बाहिर चौरका घाँस भिजेका छन् । प...र फ्लाइओभरमाथि गुडिरहेका गाडीहरू कतै आकाशमै बिलाइजालान् जस्तो देखिएको छ । ‘बस्टन’ माग हिरो खालको चिसो छ अहिले । तीखो । चर्को घाममा फुंग भएका दिनभन्दा ओसिला दिन कोहीवेला आनन्द लाग्छ । यतिखेर प्रोफेसर पिटर बोजको ‘एक्जिबिसन’का चित्रमा उपस्थित संगीतको ‘अडियो–भिजुअल सेन्सिबिलिटी’ छाम्नु छ । शीर्षकले भन्छ, ‘आँखाले सुन्नु, कानले हेर्नु ।’
‘टाउन कमन’को बाहिरको क्याफे बन्द छ, मलाई ‘हनी’ हालेर एउटा ‘मिडियम साइज्ड फ्रेन्च रोस्ट’ पिउनु थियो । ‘एक्जिबिसन’ हुने हलभित्र कुनै उज्यालो छैन । दुई दिनअघि आउँदा अर्कै कुनै ‘इभेन्ट’ भइरहेको थियो, भित्तामा के–के झुन्डिएका थिए, मैले देख्न पाइनँ । मैले अन्तिम दुई सेमेस्टर यही क्याम्पसमा बिताएको थिएँ । त्यतिखेर केही परिचित र धेरै अपरिचित अनुहार थिए । मैले ठूलो युनिभर्सिटीको छरिएका ‘स्पेस’ देखेको छु । यहाँको ठिक्कको ‘इन्टिमेट स्पेस’ले मलाई धेरै अपरिचित अनुहार पनि परिचितजस्तो देखाइदिइरहेको हुन्छ । यही भ्रम मन पर्छ मलाई ।
हिउँ र झरीको आलोपालोमा केही ‘सन्डे मुड’ त्यसै सेलाए होलान् । आइतबार कुनै–कुनै ‘विकेन्ड इन्टेन्सिभ’बाहेक अरू ‘क्लास’ पनि हुँदैन । अरू दिन भए त हल खुलै हुन्थ्यो । रिसेप्सनको अघिल्तिर उभिएर भुक्के ज्याकेट टक्टक्याउँदै भन्छु, ‘म पिटर बोजको ‘एक्जिबिसन’ हेर्न आएको ।’ रिसेप्सनमा बसेकी महिलाको ‘डेली लिस्ट’मा कतै रहेनछ ‘एक्जिबिसन’को कुरा । म क्याम्पसको वेबसाइट देखाइदिन्छु । अलिबेरमा एकजनाले ‘म खोलिदिन्छु हलको ढोका’ भनेर मलाई लिएर जान्छन् । ‘आर यु फेमिलियर विद दी आर्टिस्ट ?’
‘इजन्ट ही अमेजिङ ?’
‘अल्वेज ।’
ढोका खोलेर बत्ती बालिदिएर उनी मलाई भन्छिन्, ‘जतिबेर मन लाग्छ बस्नु, अनि ढोका ढप्काइदिनु ।’ यत्ति भनेर उनी जान्छन् । जाँदाजाँदै भन्छन्, ‘तपाईं आउनुभाथ्यो भनेर पिटरलाई एउटा नोट छोडिदिन्छु ।’ चित्रहरू नजिकबाट एक किसिमका देखिन्छन्, परबाट अर्कै किसिमका । एकछेउबाट एकथरी, अर्को छेउबाट अर्कोथरी । नजिकबाट हेर्दा गुजुमुज्ज देखिने एउटा चित्र छ ‘लभ क्राई’ शीर्षकको । अलि पर पुगेर हेर्दा ‘फ्रेम’को बीचतिर ‘नित्से’जस्तै देखिने आकृति अमेरिकीज्याज ‘म्युजिसियन’ ‘अल्बर्ट आइलर’को रहेछ ।
मलाई यो श्यामश्वेत चित्र मनपर्छ । ‘ह्वेन यु हियर द म्युजिक’ शीर्षकको चित्रमा अमेरिकी ज्याज ‘स्याक्सोफोनिस्ट’ ‘एरिक डल्फी’ का दुईवटा अनुहार छन् । पहिलो अनुहारको मुनि लेखिएको छ, ‘संगीत सुनिसकेपछि ।’अर्कोको मुनि लेखिएको छ, ‘त्यो संगीत कानभित्र गइसक्यो । त्यसलाई फेरि समाउन सकिन्न । त्यही हो, एकदमै शुद्ध र इमानदार सिर्जना ।’ अघिल्लोबाट पछिल्लोमा पुग्दाखेरि ‘एरिक डल्फी’ लेखिएका सबै अक्षर हराएका छन्, आकृतिको रङ अलि अर्कै भएको छ । मान्छे एउटै, तर ‘स्टेट अफ माइन्ड फरक’भएको देख्छु ।
खाली कुर्सीसित चित्र हेर्छु । कुनै कल्याङ्मल्याङ् नहुँदा पनि बेग्लै लाग्ने रहेछ । यो झन् शुद्ध र इमानदार ‘रिसेप्सन’भयो कि जस्तो लाग्छ दर्शकको हिसाबले । नत्र अरू पनि हुन्थे भने मैले केही सुन्न सक्थेँ, कसैले केही भनेको हुन सक्थ्यो । मैले त्यही भनिएका र सुनिएका कुराका सम्बन्धमा उनका चित्रलाई हेर्ने थिएँ होला ।
०००
कहिलेकाहीँ भेटघाट न पूरै औपचारिक हुन्छ, न पूरै अनौपचारिक । पिटरसँगको भेटघाट पनि त्यस्तै–त्यस्तै हुन्छ । झोलाभरि किताब बोकेर उनी ‘टाउन कमन’तिर लाग्छन् । मैले ‘सहयोग गरौँ ?’ भनेर सोध्दा ‘पर्दैन’ भन्छन् । हलको बाहिर पुगेपछि झोलाबाट फुत्तफुत्त किताब झिक्न थाल्छन् । ‘फ्याकल्टी अफिस’लाई दिने भनेर ल्याएका रहेछन् सबै । उनी तीमध्ये मलाई मन पर्ने किताब छन् कि भनेर देखाउँछन् । ‘किज्लोब्स्की अन किज्लोब्स्की’ निस्किन्छ झोलाबाट । उनी मतिर हेरेर खिसिक्क हाँस्छन् । ‘यो गजबको किताब हो । मसित छ एउटा । एउटा मैले मेरो गुरुलाई पनि पठाइदिएको थिएँ’ भन्छु । ‘फ्रोस्वाँटुफो’ले ‘आन्तोइन’ भन्ने ‘सेमी–अटोबायोग्राफिकल’ पात्र ‘क्रिएट’ गरेर ‘फो हन्ड्रेड ब्लोज’ र अरू फिल्म बनाएको कुरा सिनेमाको इतिहासमा एउटा महत्वपूर्ण उपलब्धि हो । ‘आन्तोइन’ पात्र भएका चारवटा फिल्मका स्क्रिप्टको किताब मलाई दिन्छन् केही भन्दै नभनी । अनि एउटा ‘प्राइभेट स्क्रिनिङ्स’, ‘ज्याज हिस्ट्री अफ अमेरिका’ र ‘सिल्भियाप्लाथ’देखि ‘वाल्ट ह्विटम्यान’सम्मका कविता भएको किताब पनि दिन्छन् र भन्छन्, ‘यी सबै कविताका ‘अडियो सिडी’ पनि छ किताबभित्र ।’
रुम नम्बर १३११ को एउटा ‘डेस्क’मा ती किताब राखेर म पूरै क्लासलाई एकसरो ‘स्क्यान’ गर्छु । क्लास सुरु हुन अझै एक घन्टा बाँकी छ । उनको क्लासमा छिर्नु भनेको कुनै ग्यालरीमा छिर्नुजत्तिकै हुन्थ्यो पहिला पनि । मन्द–मन्द ज्याज बजिरहेकै हुन्छ सधैँ । क्लासको कुनै एकतिरको भित्तामा ‘ज्याक्सन पोलक’को चित्रलाई ‘क्लिपर’ले अड्काइएको हुन्छ । अनि अल्डुअस ह्युक्स्ली, सेल सिल्भरस्टेइन, माइकलेन्जेलोजस्ता नाम ‘ह्वाइट बोर्ड’मा लेखिएको हुन्छ । ‘करेक्सन’ गरिइसकेका ‘असाइन्मेन्ट’ हुन्छन् एउटा टेबलमा । यस्तै–यस्तै । अनि यी ८२ वर्षे ज्याज हिस्टोरियन, ज्याज पेन्टर, र ज्याज ब्यान्डका भूतपूर्व ड्रमरको ‘लो की पर्सनालिटी’ र ‘हाइप्रोफाइल क्रिएटिभ एनर्जी’ । मलाई उनी एकपटक फेरि हलमा लिएर जान्छन् र केही चित्रका बारेमा बताउँछन् । म चित्रको भाषा राम्ररी बुझ्ने मान्छे भइदिएको भए अहिले ती सबै ‘प्रोसेस’ सरल तरिकाले लेख्ने थिएँ ।
कुनै कलाकार आफैँ पूर्ण हुन्छ कि हुँदैन ? कि उसलाई केही कुराको सापेक्षतामा हेरिनुपर्छ ? अथवा यसरी भनौँ, उसले सम्झिने अरू कलाकारसमेतको विशेषतामा उसका लागि पूर्णताका केही परिभाषा कोरिन्छन् ? पिटरले पुराना ज्याज आर्टिस्टका चित्र बनाएका छन् । एउटा कलाकारले अरू कलाकारको जिन्दगी या अनुहार या कामलाई कुनै हिसाबले ‘रिक्रिएट’गर्नु आनन्द लाग्छ मलाई । अनि कसको चित्र कोरेका छन्, त्यसले पनि कलाकारका रूपमा उनको आफ्नो अस्तित्व निर्माण पनि गर्लान् कि जस्तो लाग्छ ।
चित्र देखाउँदै, मलाई विस्तारमा तिनका बारेमा बताउँदै गर्दा उनी भन्छन्, ‘१९३७ मा जन्मेको त थाहा छ, तर कसैले मेरो उमेर सोध्दा मैले ठ्याक्कै यति वर्ष भनेर कहिल्यै भन्न सकिनँ । मैले त आफ्नो उमेरको हिसाबै पो गरेको रहेनछु ।’यी ८२ वर्षका भए भन्ने कुरा मलाई एकपटक हेक्का हुन्छ । उनी भन्छन्, ‘यो ‘एक्जिबिसन’भन्दा पहिला लगभग ६ महिना त म स्टुडियोमा यसै अल्याङ्–टल्याङ् मात्रै गरिरहेँ । उमेर त धेरै बितिसकेछ भन्ने कुरा त्यतिवेलै सम्झना भयो । मृत्यु, सत्य र तिनका दर्शनका बारेमा धेरै सोचेको रहेछु त्यो समय ।’ म उनको आँखामा सीधै हेरेर मुसुक्क हाँस्छु मात्रै ।
उनले भनेको कुरा म भिन्न आलोकमा बुझ्न सक्छु सायद । उमेरका कुरा, उमेरसँगैका दर्शन र ‘रिएलाइजेसन’का कुरा म सोचेर बस्छु कोहीवेला । किनभने, पहिला आफू भएको बिर्सिंदै जाने रहेछ । म केटाकेटी छँदा अलि ठूलो, १२–१३ वर्षको भएको कल्पना गर्थेँ । १२–१३ को हुँदा २०–२१ को । विस्तारै २७–२८ को । सधैँ बढिरहने उमेरको कल्पनामा आफ्नो वास्तविक उमेरलाई आत्मसात् नगर्ने एउटा भ्रमिल काम गरिरहेँ । ३०–३१ को हुँदा ५५–६० को चेतनामा मिसाउँछु आफूलाई । यस्सो फर्केर हेर्छु पनि । अहिले जहा उभिएको छु, वास्तवमा एक दशकअघि कल्पना गरेको मैदान हो । फर्केर बच्चा बन्न सकिन्न । यस्ता कुराको कुनै अन्त्य छैन ।
जब सिलसिला सुरु हुन्छ, चलेको चल्यै कहाँ पुगेर बाटो अल्मलिएको घुमन्तेजस्तो भएर ट्वाल्ल परेजस्तो हुन्छ । यताउता, दायाँबायाँ, सबैतिर अनौँठो विच्छेद देख्छ त्यतिवेला मान्छेले । ‘ब्लिंक एन्ड मिस’ भन्छन् फिल्ममा कुनै कलाकारको ‘स्क्रिन’को उपस्थितिलाई लिएर, आँखा झिमिक्क ग¥यो, कुन वेला आयो गयो हरायो पत्तो नहुने । जीवनमा कति घुम्ती यस्तै ‘ब्लिंक एन्ड मिस’मै काटियो भन्ने लाग्छ । फेरि कति छिटो कति धेरै कुरा सर्दै या बदलिँदै या बन्दै गरेको देख्छु । अनौँठो छटपटी हो कि मैले अब के गर्ने हो भनेर मेसो नपाएको हो, दिमागले नठम्याउने प्रहर पनि हुन्छन् । सायद यस्तै केही थियो कि पिटरको पनि !
मान्छे र गाडी दौडिएजस्तै उनका बिचार पनि उस्तै रफ्तारमा दौडिँदा हुन् । मलाई सोध्न मन लाग्छ, उनको ‘मेन्टल वर्क आउट’को ‘रेसियो’ र थकान अनि ऊर्जाको सामञ्जस्य । उनको क्लासको समय हुँदै छ । उनलाई अझै पनि उत्तिकै छ– कति कुरा नभनिएलाजस्तो, कति कुरा भन्नै छ जस्तो । अलिकति संघर्ष, अलिकति चर्चा, अलिकति सम्झना, अलिकति ‘लिगेसी’ : जीवनको समस्टी सायद यति नै हो ।