हामीले मार्क्स पढ्न हतार गर्‍यौँ : अशेष मल्ल (रंगकर्मी)

शनिबार, १६ चैत, २०७५
डिजिटल संस्करण

मैले पढेको पहिलो कृति लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ हो । मुनामदन पढेर धेरै रोएको याद छ । त्यो किताब बुबाले ल्याउनुभएको थियो । घरमा किताब र पत्रपत्रिका चाङ हुन्थे, त्यसमध्येबाट नै मैले मुनामदन फेला पारेँ । 

पुस्तक पढ्ने रुचि उमेरअनुसार फरक—फरक हुँदो रहेछ । म किशोर हुँदा मेरो अगाडि जुन साहित्यिक किताब हुन्थ्यो, त्यो पढिहाल्थेँ । कविता, कथा, उपन्यास आदि इत्यादि । यो र त्यो भन्ने थिएन । मैले बिए विराटनगरमा पढेँ । त्यसवेला साझा प्रकाशनमा जति किताब आउँथ्यो, ती सबै पढ्थेँ । जब म एमए पढ्न काठमाडौं आएँ, त्यसवेला म बढीभन्दा बढी आख्यानमा सीमित भएँ । आख्यानमा पनि विशेषगरी नाटक । 

मैले ०३३ सालदेखि करिब ०३८ सालसम्म नाटक मात्रै पढेँ । काठमाडौंका जति पनि लाइब्रेरी थिए, त्यहाँ पाउने सबै नाटक नपढेका सायदै छैनन् होला । त्यसमा पनि कतिपय नाटक तीनपटकसम्म पढेँ । आफैँ पनि नाटक लेख्ने भएकाले विश्वभरका नाटकको अवस्था के छ भनेर पढ्थेँ । इन्डियन लाइब्रेरी मेरो घरजस्तै भइसकेको थियो । अब अहिले आएर मेरो सीमितता रंगमञ्चका बारेमा लेखिएका पुस्तकमा छ । 

पुस्तकको छनोट 
पुस्तकको विषयभन्दा प्रयोग गरिने शिल्पशैलीले तान्छ । पुस्तकमा विषय र शिल्पशैली बराबर हुनुपर्छ । लेखकको मूल्यांकन कन्टेन्टले भन्दा पनि शिल्पशैलीले गर्नुपर्छ । विषय त सबैले जानेको हुन्छ, तर त्यसको प्रस्तुति जोकोहीको वशमा हुँदैन । विषयलाई राम्रोसँग भन्न सक्ने क्षमता राम्रो लेखकमा मात्रै हुन्छ । शिल्पशैली राम्रो भएको बजारमा चर्चा नै नभएको अथवा कसैलाई थाहा नभएको पुस्तक छनोट गर्छु । 

शब्द आफैँमा तागतबर हुँदैन, शब्दले दिने अर्थमा तागत हुन्छ । समाजलाई नकारात्मक असर पार्छ भने त्यो लाखौँ बिक्री होओस् त्यसको अर्थ हुँदैन । नबिके पनि त्यसले समाजलाई केही परिवर्तन गर्न सक्छ भने त्यसको अर्थ रहन्छ । त्यस्ता पुस्तक पनि मेरो छनोटमा पर्छन् ।

नचलेको पुस्तक किनेर पढ्दा बीचैमा छोड्नुपरेको छैन । किनभने मैले ३५ वर्ष कलेज पढाएँ, धेरै विद्यार्थीको कपी काटेको छु । पहिलो दुई लाइनमै विद्यार्थी कस्तो भनेर चिन्न सक्छु । त्यसैले, पुस्तक किन्दा पनि बीचको दुई लाइन पढेपछि पुस्तक कस्तो हो भनेर चिन्छु । 

मार्क्सभन्दा कैयौँ गुणा राम्रो बुद्धको अष्टांग मार्ग पढेनौँ । वेद, गीताजस्तो उत्कृष्ट दर्शन हामीले पढेनौँ । 

गीता उत्कृष्ट किताब
संसारमा दुई किसिमका दर्शनको पुस्तक हुन्छ । एउटा भौतिक दर्शन र अर्को आध्यात्मिक दर्शन । भौतिक दर्शनमा एउटा दार्शनिकको व्यक्तिगत विचार दिइएको हुन्छ । उसको कुरालाई मात्रै पत्याएर हिँड्दा धेरै मानिस अन्योलमा परेका छन् भन्न खोजेको हो । उदाहरणका लागि राजनीतिक दर्शन । कतिपय राजनीतिज्ञहरू एउटाको मात्रै दर्शन पढेर राजनीतिमा प्रवेश गर्छन् । त्यस्ता धेरै मानिस पछुताएको पाइन्छ । सबै दर्शनका किताब पढ्नुपर्छ, तर एउटै दर्शन पढेर आफ्नो धारणा बनाउनुहुँदैन । जस्तो, पूर्वीय दर्शनहरू वेद, गीताजस्तो उत्कृष्ट दर्शनका किताब संसारमा छैनन् । तर, त्यो हामीले पढेनौँ । हामीले माक्र्स पढ्न हतार गर्यौँ । माक्र्सभन्दा कैयौँ गुणा राम्रो बुद्धको अष्टांग मार्ग पढेनौँ । जुन दर्शनले हाम्रो मानसिकता परिवर्तन गर्न सक्छ । तर, दुर्भाग्य पढेनौँ । 

दुनियाँले नपढी नहुने पुस्तक महाभारत हो । सबैले पढ्नुपर्छ, त्यसमा पनि लेखकले चाहिँ पढ्नैपर्छ । त्यो जहिले पनि सान्दर्भिक रहन्छ । गीता पनि पढ्नुपर्छ । एउटा लेखकले यी प्राचीन ग्रन्थसँगै अहिलेका आधुनिक किताब पढ्नुपर्छ ।

मैले गीता धेरैपटक पढेँ । जतिपटक पढ्छु त्यति नै पटक फरक अर्थ पाउँछु । गीताजस्तो उत्कृष्ट किताब संसारमा छैन । प्रत्येकपटक पढ्दा जीवन–जगत्को फरक–फरक अर्थ बुझ्छु । त्यसमा दर्शन छ, साहित्य छ । गीता हरसमय मेरो साथमा हुन्छ । जब ममा निराशा छाउँछ तब म गीताको कुनै पनि पाना पल्टाएर पढ्छु । त्यसले मलाई ऊर्जा दिन्छ । प्रत्येक पानाले नयाँ ऊर्जा दिन्छ । 

किताबमा विषयवस्तु र प्रस्तुतिको सहभागी बराबर हुनुपर्छ । विषयवस्तु राम्रो भएर प्रस्तुति राम्रो भएन भने त्यसको अर्थ हुँदैन । गाता आकर्षक भएर किताब हुने होइन । आख्यानमा हुनुपर्ने सबैभन्दा मुख्य कुरा भनेको द्वन्द्व हो । कुनै पनि किताब १५ पेज पढेपछि पाठकलाई बाँध्न सक्नुपर्छ । त्यहाँ भएका पात्रले छुनुपर्छ । ती पात्र मेरा आफ्नै हुन् भन्ने खालको अनुभूति हुनुपर्छ । माया गाँसिनुपर्छ । त्यस्तो किताब हुनका लागि लेखकले बुझ्न जरुरी छ । पाठकसँगको नाता लेखकले स्थापित गर्न सक्नुपर्छ । पात्र, विषय र प्रस्तुतिको ग्राफ तल–माथि हुँदै बढ्दै जानुपर्छ । त्यो द्वन्द्वले गराउँछ । विषयभित्र पात्रबीचको द्वन्द्व हुनुपर्छ । अनि पढूँ–पढूँ लाग्छ । हाम्रो नेपालमा पात्रसँग माया बस्ने खालको किताबको अभाव छ । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार