कहाँ छन् एलियनहरू ?

विज्ञान–प्रविधि

आकाश महर्जन आकाश महर्जन
शनिबार, ५ पुष, २०७६
डिजिटल संस्करण

सन् १९७७ को अगस्ट १५ का दिन अमेरिकी खगोलशास्त्री जेरी आर एहमानले अन्तरिक्षबाट प्राप्त रेडियो संकेतहरूको अध्ययन गरिरहँदा एक अनौठो संकेत भेट्टाए । ओहायो स्टेट युनिभर्सिटीमा सर्च फर एक्स्ट्रा टेरेस्ट्रियल इन्टेलिजेन्स,(SETI)नामक पृथ्वीइतर सभ्यताको खोजी गर्ने संस्थाका लागि राखिएको ‘विशाल कान’(Big Ear) नामक रेडियो टेलिस्कोपले रेकर्ड गरेका रेडियो संकेतहरूको अध्ययन गरिरहँदा धनुराशिबाट आएको सो संकेतले एहमानलाई निकै उत्साहित ग-यो । 

कम्प्युटरबाट प्रिन्ट भएर आएको सो संकेतमा उनले चिह्न लगाई अंग्रेजीमा ‘वाउ !’ लेखे । त्यसपछि वैज्ञानिकहरूले सो रेडियो संकेतलाई ‘वाउ ! संकेत’ भनी नामकरण गरे । सेटीका वैज्ञानिकले सो रेडियो संकेत पृथ्वीइतर सभ्यताका प्राणीले अन्तरिक्षमा अन्य प्राणीसित सम्पर्क गर्न पठाएको हुन सक्ने अनुमान लगाएका थिए ।

७२ सेकेन्डसम्म आइरहेको सो संकेत नै पृथ्वीइतर सभ्यता वा एलियनको सभ्यताको सबैभन्दा बलियो प्रमाण हुन सक्ने वैज्ञानिकहरूले बताएका थिए । त्यसपश्चात् सोही दिशाबाट अहिलेसम्म त्यस्तो कुनै संकेत प्राप्त भएको छैन । ‘वाउ ! संकेत’ आखिरमा कुनै एलियन सभ्यताले पठाएको संकेत नभई हालसम्म खगोलशास्त्रीहरूले पत्ता लगाउन नसकेको कुनै खगोलीय घटना हुन सक्ने सम्भावना बढी छ । तर के यो ब्रह्माण्डमा हामी एक्लै छौँ त ? के एलियनहरू छन् त ? के तिनीहरू पृथ्वीमा आइसके त ? के हामी कहिल्यै तिनीहरूसित सम्पर्कमा आउन सक्छौँ त ? यी प्रश्न सदियौँदेखि वैज्ञानिक तथा आममानिसमा पनि चासोको विषय रहँदै आएको छ । आउनोस्, यसबारे केही खोतल्ने प्रयत्न गरौँ ।

सबैभन्दा पहिले पृथ्वीबाहेक ब्रह्माण्डमा अन्त कतै एलियन सभ्यताको विकास हुन सक्ने सम्भावनाको कुरा गरौँ । हाम्रो सौर्यमण्डल रहेको तारापुञ्ज आकाशगंगा, जसलाई अंग्रेजीमा ःMilky Way Galaxy भनिन्छ, त्यसभन्दा बाहिरका तारापुञ्जहरूमा एलियन सभ्यता छन् नै भने पनि हामी त्यसबारे सायद कहिल्यै थाहा पाउनेछैनौँ, किनभने त्यहाँ पुग्न त के तिनीहरूसित सम्पर्क गर्नका लागि संकेत मात्र पठाउन पनि करोडौँ वर्ष लाग्छ । त्यसैले अहिलेका लागि हाम्रै तारापुञ्ज आकाशगंगामा सीमित रहौँ । आकाशगंगामा करिब ४ खर्ब तारा छन् ।

यो भनेको पूरै पृथ्वीभरि पाइने बालुवाका कणहरूको संख्याभन्दा पनि १० हजार गुणा बढी हो । ती तारामध्ये हाम्रो सूर्यजस्ता ताराको संख्या २० अर्ब छ । अस्ट्रेलियन एस्ट्रोनोमिकल अब्जर्भेटोरीका खगोलशास्त्री डा. सिमान ओटुलका अनुसार औसतमा हाम्रो आकाशगंगामा रहेका सम्पूर्ण ताराको कम्तीमा एउटा ग्रह हुन्छ । र, तीमध्ये कम्तीमा २० प्रतिशत ग्रह तापक्रमका आधारमा प्राणीका लागि बाँच्नयोग्य क्षेत्रमा रही आफ्नो सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् । यस्तो क्षेत्रलाई खगोलशास्त्रीय भाषामा ‘ह्याबिटेबल जोन’ भनिन्छ । 

‘ती सबै ग्रहमा जीवन छन् भन्ने कुरा त होइन । तर, सम्भावना भने निकै छ,’ डा. ओटुल भन्छन् । बाँच्नयोग्य क्षेत्रमा रहेका ग्रहमध्ये ०.१ प्रतिशतमा मात्र जीवन भएको खण्डमा पनि हाम्रो आकाशगंगामा मात्रै १० लाखवटा ग्रहमा जीवन भएको ठहरिन्छ । त्यसमाथि, आकाशगंगाको उत्पत्ति करिब १३ अर्ब वर्षअघि भएको वैज्ञानिकहरू बताउँछन् । र, उत्पत्ति भएको १ देखि २ अर्ब वर्षपछि प्राणी बाँच्नयोग्य ग्रहहरूको उत्पत्ति भयो । हाम्रो पृथ्वी ४ अर्ब वर्षअघि मात्र उत्पत्ति भएको हो । यस हिसाबमा, पृथ्वीभन्दा अर्बौं वर्षपहिले उत्पत्ति भएका ‘ह्याबिटेबल जोन’मा रहेका अरबौँ ग्रहमध्ये एउटामा मात्र जीवनको उत्पत्ति र उद्विकास भई अन्तरिक्षमा सजिलै यात्रा गर्न सक्ने सभ्यतासम्म विकास भइसकेको भए हामीले उनीहरूको अस्तित्वका प्रमाण फेला पारिसकेका हुन्थ्यौँ होला । त्यस्तो सभ्यता कस्तो होला ?

कुनै पनि सभ्यताले प्रयोग गर्ने ऊर्जाको मात्रालाई आधार बनाई सो सभ्यतामा प्रविधिको विकास कति भएको छ भन्ने मापन गर्ने विधिको रूपमा सोभियत खगोलशास्त्री निकोलाई कार्डासेभले सन् १९६४ मा कार्डासेभ स्केल प्रस्ताव गरेका थिए । कार्डासेभ स्केलका अनुसार टाइप १ सभ्यताका प्राणीले आफ्नो ग्रहमा उपलब्ध सम्पूर्ण ऊर्जाको प्रयोग गर्न सक्ने हुन्छन् । खगोलशास्त्री कार्ल सेगनका अनुसार मानव सभ्यता अहिले किशोरावस्थाबाट गुज्रिरहेको छ । हाम्रो सभ्यतालाई कार्डासेभ स्केलमा ०.७५ मापन गरिएको छ । भौतिकशास्त्री मिचियो काकुका अनुसार मानव सभ्यता कार्डासेभ स्केलको टाइप १ सभ्यतामा पुग्न करिब १०० देखि २०० वर्ष अझै लाग्छ । 

टाइप २ सभ्यताका प्राणीले आफ्नो ग्रहले परिक्रमा गरिरहेको ताराबाट उत्पादन भएको सम्पूर्ण ऊर्जा प्रयोग गर्न वा नियन्त्रण गर्न सक्ने हुन्छन् । डाइसन स्फेयरजस्ता अत्याधुनिक प्रविधिको विकास गर्न सक्षम प्राणी टाइप २ सभ्यताका हुन्छन् । डाइसन स्फेयर भनेको यस्तो विशाल प्राविधिक परिकल्पित संरचना हो, जुन अति विशाल सोलार पेनलहरू मिलाएर बनाइएको हुन्छ र त्यसले तारालाई पूर्ण रूपमा घेरेर ताराबाट उत्पादन हुने ऊर्जा संकलन गर्छ । सन् १९३७ मा बेलायती दार्शनिक तथा विज्ञान साहित्यकार विलियम ओलाफ स्टेपलडनले आफ्नो विज्ञान उपन्यास ‘स्टार मेकर’मा डाइसन स्फेयरको पहिलोपटक परिकल्पना गरेका थिए ।

टाइप ३ सभ्यताका प्राणीले सम्पूर्ण तारापुञ्जकै ऊर्जा नियन्त्रण गर्छ । माथि उल्लेख गरिसकिएको छ कि हाम्रो आकाशगंगामा रहेका लाखौँ ग्रहमा प्राणी बाँच्न सक्ने वातावरण छ । र तीमध्ये लाखौँ ग्रह पृथ्वी उत्पत्ति हुनुभन्दा अर्बौँ वर्षपहिले उत्पत्ति भएका थिए । तीमध्ये पनि केही ग्रहमा मात्रै हाम्रो पृथ्वीमा भन्दा अर्बौँ वर्षपहिले जीवनको उत्पत्ति भई सभ्यताको विकास भइसकेको भए ती सभ्यता टाइप ३ सभ्यतामा विकास भइसकेको हुनुपर्ने हो । र, टाइप ३ सभ्यताका ती एलियन अन्तरिक्षमा सजिलै यात्रा गर्न सक्षम भइसक्नुपर्ने हो र उनीहरू हाम्रो सौर्यमण्डलवरिपरि आएर हामीसित सम्पर्कमा आइसक्नुपर्ने हो, वा कम्तीमा हामीले उनीहरूको अस्तित्वको प्रमाण फेला पारिसकेको हुनुपर्ने हो । तर कहाँ छन् त एलियनहरू ? कहाँ लुकेर बसेका छन् तिनीहरू ? यही विरोधाभाषलाई वैज्ञानिकहरूले इटालियन–अमेरिकी भौतिकशास्त्री इन्रिको फर्मीको नाममा फर्मी प्याराडक्स राखेका छन् । यो विरोधाभाषको अहिलेसम्म कसैले पनि चित्तबुझ्दो उत्तर दिन सकेको छैन । तर, केही सिद्धान्त भने प्रस्तावित छन् । 

पहिलो, हामी हाम्रो आकाशगंगाको निकै दुर्गम स्थानमा छौँ । यानिकि हामी अन्य अति विकसित एलियन सभ्यताबाट निकै टाढा छौँ । वैज्ञानिकहरूका अनुसार हाम्रो आकाशगंगाको व्यास १ लाख प्रकाश वर्ष छ । १ प्रकाश वर्ष भनेको प्रकाशले अन्तरिक्षमा १ वर्षमा यात्रा गर्ने दूरी हो । अन्तरिक्षमा प्रकाशले १ सेकेन्डमा ३ लाख किलोमिटर दूरी पार गर्छ ।

यसको मतलब १ वर्षमा प्रकाशले पार गर्ने दूरी करिब ९५ खरब किलोमिटर हुन्छ । त्यसलाई १ लाखले गुणन गर्नुहोस्, हाम्रो आकाशगंगाको व्यास त्यति नै हो । त्यसैले, कुनै टाइप ३ सभ्यतामा विकास भइसकेको प्राणीले यति विशाल तारापुञ्जको कुनै एक कुनाका थुप्रै ताराहरूको ऊर्जालाई नियन्त्रणमा लिई प्रयोग गरिरहेका छन् र अन्तरिक्षमा सजिलै यात्रा गरिरहेका छन् भने पनि तारापुञ्जको अर्को कुनामा रहेका प्राणीलाई उनीहरूको अस्तित्वको ज्ञान नहुने कुनै ठूलो कुरो भएन । सायद यही कारण हामीलाई एलियन सभ्यताको अस्तित्वको ज्ञान नभएको हुन सक्छ । 

एलियन सभ्यताका अगाडि हाम्रो सभ्यता निकै प्राचीन छ । यसको मतलब अतिविकसित एलियनहरूका लागि हामी त्यति रुचिकर छैनौँ र उनीहरूको नजरमा हामी सम्पर्कयोग्य सभ्यता नै होइनौँ ।

दोस्रो सिद्धान्तका अनुसार कुनै पनि सभ्यता कुनै एक बिन्दुमा गएर अन्त्य अवश्य हुन्छ, टाइप ३ सभ्यतामा पुग्न सक्ने सम्भावना नै हुँदैन । सभ्यताको अन्त्य हुने थुप्रै कारण हुन सक्छन्, जस्तै– कुनै विशाल प्राकृतिक विपत्ति, आन्तरिक आणविक युद्ध, जलवायु परिवर्तन, विशाल उल्का या छुद्रग्रह ठोक्किन आउने आदि । यदि यसो हो भने मानव सभ्यता आफ्नो अन्त्यतिर आइसकेको हुन सक्ने वैज्ञानिकहरू बताउँछन् । 

तेस्रो, अन्य एलियन सभ्यताका अगाडि हाम्रो सभ्यता निकै प्राचीन छ । यसको मतलब अति विकसित एलियनहरूका लागि हामी त्यति रुचिकर छैनौँ र उनीहरूको नजरमा हामी सम्पर्कयोग्य सभ्यता नै होइनौँ । या उनीहरूको सञ्चारको माध्यम हाम्रो भन्दा निकै विकसित छ र उनीहरूको सञ्चार माध्यमले हामीसित सम्पर्क गर्नै सक्दैन । 

खगोलशास्त्री लर्ड रिस भन्छन्, ‘उनीहरू हाम्रो अगाडि नै पनि हुन सक्छन्, हामीले उनीहरूलाई देख्नै नसकेको मात्र पनि हुन सक्छ । समस्या के हो भने हामीले हामीजस्तै प्राणी मात्र खोजिरहेका छौँ । उनीहरूसँग पनि हाम्रो जस्तै प्रविधि भएको हुन सक्ने हामी ठानिरहेका छौँ । मलाई के लाग्छ भने हामीले ग्रहण नै गर्न नसक्ने रूपका प्राणीहरू र सभ्यता हुन सक्छ ।’

चौथो, पृथ्वी वास्तवमै निकै विशिष्ट छ, जीवन उत्पत्ति हुनका लागि आवश्यक परिस्थिति यति विशिष्ट र जटिल छ कि सम्पूर्ण ब्रम्हाण्डमा यो पृथ्वीमै पहिलोपटक भयो र अहिलेसम्म अरू कतै भएको छैन । ब्रह्माण्डमा पृथ्वीबाहेक अरू कतै पनि पृथ्वीइतर सभ्यता वा सभ्यता नै नभए पनि कम्तीमा पृथ्वीइतर जीवन रहेको कुराको पुष्टि वा कुनै पनि किसिमको प्रमाण अहिलेसम्म छैन । यो विषय जति रोचक छ, यसको खोज अनुसन्धान त्यति नै जटिल र चुनौतीपूर्ण छ ।

फर्मी प्याराडक्सलाई मान्ने हो भने सायद हामी यो ब्रह्माण्डमा एक्लै छौँ । के यसको मतलब हामीले पृथ्वीइतर जीवनको खोज अनुसन्धानमा हार मानेका हौँ त ?
विज्ञान सञ्चारक बिल नाइका अनुसार फर्मी प्याराडक्सले पृथ्वीइतर जीवनको खोज अनुसन्धानमा हार मान्नमा होइन कि झन् अगाडि बढ्नमा प्रेरित गर्छ । ‘हामीले पृथ्वीइत्तर सभ्यताको खोज अनुसन्धान थालेको ५० वर्ष, ७० वर्ष मात्र भएको छ,’ उनी भन्छन्, ‘हामीलाई पृथ्वीइतर सभ्यताका प्राणीले अहिलेसम्म किन सम्पर्क नगरेको त ? किनभने हामीले राम्ररी सुनेकै छैनौँ । हामीले पर्याप्त मिहिनेत नै गरेका छैनौँ । त्यसैले हामीले हाम्रो सभ्यताको दायित्वस्वरूप पृथ्वीइतर सभ्यताको खोज अनुसन्धानमा निरन्तर लाग्नुपर्छ, किनभने दुईवटा प्रश्नले हामीलाई सधैँ आकर्षित गरिरहेको हुन्छ । एक, हामी कहाँबाट आयौँ ? अर्को, के हामी एक्लै छौँ ? यी प्रश्नहरूको उत्तरका लागि हामीले अन्तरिक्षको खोजी गर्नैपर्छ ।’

एहमानले प्राप्त गरेको ‘वाउ !’ संकेत एलियनहरूले पठाएको सन्देश नहोला । तर, मानव सभ्यताकै दौरान कुनै समयमा पृथ्वीइतर सभ्यता वा कम्तीमा पृथ्वीइतर जीवनको प्रमाण मात्र फेला परेको खण्डमा पनि सम्पूर्ण वैज्ञानिक जगत् र मानव सभ्यताले नै ‘वाउ !’ भन्नेछन् । 

स्रोतहरू :  Veritasium, Vsauce, Big Think, Kurzgesagt – In a Nutshell, Wikipedia
 

सम्पादकको रोजाइ

सुझावित समाचार