भारतीय लेखक नूर जहिर नाट्यकर्मी, एक्टिभिस्ट र अनुसन्धानकर्ता हुन् । हिन्दी, उर्दू र अंग्रेजी तीन भाषामा प्रखर रूपले कलम चलाउने नूरले क्रियाशील वामपन्थी कार्यकर्ताका रूपमा लामो समय काम गरिन् । ‘माई गड इज उमन’, ‘डिनाइड बाई अल्लाह’, ‘सुर्ख कारबाँ के हमसफर’, ‘रेत में खून’, ‘स्याही के एक बूँद’ लगायत आख्यानकी लेखक नूरले जीवनी र अनुवादमा पनि काम गरेकी छिन् ।
भारतीय जननाट्य संघ (इप्टा)मा लामो समयदेखि आबद्ध यिनी हाल इप्टा दिल्ली शाखाकी अध्यक्षसमेत हुन् । अभिनय र स्क्रिप्ट लेखनमा क्रियाशील नूर नाटक निर्देशन पनि गर्छिन् । खासगरी महिलाद्वेषी मुस्लिम कानुनविरुद्धको लेखनमार्फत प्रसिद्ध यिनी मुखर र खरो वक्ताका रूपमा भारत, बंगलादेश र पाकिस्तानमा समेत प्रशंसित छिन् । उनी प्रगतिशील लेखक संघ भारतका संस्थापकमध्ये एक लेखक–एक्टिभिस्ट सज्जाद जहिर र विद्रोही लेखक रजिया जहिरकी छोरी हुन् । गत माघ १३–१५ मा प्रलेस राजस्थानले आयोजना गरेको साहित्य उत्सवमा भेटिएकी जहिरसँग सरिता तिवारीले कुराकानी गरेकी थिइन् ।
अब्बा–अम्मीको स्मरणबाट थालौँ । लेखक–एक्टिभिस्ट मातापिताका सन्तानका रूपमा तपाईंहरूको बाल्यकाल कस्तो रह्यो ?
अब्बाका साथीहरू सब लेखक, रंगकर्मी, कलाकारहरू ! भारतका सबैभन्दा मानिएका सिर्जनशील मानिसहरूले भरिने हाम्रो घर ! साहित्य, संस्कृति र कलाको विषयमा हुने कुराकानी ! प्रतिरोध र विद्रोहको विचार बोक्ने अब्बा–अम्मी ! खुलेर कुरा गर्न, नडराई बहस गर्न हामीले घरभित्रै सिक्यौँ । घरमा हाम्रा कुराको पनि मान हुन्थ्यो । जुन कुरामा निषेध हुन्थ्यो ती विषयलाई तर्क र कारणसहित निषेध गरिन्थ्यो । अम्मी–अब्बाले पूरै परिवेश नै यस्तो बनाउनुभएको थियो जहाँ घरको अवधारणा एक–आपसको भरोसामा, विश्वासमा निर्भर थियो । हप्कीदप्की र थप्पडले छोराछोरी तह लगाउने शैली कदाचित् अपनाइएन । किताबसित गहिरो मित्रता, ज्ञानको सम्मान र जान्नेबुझ्ने उत्कण्ठा अम्मी–अब्बाले दिएको सबभन्दा ठूलो देन हो । नाटकमा लाग्न मेरा प्रेरक अब्बा नै हुनुहुन्थ्यो । म सानै उमेरमा नृत्य, संगीत र नाटकप्रति हुरुक्क थिएँ ।
तपाईंकी आमा त लेखकका साथै एक क्रान्तिकारी पनि हुनुहुन्थ्यो । तपाईंमा आमाको प्रभाव कत्तिको परेजस्तो लाग्छ ?
हेर्नुस्, म के ठान्छु भने हरेक लेखक विद्रोही हुनैपर्छ । तब मात्रै ऊ समर्थ लेखक बन्न सक्छ । अम्मी क्रान्तिकारी हुनुहुन्थ्यो, तर उहाँमा विद्रोहको बीज रोप्नेचाहिँ अब्बा स्वयं हुनुहन्थ्यो । अब्बाले बिहे गरेको तेस्रो दिनमै अम्मीको शिरबाट बुर्का हटाइदिनुभएको रे । अब्बाले बुर्का हटाउन थालेको पहललाई अम्मीले पनि नडराई साथ दिनुभयो । कतिसम्म भने उहाँले ओढ्नेले टाउकोसमेत ढाक्नुभएन । उहाँ खुला राजनीतिमा लाग्नुभयो । कलेज पढाउँदै सक्रिय रूपले संगठनका काममा व्यस्त हुनुभयो । विद्यार्थी, मजदुर, किसान हरेक समूहका मानिससित खुलेर भेटघाट र सहकार्य गर्नुभयो । अम्मीबाट प्रभावित नहुने त कुरै भएन ! म उहाँकै प्रभावले पार्टी राजनीति, लेखन, अनुसन्धान सबैतिर छरिएँ ।
लेखक–एक्टिभिस्ट, अनुसन्धानकर्ता र एक कमरेडका रूपमा आजको भारतीय समाजसित तपाईं कसरी संवाद गरिरहनुभएको छ ?
भारतीय समाजमा संवाद यति अपरिहार्य कहिल्यै रहेन जति आज छ । कारण, सत्तामा जो छन्, ती कुनै किसिमको संवाद नै चाहन्नन् । संवादको मुख्य माध्यम लेखन र बहस नै हो । म त्यही प्रयास गरिरहेकी छु । जस्तो कि अहिले अल्पसंख्यक समुदायलाई सीमान्तमा धकेल्ने काम भइरहेको छ । दलित समुदायको स्थिति पनि त्यही छ । तिनलाई मुख्यधारामा ल्याउने काम संवादबाटै हुने हो । हाम्रा लेखन र बहसबाट त्यो प्रयत्न भइरहेको छ । लेखन र बहसमा छुटेका दलित समुदायका महिलालाई मूलधारभित्र ल्याउने पहल म आफैँ पनि गरिरहेकी छु । यही ८ मार्चमा नागपुरमा हामीले दलित महिलाहरूसँग विशेष कार्यक्रम ग-यौँ । तपाईं छक्क पर्नुहोला, भारतमा ठूलो संख्यामा रहेका दलित महिलाले ८ मार्च के हो, थाहै पाएका छैनन् । यस्तै कुरो तपाईं आदिवासी समुदायमा पनि देख्न सक्नुहुन्छ । महानगरका एलिटहरूलाई आदिवासी को हुन्, तिनको संस्कृति के हो भन्ने पत्तो छैन । तिनलाई त बम्बैया फिल्मले देखाउने आदिवासीको चित्र मात्रै थाहा छ । यस्ता क्षेत्रमा काम गर्नुमा धेरै चुनौती छन्, तर म कोसिस गरिरहेकी छु । हिमाचल प्रदेशमा मूलवासीहरूका साहित्यलाई हिन्दी र अंग्रेजी दुवै रूपमा बाहिर ल्याउनेदेखि आमश्रमजीवी वर्गसँग सामीप्य र संवादसम्मका प्रयास गरिरहेकी छु । एक कमरेडका रूपमा पनि हरेक वर्ग र तप्काका मानिससित सहकार्य र वार्ता गरेर यिनीहरूबीच आपसमै पनि संवादका सीमा भत्काउने प्रयासमा छु ।
भारतीय समाजका महिलाको आधारभूत समस्या के हो भन्ने ठान्नुहुन्छ ? एसियाली र समग्र वैश्विक चित्रमा भारतीय महिला कहाँनेर छन् ?
भारतीय महिलाको सबैभन्दा ठूलो समस्या हो– रीतिरिवाज र मान्यताहरूको आडम्बरसित गहिरो लगाव । त्योभन्दा उता उनीहरू केही देख्न सकिरहेकै छैनन् । खोक्रा र देखावटी कुराले हामीलाई नराम्ररी फसाइरहेका छन् । यो समस्या सबै समुदाय र वर्गमा छ । धर्मप्रधान समाज हो भारतको । यहाँ अन्धविश्वासको यति गहिरो प्रभाव छ कि महिलाहरूमा पनि त्यसबाट बाहिर निस्कने इच्छाशक्ति नै देखिन्न । संगठित आन्दोलनहरू पनि यसैकारण कमजोर भइरहेका छन् । एउटा समय थियो, सुरक्षादेखि मूल्यवृद्धिसम्मका हरेक प्रश्नका लागि महिलाहरू सडक र सभामा आउँथे । तिनको नेतृत्वसमेत गर्थे । इन्दिरा गान्धी एक शक्तिशाली नेताका रूपमा प्रकट हुनुको नकारात्मक मूल्यमा यहाँ अरू कोही महिला त्यसरी नै अगाडि नआओस् भन्ने अनुदारवादी स्थिति हाबी छ । महिलालाई नेता स्विकार्ने कुरामा भारतीय समाज पटक्कै उदार छैन । त्यसैकारण हो– यतिखेर, वैश्विक सन्दर्भमा भारतीय नारीहरूको न कुनै योगदान छ न त्यस्तो कुनै कोसिस नै देखिन्छ । मलाई लाग्छ, यी विषयमा सबैखाले महिला संगठनहरूले मिलेर केही ठोस योजना थाल्नुपर्छ ।
तर, भारतीय महिलाले बौद्धिक हस्तक्षेप त गरिरहेकै छन् नि ! जस्तो कि रोमिला थापर, अरुन्धती रोय, अरुणा राय इत्यादि छन् जसका कुरा क्षेत्रीय र वैश्विक परिवेशमा सुन्ने, पढ्ने क्रम तीव्र छ !मैले राजनीतिक हस्तक्षेपको कुरालाई बढ्ता जोड्न खोजेकी हुँ । यस्ता प्रसंगमा इन्दिरा गान्धी, अरुणा आसिफ अली या विजयलक्ष्मी पण्डितजस्ता नाम लिन सकिन्छ । तर, खासमा पछिल्ला दशकमा विश्व राजनीतिलाई नै प्रभावित गर्न सक्ने स्थिति हामीले बनाउन सकेनौँ भन्ने हो । स्टेट्सम्यानका सट्टामा ‘स्टेट्सउमन’लाई स्थापित गर्ने माहोल बनाउन सकेका छैनौँ नि हामीले । तपाईंले नाम लिएका स्कलर, बौद्धिक र अभियन्ताका रूपमा धेरै ठूला नाम हुन्, तर उहाँहरूको लोकप्रियतामा प्रायः निजी सोच र प्रभावले काम गरेको छ ।
भारतीय महिलाको सबैभन्दा ठूलो समस्या हो– रीतिरिवाज र मान्यताहरूको आडम्बरसित गहिरो लगाव । त्योभन्दा उता उनीहरू केही देख्न सकिरहेकै छैनन् । खोक्रा र देखावटी कुराले हामीलाई नराम्ररी फसाइरहेका छन् । यो समस्या सबै समुदाय र वर्गमा छ ।
नारीवादबारे तपाईंको बुझाइ के हो ? यो विषयमा केही कुरा गरौँ न !
नारीवाद एकैचोटि र एकै रूपमा परिभाषित हुने विचार होइन । यसका अनेक स्वरूप छन् । पछिल्ला दुई दशकमा नारीवादलाई केही सीमित अर्थमा संकुचित गरिएको छ । नारीवादमा रोजगारी र समान पारिश्रमिकका मुद्दा थिए । यसमा शान्ति र अमनचयन स्थापित गर्ने विषय थिए । जल, जंगल र जमिनमाथिका समान हक र अवसरका कुरा थिए । आवश्यकताको हिसाबले खाद्य सामग्रीको उपभोगका विषय थिए । आफ्नो शरीर र बुद्धि दुवैमाथिको अधिकारको लडाइँ नारीवादको प्रस्ताव हो । अब आएर यो इस्लामिक नारीवाद वा अन्य कुनै धर्म, सम्प्रदाय र समूहसित पनि जोडिएर आउने नारीवादसमेत बन्न पुगेको छ । हामी समग्र नारीमुक्तिको लडाइँ लिएर हिँडेका मान्छे हौँ, तर आजको नारीवाद अनेक टुक्रामा विभाजित छ । अनेक खण्डमा छ । यी सबै रूप र खण्डहरूले नारीमुक्तिको मूल प्रश्नलाई ओझेल पारेका छन् । संसारभरका मुक्तिप्रेमी महिलाको एउटा बृहत् र साझा लडाइँ भएन भने नारीवाद निष्प्रभावी बन्छ । जबसम्म समाज पूर्ण रूपले महिलाको स्वतन्त्र अस्तित्व स्वीकार गर्ने ठाउँमा आउँदैन, स्त्रीमुक्तिको साझा लडाइँ जरुरी छ ।
तपाईं हिन्दी, उर्दू र अंग्रेजी भाषामा उत्तिकै लेख्नुहुन्छ । एक मुस्लिम महिलासमेत भएका नाताले मुस्लिम समुदायका महिलाका समस्यामाथि केन्द्रित भएर कस्ता काम गर्नुभएको छ ?
मुस्लिम समुदायमा महिलाहरू ज्यादै उत्पीडित छन्, तर मुस्लिम पुरुषहरू यसलाई पटक्कै स्वीकार गर्दैनन् । मैले सबैभन्दा नजिकबाट देखेको भोगेको र बुझेको समाज हो यो । त्यसकारण पनि म समुदायसित जोडिइरहन र यहाँका समस्यामाथि काम गर्न बढी दायित्वबोध महसुस गर्छु । यो समुदायका महिलाको आवाज निस्कनै गाह्रो छ त्यसैले यहाँभित्रका कुरा अत्यन्तै कम मात्रै लेखनका रूपमा बाहिर आउँछन् । लेख्नेहरूले पनि प्रायः दयादृष्टिले लेखेका छन् । यहाँ मौलवीहरूको दबदबा डरलाग्दो स्तरमा छ । तिनको काम नै मानिसहरूलाई भयको साम्राज्यमा राखिरहनु हो । त्यसैले आममुस्लिम स्त्रीलाई न त कुरानमा भएका आफ्ना हक थाहा छ न भारतीय संविधानबारे नै थाहा छ । यसकारण पनि म तिनका मुद्दामा लेख्न, बोल्न जरुरी ठान्छु । तीन तलाकको विषयमा मैले एउटा उपन्यास नै लेखेँ, ‘अल्लाहकी नकारी हुई’ (डिनाइड बाई अल्लाह) । यसले एउटा ठूलै तरंग ल्यायो । यसको उपयोग सर्वोच्च अदालतको याचिकामा समेत भयो ।
‘डिनाइड बाई अल्लाह’ का विषयमै केही थपौँ । मुस्लिम कानुनको निषेधात्मक व्यवस्थामाथि चुनौती दिएर यो किताब लेखेपछि आएका आमप्रतिक्रिया, समालोचक र समुदायका टिप्पणी कस्ता थिए ?
‘तीन तलाक’ (सम्बन्धविच्छेदसम्बन्धी पुरुषमा मात्रै निहित रहेको विशेषाधिकार), ‘हलाला’ (सम्बन्धविच्छेद गर्दा महिलामा मात्रै लागू गरिने विभेदकारी व्यवस्था), ‘मुतः’ (पुरुषअनुकूलको अस्थायी विवाह) आदि कठोर अन्याय भोगिरहेका मुस्लिम महिलाले भारतीय संविधानमा दिएको बराबरीको हक पाउनुपर्छ भन्दै गर्दा मलाई यो किताब लेख्ने प्रेरणा आयो । उदारवादी प्रगतिशील समाजले त यसको सराहना र प्रशंसा ग-यो नै । सुप्रिम कोर्टको तीन तलाकसम्बन्धी याचिकामा पनि यो किताब पेस भयो । तर, रुढीवादी कठमुल्लाहरूले यसको भयंकर निन्दा गरे । किताब ‘ब्यान्ड’ गराउन लागेपुगेको कोसिस गरियो । मैले पनि उनीहरूलाई मसित सार्वजनिक रूपले बहस गर्न खुला चुनौती दिएकी थिएँ, तर कोही पनि बहस गर्न अगाडि आएनन् ।
तपाईंको अर्को बहुचर्चित उपन्यास ‘माई गड इज उमन’ पनि यस्तै विषयमा जोडिन्छ, हो ?
हो, यो किताब सुप्रिम कोर्टको ‘शाह बानो केस’ मा आधारित छ । सन् १९८६ ताका म पत्रकारिता गर्थें । रिपोर्टिङको सिलसिलामा म यो मुद्दामा मजाले भिजेँ । ७६ वर्षकी वृद्ध महिला न्यायका लागि सर्वोच्च अदालत धाउनुपरेको त्यो मुद्दाको फैसला अन्ततः शाह बानोकै पक्षमा त आयो । तर, लगत्तै एक मुस्लिम पुरुषको आत्मदाहको धम्कीका कारण राजीव गान्धीले त्यो फैसला उल्ट्याउन लगाए । पैतृकता र अल्लाह दुवै पितृसत्तासँग गहिरो गरी जोडिएका कुरा हुन् भन्ने सन्दर्भमा यो घटनाले मलाई भयंकर रनथन्याइदियो । मलाई लाग्यो, जतिखेरसम्म स्त्री ईश्वर मानिन्थे, समाज बराबर थियो । मैले प्राचीन समाजतिर फर्केर यस्तो सोचें । स्त्री र ईश्वरले कदापि विभेद गर्दैनन् भन्ने मेरो आशय हो । स्त्रीहरूको ईश्वरत्व स्थापित हुने हो भने समाज वास्तवमै सुखदायी हुँदो हो भन्ने ठान्छु म । यही कुरा किताबमा छ ।
अब समकालीन संकटमाथि कुरा गरौँ । यस्ता किताबहरूको लेखक हुनुका नाताले भन्दिनुस्, सत्यसँगको साक्षात्कार र अभिव्यक्ति धेरै नै दुर्गम र जोखिमपूर्ण भएको हो ?
सत्य नबोली पनि लेखक बनिन्छ भन्ने त मलाई लाग्दै लाग्दैन । अन्ततः लेखक त आफ्नै विवेकसँगै जवाफदेही छ नि, होइन र ? त्यसकारण जस्तै जोखिम मोल्नुपरोस्, बोल्ने त सत्य नै हो । यसमा कुनै विकल्प छँदै छैन । हो, जब कुनै गुट र अतिवादी समूहले छोराछोरीको नाम लिएर धम्क्याउँछन्, डराउन लगाउँछन्, तनाव त हुन्छ नै । तर, सान्त्वना के कुराले दिन्छ भने तिनीहरूसित कुनै तर्क नै छैन त्यसैले डर देखाउँछन् । मेरो साथमा मित्रहरू छन्, शुभचिन्तक छन् । कमरेडहरू छन् । म एक्लै छैन । जस्तै परे पनि विचारसित सम्झौता नगरी अगाडि बढिरहने कुरा मलाई अब्बाले सिकाउनुभएको हो । म त्यही बाटोमा छु ।
लेखक हुनु एकप्रकारले विचारप्रति प्रतिबद्ध हुनु हो । तपाईं संगठित आन्दोलनमा पनि सक्रिय हुनुहुन्छ । तपाईंको मित्रमण्डली छ जहाँ धेरैजसो कमरेडहरू नै छन् । तर, लेखकीय स्वतन्त्रताको पनि त आफ्नै मूल्य छ । एउटा माक्र्सवादी लेखक र एक्टिभिस्टका रूपमा तपाईंका निजी अनुभव कस्ता छन् ?
म प्रतिबद्धता र स्वतन्त्रतालाई एक–अर्काका विपरीत मान्दिनँ । सबैभन्दा पहिले त म एक स्वतन्त्र मानिस हुँ । म उत्पीडित समुदायका साथमा छु र हाम्रो जीवनमा आधारभूत परिवर्तनका लागि माक्र्सवाद एउटा बाटो हो भन्नेमा विश्वस्त छु । म महिलाहरू, गरिब र दलितका पक्षमा सहानुभूति जनाउन मात्रै उभिएको होइन । म तिनको जीवनमा, दृष्टिकोणमा आधारभूत परिवर्तन आउनुपर्छ भन्ने मान्छु । त्यसकारण म माक्र्सवादी बनेकी हुँ । लेखकका रूपमा म समाजको रोगको परीक्षण मात्रै होइन, निदान नै गर्नुपर्छ भन्ने ठान्छु । यही मेरो प्रतिबद्धता हो । हामी प्रतिबद्धता भन्नासाथ कुनै पार्टीमा जोडिने कुरा मात्रै ठान्छौँ । तर, यो त एउटा पक्ष मात्रै हो । लेखकका रूपमा मेरो लागि पार्टी सम्बद्धता नै प्रतिबद्धताको सबुत होइन । मानवता र न्यायले प्रतिबद्ध साहित्य नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो । माक्र्सवाद मानवताको आजसम्मकै सबैभन्दा बृहत् दर्शन हो । पार्टीमा रहनु या नरहनु अर्को कुरा हो । मानवता र न्यायको पक्षमा उभिनु मेरा लागि प्राथमिक कुरा हो ।
तपाईं कुर्रतुलैन हैदर, इस्मत चुगतांई , अमृता प्रितम, कृष्णा सोबतीलगायत त्यस्ता अनेक लेखकहरूको पंक्तिमा जोडिनुहुन्छ जसले राजनीतिक, साम्प्रदायिक विषयलाई स्त्री नजरबाट केलाएका छन् । उहाँहरूले थालेको लेखन परम्परालाई तपाईंलगायत हिन्दी र समग्र भारतीय भाषाहरूका स्त्री प्रतिभाहरूले अगाडि बढाइरहेजस्तो लाग्छ ?
तपाईंले जुन जुन लेखकहरूको नाम लिनुभयो ती कालजयी प्रतिभा हुन् । तिनको छेउमा मेरो नाम नराखौँ । जुनसुकै भाषाका होऊन्, अघिल्लो पुस्ताले भाषा, कथ्य र सिर्जनात्मक हस्तक्षेप तीनै तरिकाले भारतीय साहित्यलाई सम्पन्न बनाए । आज पनि अलग–अलग विधा र शैलीमा काम गरिरहेका स्त्री लेखकको संख्या राम्रो छ । इतिहास, यात्रा, डायरी, लोकसाहित्य र महाकाव्यहरू सँगालेर हेर्ने हो भने भारतमा आज पनि स्त्रीलिखित साहित्य अत्यन्तै बलियो छ । म अंग्रेजीमा पनि लेख्छु । तर, अंग्रेजीमा लेखिरहेका भारतीय महिला लेखकभन्दा हिन्दी वा कुनै पनि प्रादेशिक भाषाका महिला लेखकका किताबहरू बढ्ता मुखर र शक्तिशाली छन् भन्ने म ठान्छु । हिन्दी र अन्य भाषाका लेखनमा मानसिक, भावनात्मक र संवेदनाजन्य सामथ्र्य धेरै नै बलशाली छ ।
आफ्ना प्रिय लेखकबारे केही बोल्नुस् न !
मन्टो, टोल्सटोय, दोस्तोएभ्स्की, इस्मत चुगताईं, कुरुतुलैन हैदर, सिमोन द बुवा । मैले नाम लिएका यी लेखक मलाई प्रिय लाग्छन् । सत्यको निर्मम सामना गर्ने लेखक मन पर्छन् । सत्यसित ‘छलावा’ गरिएको वा सत्यको उपेक्षा गरिएको, जीवनदेखि धेरै पल्तिर पुगेको कलावादी लेखनले मलाई कहिल्यै आकर्षित गरेन ।
राजनीतिक कार्यकर्ता र राजनीतिसचेत लेखकसमेत भएको नाताले नेपाल–भारत सम्बन्ध र दक्षिण एसियाली देशहरूमा भारतको भूमिकाबारे तपाईंका कस्ता टिप्पणी छन् ?
म नेपाल गएकी छु, दुईपल्ट । मलाई अझै धेरैपल्ट नेपाल जाने मन छ । नेपाल र अरू छिमेकी देशसित भारतीय संस्थापनको सम्बन्ध कस्तो छ– यसबारे मलाई राम्रै थाहा छ । यसका लागि बढ्ता जिम्मेवार भारत नै छ । बराबरीको सम्बन्ध राख्दा जुन कुरो पाइन्थ्यो भारतले ‘बडेभाइ’ बन्ने चक्करमा ती सबै कुरा गुमाएको छ । सोचेर हेर्नुस् त आज भारतीय सत्तामा भएकाहरूले नेपालको संविधानमा हस्तक्षेप गर्ने कुन हदसम्मको कोसिस गरे ! के एउटा स्वाधीन, लोकतान्त्रिक देशको निर्णयमा अर्को कुनै देशले गर्ने यस्तो हस्तक्षेप स्वीकार्य हुन्छ ? असल मानिस नबनी असल छिमेकी कसरी बनिन्छ र !