इँ कुइँ कुइँ कुइँ... टडङ टडङ हेलो मोटो... कुइँ कुइँ कुइँ कुइँ... टडङ टडङ हेलो मोटो... कुइँ कुइँ कुइँ कुइँ ... टडङ टडङ हेलो मोटो ...।
मेरा आँखा नखुल्दै कानमा परेको ‘हेलो मोटो’ को आवाज जीवनको प्रथम आँखा खुलाइपछि पनि आइरहेकै थियो र जब त्यो झाडीमा मैले सकेजति आँखा डुलाएँ, त्यो आवाज दिइरहेको जिनिस देखेँ, जसले पिलिक–पिलिक उज्यालो पनि दिइरहेको थियो । जब आँखा खुले कुइँ कुइँ आवाज मेरो मात्र थियो र अर्को आवाजचाहिँ त्यही उज्यालो दिने सानो चारपाटे कालो वस्तुको थियो । हामी छवटा जन्मेका थियौँ, तर दुईवटाबाहेक हामी चारचाहिँ मरून् र अरू जंगली जनावरका गाँस बनून् भनेर झाडीमा मिल्काइएका थियौँ । मेरा अरू तीन भाइ वा बहिनी अघि नै चिरनिद्रामा पुगिसकेका थिए । अतिशय भोकले म पनि मर्नै लागेको थिएँ ।
टडङ टडङ हेलो मोटो...को आवाज पछ्याउँदै एकजना मानिस हातमा अर्को त्यस्तै जिनिस बोकेर झाडीमा पस्न आयो । शताब्दीयौँदेखि मेरा पुर्खा मानिससँग बस्दै आएकाले होला, मैले मानिस भनेर चिनिहालेँ । जेहोस् अनुहारमा क्रोध बोकेरै र गर्दन फुलाउँदै आएको उसले मेरो अगाडिको वस्तु उठायो । ठीक त्यही समय उसको दृष्टि ममा प-यो । उसको अनुहारको क्रोध अचानक कमजोर भयो र त्यसलाई करुणाले विस्थापन गरिदियो । उसले मलाई बिस्तारै उठायो । मैले टाउकोदेखि पुच्छरसम्म हलुका तर ममतामयी स्पर्शानुभव गरेँ । उसको गर्दन पनि पातलो भइसकेको थियो ।
त्यो घरमा आउनेबित्तिकै मैले अघाउन्जेल मनतातो दूध पिउन पाएँ । त्यसपछि ममी र दाइ मिलेर मलाई नुहाइदिए र न्यानो कपडाले बेरिएर म एउटा कार्टुनमा मजाले निदाएँ । छिट्टै म सोफामुन्तिर जान्थेँ, कुनाकुनामा पस्थेँ र उछलकुुद गर्थें । सबै मलाई देखेर रमाउँथे । म खेल्दा–खेल्दै कुनै ठाउँमा पनि निदाइहाल्थेँ र घरका कुनै सदस्यको खित्खिताइले मलाई व्यवधान पु-याउने थिएन । म दूधका अतिरिक्त मुला, गाजर, काँक्रा र स्याउसम्म खान्थेँ । मासु त मैले धेरै समयपछि मात्र खान पाएको हुँ । मेरो ‘बानी बिग्रन्छ’ भन्ने ममीको विचार थियो । ममी मलाई प्लास्टिकको एउटा सानो बाटामा हालेर आफ्नो टाउकोमा राख्थिन् र भन्थिन्, ‘आलु लेलो, प्याज लेलो ।’ दाइ र बाबा हाँस्थे, अझ दाइ त पेट मिचिमिची ।
जब मैले दाँतको चिलाइ मार्न बोराहरू टोक्न थालेँ, बाबाले मलाई बोरासँग घिसार्न थाले । कतिसम्म भने बोरा वा कुनै थोत्रो कपडामा बसेर म घरको एउटा कोठादेखि अर्को कोठासम्म पनि घिसारिइरहन्थेँ र बाबाले कहिले त बोरालाई बटारेर माथि तानिदिन्थे र मचाहिँ तुर्लुङ्ग झुन्डिएर हावामा फनफनी घुमिरहन्थेँ । रमाइलो लाग्थ्यो र मलाई हेरेर सबै रमाउँथे पनि । मसँग सबैभन्दा खुसीचाहिँ दाइ हुन्थे । र म त्यो घरको चौथो सदस्यको रूपमा छिट्टै स्थापित भइगएँ ।
मसँग घरका सदस्य सबै खुसी थिए । म कति खुसी थिएँ, यसले परिवारमा कुनै अर्थ राख्थ्यो कि राख्थेन म भन्न सक्दिनँ । ममीको घरायसी काम, बाबाको जागिर र दाइको स्कुल ! अरू वेला बाबाको पढिरहने बानी ! तर, बाहिर रक्सी खाएर ह्वास्स गनाउँदै जब घरमा बाबाको प्रवेश हुन्थ्यो, ममीको नाकको टुप्पामा आगो बल्थ्यो । बाबा र ममीबीच झगडा हुन्थ्यो, जुन प्रीतिकर हुने कुरै थिएन ।
सम्पूर्ण विवेक गुमाएर, छरछिमेकले थाहा पाउने गरी हुने त्यो शब्दवाणले दाइ र मेरो मर्ममा पनि भेदन गरेर जान्थे । त्यतिवेला मलाई म फगत एउटा कुकुर हुँ जस्तो लाग्थ्यो र घर छाडेर बरु कतै भुस्याहा भैजाऊँ भन्ने विचार आउँथ्यो । तर,केही दिनमै प्रायः बाबा र ममी हाँस्दै भन्थे कि मेरो कारणले उनीहरूको जीवन पहिलाको जस्तो तनावग्रस्त थिएन । मेरो आगमनअघि घरमा ठूलो स्तरमा झगडा भइरहन्थ्यो । त्यही क्रममा झाडीमा मोटोरला मोबाइल फालिएको थियो, जहाँ आँखा नखुल्दै मर्नका लागि म पनि मिल्काइएको थिएँ । मैले बल्ल पछि बुझे , मेरो नाम कसरी रहन गयो । पहिला त मलाई मोटोरला नै भनिन्थ्यो, बिस्तारै म मोटो भएँ, अनि मोटे अनि दाइले प्रायः हेर्ने कार्टुन मोटु पत्लुको मोटु ।
रक्सीले टिल्ल परेर आउने रात बाबाको सुताइ बैठक कोठाको लो–बेडमा हुन्थ्यो । र, अधिकांश समय बाबाको खुट्टाले राम्ररी टेक्ने थिएन । म ढोकानजिकै राखिएको कार्टुनमा न्यानो भएर सुतिरहेको हुन्थेँ । जब रातको कुनै पनि पलमा मलाई बोर लाग्थ्यो– म खुसुक्क कार्टुनबाट निस्केर त्यो लो–बेडनेर पुग्थेँ र बाबालाई कोट्याउँथेँ । कुनै झर्को नमानी बरु मुस्कुराउँदै बाबा मलाई माथि उठाउँथे र सँगै सुताउँथे । बिहान म बाहिर बरन्डामा गएर मात्र नित्यकर्म गर्थें, जसलाई बाबाले डस्टप्यानमा उठाउँदै भन्थे, ‘मार्खेज बाजे ठिक्कै भन्दारहेछन् मोटुको आची त सुन जस्तै पो छ त ।’
एक दिन ममीले मैले चिसो बनाएको बोरा घाममा सुकाउँदै भनिन्, ‘त्यसलाई मैले कुुकुरको मुत धोकेर आएको भनेर कत्ति गाली गर्थें तर तेरो मुत बरु त्यो कोदोको झोलभन्दा राम्रो छ । आजभोलि ट्वाइलेट पहिलाको जस्तो गनाउँदैन पनि, तैँले गर्दा घरमा अलिकति भए पनि शान्ति छ मोटु, उसको अनुहार र शरीर पनि पहिला रिह्याब सेन्टरबाट फर्केर आउँदाको भन्दा राम्रो भएको छ ।’मैले थाहा पाएँ– बाहिर हुने वेलामा बाबाले फोन उठाएन भने कुनै भट्टीमा साथीहरूसँग बसेर रमाइलो गरिरहेको भन्ने बुझ्नुपर्ने रहेछ । त्यसरी नउठाउने फोन किन बोकिरहनुप-यो भनेर ममीले फोन फालिदिएकी रहिछन् । तर, मलाई माया गरिन्थ्यो र मेरो यति महत्व हुन्थ्यो कि मलाई कहिलेकाहीँ त मान्छे नै पो हुँ कि भन्ने भ्रम हुन्थ्यो ।
त्यो साँझ बाबाको हालत अरू वेलाको भन्दा नराम्रो थियो । कसैले डो-याएर ल्याइदिएको थियो । प्रायः ठट्टा गरिरहेको जस्तो हँसिलो मान्छेले अब समृद्धि आउँछ भन्दै गरिरहेको कुरा बाबा र ममीले एकछिन झगडा नगरी टिभीमा हेरिरहेँ । तर, एकैछिनमा झगडा भैहाल्यो । त्यो झगडामा बाबाका केही किताबहरू जले, भान्साका केही प्लेट र कपहरू फुटे र मोटोरला मोबाइल पनि सहिद भयो । बाबाले जागिर गुमाएका रहेछन् । बाबाको होसहवास् नै नभएको जस्तो थियो । ममीले एक बाल्टी पानी बाबामाथि खन्याइदिएपछि बाबा एकछिन त चुप लागे, तर अलि पछि उनको गर्दन फुल्न थाल्यो ।त्यो दिन ममीको नाकको टुप्पाको आगो रातो हैन नीलो बलेको थियो किनभने बाबाको गर्दनको जस्तो आकार भयङ्कर रूपले बढेको थियो ।
ममी : अब के गर्छस् ? जागिरबाट पनि हात धोइहालिस्, छोराको फिस नतिरेको पनि तीन महिना भइसक्यो, यसपालि तिरेन भने जाँचमा पनि बस्न दिन्नन् । भएको यही घर मात्र छ । व्यवहार कति गाह्रो भएर चलाइरहेको छु, तँचाहिँ घर त भयो भयो अफिसमा पनि धोकेर जानुपर्ने ? अस्ति नै चेतावनी दिएर पनि नचेत्ने ? अब त अति भयो, भोलि अदालत जाने हो । तेरो त्यो रक्सी खाँदै केही पढेर केही नख्याँस्ने बानीले जिन्दगी बर्बाद भयो । बानीले पो रानी हुने हो, बानी त मरेपछि मात्र जानी हो, तँबाट म निराश भइसकेँ ।
बाबा : ठिकै छ, तिम्रो पहिलादेखिको चाहना त्यही थियो, मलाई केही समस्या छैन । मलाई रक्सी अलिकति त नभई हुन्न भन्ने तिमीलाई थाहा नै थियो । म कस्ता साथीहरूको संगत गर्छु भन्ने पनि तिमीलाई राम्ररी थाहा थियो, अहिले त्यसलाई इस्यु बनाउँदा मलाई हाँसो लागेर आउँछ । दुःखसुखमा त्यही साथी चाहिन्छन् । त्यो प्लटिङमा मैले गरेर बिग्रेको हैन, अनि त्यस्तो जाबो दुई पैसाको जागिर जति पनि पाइन्छ । मलाई यो घरको केही चाहिन्न, एउटा पेट त कुकुरले पनि पाल्छ यार । जे गर्न मन लाग्छ गर । एकपल्टको लाइफ पनि आपूm खुसी नगरी अर्काको खटनपटनमा कति बिताऊँ हो ?
भोलिपल्ट खाना नखाई स्कुल बस चढेर दाइ स्कुल गएका थिए । आफुहरू पनि खाना नखाईकन मलाई छाडेर गए । मलाई राम्ररी सम्झना छ, केही बिस्कुटहरू मेरा लागि बाहिर राखिदिएका थिए । अनिष्ट नै हुँदै छ भन्ने आशंकाले म कम्पाउन्डभित्र डराई–डराई बसेको थिएँ र मैले त्यो बिस्कुट खाइनँ पनि । म दिनभरि सुतिनँ र गेटतिर हेर्दै यताउति हल्लिरहेँ, भुकिरहेँ र छिमेकीका गाली खाइरहेँ ।
ममी र दाइ सँगै आए । दुईजनै खुसी थिएनन् । मलाई सधैँ जस्तो गेटमा पाएर दाइ खुसी भए र मलाई मुसारे, त्यसरी नै झोला नबिसाईकनै । तर, उनी पहिला–पहिला जस्तो उन्मुक्त थिएनन् । र, बाबा आएनन् । बाबाका केही सामान जेब्रा झोलामा खाँदेर ममीले बाहिर दिउँसो म बस्ने छापरमुनि राखिदिइन् । म अचम्म मान्दै त्यो रातो झोला हेरेर बसिरहेँ । तीन दिनपछि साँझतिर बल्ल बाबा आए । उनी टिल्ल परेका थिए । उनीसँगै रक्सी मात्र हैन, पिसाब पनि गन्हाइरहेको थियो । उनीसँगै म पनि पुच्छर हल्लाउँदै ढोकासम्म गएँ ।
बाबाले दाइलाई बोलाए, तर भित्रबाट कसैको आवाज आएन । यहाँसम्म कि अघि भर्खरसम्मको टिभीको आवाज पनि बन्द भएको थियो । बाबा भन्दै थिए, ‘एकपल्ट ढोका खोल, म छोरासँग बोल्न चाहन्छु, म मेरा कुरा अन्तिमपटकलाई स्पष्ट राख्छु प्लिज ।’ तर, भित्रबाट केहीको आवाज नआएपछि उनी बरन्डामा थचक्क बसे र मलाई मुसार्न थाले, मैले पनि माया फर्काएँ । निकै समयसम्म भित्रबाट केही चालचुल नआएपछि बाबाको गर्दनको आकार ठूलो देखिन थाल्यो । तर, अरू वेला जस्तो गाली नबर्साई उनी सुँक्क–सुँक्क रुन थाले । उनी जुरुक्क उठे र गेटको छेउको जेब्रा झोला बोकी बाहिर निस्के । म पछि–पछि लागेँ । निकै पर पुगेपछि उनले मलाई भने, ‘सरी मोटु, तिम्रो ममीले मलाई दाइसँग राम्ररी कुरा गर्न नै दिइन, म दाइलाई माया गर्छु, एकदम गर्छु तर मेरो कारणले सधैँ झगडा गरेर उसको मस्तिष्कमा असर पार्न चाहन्न, जा फर्केर जा, दाइको साथी भएर बस् । मसँग बस्ने ठेगान पनि छैन, सधैँ जस्तै दाइलाई हँसाएर बस्, तँलाई खाने कुरा पनि केही ल्याइनँ ।’
यति भनेर उनी अगाडि बढे, र बढिरहे । परको घुम्तीमा पुगेपछि मलाई हेरे, उनको आँखालाई आँसुको बादलले घेरेको देखेपछि मैले सबैतिर अस्पष्ट दृश्य मात्र देखेँ । जब मैले आँखा चिम–चिम गरेर आफ्नै आँखाको बादल सफा गरेँ, बाबा त्यहाँ थिएनन् । पहिला भनिएजस्तो ममीलाई मैले कहिल्यै खुसी भएको देखिनँ र अनौठो किसिमले दाइ पनि अब अचानक ‘मान्छे’ बन्न थालेका थिए । उनी मसँग रमाउन सकेका थिएनन्, मात्र मलाई खुसी पार्न रमाएको अभिनय गर्ने भैसकेका थिए । तर, म मान्छे थिइनँ र मान्छेजस्तो हुन पनि सक्ने थिइनँ । मेरा लागि एक छाक खाना, एक मुढा निद्रा र घरको कम्पाउन्ड नै संसार थियो र म यहाँ रमाउन सक्थेँ । किनभने मसँग मान्छेका जस्ता ठुल्ठूला रहर र महत्वाकांक्षा थिएनन् र थिएन कुनै आग्रह र गुनासो पनि ।
एक दिन ममी निकै अबेर आइन् । स्वाभाविक किसिमले म एकछिन साडीमा झुन्डिन गएँ । र, त्यो साडीले त्यही गन्ध पनि अलिकति बोकेर आएको थियो, जुन गन्ध बाबाको छेउमा हुँदा आइरहन्थ्यो । म त्यसै खुसी भएँ, उफ्रेर दाइको छेउमा गएँ । मसँग मानिसका जस्तै शब्द भएका भए दाइलाई भनिदिन्थेँ, आज ममी र बाबाको भेट भएछ ।
हो, असोज–कात्तिकले भुतुक्क भएर म पनि कम्पाउन्ड नाघेर बाहिर विचरण गर्ने भएको थिएँ । बाटाहरूमा म आफ्नै सम्भावित भ्राताश्री वा पिताश्रीहरूसँग रल्लिँदै र -यालिँदै आफ्नै सम्भावित माताश्री वा भगिनीका पछाडिको भाग सँुघ्दै हिँडिरहेको थिएँ । तर, म कलिलै थिएँ, जब्बर कुकुरहरूले मलाई समूहमा पनि आउन दिएनन् । दिनभरि डुलिरहे पनि साँझ परेपछि मलाई घरको याद आउँथ्यो । त्यही सिलसिलमा एक साँझ म दगुरेर घर पुगेँ ।
घरमा दाइको जन्मदिनको माहोल थियो । दाइका साथीहरू बैठककोठाभरि थिए । मान्छेहरू हाँसिरहेका थिए र नाचिरहेका थिए । तर, ममीको अनुहारमा पहिलाको भन्दा तनाव देखिरहेको थिएँ, दाइले मलाई पनि एउटा चुच्चे टोपी लगाइदिए । पत्याउनुहुन्न होला, म दाइको छेउमै बसेर सबैले हेप्पी बर्थडे गाएको हेरिरहेको थिएँ ।
प्लेटमा एक टुक्रा केक मिठो मान्दै खाइरहेका वेला चिरपरिचित गन्ध बोकेर हावा घरभित्र छि¥यो । म हान्निँदै बाहिर गएँ । म उफ्रिँदै पर्खालमाथि चढेँ । बिजुलीको पोलमा तलपट्टि चस्मा लगाइरहेको केटीको फोटो टाँसिएको थियो, अलि माथि त्यही समृद्धि भन्ने बाजेको फोटो टाँसिएको थियो । त्यहीँनेर बाबा उभिएका थिए । सुरुमा त म अलि हिच्किचाएँ किनभने उनी झट्ट नचिनिने लुगामा थिए । दाह्रीजुँगा नफालेका फोहोरी जस्ता लाग्ने बाबालाई देखेर म हाँसेँ तर तल झरिनँ ।
उनले मायालु स्वरमा ‘मोटु’ भनेपछि म तल झरेँ । दगुर्दै गएर बाबालाई ग्वाम्लाङ्ग अँगालेँ र उनलाई चाटेँ, चाटिरहेँ । उनको गर्दन साधारण नै थियो । उनी रोइरहेका थिए, खुसीले पनि र उदासीले पनि । म घरी भित्र र घरी बाहिर गरिरहेँ । मलाई नयाँ युग भनेको यही होला जस्तो लाग्यो । अन्तमा बाबाले मलाई प्लास्टिकको एउटा पोका दिए । त्यसलाई मुखले च्यापेर म भित्र गएँ । सबै अचम्मित भए । जिज्ञासु हुँदै दाइले प्लास्टिकको पोका खोल्दा त्यसमा डेरी मिल्क चकलेट देखिए ।
ममी बाहिर निस्किन् । म पनि गएँ तर बाहिर बिजुलीको पोलमा त्यही दुइटा अनुहारबाहेक अरू कोही थिएन । फर्कँदा ममीको आँखामा पनि आँसु छचल्किरहेको प्रस्ट देखेँ तर त्यो दुःखको आँसु थिएन किनकि ममीको नाकको टुप्पामा सानो आगो बलिरहेको थियो ।
अब ममी पनि दिउँसो काममा जान थालेकी थिइन् । बेलुकी थकित भएर आउँथिन् । तर, मलाई देखेर उनको नाकको आगो बिस्तारै निभेर जान्थ्यो । म बाहिर उदास भएर बस्न थालेको थिएँ । लामा उदास रातहरू र एकान्तका दिनहरूसँग अब अभ्यस्त हुन थालेको थिएँ । कहिलेकाहीँ बतासले परिचित गन्ध बोकेर नाकसम्म हिर्काउँथ्यो, म चनाखो भएर बाटोमा निस्कन्थेँ तर टाढाटाढासम्म बाबाको नामोनिसान नदेख्दा मेरो उदासी झन् बढेर आउँथ्यो । घर पहिलाको जस्तो रमाइलो अवश्य थिएन । तर, दाइ मसँग पहिलेझैं खेलिरहन्थे र उनलाई खुसी देखेर म पनि दुःखी हुने थिइनँ ।
एक दिन ममी निकै अबेर आइन् । स्वाभाविक किसिमले म एकछिन साडीमा झुन्डिन गएँ । र, त्यो साडीले त्यही गन्ध पनि अलिकति बोकेर आएको थियो, जुन गन्ध बाबाको छेउमा हुँदा आइरहन्थ्यो । म त्यसै खुसी भएँ, उफ्रेर दाइको छेउमा गएँ । मसँग मानिसका जस्तै शब्द भएका भए दाइलाई भनिदिन्थेँ, आज ममी र बाबाको भेट भएछ ।
केही मान्छेहरू आए र दुई दिनमै घर खाली गरिदिन भने, मैले बुझेँ, घर बिक्री भइसकेको रहेछ । यो डेरामा चाहिँ मान्छेहरूले मलाई गाली गरे, लात्तिले हाने । म दुब्लाउन थालेँ, कसैले ‘मोटु’ भनेर पनि बोलाएनन् । दिउँसो म एक्लै हुँदा घर बसिनँ, बाहिर डुलेँ, त्यही चस्मा लगाइरहेको केटी र ठट्यौली गर्ने बुढा मान्छेको पोस्टर टाँसिएका बिजुलीका खम्बाहरूलाई भिजाउँदै डुलिरहेँ । भुस्याहा कुकुरहरूसँग झगडा होलाजस्तो हुँदा पुच्छर लुकाएर भागिदिएँ । म स्वयं भुस्याहा भुस्याहा हुन थालेँ ।
अँध्यारो भइसकेको थियो । म दाइको छेउमा गँडुल्किरहेको थिएँ । दाइ आफ्नाे होमवर्क गरिरहेका थिए । आजभोलि दाइ कम बोल्थे, बाहिर साथीहरूसित खेल्न पनि जाँदैनथे, होमवर्क गरिरहन्थे, मोटु–पत्लु पनि हेर्दैनथे र मसँग खेल्न मात्र खेलिरहेको जस्तो लाग्थ्यो ।
ममी बाहिरबाट आइन् । उनी आज खुसी थिइन् । नाकको टुप्पोमा आगो त के धुवाँको पनि कुनै चिह्न थिएन । झोलाको प्लास्टिकको आवाजले मलाई लागिसकेको थियो, मेरा लागि केही खानेकुरा छ । म खुसी हुँदै नजिक गएँँ । र ममीको शरीरबाट आइरहेको पहिलाको जस्तो संयुक्त गन्धले मलाई खुसी पनि बनायो र उदास पनि । त्यो गन्ध हात, मुख, गर्दन, छाती पेट सबैतिरबाट आइरहेको थियो । खानेकुरालाई बेवास्ता गरेर दगुर्दै बाहिर गएँ । बाटोमा मैले धेरैलाई देखेँ तर त्यो गन्ध भएको कसैलाई पाइनँ । म बाटोबाटै भुक्दै त्यो गन्ध खोज्दै हिँड्न थालेँ , हाउँउँउँउँउँउँउँउँउँउँउँ.... हाउँ हाउँ हाउँ हाउँ हाउँ हाउँ.... हाउँउँउँउँउँउँउँउँउँउँउँ... हाउँ हाउँ हाउँ हाउँ हाउँ हाउँ...।