पढ्नैपर्ने ‘धर्मशास्त्रको इतिहास’

शनिबार, ९ चैत, २०७५
डिजिटल संस्करण

पहिलो किताब
पहिलो किताब त विद्यालयको पाठ्यक्रममै पढेँ । पाठ्यक्रमभन्दा बाहेकका किताब क्याम्पसको पढाइ सकेपछि मात्रै पढ्न थालेको हुँ । पढाइसँगै सम्बन्धित किताब पढ्थेँ । एमएको जाँच सकिएपछि अन्य किताबहरू पढेँ । भारतका पण्डित महामोहपाध्याय भारतरत्न डा. पान्डुरङ बामन काँणेले ‘हिस्ट्री अफ रिलिजन’ भन्ने पाँचवटा भोल्युममा पुस्तक लेखेका छन् । यो किताबको ओरिजिनल कपी त देखेकै छैन । यसको हिन्दी अनुवाद ‘धर्मशास्त्रको इतिहास’ अर्जुन चौबेले गरेका छन् । त्यो किताबलाई भारतको उत्तर प्रदेश हिन्दी संस्थानले हिन्दीमा प्रकाशन गरेको छ । यो किताब पढेको थिएँ । यो किताब पढेपछि सम्पूर्ण वेद, शास्त्र, धर्मशास्त्रहरू, जसमा हिन्दूको मात्रै नभएर बौद्ध शास्त्र, ग्रह, नक्षत्र, तारागणहरू, औषधिमुलो सबै कुरा समेटिएको छ । मलाई मन परेको पहिलो पुस्तक यही हो । 

मलाई मनपर्ने पुस्तक 
मलाई मनपर्ने पुस्तकमा ‘हिस्ट्री अफ रिलिजन’ सँगै गोरखपुर गीता प्रेसको कल्याण पत्रिकाको विशेषांकहरू ‘गणेश अंक’ पनि हो । जसमा गणेशको सम्पूर्ण कुराहरू लेखिएको छ । त्यस्तै, शिव अंक, शिव उपासना अंक, शक्ति अंक, शक्ति उपासना अंक, उपासना अंक, उपनिषद् अंक, हिन्दू संस्कृति अंक, सन्त अंक, तीर्थ अंक यी किताब मलाई बढी मनपर्छन् । मैले पढ्ने किताबहरू यिनै हुन् । गीता प्रेसले पुनः मुद्रण नगरेको उपासना अंक छ । त्यसमा पनि विभिन्न देवी–देवताहरूको उपासनाका कुराहरू लेखिएका छन् । त्यसबारे कसैलाई थाहै छैन । अहिले त्यो किताब पाइँदैन । 

नेपालको सन्दर्भमा पढ्दा तन्त्रविद् रथी धनशमशेर जबराले सम्पादन गरेको प्रबुद्ध सनातन रहस्य र निगम आगम वैज्ञानिक सार किताब धेरै मनपर्छ । तन्त्रसम्बन्धी संस्कृतमा प्रमाणहरू दिइएको छ र नेपालीमा पनि अनुवाद गरिएको छ । अर्को भनेको श्रीमद्भागवत गीता, ज्योतिषको ग्रन्थ पराशरले लेखेको बृहत् पराशर होरा शास्त्र । धेरै किताबमा बृहस्पतिको असल गुण बताएको छ शनि र राहु–केतुको खराब बताइएको छ । तर, पराशर होरा शास्त्रमा बृहस्पतिको पनि खराब फल बताइएको छ । शनि, राहु–केतुको पनि उत्तम फल बताइएको छ । त्यसैले यो किताब पनि म मन पराउँछु ।

प्राज्ञ ज्ञानमणि नेपालको ‘नेपाल निरुक्त’, ‘नेपाल निरूपण’जस्ता आधिकारिक ग्रन्थहरू पढ्छु । ‘नेपाल–भोट–चीन सांस्कृतिक सम्बन्ध’, ‘हाम्रो संस्कृति हाम्रो ढुकुटी’, ‘श्री गणेशाय नमः’, ‘विरुक्षनारायण’ पढेको छु । प्रज्ञा प्रतिष्ठानको संस्थापक उपकुलपति बालचन्द्र शर्माको पुस्तिका हाम्रा चार छिमेकी, हाम्रो संस्कृति पढेको छु ।
 
नेपाली साहित्य 
पछिल्लो समयका साहित्यिक किताब पढेको छैन । उहिल्यै पोखरामा नै छँदा आचार्य चतुर्सेनको ऐतिहासिक उपन्यास ‘वैशालीका नगरवधू’ हिन्दीमा पढेँ । त्यसपछि हिन्दीबाट नेपालीमा अनुवाद गरिएको शीर्षक बिर्सें तर विष्णुगुप्त चाणक्यसम्बन्धी थियो, त्यो किताब ऐतिहासिक पृष्ठभूमिको भएकाले मन लगाएर पढेको थिएँ । 
डोरबहादुर विष्टले लेखेको ‘सबै जातको फूलबारी’ पढेको छु । यात्रा साहित्य जनकलाल शर्माको ‘कौतुकमय डोल्पो’ पढेको छु । जसमा इतिहास, संस्कृति, विकास मिसिएको छ । 
अरू शुद्ध रूपको उपन्यासहरू अर्थात् विशुद्ध साहित्यिक पुस्तकहरू पढेको छैन । हुन त म संस्कृतिको मान्छे । साहित्य नपढी संस्कृति बुझिँदैन । तर, साहित्य पढ्न धेरै समय दिन सकेको छैन ।

मान्छेहरू किताब पढ्दा अन्डरलाइन गर्ने, पानाको शिरपट्टि अथवा पुच्छरपट्टि भाँच्ने गर्छन् । यस्तो गरेको देख्दा साह्रै मन दुख्छ । म किताबमा नामसमेत लेख्दिनँ । 

पुस्तकको माया
आफ्नो विषयसँग सम्बन्धित पुराना किताबहरू संग्रहित गरेको छु । आफ्नो विषयका पुराना किताब खोजी–खोजी किन्छु । महँगोमा पनि किन्छु । केशरशमशेरले खुलाएको नेपाल सांस्कृतिक परिषद्ले ‘जयरत्नाकर’ नाटक र ‘त्रिरत्न सौन्दर्य गाथा’ छापेको थियो । त्यसवेला छ र सात रुपैयाँको किताब । जम्मा १३ रुपैयाँको किताब । यी किताब मैले डेढ वर्षअघि एकजनासँग नमोतस्या गरेर एउटाको हजार रुपैयाँका दरले किनेँ  । यस्तै राजा महेन्द्रको पालामा मन्दिरहरूको जीर्णोद्धार गर्ने पण्डित सोमनारायण सिग्देलले लेखेको रंगीन फोटोसहितको मन्दिरहरूको परिचय भएको दुर्लभ किताब पनि किनेको छु । अरू दुई–तीनवटा किताब खोज्दै छु ।

प्रज्ञा प्रतिष्ठानले छपाएको ‘नेपाली निघन्टु’ आयुर्वेदसँग सम्बन्धित किताब हो । यो मसँग थियो तर मुस्ताङको अम्जी (वैद्य)लाई दिएँ । अहिले खोज्दै छु, फेला पारेको छैन । अर्को योगिन्द्रराय नाथले २०१२ सालतिर छपाएको किताब इतिहास प्रकाश प्रथम अंक पनि खोज्दै छु । यसको पनि तत्कालीन मूल्य भनेको त्यही पाँच–छ रुपैयाँ हो । अहिले पायो भने तीन हजार भए पनि लगाउन तयार छु ।

मसँग जति पुस्तक छन्, ती सबै एकदम माया गरेर हिफाजतसाथ राखेको छु । मलाई आफ्नो भन्दा बढी माया श्रीमतीको लाग्छ । फेरि श्रीमतीको भन्दा बढी किताबको माया लाग्छ । मान्छेहरू किताब पढ्दा अन्डरलाइन गर्ने, बीच पाना भाँच्ने, शिरपट्टि अथवा पुच्छरपट्टि भाँच्ने गर्छन् । यस्तो गरेको देख्दा साह्रै मन दुख्छ । म किताबमा नामसमेत लेख्दिनँ । कसैलाई पढ्न दियो, बीचमा पट्याएर ल्याउँछन् वा केरेर ल्याउँछन्, छेउमा आफ्नो टिप्पणी लेख्छन्, यस्तो गरेको देख्दा साह्रै चित्त दुख्छ । त्यसको सट्टा केही कागजको चिर्कटो राख्नु, आजभोलि त बुक मार्कर पाइन्छ, त्यही राख्नु जस्तो लाग्छ । मचाहिँ त्यस्तो गर्छु । चित्त बुझेको कुराहरू कापीमा लेखेर राख्छु । 

फुर्सद छैन
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति एवं माननीय सांसद विदुर पौडेलसँग एक कार्यक्रममा भेट भयो । त्यसवेला उहाँले भन्नुभयो, ‘मैले १८ वर्षदेखि समय अभावका कारण ग्रन्थ पढेको छैन ।’ पढ्ने फुर्सद छैन भनेको सुन्दा मलाई अचम्म लाग्यो । रेडियोजस्तो बोल्ने मान्छेलाई पढ्ने समय कसरी पुगेन ? म अचम्मित भएँ । तर, अहिले मलाई त्यस्तै भएको छ । किताब पढ्ने फुर्सद नै छैन । 

सम्पादकको रोजाइ

सुझावित समाचार