म गोल्डस्टार !
मलाई मानिसले लगाएर हिँड्छन् । मैले मान्छेलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु-याउँछु । आकर्षक डिजाइन, हलुका र सुलभ हुनाले सबैको खुट्टामा अटाउँछु । सहरदेखि गाउँसम्मका मान्छेले मलाई रुचाउँछन् । आमजनता, खेलाडी, आर्मी, पुलिस र लडाकुमाझ म लोकप्रिय छु । मलाई भारतीय, युएई, अस्ट्रेलियन र भुटानीले पनि लगाउँछन् ।म सन् १९९० मा काठमाडौंमा जन्मिएँ । मलाई जन्माउने नूरप्रताप राणा हुन् । उनले पाल्पाबाट काठमाडौं आएर जुत्ता उत्पादन सुरु गरे । मलाई स्थापित ‘फुटवेयर ब्रान्ड’ बनाउन अमीर राणाले मलजल गरे । अहिले नेपाल र भारतमा लोकप्रिय ब्रान्ड बनेको छु । नेपाली ब्रान्ड बनेर विश्वभर फैलिँदै छु ।
मेरो मालिक नूरप्रतापको व्यावसायिक यात्रा हात्तीछाप चप्पलबाट सुरु भएको हो, जुन अत्यन्तै लोकप्रिय भयो । चप्पलपछि स्पोर्टस् जुत्ता उत्पादन गर्न कस्सिए । उनले थाइल्यान्डबाट आधुनिक मेसिन झिकाए । सुरुमा स्पार्क जुत्ता उत्पादन गरे । नेपालीहरू छालाका जुत्ता लगाउथे, स्पोर्टस् लगाउने त्यति चलन थिएन । ‘स्पार्क’ महँगो हुनाले बजार लिन सकेन । जब सस्तो मूल्यमा म (गोल्डस्टार) बजारमा प्रवेश गरेँ, त्यसयता मेरा मालिकले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेको छैन ।
दैनिक ७५ हजार जोर उत्पादन हुन्छु । जसमध्ये झन्डै ५५ प्रतिशत निर्यात हुन्छु, बाँकी ४५ प्रतिशत नेपालमै बिक्री हुन्छु । मैले वार्षिक अर्बौँ डलर भित्र्याएर राज्यलाई योगदान दिइरहेको छु । झन्डै १७ सय जनालाई प्रत्यक्ष रोजगारी पनि । नेपालमा मेरा ३० वटा आउटलेट छन्, ५० वटा पाइप लाइनमा । देशका कुनाकाप्चासम्म पुगेको छु । मेरा मालिकले जुत्ता स्थापित गर्न ठूलो संघर्ष गर्नुप-यो । ब्रान्ड न्यु मेसिन त आयो, तर उत्पादन गतिलो बनेन । कहिले केमिकल नमिल्ने, कहिले तापक्रम । राम्रो जुत्ता बनेन । नूरप्रतापले इन्डियाबाट बाटाको टेक्निसियन झिकाए । उनैले जुत्ता बनाउने फर्मुला सेट गरिदिएका थिए । नेपालमा प्रायः स्पोर्टस् सुज लक्जरी मानिने समयमा नूरप्रतापले स्पोर्टस् सुज उत्पादन सुरु गरेका हुन् । चार दशकअघि स्पोर्टस् सुज स्थापित गर्न सकिन्छ भन्ने सोच थियो । तर, भारत र नेपालमा छालाका जुत्ता–चप्पल लगाउँथे ।
नूरप्रताप र उनको टिमले गुणस्तर नघटाई कसरी सस्तो जुत्ता बनाउन सकिन्छ भनेर चीन भ्रमण गरे । व्यापक अध्ययन, अनुसन्धान गरेपछि केही सस्तो मूल्यमा म जन्मिएँ । बजारमा आउनेबित्तिकै मेरो लोकप्रियता उचाइमा पुग्यो । मेरो यति माग भयो कि एउटा मेसिनले उत्पादन गरेर धान्न नसकिने भयो । माग ह्वात्तै बढे पनि नूरप्रतापले तत्कालै अर्को मेसिन जडान गरेनन् । एउटा मेसिनले ८ घन्टामा ६/७ सय जोडी जुत्ता उत्पादन गथ्र्यो । मलाई जन्माउने पहिलो मेसिन अझै पनि चलिरहेको छ ।
झन्डै ४/५ वर्षपछि माग धान्नै नसकेर अर्को मेसिन अर्डर भयो । यो मेसिन अटोमेटिक थियो तर कम्प्युटराइज थिएन । जब मेसिन थपियो, मुलुकमा राजनीतिक उतारचढाव आउन थाल्यो । राजनीति परिवर्तन हुन थालेपछि अन्योल छायो । म नेपालमा लोकप्रिय हुँदै थिएँ । धेरैको रोजाइमा पर्न थालिसकेको थिएँ ।
म देशैभरि पुग्न थालेँ । तराईको बोर्डर साइडसम्म पुगेँ । सायद मेरो भारतमा पनि चर्चा हुन थालेको रहेछ । त्यतिवेलै इन्डियन व्यापारीले बोर्डरमा आएर नेपाली जुत्ता राम्रो छ भन्दै मलाई किनेर लैजान थाले । र, उता लगेर बिक्री गर्न थाले । भारतीयले पनि मलाई मन पराउन थाले । सुरुमा म इन्डियाको बोर्डरमा लोकप्रिय भएँ । मेरो भारतभरि चर्चा चल्न थाल्यो । डिजाइन पनि राम्रो, गुणस्तर पनि राम्रो । छोटो अवधिमै मलाई भारतीयले माया गर्न थालिहाले । लुकिछिपी धेरथोर निर्यात हुन थालेँ । ०५०/५१ तिरको कुरा । त्यस वेलासम्म नेपालमा उत्पादित वस्तु निर्यात हुन सक्छ भन्ने नै थिएन ।
माओवादी द्वन्द्वका वेला कसैले मलाई लगाएको देख्नासाथ सेनाले आतंककारीको बिल्ला भिराइहाल्थ्यो । मानौँ, मेरै कारण युद्ध चर्किरहेको छ र म नभए युद्ध रोकिन्छ । राज्यले मलाई अनेक दुःख दियो । मलाई लगाउन मान्छे डराउन थाले ।
नेपालमा राजनीतिक अस्थिरता बढ्न थालेको थियो । नेपाली बजार बिग्रिँदै थियो । त्यहीवेला दिल्लीको व्यापारी बनारसको साथीसँग मलाई लैजाने कुरा गर्न आयो । उसले पहिलो लटमा तीन हजार जोर जुत्ता लग्यो । फेरि फर्किएर आउँदैन कि भन्ने थियो । एक हप्तामै फर्कियो, १० हजार जोर जुत्ता चाहियो भन्दै । त्यस वेला मेरो उत्पादन दैनिक क्षमता १० हजार जोर थियो । तर, उत्पादन ४/५ हजार जोर मात्र भइरहेको थियो ।
मलाई भारतीयले रुचाउन थालेपछि नूरप्रताप र अमीर राणाले इन्डिया वैद्यानिक रूपमा लैजाने बाटो खोल्न प्रयास गरे । सम्पूर्ण प्रक्रिया पूरा गरेर १० जोडी ट्रकबाट दिल्ली पुग्यौँ । मेरो भारतमा अर्डर बढ्न थाल्यो । नेपालको स्थिति बिग्रँदो, भारतको स्थिति राम्रो भयो । नेपालमा अस्थिरता सुरु भइसकेको थियो । माओवादी द्वन्द्व पनि सुरु भयो ।
माओवादी द्वन्द्व चर्किँदा नेपालको बिजनेस सुक्दै गयो ।
म हलुंगो र टिकाउ हुनाले युद्धमा प्रयोग हुन थालेँ । मलाई माओवादीले खोजीखोजी लगाउन थाले । अनि, पुलिस र सेनाको तार्गेटमा परेँ । कसैले मलाई लगाएको देख्नासाथ पुलिस र सेनाले आतंककारीको बिल्ला भिराइहाल्थ्यो । मानौँ, मेरै कारण युद्ध चर्किरहेको छ र म नभए युद्ध रोकिन्छ । राज्यले मलाई अनेक दुःख दियो । मलाई लगाउन मान्छे डराउन थाले । सरकारले आतंककारीले लगाउने जुत्ता भनिदिँदा मलाई धेरै दुःख लाग्थ्यो । आखिरी मलाई पुलिस र सेनाले पनि लगाउँथे । नेपालमा मलाई बिक्री गर्न पनि डराउन थाले । किनेर पनि लगाउन डराउन थाले । अनि, भारततिर निर्यात हुन थालेँ । दिनमा १० हजार जोडी उत्पादन हुँदा ७/८ हजार जोडी भारत पुग्यो । भारतमा पनि मलाई नक्सलवादीले लगाउँथे । भारतीय आर्मी र पुलिसले पनि मलाई लगाउँछन् ।
म भारतको उत्तरी बेल्टमा मात्र चर्चित भएँ । त्यसभन्दा तल्लो भेगमा त्यति थाहा थिएन । मेरो मालिक झोलामा मलाई राखेर भारतीय बजारमा मार्केटिङ गर्न गए । त्यसवेला भारतीय व्यापारीले होच्चाएर कुराकानी गर्थे । ‘यस्तो पनि जुत्ताहुन्छ ?’ भन्थे । मेरो मालिकले एकपटक राखेर त हेर, अनि थाहा पाउँछौँ भन्थे । देखाइमा आकर्षक, मूल्य पनि सस्तो र क्वालिटी पनि राम्रो । पछि होच्चाउने व्यापारीले पनि हात जोडेर मलाई देऊ भन्न थाले । मेरो माग अझ् बढ्न थाल्यो । मेसिन ४ वटा पुग्यो । उत्पादन पनि दैनिक १२/१३ हजार जोडी पुग्यो । अझै पनि माग धान्न सकिने अवस्था थिएन । इन्डियाका ठूला ब्रान्डहरूलाई धक्का दिन थालिसकेको थिएँ । मेरो लोकप्रियता बढेपछि मायापुरी, कलकत्ता, दिल्लीको आसपासका व्यापारीले मलाई कपी गर्न थाले । नक्कली गोल्डस्टार बन्न थाल्यो । मेरो मालिकले भारतीय बजार सुरक्षित गर्न ब्रान्ड, प्याटेन्ट र डिजाइन रजिस्ट्रर गरे । अझै पनि लुकिछिपी नक्कली गोल्डस्टार जुत्ता बनाउने व्यापारी धेरै छन् ।
कतिपय इन्डियाका ठूला कम्पनीले पनि मलाई आदर्श मान्छन् । मेरो सिको गरेर बिजनेस सुरु गरेका कतिपय व्यवसायी स्थापित भइसकेका छन् । सन् ०१२/१३ को कुरा हो । मेरा मालिक अमीर राणा भारतको ठूलो फुटवेयर कम्पनीका मालिकलाई भेट्न गएका थिए । ती व्यवसायीले कोठामा थुप्रै जुत्ता सजाएर राखेका थिए । त्यो भिडमा म पनि थिएँ । अमीरले आँखा घुमाउँदा मलाई देखेर चकित भए । ती व्यवसायी भन्दै थिए, नेपाली ब्रान्डले भारतमा बजार स्थापित ग-यो, त्यसैले गोल्डस्टारलाई प्रेरणाका रूपमा राखेको हुँ ।
सन् २०१५ सम्म भारतमा मेरो बजार राम्रो थियो । मेरो २५ प्रतिशत मार्केट नेपाली र ७५ प्रतिशत मार्केत भारत थियो । जब नेपालमा भूकम्प गयो, भारतले नाकाबन्दी ग-यो । व्यापारमा उतारचढाव सुरु भयो । भारतमा मलाई निर्यात गर्न अप्ठ्यारो भयो । मैले बनाएको बजार हिस्सामा अर्को कम्पनी छिर्न पायो । नक्कली गोल्डस्टार बनाउने मालामाल भइहाले । नाकाबन्दी खुल्यो, जुत्ता पठाउने वेलामा नोटबन्दी भयो । फेरि जिएसटी लागू भयो । भारतीय बजार प्रभावित भयो । बिस्तारै नेपालमा मार्केट बढ्न थाल्यो । इन्डियामा घट्न थाल्यो । त्यो नाकाबन्दी मेरा लागि ठूलो अभिसाप बन्यो ।
नाकाबन्दीअघि एक करोड जोडीसम्म जुत्ता इन्डिया निर्यात भएको थियो । अहिले ३०/३५ लाख जोडी मात्र निर्यात हुन्छ । इन्डियाको बजार खुम्चिँदै जाँदा आन्तरिक बजार बढ्दै छ । मेरा मालिक पनि आन्तरिक बजार ‘बुस्ट’ गर्न कस्सिएर लागेका छन् । युवाको चाहनाबमोजिमका जुत्ता उत्पादन गर्न थाले । विज्ञापन गरे । नयाँ नयाँ डिजाइन ल्याउन सुरु गरे । अहिले हप्तामा एउटा नयाँ डिजाइन बजारमा पठाउँछन् । नाकाबन्दीपछि राष्ट्रियताको भावना पनि अयो । अहिले मलाई नेपालीले गर्वसाथ लगाउँछन् ।
तीन वर्षअघि जंगल बुटका रूपमापनि बजारमा आएँ । जंगल बुट पनि भारतीय र नेपालीले एकदमै रुचाए । जाडोमा जंगल बुट धेरै बिक्री हुन्छ । पछिल्लो समय महिला र पुरुषले लगाउने चप्पल र स्यान्डिल बनेर बजारमा आएको छु । गर्मी महिना सुरु हुँदै छ, मेरै नयाँ स्यान्डिल बजारमा आउँदै छ । मेरा मालिक अमीरले सन् २०१५ मा चीनको प्रदर्शनीमा जाँदा महँगो मूल्य तिरेर अत्याधुनिक मेसिन ल्याएका थिए । त्यही मेसिनबाट फेसेनेवल युवाको चाहनाबमोजिमकाडिजाइन बनिरहेका छन् । मेरो तल्लो भाग ‘सोल’ र माथिल्लो भाग यहीँ बन्छ । अमीरले दैनिकजसो बजारको फेसन ट्रेन्डबारे डिजाइनरसँग छलफल गर्छन् । आफैँ पनि डिजाइन गर्छन् ।
कुनै समय मैले ३१ सयजनालाई रोजगारी दिएको थिएँ । भारतीय बजार गुमेपछि कर्मचारी १७ सयमा झरे । कुनै समय भारतमा मात्र एक करोड जोडी निर्यात हुन्थेँ । तर, पछिल्लो आर्थिक वर्षमा कूल ७० लाख जोडी जुत्ता र ३० लाख जोडी चप्पल उत्पादन भएँ । मेरो सो रुम ३० पुगेका छन् । ५० वटा खुल्ने क्रममा छन् । डिलरमार्फत देशका कुनाकाप्चा पुगेको छु । इन्डियाको पनि पूरै प्रान्तमा फैलिएको छु ।