‘राबत ‘सोझो कवि’ हो । ऊ राम्रो लेख्छ तर राम्रो लेखेँ भन्दै हिँड्दैन । आफ्नो प्रचार गर्न जान्दैन, जरुरी पनि ठान्दैन,’ कवि राबतमाथि कवि विनोदविक्रम केसीको एक लाइन टिप्पणी छ । कवि विनोद राबतका कविताको जबर्जस्त पाठक हुन् । राबतका कवितालाई नजिकबाट नियालेका छन् केसीले । भन्छन्, ‘राबत राम्रो कवि हो । सोझो कवि भएर पनि राम्रो कवि भएको हो । इमानदार कवि हो । कविता उसको इमान हो । ऊ आफ्नो कविताको थिममा स्पष्ट छ ।’ कवि विनोदविक्रमको विचारमा स्पष्ट नभईकन राम्रो र इमानदार कवि हुन सकिन्नँ । नेपाली कविताको सामूहिक प्रयत्नमा राबत एउटा महत्वपूर्ण इँटा मान्छन् उनी । भन्छन्, ‘उत्पीडितको ‘एड्भोकेट’ र उत्पीडकको दुश्मन हो राबत ।’
नेपाली कवितामा राबतलाई अब्बल कवि मान्छन्, अर्का कवि विप्लव प्रतीक, भन्छन्, ‘राबतले एउटा कालखण्डको जुन यात्रा तय गरेको छ, त्यही यात्राका साक्षी हुन् उनका कविता । उनले कवितामार्फत बडो कुशलतापूर्वक आफ्नो शिल्प प्रस्तुत गरेका छन्’, विप्लव भन्छन्, ‘समकालीन कविता लेखनमा उसको उपस्थिति नहुँदो हो त नेपाली साहित्यले एउटा अवसर गुमाउने थियो ।’ राबतका आनीबानीसँग प्रतीक जानकार छैनन् । उनी भन्छन्, ‘ऊ अहिले जहाँ छ, यो नै उसको मुकाम होइन । ऊ अनेकौँ शिखरमाथि टेक्न शिखरोन्मुख छ ।’
राबत कविता लेख्छन् र त्यसको चिरफार पाठकले गरून् भन्ठान्छन् । राबत भन्छन्, ‘मैले मलाई देख्ने भनेको ऐनामा हो, त्यो भ्रम पनि हुन सक्छ ।’ उनी आफूलाई सिकारु कवि नै सोची बस्छन् । प्रायः उनी समकालीन कविहरूमा राम्रा कुरा खोज्छन्, जसले सकारात्मक ऊर्जा देओस् । ६० को दशकले जुन राजनीतिक हलचल पैदा ग¥यो, त्यसले कवितालाई थप उचाइ प्रदान गरेको तर्क गर्छन् उनी । जसका कारण कविताको शक्तिलाई नजिकबाट स्पर्श गरे उनले । कवितामा विविध विषयको उठान गर्न सके । छोपिएका कैयन् विषयलाई कवितामै उजागर गर्ने प्रयत्न गरे उनी र उनको पुस्ताले । कलाका अन्य विधाझैँ अहिले कवितालाई पनि टिकट काटेर सुन्ने माहोल बन्यो । यसलाई कविताको शक्ति मान्छन् उनी । समकालीन नेपाली कवितामा कमजोरी पनि पहिल्याउन भ्याउँछन् उनी । उनी विषयगत होस् या शैलीगत, उही कुराको पुनरुत्थान र विम्बको अतिशय प्रयोगले कवितालाई भद्दा बनाएको तर्क गर्छन् । यो समस्याबाट निकास निकाल्न पनि आग्रह गर्छन् उनी ।
०००
‘ओइ, डोल्मा !
अझ यो काफलको रूखमा चढेर हेर् त !
तेरो ढुंग्रीजस्तै देखिन्छ–ऊ त्यो राजधानी
जसको सुरक्षार्थ खटिएझैँ
वरिपरि डाँडामा उभिएका हामीहरू
चौकीदारसिवाय केही देखिएनौँ त्यहाँबाट,
भरियासिवाय केही देखिएनौँ त्यहाँबाट।
दाससिवाय केही देखिएनौँ त्यहाँबाट !’
(राजधानी मास्तिरको राजधानी)
राबतका चर्चित कविताका हरफ हुन् यी । पृथ्वीनारायण शाहको पालाका तामाङहरूले राज्य विस्तारमा सहयोग नगरेको आरोप लगाइयो । तामाङलाई राज्यले कुनै पद दिएनन् । चौकीदार र भरिया मात्रै बनाइदियो । जंगबहादुरले मुलुकी ऐन बनाएर तामाङ जातिलाई मासिन्या मतवालीमा राखिदिए । जसले गर्दा राज्यलाई हेर्ने उनीहरूको दृष्टिकोण फेरियो । त्यही थिममा टेकेर उनले राजधानीलाई हेरे । उनी भन्छन्, ‘मलाई राजधानी सिंगो संसारजस्तो लाग्छ । पृथ्वीमा पाइने चरम दुःखदेखि चरम सुखसम्म यहीँ उपलब्ध रहेछ ।’ राबत यो सहरका होइनन् । उनको पुख्र्यौली घर नुवाकोट हो । तर, काठमाडौंमा संघर्ष गर्न थालेको दुई दशक बित्यो । राबतलाई सहरप्रति कुनै गुनासो छैन । उनी वेलावेलामा नोस्टाल्जिक हुन्छन् र गाउँतिर पुग्छन् ।
०३० सालतिरको कुरा हो । उनका बाबु (जोगबहादुर तामाङ) त्यतिवेलाका हर्ताकर्ता राजनीतिज्ञ थिए । नुवाकोटबाट चितवन गएर टहरा बनाएर बसेका थिए । प्रहरी आएर उनीहरूको टहरा भत्काइदियो । उनले प्रतिकार गरे । त्यसकारण उनी भीमफेदी जेलमा परे । त्यहीँ अनसन बसे । परिवार भोकै भयो । त्यहीवेला सरकारले बर्दियाको तारातालमा त्यहाँको वन फँडानी गरेर बस्नु भन्ने आदेश दियो । त्यहाँबाट आफ्नै खर्चमा चारवटा गाडी रिजर्भ गरेर त्यहाँ पुगे उनी । थुप्रै घरधुरीको जिम्मा उनैले लिए । जतिवटाको घरको जिम्मा लिएका थिए प्रत्येकले उनलाई जमिन दिए । गाउँलेले खुसियाली मनाए ।
बर्दियाको तारातालनजिकै जोगबहादुरले गृहस्थी सुरु गरे । त्यहीँ गाउँमा रामबहादुर तामाङ (राबत) जन्मे । जुुम्ल्याहामध्येका राम हुन् उनी । लक्ष्मण त्यतिवेलै बिते । उनका चारवटी दिदी छन् । एक भाइ छन्, चन्द्र । पहिलो छोरा उनी । सानोमा बिरामी भइरहे । बच्चैमा बिरामी हुनेलाई गाउँको परम्परामा एकछिनका लागि सुनारलाई बेच्ने चलन छ । सुनारलाई बेचेपछि रोग निको हुन्छ भन्ने अन्धविश्वासमा उनी पनि सुनार कहाँ बेचिए । पछिसम्म ‘कामीको छोरा’ भनेर जिस्क्याएको याद छ उनलाई । बाबु तारातालमा पनि हर्ताकर्ता थिए । जुन स्कुलमा बाबु अध्यक्ष थिए त्यसैमा भर्ना भए राबत । त्यो स्कुलमा तीन कक्षा मात्र पास गर्न भ्याए उनले । त्यसपछि बाबुलाई के सुर चल्यो कुन्नि फेरि त्यहाँको सबै जग्गाजमिन बेचे र कपिलवस्तु हानिए । फेरि त्यहाँ नयाँ अध्याय सुरु गर्नुप-यो उनले । केही समय नौलो भयो । बसाइँसराइँले उनको केही वर्ष पढाइ पछाडि छुटिगयो ।
गाउँभरिमा उनको घरमा मात्र हुन्थ्यो बन्दुक । दौरा सुरुवाल र छालाको जुत्ता लगाएर बन्दुक भिरेर मस्त हिँड्थे जोगबहादुर । जो अत्यन्तै रक्सी पिउँथे । बाबुको त्यस्तो प्रवृत्तिबाट आजित थिइन् आमा कान्छीमाया तामाङ । एकदिन रक्सीको मातमा आगोको अगुल्टोको बज्र खानुप¥यो आमाले । जसको पीडा सहन नसकी भाइ चन्द्रलाई बोकेर काठमाडौं हिँडिन् आमा । धेरै वर्षसम्म उनको खोजी भइरह्यो । धेरैपछि पत्तो लाग्यो, उनकी आमा ज्ञानेश्वरस्थित राजा वीरेन्द्रको आफन्तको दरबारमा काम गर्छिन् भन्ने ।
१० वर्षपछि आमासँग पुनः भेट भयो उनको । परिवारसँगै त भयो । तर, त्यो बेलादेखि आजसम्म आमाबाबुको राम्रो बोलचाल भएको राबतले सुनेका छैनन् । भन्छन्, ‘बोलिहाल्यो कि बाआमाको ‘वार’ परिहाल्छ ।’
राबतको वाल्यकाल हिँड्दाहिँड्दै सकियो । कपिलवस्तुकै गोरुसिंगेस्थित श्री गौतम बुद्ध माध्यमिकबाट ०५६ सालमा एसएलसी सके । ०५७ सालमा काठमाडौं हानिए उनी ।राजधानीमा दिदीको डेरामा बसे । ‘काठमाडौमा त मान्छे हराउँछ’ भन्ने सुनेका थिए उनले । त्यही डरले कति दिन कोठाबाहिर निस्केनन् उनी । एक दिन भान्जालाई लिएर कलेज खोज्न निस्किए । हिँड्दै जाँदा बाटोमा त्रिचन्द्र कलेजमा उनको आँखा ठोक्कियो । राजाको नाम रहेको कलेजमा उनैका छोराछोरी पढ्ने होलान् सोचे । गेटबाट भित्रै गएनन् उनी । फेरि त्यहाँबाट हिँड्दै जाँदा आरआर कलेज देखे । त्यसअघि त्यो कलेजको नाम पनि सुनेका थिएनन् उनले ।
चुनावको वेला थियो सायद । केही केटा गेटमा आए र सिधै लगेर भर्ना गराइदिए उनलाई । काँग्रेस र एमाले भन्ने नाम मात्र सुनेका थिए उनले । त्यहाँ राजनीतिक चहलपहल देखे । सेक्सन र विषय पत्ता लगाउन नै उनलाई एक महिना लाग्यो । म्याथ र अंग्रेजी लिएर पहिलो वर्ष पढे । सोचेजस्तो पढाइ भएन उनको । स्कुलमा एकदेखि १० कक्षासम्म सेकेन्डसम्म नभएका राबतले क्याम्पस त सजिलै टप्छु सोचेका थिए । तर, त्यो माहोलै देखेनन् त्यहाँ । सुरुमा भर्ना भएको विषय नै छोडिदिए । कलेज भन्नेबित्तिकै वितृष्णा जाग्न थाल्यो उनलाई । दोस्रो वर्षको परीक्षा नै दिएनन् ।
दुई वर्ष पढाइ छुट्यो । घरमा गाली गरेपछि पोल्टिकल साइन्स, मेजर नेपाली र म्युजिक लिएर फेरि भर्ना भए । आइए पास गरे । बिए पनि पास गरे । उनले कविता लेख्न थालेको त स्कुल पढ्दैमा हो । उनी ९ कक्षा पढ्दा छिमेकीको घरमा मुनामदन पढ्ने मौका पाए । त्यसमा उनलाई केही मीठो आभास भयो । त्यही लयलाई पछ्याएर कविता लेख्न थाले । जब उनले काठमाडाै आइसकेपछि पहिलोपटक गोरखापत्र देखे । पढे । त्यसपछि पढ्नु र लेख्नु उनको रुचि बन्दै गयो ।
उनी काठमाडौं आएपछि दिउँसो कलेज जान्थे । बिहान–बेलुका कारखानामा धागो बुन्ने काम गर्थे । उनका भेनाजु नेपाल मेडिकल कलेजमा सेक्युरिटी थिए । एकदिन उनले धागो बुन्दै गर्दा भिनाजुले सोधे, ‘अस्पतालमा जागिर खान्छौ ?’ खान्न भन्ने कारण पनि थिएन । उनले काठमाडाैँ आएकै वर्ष अर्थात् ०५७ भदौबाटै नेपाल मेडिकल कलेजमा वार्ड एटेन्डर्सको जागिर पाए । सुरुको तलब १६ सय थियो । बिरामीहरूको दिसापिसाब सोहोर्नेदेखि वार्डको सारा काम गर्थे उनी । त्योवेला उनलाई के काम भन्ने मतलब पनि थिएन । बस् काम भए पुग्थ्यो । यता धागो बुन्ने काम छोडे ।
कलेज पढिरहेको मान्छे भन्दै राबतलाई फोहोर काममा लगाउन उचित ठानेन प्रसाशनले । एक वर्षपछि लाइब्रेरीमा बुक चेकरको काममा ट्रान्फर भए उनी । विस्तारै तलबभत्ता बढ्दै गयो र ०६४ सालमा स्थायी भए उनी । दिदीको वासस्थानबाट आफ्नो छुट्टै डेरामा सरे । जागिरकै सिलसिलामा बाबु त्रिपाठी र वियोगी बुढाथोकीसँग उनको भेट भयो । मेडिकल कलेजमै विद्यार्थीहरूको कविता प्रतियोगिता हुन्थ्यो । उनले पनि भाग लिए । जिते । प्रज्ञा प्रतिष्ठानबाट पनि पुरस्कृत भए । राष्ट्रिय र अन्तर्राष्ट्रियसहित कयौँ प्रतियोगितामा भाग लिए । कैयन् स्थानबाट विजयी पनि भए । खाली हात फर्केको उनलाई सम्झना छैन । सबैभन्दा ठूलो पुरस्कार ०६८ सालमा उत्तर अमेरिकामा जिते उनले । जुन पुरस्कार हजार डलर राशीको थियो ।
अभावलाई पुरस्कारले छेक्दै गयो । अक्षरले पसिनालाई पुछ्दै गयो । अहिलेसम्म डेढ दर्जन पुरस्कार पाइसकेका छन् उनले । उत्तरअमेरिकाको कविता प्रतियोगिताबाट प्रथम हुँदा त्यता जान पाइन्छ कि भन्ने झिनो आशा पनि थियो उनलाई । तर, पाएनन् । अमेरिका गएर कविता सुनाउने सपना बहराइन गएर पूरा गरे । बाबु त्रिपाठी र उनको जागिर एउटै अस्पतालमा थियो नै । उनी लाइब्रेरियन । बाबु अफिस असिस्टेन । नाइट ड्युटी हुन्थ्यो उनीहरूको । ६ वर्षसम्म एउटै बेडमा सुते उनीहरू । जीवनका अत्याधिक राम्रा/नराम्रा समय उनले बाबुसँगै बिताएका छन् । कविता र गजल बाबुसँग झगडा गर्दै/दोस्ती गर्दै लेखेका छन् । उनका धेरैजसो कविताको पहिलो पाठक पनि बाबु नै हुन् ।
उनी कवितासँगै गजल पनि लेख्थे । ‘यस्तो बेलामा’ गजलसंग्रह प्रकाशित गरे । त्यसपछि ‘राजधानी मास्तिरको राजधानी’(०७०) कवितासंग्रह प्रकाशन गरे । जसमा संग्रहित २५ वटा कवितामा अधिकांश पुरस्कृत कविता नै छन् । उपन्यास लेख्न सुरु गरेको लामो समय भइसकेको छ उनले । तर, कृति कुन दिन आउँछ उनैलाई पत्तो छैन । भन्छन्, ‘आउला कुनै दिन, तर, त्यो दिन मलाई नै थाहा छैन ।’ उनी बजारमा आएका हरेक विधाका पुस्तक किनिहाल्छन् र पढ्छन् । तर पछिल्लो समय राम्रो भनेर किनेका कतिपय पुस्तकले उनको समय र पैसाको नास गरेको गुनासो गर्न भ्याउँछन् उनी । आजभोलि छानेर मात्र पुस्तकहरू किन्ने गरेका छन् । उनी राम्रो गीतकार पनि हुन् । ‘हँगामा भो कस्सम’ भन्ने बोलको चर्चित गीत पनि राबतको हो । जसले धेरै युवालाई झुम्याइदिएको छ ।
उनी प्रेमलाई आर्ट मान्छन् । उनले मन पराएका केटीहरू थुप्रै थिए । उनलाई मन पराउने पनि थिए । ‘तर, मैले त्यसमा कला भर्न जानिनँ वा मेरो तरिका मिलेन । म दोहोरो प्रेममा पर्नै जानिनँ ।’ उनी मुस्कुराउँछन् । कवि स्वप्निल स्मृति भन्छन्, ‘राबत प्रभावशाली भएर पनि घमण्डी छैन । खुला स्वभावको छ ऊ । लेखनीमा ऊ सत्ता र शक्तिबाट टाढा भएका वर्गको पक्षमा प्रतिबद्ध छ ।’