु बेच्ने पसल देखियो । सडक किनारामा खाट तेस्र्याएर बसेको । खुला आकाशमुनि थियो । त्यो बगरे गाहाकीले घेरिएको थिएन । बरू भन्किरहेका हरिया माखासँग जेलिएको थियो । माखा मासुमा बस्न खोज्ने र ऊ सिमालीको स्याउलाले हान्ने । यो गजबको द्वन्द्ध त्यहाँ थियो । मानौँ उसको माखासँग वर्षौँ पुरानो जातीय दुश्मनी छ । एउटा विचित्रको समानता पनि खुल्यो । खाटमाथि बसेको ऊ र बेच्न तेस्र्याएर राखेको सुँगुरको थुलथुले ज्यान दुवै उस्तै–उस्तै थिए । खाटमाथि सुँगुरको छेदन गरेको सग्लो टाउको सडकतिर फर्किएर बसेको थियो । लाग्थ्यो, रौँ उखेलेर मुडुलो भएको त्यो टाउकोले अन्तिम चोटि चतरालाइनको रमिता हेरिरहेथ्यो ।
चतरालाइनमा भएको खहरेको पुल नाघ्यौँ । अहिलेको धरान उपमहानगरपालिकाको गेट छेउछाउ आइपुगेछौँ । बायाँतिर ग्यारेजजस्तो टहरामुन्तिर घन्टी बोकेको ठूलो जीउको रातो–रातो गाडी उभिएको देखेँ । आर्मीजस्ता पहिरन लाएका मान्छे वर्तिर–पर्तिर देखेँ । ती के थिए, को थिए बुझिनँ । अहिले सम्झिँदा आगो निभाउने दमकल र फायरमेनहरू रहेछन् । तात्कालीन धरान नगर पञ्चायतको अफिसमा दमकल दौडन तयारी हालतमा उभिएका । ढुंगा छापेको चतरालाइन अझै टुंगिएको थिएन । अघि बढ्दै थियौँ ।
फोटैफोटा भएको पसलमा हामी पस्यौँ । धरान फोटो स्टुडियो साइनबोर्ड टाँगेको । कुमारी दिदीले अँध्यारो कोठामा मलाई हुलेर फोटोग्राफरको जिम्मा लगाइन् । दार्जिलिङतिरको जस्तो लवाइखवाइ भएको फोटोवाला हस्याङफस्याङ गर्न थाल्यो । उसले मलाई टुलमा राख्यो । मेरो जीउ मिलायो । मुन्टो थोरै ढल्काउन लगायो । ‘क्लिक–क्लिक–क्लिक’ गर्दै बत्तीको झिल्का ममाथि फाल्यो । अब उठ्ने आदेश दिएपछि म उठेँ । स्कुल भर्ना गर्ने पासपोर्ट साइजको त्यो फोटो अभैm मेरो पुरानो कुनै एल्बममा सही–सलामत भेटिन्छ । र, त्यसले मलाई चतरालाइनको त्यसदिनको स्कुल यात्राको सम्झना आलो बनाउँछ ।
मलाई भर्ना गर्न लगिएको स्कुल आइपुगेछ । आमा र दिदीले चतरालाइनको बाटो छोडे । र, एउटा अग्लो टिनको गेट भएतिर लागे । गेटबाहिर स–सानो रमिता थियो । ठेलागाडीहरू झुरुप्प थिए । छेउछाउमा उँधो टेकुवा लाए माथि खण्ड–खण्डमा फिँजाएर राखिएका चटपटेका सरदम देखिए । चटपटे र चटपटेवाल उस्तै उस्तै लाग्थे । तेलमा चोपेर बनाएको पापड डालोमा किताब खात लाएझैँ राखेको देखियो । मैलो प्लास्टिकभित्र छोपिएका थिए ती पापड । बरफको ठेला अर्को पात्र थियो । कतिखेर हुन्छ वेला भनेजस्तो गरी उभिएको थियो । टिफिनको घन्टी कुरेर बसेका थिए । घन्टीसँग हुर्रिएर निक्लिने केटाकेटी पर्खी बसेका थिए । चटपटेवाल र बरफवालले बनाएको मिनी हाट थियो त्यहाँ । एक्का–दुक्का केटाकेटी तीनै ठेला घेरेर पुराना पत्रिकाको सोलीमा दिएको चटपटे खाँदै थिए । कक्षाबाट उम्किएर भागेका थिए कि वा त्यही टोलका फुर्सदिला केटाकेटी ती थिए ! त्यहीँ उभिएर बरफ चुस्न मग्न दुईवटा केटामा मेरो नजर प¥यो । तीनका ओठ रातो बरफ चुस्दा–चुस्दा राताम्मे भइसकेका थिए । पग्लेको बरफ ती केटाका मैलो–धैलो कुहिना हुँदै भुइँमा चुहिरहेको थियो । तीनले लाएको कमिज बरफ लागेर टाटेपाटे बन्ने क्रममा थिए । बाँसको सिन्कामा उनिएको त्यो बरफ चुस्ने बेथा मलाई पनि लाग्यो । तर, आमाले एकछिन अघि चड्काएको झापड गालामा सेलाएकै थिएन । त्यो सम्झिएर बरफ माग्ने आँट गरिनँ । मन परेकोसँग गरेको अव्यक्त प्रेमजस्तो हेरेर चित्त बुझाएँ ।
स्कुलको कम्पाउन्डभित्र कुमारी दिदी र मसमेत सम्मिलित आमाको टोली दाखिला भयो । ठूलो कम्पाउन्डभरि थरीथरीका दृश्य थिए । कतै केटाकेटी दौडँदै थिए । यसै पनि मंसिर–पुसको जाडो महिना । घाम प्यारो हुन्छ । कतै घेरा बनाएर केटाकेटी चौरीमा बसेका थिए । गुरु कुर्सीमा बसेर पाठ गर्न अह्राउँदै हुनुुहुन्थ्यो । कतै केटाकेटी ‘एक एकान एक, दुई दुना चार, तीन तियाँ नौ’ भन्दै चिच्याउँदै गाउँदै थिए । गुणन घोक्दै थिए । सायद, घोकाउनेचाहिँ देवलाल (श्रेष्ठ) सर हुनुहुन्थ्यो ।
– ओए, चकचक गर्ने हैन....पढ् पढ् ! देवलाल सरको आवाज मसम्म आइपुग्यो ।
स्कुल पढ्न थालेपछि तीनै देवलाल सरका जोक धेरैपटक सुन्न पाइयो । कक्षामा नपढीनपढी धेरैलाई सुनाउन पाइयो । यसरी अगुवा पुस्ताबाट पछुवा पुस्तामा सरका जोकहरू हस्तान्तरण हुँदै गए । स्कुले दिनमा वहाँले थुप्रैका काननेरको रौँ उँभोतिर तानेको अनुभव छ । त्यो दुखाइ सम्झिँदा यो उमेरमा पनि मलाई काननेर दुखेर आउँछ ।
केही क्षणपछि हामी पब्लिक स्कुलको अफिसभित्र रहेछौँ । त्यो हेडसरको अफिस रहेछ । त्यसवेला राजेन्द्र आचार्य हेडसर हुनुहुन्थ्यो । धेरै भद्र, धेरै शान्त । सायद वहाँ धेरै शान्त भएकाले होला देवलाल सर, जागेश्वर (झा) सर, फुलेश्वर (झा) सर र अरू सरहरू औधि सक्रिय हुनुपरेको थियो । त्यस वेला केटाकेटी ओखलीमा कुटेजस्तो गरी तह लाउने शिक्षण विधि व्याप्त थियो । बिचरा वहाँहरूको पनि के दोष र !
मजस्ता दुइ–चारजना भुन्टेहरू पनि देखिए त्यहीँ अफिसमा । आफ्ना अभिभावक बा–आमाहरूसँग । मजस्तै भर्ना हुन आएका । अलि पर्तिर मलाई हेरेर मुसुमुसु हाँसिरहेका एक शान्त गुरु कुर्सीमा थिए । ती दत्त सर रहेछन् । भारततिरबाट धरान पसेका र यतै बसेका । ती तीनै थिए जसलाई हामी विद्यार्थीले सधैँ आइएस्सी सर भनेरै काम चलायौँ । नाम के थियो भन्दा ‘दत्त सर’ भन्दा बढी जान्न चासो राखेनौँ । यसैगरी, माथिल्ला कक्षामा उक्लिएपछि बिएस्सी सर नामले अर्काे सरलाई चिन्यौँ । तर, उनको पनि खास नाम के थियो, सोको हेक्का हामीले राखेनौँ । बरू अलिपछि उमेर बढ्दै गएसँगै हाजिरी जवाफ खेल्ने चस्का चढ्यो । त्यसवेला फुटबल खेलाडी पेलेको खास नाम के थियो ? महात्मा गान्धीको खास नाम के थियो ? बम्बैया दिलीप कुमारको खास नाम के थियो ? खुबै रट्यौँ । कतिचाहिँ भेउ पाएका थियौँ भने, ती गुरुहरू भारतबाट शिक्षा दिलाउन वर्षौँअघि कुनै एक दिन धरान पसेका थिए । कतिलाई स्कुलका संस्थापक वा सञ्चालकले खोजेर धरान ल्याएका थिए । तदुपरान्त यतै बसेका थिए । तिनै गुरुबाट हामीले विज्ञान र हिसाब सिक्यौँ । सम्झेर ल्याउँदा मलाई लाग्छ, ती भारतीय गुरुले दिएको गुणको कदर गर्न हामीले अझै सकेका छैनौँ ।
मेरो नाम लेखाउन आमा र कुमारी दिदी भिडिरहनु भएथ्यो । अन्तमा दिदीले पल्लो कोठाबाट पैसा तिरेको रातो बिल बोकेर आइन् । र, आमाको हातमा राख्दै मलाई भनिन् ।
– ‘ल केटा, भर्ना भइस् ।’
त्यस दिन म चार कक्षामा भर्ना भएछु । भर्ना सकेर हिँड्ने वेला आमाले सबैलाई ‘नमस्कार गर्’ भन्नु भो । किच्च हाँसेर मैले नमस्कार घुमाएँ । कोठाका वरिपरि कुर्सीमा छरिएर बसेका गुरुबा र गुरुआमाहरूलाई भाग पुग्ने गरी ।
आखिर भर्ना भएर त्यस दिन यो केटो पब्लिक स्कुल गेटबाट बाहिरियो । बाहिरिनासाथ चटपटेवाला र बरफवाला सबैले एकैचोटि हामीलाई ताके । स्कुले भुराभुरी कोही रहेनछन् । तत्क्षण घुघुनीवालाले ठेलामाथि कराइमा पाकिरहेको घुघुनी डाडुले चलायो । र, हामीलाई सुनाउँदै करायो – ‘एइ, गरम–गरम घुघुनी...’ । त्यो घुघुनीको कन्तारा छेउछाउमा हरिया खुर्सानी, टमाटर ठड्याइएको थियो ।
के सुर चढ्यो कुन्नि ! विनामाग आमाले बरफ किनिदिने हुनुभो । ठेलावालाले निहुरिँदै मेरा लागि बरफ फुत्त निकाल्यो र मलाई दियो । आमाले गाईछापे दश पैसा तिरेजस्तो लाग्छ अहिले । जेहोस्, त्यसदिन दुई थोक मेरा हात लागेका थिए– चार कक्षामा भर्ना र रातो बरफ । बाँसको सिन्कामा उनिएको त्यो बरफ चुस्दै–चुस्दै म घरतर्फ बढेँ । यद्यपि, मेरो चप्पल र गोडाबाट अभैm गोबर गन्हाउन छाडेको थिएन । घर पुगेपछि तगारो खोल्दै आमाले ‘खुट्टा सिनिक्क धो’ भन्नु भो । नधोए घरभित्र पस्न नदिने फरमान जारी गर्नुभयो । गोडा र चप्पल त हातले माडी–माडी धोएँ । त्यस दिन हातमा गोबर गन्हाई–गन्हाई मैले खाना खाएँ । यसरी धरानको सबैभन्दा जेठो पब्लिक स्कुलसँग मेरो नाता गाँसियो । यो थियो विसं ०३० साल मंसिर–पुसका कुरा ।
त्यो स्कुलसँग मेरो नाता मसँग अझै हिँडिरहेछ । तथापि, वर्षौँअघि त्यही स्कुलमा छाडी हिँडेको एउटा केटौलो र निर्दोष अनुहार मैले फिर्ता पाउन सकेको छैनँ । मसँग उपलब्ध मेरो वर्तमान अनुहारले पाँच दशक उमेर कटाएको छ । तर, यो अनुहार त्यो प्यारो पब्लिक स्कुल फेरि पढ्न अयोग्य छ । बरू दिनानुदिन मक्किँदै र भत्किँदै जानयोग्य छ ।
[email protected]
धरान, हाल : काठमाडाैँ।