दुई कविता

राजव राजव
शनिबार, १६ चैत, २०७५
डिजिटल संस्करण

१. सर्भिलेन्स
क्यापिटालिजम 

घरभित्र, घरबाहिर 
स्मार्ट टिभी, ल्यापटप, आइप्याड, आइफोन, एमेजन इको 
आदि अनेक स्मार्ट उपकरणमा घेरिने 
स्मार्ट उपभोक्ता     
म   
हरक्षण
सर्भलेन्स क्यापिटालिजमको 
ट्र्याकमा हुन्छु  
त्यसले  मेरो घर ट्र्याक गर्छ 
म पुग्ने ठाउँ ट्र्याक गर्छ 
मेरो काम ट्र्याक गर्छ 
मेरी प्रेमिका ट्र्याक गर्छ 
मेरो समय 
मेरो क्षण 
मेरो बाथरुम ट्र्याक गर्छ 
मेरो टुथब्रस ट्र्याक गर्छ 
मेरो पेस्ट ट्र्याक गर्छ 
मेरो टवेल ट्र्याक गर्छ 
मेरो बाथरोब ट्र्याक गर्छ 
बिहान उठ्ने मेरो समय ट्र्याक गर्छ 
मेरो ब्रेकफास्टमा हुने 
परिकार ट्र्याक गर्छ 
कामको लागि 
म कत्ति बजे 
आफ्नो घरबाट
निस्कन्छु 
स्टारबक
अबुबेन पेन
डंकिन डोनट 
म्याकडोनाल्डमध्ये 
कुन कफी सपभित्र 
मेरो बढी प्रवेश हुन्छ 
क्यापचिनो, डिक्याफे, रेगुलर 
कोलम्बियन, ब्राजिलियन, फ्रेन्च
फ्लेभर, ननफ्लेभरमध्ये 
मेरो रोजाइको कफी ट्र्याक गर्छ    
मेरो जगिङ रुट  
मेरो तौल 
मेरो पाइला ट्र्याक गर्छ 
सप्ताहान्तको शनिबार 
र आइतबारको दिन  
म 
कहाँ, कहाँ जान्छु 
कुन बारमा पस्छु 
कुन ब्रान्डको बियर
कुन स्तरको ह्विस्की अर्डर गर्छु  
बिएम डब्लु, मर्सिडिज, भोल्भो, क्याडल्याक, लिंकन आदि मध्ये   
म 
कुन कार चलाउँछु 
लन्चका लागि  
म 
कुन रेस्टुरेन्ट पस्छु र 
खानाको कुन परिकार अर्डर गर्छु 
म 
कुन ट्वाइलेट पेपर 
कुन लिभेन्डर 
कुन डियोडिरेन्ट 
कुन सेभिङ क्रिम 
कुन रेजर
कुन सावर जेल
प्रयोग गर्छु 
मेरो बाथरुममा अरू के के  रहन्छन् 
मेरो रेफ्रिजिरेटर भित्र खाने, पिउने कुन कुन ब्रान्डका 
के के हुन्छन् 
मेरो वाइन -याकमा 
फ्रेन्च, इटालियन, कोलम्बियन, क्यालिफोर्नियन आदि 
कहाँ कहाँको सिराज, मिर्लो, पिनिन्वेर टेस्टका बोतल हुन्छन्            
मेरो एक एक गन्तव्य र खरिददारीको ट्र्याक गर्दै 
आफ्नो प्रोडक्टको 
लक्ष्य निर्धारण गर्छ
सर्भिलेन्स क्यापिटालिजम 
म 
कवि अमिरी बाराक पढ्छु कि 
जिमी स्यान्टियागो बाका 
कि बुकोवस्की 
कि रिटा डोभ 
कि एन्द्राइ रिच 
कि ट्रेसी के स्मिथ 
कि विजय सेसाद्री 
कि चाल्र्स राइट 
कि होभिएर जामुरा 
म समकालको कुन कविको 
कुन संग्रह पढ्दै छु 
मेरो सौन्दर्य चेतना 
मेरो संवेदना 
मेरो प्रेम 
मेरो अभ्यन्तर ट्र्याक गर्छ
सर्भिलेन्स क्यापिटालिजम 
म जोनाथन फ्य्रान्जेन 
कोरमाक म्याकार्थी 
डेविड फोस्टर वालेस 
रिचार्ड रुसो
रिचार्ड फोर्ड 
रिचार्ड प्राइस 
डोन डिलिलो
पौल अस्टर   
वा अरू को को बढी पढ्छु  
ट्र्याक गर्दै  
मेरो आत्माको सन्दुक फोड्छन् 
आत्माचोर एपहरू 
म पुगेको एक एक बजार पसेर 
मेरो रुचिको चियो गरिरहेछन्   
सर्भिलेन्स क्यापिटालिजमका  
संक्रामक एप भाइरसहरू 
र म हुस्सु  
आफूलाई स्मार्ट ठान्छु 

मजस्ता लाखौँ लाख स्मार्टहरूको  
गोपन 
नंग्याइरहेछ
सर्भिलेन्स क्यापिटालिजम

कर्पोरेट टेक्नोलोजिस्ट 
माझीको जालमा 
फसेको छ 
समय ।

२. कविताको 
स्मार्ट 

कविताको स्मार्ट 
सत्ताको तानाशाहले 
सुन्ने कविता लेख्छ  

सत्ताको तानाशाह 
कवितामा 
कालिदासकी शकुन्तलाको 
कि भ्यालेन्टाइन डेको 
कि आफ्नो प्रशस्ति खोज्छ 

कविताको स्मार्ट 
विरोधका शब्दहरू
प्रतिकारका विम्बहरू 
क्रूरताका प्रतीकहरू 
छाँटी, छाँटी 
केलाई, केलाई 
कविता 
स्मार्ट विरुदावली बनाउँछ   

सत्ताको कानबारे 
राम्रो जानकारीमा हुन्छ    
कविताको स्मार्ट  

सत्ताको तर्फबाट
संसारका सबै स्मार्ट कविहरूलाई 
धन्यवाद ।  

सम्पादकको रोजाइ

सुझावित समाचार