बाँसुरी बजाएको मात्रै देख्नी ?

व्यङ्ग्य

शनिबार, १० फागुन, २०७६
डिजिटल संस्करण

जिन्दगी आफैँमा एक सानदार जिनिस हो । यसको आफ्नै सुर छ, आफ्नै ताल छ । सुरताल भन्नासाथ संगीतको कुरा आउँछ । गीतको कुरा आउँछ । अब गीत–संगीतकै कुरा आउँछ त वाद्यवादन त्यसमा जोडिने नै भयो । वाद्यवादन नै जोडिएसी त्यसमा वाद्ययन्त्र नजोडिने कुरा भएन । वाद्ययन्त्र जोडिएसी त्यसलाई जोडेर मात्रै आवाज निस्किँदैन । आवाज निकाल्न बजाउनै पर्यो । हो, बाँसुरी बज्यो । तर, के गर्नु ? बाँसुरी बजाएको मात्रै देख्छन् । संगीतको मर्म कसले बुझ्ने ? गीतको मर्म कसले बुझ्ने ? मर्म बुझ्न मुटु चाहिएन ? मुटु नभएसी के बुझ्थे ? बुझ्न नसकेसी उही त हो । खाली बाँसुरी बजाएको मात्रै देख्छन् । 

उहिलेहुँदी द्वापर युग कृष्णले कति बाँसुरी बजाए । कुनै पत्रिकामा फोटो छापिएन । कुनै सोसल मिडियामा ट्रोल बनेन । कलियुगमै रामबहादुर जिम्बाले बाँसुरीबादनमै जीवन झिरिप पारे । उनका फुटो खासै छापिएन । नगेन्द्र राई बाँसुरी बजाएरै चर्चित छन् । उनलाई कसैले उडाउनु नपर्ने । प्रधानमन्त्रीज्यूले चै बाँसुरीमा ओठ के ठोस्नु भाथ्यो उत्पातै मच्चाउनुपर्ने ? न त नेपालको संविधानमा बाँसुरी बजाउन हुन्न भनी उल्लेख छ, न त मुलुकी संहितामा वाद्यवादनसम्बन्धी महलको व्यवस्था छ, न महलको दफा १४ मा प्रधानमन्त्रीले बाँसुरी बजाउन पाइँदैन भन्ने उल्लेख छ । न त नेकपाको आचारसंहितामा ‘बाँसुरी बजाउनु सांस्कृतिक विचलन हो’ भनिएको छ । कुनै पनि नियमले बाँसुरी बजाउन नरोकिएका प्रधानमन्त्रीलाई कोकोहोलो मच्चाएर बाँसुरी बजाउनबाट रोक्नी ? तरिका हुन्छ नि एउटा । हेप्नी ?

मेहफिल जम्यो । मुड चल्यो । त्यही वेला बाँसुरी हातमा पर्यो । केही प्वालमा औँलाले टाल्नुभयो । केही प्वाल त्यसै छोड्नुभयो । एकातिर टाल्यो अर्कातिर ह्वाङ्ग, उही क्या ! सरकारैजस्तो । अझ भन्नुपर्दा मुलुकैजस्तो । एउटा बाँसको बाँसुरीलाई ठ्याकै मुलुकमै, सरकारमै अनुवाद गरिसकेसी उहाँले फुक्नुभो । फुकेपछि बज्दियो । यो केवल बाँसुरीको धुन थिएन । न ताल, न सुर, न त लय । बेसुरा टाँइटाँइ टुँइटुँइ, यो त साक्षात् सरकारको धुन थियो । तर, निर्ममहरूले संगीत बुझे पो ? सरकारको धुन जनतासामु प्रस्तुत गरेर जनतालाई मनोरञ्जन दिएको बुझ्दैनन् । प्रधानमन्त्री बरालिए भन्या छन् । मुरली बजाएर बसे भन्या छ । तरिका हो ?

आखिर उहाँले बाँसुरी मात्रै बजाउनुभएको नि छैन । सारंगी नि बजाएको फुटो आएका छन् । तर किन ? बाँसुरी बजाएको मात्रै देख्दछन् ? पोहोर मात्रै डम्फू पनि बजाउनुभएको थियो । ‘डफली वाले डफली बजा’ भनेर कत्रा ट्रोल बने । कसैले देखेन । बाल्यकालदेखि नै उहाँ वाद्यवादनमा कत्रो रुचि राख्नुहुन्थ्यो । शंख, घन्टदेखि तालीसम्म बजाउन उहाँ पारंगत हुनुहुन्थ्यो । जवानहुँदी सुसेली हाल्दै हिँड्नेदेखि दुईटा औँला मुखमा घुसारेर सुइय्य सिठी मार्नेसम्म नि पक्कै गर्नुहुन्थ्यो होला । यी सब नदेख्ने ? बाँसुरी बजाएको मात्रै देख्ने ?

राजनीतिमा बेमौसमी बाजा कति बजाउनुपर्छ । उहाँ मात्रै होइन, कैयौँ राजनीतिज्ञले कैयौँपटक बेमौसमी बाजा बजाइरहेका हुन्छन् । शक्तिमानहरूका खिलापमा शंख फुक्नेदेखि, भक्तिमा ‘तुम जगदाता विश्वविधाता, हे राम हे राम ।’ भनेर हार्मोनियम समेत बजाइरहेका हुन्छन् । विष्णु कामरेडले बालुवाटारको जग्गै बजाइदिनुभयो । अख्तियारले टाउकामा बज्र बजाउन ठीक पारेसी जग्गा फिर्ता बजाइदिनुभयो । पार्टीभित्रै एक काममरेडले अर्का कामरेडलाई मौका मिल्नासाथ बजाइहाल्ने पुरानै चलन हो । सूर्य कामरेडले स्टाटस लेखेर अर्का अध्यक्ष कामरेडको बाह्र बजाउँदै आउनुभएको छ । रावल कामरेडले नि कहिले स्टाटस त कहिले बोलीमा सरकारको तेह्र बजाउँदै आउनुभएको छ । माधव कामरेडको दन्तबजान पनि पुरानै हो । 

बास्कोटा कामरेडले ‘हेप्नी ?’ भन्दै पत्रकार र आलोचकमाथि बजाउँदै आउनुभएको थियो । पछि कुन्नी कति करोड हो, बजाउन तम्सिनुभएछ । यसको अडियो फेला पारेर मिडियाले बजाइदिएछ । अडियो बजेसी कोलाहाल भयो । कोलाहलले उनको पदन्तको घन्टी बज्यो । अब उहाँ वाद्यवादक नभई ‘बाध्य–बादक’ हुनुभो । बाध्य भएर राजीनामा ठेल्दिनुभो । मुलुकमा प्रधानमन्त्री एक मात्र वाद्यवादक होइन ।

सयौँ वाद्यवादक छन् । सयौँ वाद्ययन्त्रहरू छन् । कहीँ सुरमा त कहीँ बेसुरमा कैयौँ बाजाहरू बजिरहेका र बजाइरहेका भेटिन्छन् । उहाँले पनि बाँसुरी मात्रै बजाउनुभएको छैन । अनेक बाजा बजाइरहनुभएको छ । पछि बाँसुरी मात्रै के ढोलक, तबला, सितार, गितार, पियानोदेखि ट्याम्को, खैँजेडी, सहनाईसम्म बजाउन सक्नुहुन्छ । दुईतिहाइको सरकार छ यार । शक्ति भएसी, मुड आएसी जे पनि बजाउन सक्नुहुन्छ ।  तर के गर्नु ? बाँसुरी बजाएको मात्रै देख्छन् । कुन दिन उहाँलाई झोक चल्छ । ‘धुतुरुरु’ पारेर नरसिंहा बजाउँदै हिँड्नुहुन्छ । अनि देख्छन् । दुईतिहाइलाई झोँक चलाउने ?

सम्पादकको रोजाइ

सुझावित समाचार