एउटा मोटो पुस्तक सेतो गातामा मोडिएको छ, जसरी जाडोमा बच्चाहरू सिरकमा गुटमुटिन्छन् । गाताभरि सिसाकलमले किरमिर–किरमिर केही कोरिएको छ । अध्ययन कोठाको ‘लो टेबलमा’ पल्टिरहेको पुस्तकबारे जिज्ञासु बन्दै म सोद्धछु, ‘सर, यो पुस्तक ?’ ‘यो पुस्तकमाथि बोल्नु छ, तपाईंको,’ केदारभक्त माथेमा भन्नुहुन्छ, ‘बोल्नुपर्ने किताब म यसरी गाताले मोड्छु र त्यसैमाथि नोट्स बनाउँछु, यसो गर्दा किताब पनि फोहोर हुँदैन ।’
कस्तो ‘युनिक टेक्निक’! हरेक कुरा मौलिक अनि अनुकरणीय । अवकाशका दिनमा पनि माथेमा सरमाथि पुस्तकउपर बोलिदिनुपर्ने जिम्मेवारी थपिएको छ । सहरमा भइरहने पुस्तक विमोचन र विद्वत् प्रवचनहरूमा उहाँको ‘पब्लिक डिमान्ड’ छ । किनकि, पछिल्लो समय केदारभक्त माथेमा सार्वजनिक वृत्त अर्थात् ‘पब्लिक स्फेयर’ मा अत्यन्त रुचाइएको नाम हो । नेपाली समाजको एक अग्रणी ‘पब्लिक इन्टेलेक्चुअल’ उहाँको छवि हो । आफूले बोल्नुपर्ने पुस्तकलाई अध्ययन कोठाको सोकेसमा लहरै मिलाएर राख्नुपूर्व पुस्तकमा कुनै दाग वा केरमेट नहोस् भन्नका लागि उहाँ पुस्तकलाई सेतो गातामा मोड्नुहुन्छ र त्यसैमाथि टिपोट बनाउनुहुन्छ ।
केदारभक्त माथेमाको सानेपा निवास पुग्ने जो कोही पनि उहाँका सौम्य अनि शिष्टाचारयुक्त आनिवानीबाट अवाक बनिरहेका हुन्छन् । बाक्ला भेटघाटबीच पनि उहाँ समय मिल्नासाथ फूल, बिरुवा गोडिरहेको भेटिनुहुन्छ । तर, जति–जति मुलुकमा बेथिति बढ्छ त्यति–त्यति नै उहाँको व्यग्रतासँगै व्यस्तता पनि बढिरहेको हुन्छ ।‘हेर्नुस्, साँच्चै भन्ने हो भने मलाई खुट्टा तन्काएर जाँज म्युजिक सुन्न मन पर्छ,’ केही गुनासो मिश्रित भावमा उहाँ सुनाउनुहुन्छ, ‘तर, खै म्युजिक सुन्ने, पेटिङ गर्ने, सेल्फ इन्डल्जेन्सको समय !’
हाम्रा बुद्धिजीवी आ–आफ्नै ‘ब्यागेज’ले थिचिएका छन् । केही बोलिहाल्यो, कोही रिसाउला कि भन्ने डर ! कसैको विरोध गरिहाल्यो, आफूले खाइपाई आएको सुविधा गुम्ने डर ! यतिबिघ्न पिर र ब्यागेजले थिचिएको व्यक्ति शैक्षिक उपलब्धिका आधारमा मात्रै कसरी बुद्धिजीवी हुन सक्छ र ! केदारभक्त माथेमा यहीँनेर अपवाद बन्नुहुन्छ ।
चौहत्तर वसन्त पार गर्दा पनि उहाँलाई खासमा केले व्यस्त बनाइरहेको छ ? किन आर्म–चियरमा पुस्तक पल्टाउँदै सुस्ताउने र रकिङ चेयरमा जाँज म्युजिकमा झुलेर सेल्फ इन्डल्जेन्समा हुनुपर्ने उहाँ सार्वजनिक वृत्त र सडकमै ज्यादा देखिनु–भेटिनु हुन्छ ?सायद माथिका जोडी प्रश्नहरूको उत्तर खोज्ने उपक्रम नै केदारभक्त माथेमा बन्नु हो । अक्सर मानिस आफ्ना वरिपरिका बेथिति अनदेखा गरिदिन्छन् । आफ्ना कम्फर्ट जोनबाट निस्किएर हतपत्ति कोही जोखिम मोल्न चाहँदैनन् । समाजलाई जब बेथितिले गाँज्न थाल्छ तब समाजका अगुवा भनाउँदाहरू नै दुलो पस्न थाल्छन् । ‘बिरालोको घाँटीमा घन्टी कस्ने को’ भन्दै एकअर्का मुखामुख गर्न थाल्छन् । समाजको यस्तो चरित्रबारे भलीभाँती जानकार माथेमा सर प्रश्न गर्नुहुन्छ, ‘दोलाइ ओढेर आफ्नो कौसीमा उक्लियो र सडकमा को–को उत्रिए भनेर हे-यो । यस्तो तालले पनि कहीँ प्रतिरोध हुन्छ ?’
मेरो दोस्रो प्रश्न, ‘आर्म–चियरमा सुस्ताउने र रकिङ चियरमा झुल्ने गर्नुभएको भए सायद उहाँसँग मेरो भेट हुने थिएन । किनकि, उहाँले शिक्षण पेसा आरम्भ गर्दा म जन्मिएकै थिइन् । र, ०३२ सालतिर त्रिभुवन विश्वविद्यालयको सक्रिय अध्यापन कर्मलाई तिलाञ्जली दिँदै बाहिरिँदै गर्दा म भर्खर कखरा सिक्न सुरु गर्दै थिएँ । जब मैले सार्वजनिक वृत्तमा उहाँलाई देखेँ, सुने अनि उहाँसँग परिचित भएँ, मैले केदारभक्त माथेमालाई शिक्षकभन्दा पनि मेन्टरका रूपमा पाएँ । विवेक र विदं्रोहको यस्तो समागम, जो समाजका कुनै पनि बेथितिको प्रतिरोध गर्छ, संकटमा एउटा योद्धा झैँ मैदानमा लल्कार्छ ।
विवेक शब्द मैले यहाँ जानीबुझी प्रयोग गरेको हुँ । किनकि, बुद्धिजीवी पदावली नेपालमा अब ‘क्लिसे’ (रूढोक्ति) बराबर सुनिन थालेको छ । किनकि, बुद्धि हुनेहरू बुद्धिविलासमा रमाइरहेका भेटिन्छन् । अझ, कतिपयका निम्ति त बुद्धि यस्तो दानपत्र बनिदिएको हुन्छ, जसभित्र पद, पैसा, पावर जे केही पनि अटाउन सक्छ । सार्वजनिक बहस अनि बसिबियाँलोमा त्यस्ता बुद्धिजीवीका प्रवृत्तिबारे माथेमा सर अनेकौँ उदाहरण प्रस्तुत गरिरहनुहुन्छ ।
एकथरी यस्ता बुद्धिजीवी हुन्छन्, जो विश्वका ख्यातनामा शैक्षिक प्रतिष्ठानबाट शिक्षित–दीक्षित हुन्छन् ।अन्तरक्रिया र सेमिनारमा लम्बेचौडे मल्टिमिडिया प्रस्तुति दिन्छन् । तथ्य अनि तथ्यांकको फेहरिस्त तेर्साउँदै आफ्नो प्रस्तुति अकाट्य बनाउँछन् । सिद्धान्त र भाष्यको पाइन हाल्दै आफूलाई विज्ञ र विशेषज्ञमा दराउँछन् । ‘वाह ! कस्तो दमदार प्रस्तुति, क्या विद्वान्’ प्रस्तुति सुन्नेहरू अवाक बनिरहेका हुन्छन् ।
वातावरणीय प्रदूषण, मानव अधिकार, सुशासन आदिजस्ता चल्ती र बिकाउ प्रस्तुतिमार्फत उनीहरू आफूलाई बौद्धिक श्रमबजारमा हातहातै बिकाउँछन् । मिनेट र घन्टाको दरमा कन्सल्ट्यान्सी पनि कुम्ल्याउँछन् । तर, ती बुद्धिजीवी भनिनेहरूलाई आफ्नो ग्ल्यामरस प्रस्तुतिभन्दा बाहिरको वास्तविक समाजमा कसरी प्रदूषण फैलिरहेको छ, अधिकारहरू कुन हदसम्म कुण्ठित छन् र कुशासन कसरी मौलाउँदै छ भन्नेबारे कुनै सरोकार रहँदैन । तारेहोटेलको वातानुकूलित कक्षमा वातावरणीय प्रदूषणमाथि प्रस्तुत दिने ती विज्ञ बाग्मतीमा ढल मिसिएको र सहरको हावा विषाक्त बन्दै गरेको प्रति कहिल्यै हस्तक्षेपको तहमा ओर्लिँदैनन् । जति–जति बेथिति, उति–उति उसको ‘धन्दा’ मौलाइरहेको हुन्छ ।
वास्तवमा हाम्रा बुद्धिजीवी आ–आफ्नै ‘ब्यागेज’ले थिचिएका छन् । केही बोलिहाल्यो, कोही रिसाउला कि भन्ने डर ! कसैको विरोध गरिहाल्यो, आफूले खाइपाई आएको सुविधा गुम्ने डर ! कुनै अमुक पार्टीको अमुक नेता बिच्केलान् कि भन्ने सन्त्रास । दाता र (आइएनजिओ भड्किन्छन् कि भन्ने पिरलो । यतिबिघ्न पिर र ब्यागेजले थिचिएको व्यक्ति शैक्षिक उपलब्धिका आधारमा मात्रै कसरी बुद्धिजीवी हुन सक्छ र !
केदारभक्त माथेमा यहीँनेर अपवाद बन्नुहुन्छ । केही घटना परिघटनाको साक्षी म स्वयं छु । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)का तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की कुनै वेला मुलुकका ‘डि–फ्याक्टो’ शासक थिए । ‘शोले’ फिल्मको गब्बर सिंहले झैँ उनी कहीँ कतै धावा बोल्न सक्थे । लोकमान नामको सन्त्रास यतिसम्म व्याप्त थियो कि लोकमानपीडित आफ्नो पीडामोचनका लागि उनकै शरणमा पुगिरहेका हुन्थे । शोले’ कै गब्बरको डायलग’ गब्बर से सिर्फ एक ही आदमी वचा सकता हैं, वह है खूद गब्बर’ भने जसरी लोकमानलाई ललकार्न सक्ने माइकालाल समाजमा कोही देखिँदैनथियो । माथेमा सरसम्बद्ध शैक्षिक क्षेत्रउपर लोकमान एक पछि अर्को धावा बोल्दै थिए ।
काठमाडौं विश्वविद्याल (केयू) को मेडिकल इन्ट्रान्स सिसिटिभीसमेत बन्द गरेर अदुअआ आफैँले सञ्चालन गरेको थियो । विश्वविद्यालयको प्राज्ञिक स्वायत्तताको चिरहरण हुँदासम्म पनि विश्वविद्यालयका उच्च पदाधिकारी तैँ चुप मै चुपको अवस्थामा थिए । यसै वेला म माथेमा सरको सानेपास्थित निवास पुगेको थिएँ । एक प्रकारको छटपटि उहाँको अनुहारमा प्रस्ट नियाल्न सकिन्थ्यो ।
सन्त्रासका कारण निःशब्दता छाइरहेका वेला उहाँ अदुअआको हस्तक्षेप र केयूको पदाधिकारीको मौनता दुवैप्रति असहमतिको स्वर मुखर गर्न चाहिरहनुभएको थियो । ‘हेर्नुहोस्, म कुनै न कुनै किसिमले असन्तुष्टि व्यक्त गरिछाड्छु, त्यसै बस्दिनँ,’ सर असहमति प्रकट गर्ने कुनै तरिका खोजिरहनुभएको थियो । नभन्दै त्यसको एकाध दिनभित्रै माथेमा सरले केयूको सिनेटबाट राजीनामा दिनुभयो, जसबाट अदुअआमाथि नैतिक प्रश्न खडा भयो भने केयूका पदाधिकारी झिनो स्वरमै सही मुख खोल्न बाध्य भए । त्यसभन्दा पनि उहाँको असन्तुष्टिले नेपाली समाजमा राज गर्दै आएको भयको साम्राज्य (कल्चर अफ साइलेन्स) विखण्डित हुन सुरु भयो । अब सहेर बस्नुहुँदैन भन्ने एउटा जागरुक समूह लोकमानतन्त्र विरुद्धको मोर्चाबन्दीमा उत्रियो ।
लिगेसी
केदारभक्त माथेमाका जिजुबुबा भागवत भक्त र हजुरबुबा आदिभक्त राणाकालका सुब्बा थिए । सबै कुरा ठिकठाक चलिरहेको यो कुलीन परिवारको दशा र दिशा त्यसवेला मोडियो जब आदिभक्तका जेठा छोरा धर्मभक्तले राणा शाहीविरुद्धको जिहाद छेडे । केदारभक्त माथेमाका बुबा ध्रुवभक्त राणा शाहीविरुद्धको बगावतमा सहादत प्राप्त गर्ने अमर सहिद धर्मभक्तका भाइ हुन् । सन् १९९७ सालमा धर्मभक्तलाई राजद्रोहको कसुरमा मृत्युदण्डपछि माथेमा परिवार कलकत्ता निर्वासित हुन पुग्यो ।
संवत् २००० मा कालिम्पोङमा जन्मिनुभएका केदारभक्त माथेमा राणाशाहीको अन्त्यपछि परिवारसँगै २००९ सालमा नेपाल फिर्नुभयो । नेपालको शिक्षा, दीक्षासँगै अध्यापन कर्म सुरु गर्नुभएका उहाँ ०३२ सालसम्मै अध्यापनमा हुनुहुन्थ्यो, जुन वेला (त्रिभुवन) विश्वविद्यालयमा घटेको एउटा घटनाले उहाँको जीवनमा नै ‘यु टर्न’ लियो । माथेमा क्याम्पसप्रमुख हुनुभएको त्रिभुवन विश्वविद्यालय कलेज हाताभित्र उहाँको अनुमतिबेगर एक दिन प्रहरीको डफ्फा बलजफ्ती प्रवेश ग-यो । त्यो विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रामाथि राज्यको नांगो हस्तक्षेप थियो । एकदलीय व्यवस्थामा अरू जस्तै उहाँ पनि त्यसलाई गुपचुप सहन सक्नुहुन्थ्यो । ‘मलाई मेरो अन्तरआत्माले चुप बस्न दिएन । मैले उपकुलपतिको अगाडि नै त्यस हस्तक्षेपको कडा शब्दमा विरोध गरेँ,’ चार दशकअघिको त्यो घटना सम्झिँदै सर भन्नुहुन्छ, ‘विरोधको सजायस्वरूप मेरो ग्रेड घटाइयो । त्यसपछि मलाई विश्वविद्यालयमा बसिरहने मन भएन र राजीनाम दिएँ ।’
०३२ सालमा मात्र ३२ वर्षका उहाँ प्राध्यापक बनिसक्नुभएको थिएन । तर, सानै उमेरमा शिक्षा क्याम्पसको प्रमुख बनेर एउटा कीर्तिमान भने बनाइसक्नुभएको थियो । उहाँ प्राविधिक कारणले प्राध्यापक बन्न सक्नु त भएन । तर, रमाइलोचाहिँ, अधिकांश मानिस उहाँको नाम अगाडि ‘प्राध्यापक’ को पदवी अनायासै राखिदिन्छन् । एउटा घटनाको प्रतिरोधका कारण ०३२ सालमा उहाँको अध्यापन कर्मको क्रमभंगता भए पनि माथेमा सर ०४६ सालको परिवर्तनपछि त्रिभुवन विश्वविद्यालयको नेतृत्व गर्न पुग्नुभयो । शिक्षालाई दलीय हस्तक्षेपबाट मुक्त राख्दै विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक थलोका रूपमा विकसित गर्न उपकुलपतिका रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिकलाई आज पनि त्रिविको स्वर्णकालका रूपमा स्मरण गरिन्छ ।
त्रिविको उपकुलपति हुँदा होस् वा जापानका लागि नेपाली राजदूतका रूपमा कार्यभार सम्हाल्दा होस्, माथेमा सर सबैका निम्ति ‘आइकोनिक’ रहनुभयो । मानिसको प्रतिष्ठालाई केवल पदसँग जोडेर हेरिने हाम्रो समाजमा उहाँ एउटा अपवादका रूपमा उभिँदै आउनुभएको छ ।माथेमा सरलाई भेट्दा उहाँका केही कुरा समय क्रममा विकसित (अक्वायर्ड) र केही भने वंशाणुगत हुन् भन्ने महसुस गर्छु म । दक्षिण एसियाली मुलुकहरूमा राजनीति र सामाजिक क्षेत्रको समूल उठान एवं व्यापक चेतनप्रवाहमा केही ‘एलिट’ परिवारको नेतृत्वदायी भूमिका देखिन्छ ।
आफूभन्दा नयाँ–नयाँ पुस्तालाई सदा स्नेहसाथ मार्गनिर्देशन गर्नुहुन्छ । जब समाजमा संकट मडारिन्छ, तब ‘बुद्धिजीवीहरू’का स्वर दब्न थाल्छन्, कही कतैबाट केदारभक्त माथेमाको ओजपूर्ण प्रतिरोधको स्वर सुनिन्छ ।
भारतका जवाहरलाल नेहरू, महात्मा गान्धी, सुवासचन्द्र बोसदेखि कविगुरु रवीन्द्रनाथ ठाकुर, पाकिस्तानका महम्मद अलि जिन्ना, श्रीलंकाका सिरिमाओ बन्दरानायके, बंगलादेशका मुजिवर रहमान आदि कुलीन घरानाका सदस्य हुन् । हाम्रै देश नेपालका कृष्णप्रसाद कोइरालाको परिवारदेखि, सुवर्ण शमशेर, मृगेन्द्र शमशेर जबराका भरत शमशेर, जगदीश शमशेर र सागर शमशेरजस्ता बागी पुत्रहरू, साहित्य, नाट्य र कलाका त्रिवेणी बालकृष्ण सम सबै एलिट परिवारका सदस्य हुन्, जसले चेतनाका खातिर विद्रोहको मसाल उठाए ।माथि उल्लिखित परिवारजस्तै कुलीन माथेमा परिवार समाजको उत्थान र उन्नयनका लागि अनेक भूमिकामा देखिएको छ । भारतमा अध्ययनकै क्रममा बडिविल्डिङ सिकेका धर्मभक्त माथेमाले स्वदेश फर्किएर काठमाडौंको ओमबहालमा जिमखानासँगै स्कुल पनि खोलेका थिए । माथेमा खलककै दयाराम भक्त माथेमाले नेपालमा पहिलो सिनेमा टाकिज जनसेवा सिनेमा घर स्थापना गरेर फिल्मी संस्कृति भित्र्याएका थिए । माथेमा सर किन फिल्म र जाँज संगीतका पारखी हुनुहुन्छ भन्ने प्रश्नको उत्तर उहाँको ‘लिगेसी’ बाट पनि बुझ्न सकिन्छ ।
मानिस कहिलेकाहीँ सम्भ्रान्त (एलिट) लाई सामन्त (फ्युडल) को अर्थमा लिएर अर्थको अनर्थसम्म गरिदिन्छन् । सम्भ्रान्त र सामन्त एकै होइनन् । हो, सामन्तहरू सम्भ्रान्त हुन सक्छन् । तर, सबै सम्भ्रान्त सामन्त हुन्छन् नै भन्ने छैन । सम्भ्रान्तमा जब चेतनाले वास गर्छ, उनीहरू पूरै समाजलाई नै आलोकित गर्छन, जसरी माथेमा परिवारका धेरै सदस्यले गर्दै आएका छन् । मेरो विश्वास छ, ठूलो बुबा धर्मभक्तको विद्रोह चेत, बुबा ध्रुवभक्तको थकानरहित जुझारू जीवन, माता वृन्दाको शिक्षण कर्मका खोला र खोल्साहरू कहीँ कतै मिसिएर बनेका त्रिवेणी हुनुहुन्छ केदारभक्त माथेमा सर ।
कुलीन शिष्टाचार र आलोचनात्मक चेतका धनी माथेमा सर स–साना सूचना र खुसी अरूसँग बाड्दा रमाउनुहुन्छ । आफूलाई छोएका पुस्तक, उद्वेलित गरेका लेख, रचना उहाँ भौतिक रूपमा र विद्युतीय माध्यममार्फत बाँड्नुहुन्छ । आफूभन्दा नयाँनयाँ पुस्तालाई सदा स्नेहसाथ मार्गनिर्देशन गर्नुहुन्छ । जब समाजमा संकट मडारिन्छ तब ‘बुद्धिजीवीहरू’ का स्वरहरू दब्न थाल्छन्, कहीँ कतैबाट केदारभक्त माथेमाको ओजपूर्ण प्रतिरोधको स्वर सुनिन्छ ।