पिकनिक

नगरकोटी ल्याब

कुमार नगरकोटी कुमार नगरकोटी
शनिबार, ९ चैत, २०७५
डिजिटल संस्करण

रवीन्द्र अधिकारी घरको आँगनमा हेलिकप्टर खेलाइरहेको थियो । 
उक्त हेलिकप्टर उसको नयाँ साथी थियो । हिजो साँझको मात्रै त कुरा हो नि ! ऊ आमासित बजार गएको थियो । छोराको पिकनिकका निम्ति आमाले नयाँ लुगा किनिदिनुभएको थियो । रवीन्द्रलाई खेलौना पसलमा लैजानुभएको थियो । 
पसलमा प्लास्टिकका अनेक खेलौना थिएः बुलडोजर, बस, तोप, ट्रक, इत्यादि । खेलौनाहरू देखाउँदै उसको कोमल गाला सुम्सुम्याउँदै आमाले मायालु बोलीमा 
भन्नुभएको थियो, ‘मेरो प्यारो फुच्चे छोरालाई के किन्दिऊँ ?’
रवीन्द्रले फ्याट्ट भनेको थियो, ‘हेलिकप्टर । मेरो क्लासका साथीहरूसित कार, मोटरसाइकलहरू छन् । आमा, मलाई हेलिकप्टर किन्दिनुस् ।’
ऊ त्यही हेलिकप्टर हातमा समाती आँगनमा बेपत्ता कुदिरहेको थियो । 
आज पिकनिकको दिन ! नयाँ लुगा र हेलिकप्टर पाएर खुसीले उसका खुट्टाहरू भुइँमा थिएनन् । उसको मन हेलिकप्टरसितै आकाशमा– कुन्नि हो कता– उडिरहेको थियो । 
आमाले खाना खान बोलाउनुभएपछि ऊ घरभित्र पस्यो । चकटीमा बसी हतार–हतार दुई–चार गाँस टिप्योे । आमाले घिउ थपिदिनै लाग्दा–भो पर्दैन, आज घिउ नखाने– भन्यो र उठिहाल्यो । नयाँ लुगा लगायो । आमाले कपालमा तेल लगाइदिनुभयो र राम्रोसित सिउँदो छुट्याएर कपाल कोरिदिनुभयो । 
‘मेरो छोरा हिरो भयो,’ आमाले भन्नुभयो । ऊ 
केही लजायो ।
उसको झोलामा आमाले जतनका साथ पानीको बोतल, सेल र फिनीरोटी राखिदिनुभयो । त्यसपछि आमा–छोरा घरबाट निस्के । बाटोमा अनेक कुराहरू गर्दै बस स्ट्यान्ड पुगे । स्कुल बस अझै आइपुगेको थिएन । उनीहरू बस कुर्न थाले । 
अकस्मात कसैले पछाडिबाट रवीन्द्रको आँखा छोपिदियो । आँखालाई बेस्सरी थिचेका औँलाहरूलाई उसले बिस्तारै छामछुम ग¥यो । ती औँलाहरू मसिना थिए । ती कोमल औँलाहरू कसका थिए ! सायद उसको बेस्ट फ्रेन्डको ! उसले भन्यो, ‘गगन थापा ! मैले तिमीलाई चिनेँ ।’
गगन ङिच्च प¥यो । 
गगन थापा उसको क्लासभरिको सबैभन्दा मन मिल्ने साथी थियो । दुवै एकार्काका घर आउजाउ गर्थे । नबुझेका कुराहरू एक–आपसमा सोध्थे । होमवर्क ऐंचोपैंचो गर्थे । खाजा बाँड्थे । 
गगन थापाले पनि नयाँ लुगा लगाएको थियो । उसले बडो उत्साहका साथ भन्यो, ‘तिमीलाई थाहा छ रवीन्द्र ! ममीले मलाई मरचुङ्गा किन्दिनुभएको छ ।’ उसले ज्याकेटको भित्री गोजीबाट अनौठो यन्त्र निकाल्यो । त्यसलाई दाँतको बीचमा च्याप्यो । अनि औँलाले बजाउन थाल्यो । 
मेरी बास्सै ! कस्तो अचम्म ! बाजाको अनौठो -याइँ -याइँ ध्वनि सुनेर रवीन्द्र आश्चर्यचकित परिगयो । 
बाजालाई गोजीमा राख्दै गगनले भन्यो, ‘म ठूलो भएपछि रेडियोमा यही बाजा बजाउँछु । मलाई यो 
मरचुङ्गा कस्तो मन पर्छ !’
‘मरचङ्गा होइन गगन बाबु,’ बेस्ट फ्रेन्डकी आमाले भन्नुभयो, ‘यो बाजाको नाम मुर्चुङ्गा पो हो त ! यसलाई 
मुर्चुङ्गा भन्नुपर्छ । रवीन्द्रलाई पनि बजाउन सिकाइदेऊ, हस् ।’
‘हस् आन्टी,’ गगनले भन्यो, ‘मेरो बेस्ट फ्रेन्डलाई म सिकाइहाल्छु नि !’
रवीन्द्रलाई गगनले मुर्चुङ्गा बजाउन सिकाइदिने भयो । कस्तो राम्रो ! ऊ निकै खुसी भयो । गगनसित भन्यो, ‘ममीले मलाई हेलिकप्टर किन्दिनु भा’छ । हेर्छौ ?’
गगनले हौसिँदै–हेर्छु– भन्यो । रवीन्द्रले झोलाबाट हेलिकप्टर निकालेर गगनको हातमा राखिदियो । कस्तो लाग्यो भनी सोध्दा गगनले –राम्रो लाग्यो, पिकनिकमा खेल्नुपर्छ ल !– भन्यो । 
यस्तैमा स्कुल बस आइपुग्यो । दुवैजना बस चढे । रवीन्द्रकी आमाले भन्नुभयो, ‘राम्रोसित पिकनिक मनाउनू । कसैसित झगडा नगर्नू । आज मौसम पनि नराम्रो छ । एकार्काको साथ नछोड्नू । दुवैजना सँगै रहनू ।’
गगनले हुन्छ आन्टी भन्यो । हामी कहिल्यै छुट्टिने छैनौँ भन्यो । बाइ भन्यो । गाडी हिँडिहाल्यो । 
०००
क्लासरुम विशाल थियो । लगभग 
भलिबल कोर्टजत्रो । 
बच्चाहरू एकार्कासित चर्को आवाजमा कुरा गरिरहेका थिए । सबैजना उत्साहित, हँसिखुसी देखिन्थे । सर्वत्र उमंग छाएको थियो । चिटिक्क परिआएका थिए । रङ्गीचङ्गी लुगामा उनीहरू बगैँचाका फूलजस्ता देखिएका थिए । कोही ट्युलिपजस्ता, कोही चेरीजस्ता । कोही गुलाफ त कोही हजारी फूलजस्ता । 
लौ, क्लास टिचर आउनुभयो !
सबैजना आ–आफ्नो ठाउँमा उठे । र, चिरबिर–चिरबिर गर्दै बोले, ‘गुडमर्निङ मिस, हाउ आर यू मिस ?’ मिसले मुस्कुराएर अभिवादन फर्काउनुभयो, ‘आई एम फाइन, थ्याङ्क यू ! हाउ आर यू ब्वाइज ?’ बच्चाहरू पुनः चिरबिर गरे ः
– वि आर फाइन, थ्याङ्क यू मिस !
– प्लिज सिट डाउन !
सबैजना बसे । मिसले सबैलाई पालैपालो हेर्नुभयो । सबैजना हाजिर थिए ? कोही गयल त थिएन ? हाजिरी कापी पल्ट्याउँदै मिसले भन्नुभयो, ‘रोल नम्बर बोलाउँछु । सबैले आ–आफ्नो नाम उच्चारण गर्ने, ओके ? सबैले –ओके मिस– भने । 
– रोल नम्बर एक !
– केपी शर्मा ओली, मिस ।
– रोल नम्बर दुई !
– शेरबहादुर देउवा, मिस ।
– रोल नम्बर तीन !
– पुष्पकमल दाहाल, मिस ।
– रोल नम्बर चार !
– माधवकुमार नेपाल, मिस ।
– रोल नम्बर पाँच !

एउटा बच्चोले हात उठाउँदै भनेको सुनियो, ‘मिस, म बन्छु क्याप्टेन !’ बच्चातर्फ हेर्दै मिसले भन्नुभयो, ‘तिमी हुँदैन ज्ञानेन्द्र ! तिम्रो रेकर्ड खराब छ । तिमीले एक दिन शेरबहादुर देउवाको टिफिन खोसेर खाइदिएका थियौ ।’ बिचरा ज्ञानेन्द्र ! ऊ ङिच्च प-यो ।

रोल नम्बर पाँच अबेर आइपुगेको थियो । क्लासरुमबाहिर उभिएको थियो । बाहिरबाटै भन्यो, ‘बाबुराम भट्टराई, मिस ।’ मिसले बाहिर हेर्नुभयो । भन्नुभयो, 
‘बाबुराम, तिमी फेरि ढिलो आयौ । क्लासको फस्र्ट ब्वाई भएर पनि ढिलो आउने ?’
बाबुरामले टाउको कन्याउँदै भन्यो, ‘सरी मिस, मेरो कुनै गल्ती छैन । क्लास टेनका दुईजना सिनियर दाइहरूका कारण ढिलो भएको हो ।’
– को सिनियर दाइहरू बाबुराम ?
– गिरिजाप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठ, मिस । उहाँहरूले मलाई ट्वाइलेटमा थुनिदिनुभयो । नत्र म त सबैभन्दा चाँडो आइपुुगेको थिएँ । क्लास नाइनका मोहन वैद्य दाइले मलाई ट्वाइलेटबाट निकाल्नुभयो । 
बाबुरामले रुँला–रुँलाजस्तो गरी एकै श्वासमा सम्पूर्ण कुरा राख्यो । मिसले –प्लिज कम इनसाइड– भन्नुभएपछि ऊ क्लासरुमभित्र छि¥यो र आफ्नो सिटमा गई बस्यो । मिसले बाँकी रोल नम्बर बोलाउँदै जानुभयोः रोल नम्बर सिक्स ! झलनाथ खनाल, मिस । रोल नम्बर सेभेन ! रामचन्द्र पौडेल, मिस । रोल नम्बर एट ! महन्थ ठाकुर, मिस । रोल नम्बर नाइन ! चित्रबहादुर केसी, मिस । 
– रोल नम्बर टेन !
– ज्ञानेन्द्र शाह, मिस । 
एवम् रितले मिस रोल नम्बर डाक्दै जानुहुन्थ्यो, बच्चाहरू आ–आफ्नो नाम भन्दै जान्थे । 
कक्षा ५ मा जम्मा ५५ विद्यार्थी थिए । सबै एकै उमेर समूह– ११– वर्षका । आज पिकनिकको दिन कोही पनि गयल भएका थिएनन् । मिस खुसी हुनुभयो । र,
भन्नुभयो, ‘अब हामी केहीबेरमै बस चढी चिल्ड्रेन पार्क जानेछौँ । यो वर्षको पिकनिक मनाउन । अब म तिमीहरूमध्येबाट एकजनालाई आजको क्याप्टेन छनोट गर्नेछु । लौ, क्याप्टेन हुन इच्छुकले आफ्नो हात उठाउने ।’
केही बच्चाहरू क्याप्टेन बन्न इच्छुक देखिए । 
हात उठाएका ती बच्चालाई मिसले हेर्नुभयो : शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनाल । ती बच्चाका कलिला हात सीधा तन्केर क्लासरुमको सिलिङतिर सोझिएका थिए । 
मिसले भन्नुभयो, ‘तिमीहरू पटक–पटक क्याप्टेन भइसकेका छौ । तिमीहरूको क्याप्टेनसिप तिम्रा साथीहरूले देखिसकेका छन् । क्लास चलाउन तिमीहरू असफल भइसकेका छौ । अब नयाँ क्यान्डिडेटलाई मौका दिनुपर्छ । हात झार ।’
खिस्रिक्क पर्दै शेरबहादुर देउवाहरूले हात तल झारे । 
मिसले क्लासरुमभरि आँखा घुमाउन थाल्नुभयो । बच्चाहरूमा खुल्दुली जाग्यो । यस्तैमा एउटा बच्चोले हात उठाउँदै भनेको सुनियो, ‘मिस, म बन्छु क्याप्टेन !’ उक्त बच्चातर्फ हेर्दै मिसले भन्नुभयो, ‘तिमी हुँदैन ज्ञानेन्द्र ! तिम्रो रेकर्ड खराब छ । तिमीले एक दिन शेरबहादुर देउवाको टिफिन खोसेर खाइदिएका थियौ ।’
बिचरा ज्ञानेन्द्र ! ऊ ङिच्च प-यो । 
यस्तैमा स्कुलको पाले दाइ ढोकामा टुप्लुक्क देखा पर्नुभयो । एउटा कागजको चिर्कटो मिसको हातमा थमाइदिँदै उहाँले भन्नुभयो, ‘मिस, आजको क्याप्टेन यिनीहरूलाई बनाउने भनेर माथिबाट आदेश आएको छ ।’ 
मिसले कागजको नाम मनमनै पढ्नुभयो । अनि बच्चाहरूमाझ भन्नुभयो, ‘लौ, क्लास ! तिमीहरूले आज दुइटा क्याप्टेन पाएका छौ– घनश्याम भुसाल र विश्वप्रकाश शर्मा । भुसाल र शर्मालाई बधाई छ ।’
घनश्याम भुसाल र विश्वप्रकाश शर्मालाई नयाँ क्याप्टेन मान्नुपरेकोमा केपी शर्मा ओली र शेरबहादुर देउवाहरूले मुख लेप्य्राए । बाँकी सबैले ताली बजाए । क्लासरुम करतल ध्वनिले गुञ्जायमान भयो । 
त्यसपछि सबै बच्चाहरू लाइनमा लागी बस चढ्न अघि बढे । दुइटा बस उनीहरूलाई स्कुल गेटमा पर्खिबसेका थिए । एउटा बसमा नवनियुक्त क्याप्टेन घनश्याम भुसालले साथीहरूलाई राख्यो र अर्को बसमा विश्वप्रकाश शर्माले । अनि त गाडी गुडिहाल्यो । 
बच्चाहरू खुसीले चिच्याए । अन्ताक्षरी खेल्न थाले । 
रवीन्द्र अधिकारी र गगन थापा एउटै सिटमा बसेका थिए । रवीन्द्रले झोलाबाट फिनीरोटी निकालेर गगनलाई दियो । गगनले पनि आफ्नो झोलाबाट मालपुवा निकालेर रवीन्द्रलाई दियो । फिनीरोटी र मालपुवा खाँदै आँत मिल्ने दुई साथी गफ्फिन थाले । 
रवीन्द्र : तिमीले मलाई साँच्चिकै मुर्चुङ्गा बजाउन सिकाउने हो ?
गगन : हो । तिमीले हेलिकप्टर खेल्न दियौ भने साँच्चिकै सिकाउने हो । 
रवीन्द्र : मैले तिमीलाई हेलिकप्टर खेल्न दिइनँ 
भने नि ?
गगन : नदिए पनि तिमीलाई मुर्चुङ्गा बजाउन सिकाउने हो । 
०००
चिल्ड्रेन पार्क विशाल थियो र ज्यादै रमणीय । घाँसे चौर विस्तीर्ण फैलिएको थियो । छेवैमा एउटा खोल्सो थियो, जहाँ निर्मल पानी कलकल बगिरहेको थियो । खोल्सोमा इन्द्रेणी आकारको काठको पुल थियो, जहाँबाट केही परको जङ्गलमा पुग्न सकिन्थ्यो । 
मौसम केही ध्वाँसे थियो । कहिले बादल, 
कहिले घाम !
बच्चाहरू खेल सामग्री लिई तितरबितर भई पार्कमा खेल्न थाले । मनमोहन भट्टराई र प्रदीप ज्ञवालीको हातमा एकुन्टा स्किपिङ–रोप थियो । उनीहरू डोरी घुमाउँदै उफ्रन थाले । कृष्णप्रसाद सिटौला र उपेन्द्र यादव चिँ—मुसी–चिँ खेल्नमा मग्नमस्त भए । लेखनाथ न्यौपाने र वर्षमान पुनले अँगालो मारी खोल्सोमा गएर मुख पखाले । त्यसपछि आ–आफ्नो खल्तीबाट चुङ्गी निकाली मस्तसित खेल्न थाले । चित्रबहादुर केसीको कुनै दौँतरी थिएन क्यारे ! बिचरो, एक्लै चिप्लेटी खेल्न थाल्यो । राजेन्द्र महतो र विमलेन्द्र निधि भने बाघचाल खेल्न थाले । बाघचालको रेफ्री प्रकाशमान सिंह बन्यो । 
एक हुल बच्चाहरू फुटबल खेल्न मैदानमा उत्रिए । कोही भलिबल खेल्न थाले त कोही क्रिकेट । सबै बच्चाहरू केही–न–केही खेलमा रमाए । 
ज्ञानेन्द्र शाह एक मात्र त्यस्तो बच्चो देखियो, जो कुनै पनि खेलमा संलग्न नभई एउटा बेन्चमा घोसेमुन्टो लगाई झोक्राएर बसेको थियो । ऊ किन त्यति असंलग्न र एक्लो थियो ? के उसलाई कसैले पनि खेल्न बोलाएन ?
प्रदीप गिरिलाई ज्ञानेन्द्रप्रति दया जाग्यो । चेसबोर्ड बोकी ऊ बेन्चतिर गयो । र, ज्ञानेन्द्रलाई सोध्यो, ‘के भयो ? किन एक्लै बसेको ? दुखी देखिन्छौ !’
ज्ञानेन्द्रले मुख अमिलो पार्दै भन्यो,‘पेट दुखेको छ । भतभती पोलेको छ । पेटभित्र भ्याकुता उफ्रिरहेजस्तो छ । हेर न प्रदीप, म त मर्छु जस्तो छ !’ प्रदीप गिरिले भन्यो, ‘धत् लाटा ! पेट दुख्दैमा काँ मरिन्छ ? आऊ, चेस खेलौँ । चेस खेलेपछि तिम्रो पेटको भ्यागुता मर्छ ।’
ज्ञानेन्द्र : चेस खेलेर भ्यागुता कसरी मर्छ ?
प्रदीप : जब तिम्रो मन्त्रीले मेरा सिपाहीहरू मार्छ, तब भ्यागुताहरू मर्छन् । 
ज्ञानेन्द्रः  हो र प्रदीप ? साँच्ची ?
प्रदीप : हो नि ज्ञानेन्द्र ! साँच्ची ! तिम्रो कसम ! विद्यानष्ट !
ज्ञानेन्द्र : तिमी कति जाती र विद्वान् छौ । म पनि तिमीजस्तै हुन पाए कस्तो राम्रो हुन्थ्यो !
प्रदीप : त्यसका लागि किताबहरू पढ्नुपर्छ नि त ! तिमी त खालि भिडियो गेम मात्रै खेलिबस्छौ । होमवर्क पनि गर्दैनौ । शेरबहादुरको टिफिन चोरेर खाइदिन्छौ । तिम्रो त नामै ज्ञानेन्द्र । तिमी ज्ञानी मान्छे हुनुपर्छ । लु आऊ, अब चेस खेलौँ । के रोज्छौ ? कालो कि सेतो ?
ज्ञानेन्द्र : म त कालो रोज्छु । तर, मलाई भन त प्रदीप ! के साँच्चै पेटको भ्यागुता मर्छ ?
प्रदीप : मर्छ के मर्छ ! यता चेसबोर्डमा तिम्रो मन्त्रीले मेरो सिपाही मार्छ, उता तिम्रो पेटका भ्यागुताहरू एक–एक गरी प्याक्क प्याक्क मर्छन् ! कस्सम ! विद्यानष्ट !
त्यसपछि दुई बालक चेस खेल्न थाले । तर, खेल लामो समय टिकेन । प्रदीप गिरिले तेस्रो चालमै चेकमेट गरिदियो । कालो राजा ढालिदियो । 
ज्ञानेन्द्र एक्कासि धुरुधुरु रुन थाल्यो । उसको पेट झनै पोल्न थाल्यो ।
प्रदीप गिरिलाई के गरूँ–कसो गरूँ भयो । ज्ञानेन्द्रको रुवाइ देखेर एक मनले त उसलाई पनि रोइदिऊँ–रोइदिऊँ जस्तो लाग्यो । यस्तैमा कतैबाट कमल थापा आइसक्रिम बोकी टुप्लुक्क आइपुग्यो । उसैले ज्ञानेन्द्रलाई सम्झाइ–बुझाइ गर्न थाल्यो । आइसक्रिम दियो । खल्तीमा भएका जम्मै चकलेट ज्ञानेन्द्रलाई दियो । तर, पनि ज्ञानेन्द्रको रुवाइ कम भएन । 
कमल थापाको पालो, ऊ पनि ज्ञानेन्द्रसितै रुन थाल्यो । 
बिचरो प्रदीप गिरि ! दुई रुन्चे बालकहरू देखेर ऊ अक्क–न–बक्क प-यो । सान्त्वना दिऊँ भने बक फुटेन । दुवैजनालाई पालैपालो टुलुटुलु हेरिबस्यो । 
०००
भान्सेदाइहरू मिठा–मिठा परिकार बनाउनमा व्यस्त थिए । उनीहरूलाई 
भ्याई–नभ्याई थियो । मिस पालमुनि मेचमा बसी चिया खाइरहनुभएको थियो । बच्चाहरूलाई आँखैले निगरानी गरिरहनुुभएको थियो । टाढा–टाढा छरिएकाहरूलाई दूरविनले नियालिरहनुभएको थियो ।
यस्तैमा कृष्णबहादुर महरा रुँदै आइपुग्यो । हिँक्क–हिँक्क गर्दै भक्कानिएर बोल्यो, ‘मिस, मलाई रामबहादुले पिट्यो ।’ 
मिसले–किन पिट्यो– भनी सोध्दा ऊ झनै क्वाँ–क्वाँ गरी रुन थाल्यो । 
रामबहादुरलाई यथाशीघ्र बोलाइयो । मिसले सोधपुछ गर्दा रामबहादुरले भन्यो, ‘यसले मलाई खत्तम र झुर भन्यो । त्यसैले पिटिदिएँ, मिस ।’
बुझिल्याउँदा कुरो यस्तो रहेछ : रामबहादुर साथीहरूसित– यतियति पानी, गंगै रानी– खेलिरहेको थिएछ । कृष्णबहादुर महरा पनि खेलमा मिसिन आइपुगेछ । र, घरिघरी भन्न थालेछ, ‘यो बादल त कस्तो खत्तम ! कस्तो झुर !’
रामबहादुरलाई के लागेछ भने हो–न–हो महराले उसैलाई ‘बादल’ भनी जिस्क्याएको–होच्याएको हो । उसैलाई खिसिट्युरी गर्दै खत्तम र झुर भनेको हो । अनि अति भएपछि थापाले महरालाई बजाइदिएछ । एक मुक्का । नाकैमा । 
महराले थापातिर चोर औँला तेस्र्याउँदै स्पष्टीकरण दियो, ‘मिस, मैले त आकाशको बादललाई पो खत्तम र झुुर भनेको हुँ । मलाई धरतीको बादलले त्यस्सै पिट्यो ।’
मिसअन्डरस्ट्यान्डिङ पो भएको रहेछ । हे दैव ! नामको कारण पनि कस्तो झमेला, बरीलै !
रामबहादुर थापा उर्फ बादलले रुन्चे बोलीमा भन्यो, ‘मैले मात्र होइन मिस, यसले पनि मलाई पिट्यो ।’ उसको बोलीमा लोली मिलाउँदै सुवासचन्द्र नेम्वाङले भन्यो, ‘हो मिस, महराले पनि बादललाई गोदेकै हो ।’
मिसले कृष्णबहादुरलाई भन्नुभयो, ‘हेर महरा ! साथीलाई गिज्याउनु हुन्न । हेप्नु हुन्न । तिमी त भविष्यमा सभामुख हुने मान्छे । यसरी भगडा गर्नु हुन्न । कसैको मन दुखाउनु हुन्न । तिमीले त बरु सबैलाई मिलाएर पो राख्नुपर्छ । बुझ्यौ ?’ महराले कान समाउँदै बुझेँ भन्यो । 
त्यसपछि मिसले रामबहादुरलाई भन्नुभयो, ‘हेर बादल ! कसैले तिमीलाई गाली ग¥यो भन्दैमा हिंसामा उत्रिनु हुन्न । तिमी त पछि देशको गृहमन्त्री बन्ने मान्छे ! गृहमन्त्री हुने मान्छेले यस्तो सोमत देखाउनु हुन्न । कलह गर्नु हुन्न । 
बुझ्यौ ?’ बादलले पनि कान समाउँदै बुझेँ भन्यो । 
दुवैले आफ्नो गल्तीको महसुस गरेपछि मिस खुसी हुनुभयो । अनि उहाँले दुवैलाई हात मिलाउन, अंकमाल गर्न लगाउनुभयो । मिसले डिजिटल क्यामेरा निकाल्नुभयो । र, भविष्यका सभामुख र गृहमन्त्रीले अंकमाल गरेको फोटो खिच्दै भन्नुभयो ः 
– स्माइल प्लिज !
महरा र थापा दाँत देखाउँदै ङिच्च हाँसे । खिचिक्क ! उनीहरूको बाल–मुस्कान मिसको क्यामेरामा कैद भइगयो । खिचिक्क ! खिचिक्क, खिचिक्क !
०००
आऊ मेरा प्यारा–प्यारा बच्चाहरू, नजिक–नजिक आऊ । खेल्दा–खेल्दा, उफ्रँदा–उफ्रँदा तिमीहरू थाकेका छौ । भोकाएका छौ । यो खाजाको समय हो । मिठा–मिठा खाने कुराहरू खाऊ । नारायणकाजी श्रेष्ठ, तिमी कहाँ हिलोमा लडेर आयौ ? नारायण नारायण ! हेर त, बाबुको नानामा हिलै–हिलो लागेछ । फेस पनि फोहोर भएछ । आइसक्रिम खानुअघि हिलो पखाल । रामवरण यादव, तिम्रो मुख भोकले चाउरिएछ । हेर त, बाबुको पेट पनि दाम्रिएछ । तिमी त भविष्यको प्रथम राष्ट्रपति हुने मान्छे ! राष्ट्रपतिको मुख किन यस्तो ? चाउरिएको मरिचजस्तो ! लौ, बाबुलाई मनपर्ने पेडा खाऊ । लड्डु खाऊ । बर्फी र जेरी पनि खाऊ । अनि वामदेव गौतम, बाबुलाई के 
भो ? ड्याडी–ममीको याद आयो, हो ? लौ, केरा र सुन्तला खाऊ, बोक्राचाहिँ छोडाएर खाऊ नि, ल !
यसरी मिसले बच्चाहरूलाई खाजा खुवाउनुभयो । अधिकांशलाई हातैले प्रेमपूर्वक खुवाउनुभयो । 
शेरबहादुर देउवाले छेवैमा बसी आलुदम खाइरहेको पुष्पकमल दाहालको कानमा खुसुक्क भन्यो, ‘बुझ्यौ प्रचण्ड ! म त ठूलो भएसि देशको प्रधानमन्त्री बन्ने रे !’ पुष्पकमललाई देउवाको कुरा पत्यार लागेन क्यारे ! मुख चेप्य्राउँदै भन्यो, ‘तिमी प्रधानमन्त्री ! इस होला ?’
– साँच्ची भन्या हुँ क्या ! म प्रधानमन्त्री नै बन्छु रे । 
– कसले भनेको ?
– जादुगरले ।
– जादुगरले ? काँ छ त्यो जादुगर ?
–परको एउटा रुखमुनि बस्या छ । 
– मलाई पनि देखाउन लैजाउन है !
खाजा खाइवरी देउवा र दाहाल हिँडिहाले । केपी शर्मा ओली पनि खाँदा–खाँदैको मटर–पनिर छाडी उनीहरूकै पछि लाग्यो । माधवकुमार नेपाल र झलनाथ खनाल पनि हस्याङ्फस्याङ् गर्दै उनीहरूकै पछि लाग्दा भया । 
लगभग पाँच मिनेटजति हिँडेपछि उनीहरू एउटा 
अजङ्गको वृक्षसामु पुगे । 
नभन्दै हो रहेछ ! शेरबहादुरले भनेको कुरा साँचो रहेछ ! वृक्षमुनि कालो वस्त्र लगाएको एउटा बुढो मान्छे थियो । आँखा चिम्ली बसेको । उसको छेवैमा प्राचीनजस्तो लाग्ने याँमानको थोत्रो रेडियो थियो । रेडियोमाथि एक खुट्टाको भरमा उभिएको बकुल्लो थियो । बकुल्लो पनि जादुगरझैँ ध्यानमग्न थियो । 
रेडियोसितै एउटा हाते–दर्पण थियो ।
बच्चाहरूको कल्याङमल्याङ आवाजले जादुगरको ध्यान भङ्ग भयो । आँखा उघार्दा आफूसामुन्ने पाँचजना बच्चाहरूलाई देखेर ऊ केही बिस्मित भयो । उसको आँखामा आश्चर्यको भाव देखियो । उसले मुख खोल्यो, ‘अहो प्रभु ! म यो के देखिरा’छु ? मेरा सामुन्ने बाल–प्रधानमन्त्रीहरू !’
बाल–प्रधानमन्त्री ! बच्चाहरूले कुरा बुझेनन् क्यारे ! 
ट्वाँ परिगए ।
‘हे भविष्यका प्रधानमन्त्रीहरू !’, जादुगरले भन्यो, ‘चिल्डे«न पार्कमा के गरिरा’छौ ?’ झलनाथ खनाल बोल्न अघि स¥यो, ‘पिकनिक मनाउन आ’का छौँ । रमाइलो गरिरा’छौँ ।’ 
शेरबहादुरको घाँटी खसखस ग-यो । जोगीसित सोध्यो, ‘तपार्इंले त अघि मलाई मात्र प्रधानमन्त्री बन्छस् भन्या होइन र ?’
जादुगर : यिनीहरू पनि प्रधानमन्त्री बन्छन् ।
देउवा : नाइँ जोगी बाबा नाइँ । म मात्रै 
प्रधानमन्त्री बन्छु । 
दाहाल : जादुगर अङ्कल । म पनि प्रधानमन्त्री बन्छु ।
जादुगर : हो बाबु ! तिमी पनि प्रधानमन्त्री बन्छौ । तिमीले त झन् जनयुद्ध नै गर्छौ ।
दाहाल : जनयुद्ध ? त्यो भनेको के हो ?
जादुगर : तिमी ऐले साना छौ, पछि बुझ्छौ । 
दाहाल : मैले बुझिनँ भने के हुन्छ ?
जादुगर : तिमीले नबुझेको दिन तिम्रो जनयुद्ध नष्ट हुन्छ । समाप्त हुन्छ । 
दाहाल : बुझ्नका लागि मैले के गर्नुपर्छ ?
जादुगर : पढ्नुपर्छ । चिन्तनमनन गर्नुपर्छ । तिम्रो साथी बाबुराम भट्टराई खोइ ? देख्दिनँ त !
दाहाल : ऊ धेरै पढ्छ । हाम्रो क्लासमा सधैँ फस्र्ट हुन्छ । ऐले पनि कतै बसी पढिरा’होला ।
जादुगर : तिमीले पनि उसले झैँ धेरै पढ्नुपर्छ । बाबुराम भट्टराई पनि प्रधानमन्त्री हुन्छ । 
राम राम ! राम राम ! बाबुराम पनि प्रधानमन्त्री ? अब शेरबहादुरलाई खपिनसक्नु भयो । आफूलाई मात्र प्रधानमन्त्री हुन्छस् भन्ने जादुगरले अरूसित पनि त्यस्तै कुरा गरेकोमा ऊ निकै खिन्न भयो । ज्यादै दुःखी भइगयो । यस्तैमा जादुगर बोल्यो, ‘तिमीहरू भविष्यको आफ्नो मुहार हेर्न चाहन्छौ ?’ सबैले –चाहन्छौँ– भने ।
जादुगरले भुइँबाट हाते–दर्पण टिप्यो । र, शेरबहादुरको हातमा थमाइदिँदै भन्यो, ‘आफू हेर र साथीहरूलाई पनि 
हेर्न देऊ ।’


फुच्चे देउवाले दर्पणमा आफूलाई निकै अनौठो एवम् अपरिचित मान्छे देख्यो । कपाल फुल्या छ । चस्मा लगा’छ । निर्दोष आँखाको ठाउँमा कुटिलता लुक्या छ । बाफ रे बाफ ! यो मान्छे त अति डरलाग्दो छ । ऊ भविष्यको आफ्नै अकल्पनीय रूप देखेर निकै तस्र्यो । 
त्यसपछि पालैपालो सबै बच्चाहरूले दर्पणमा आ–आफ्नो मुहार हेरे । र, भयभीत भइगए । 
‘तिमीहरू आफ्नै रूप देखेर यसरी तर्सनु पर्दैन । ठूलो भएपछि सबै मानिसको मुहारबाट बच्चाको निर्दोषपना, अबोधपना हराउँछ,’ जादुगरले भन्यो, ‘बालापनको ताजा फूल बुढ्यौलीमा ओइलिजान्छ ।’
सुदूर आगतको आफ्नै वीभत्स रूप देखी सातोपुत्लो उडेका बाल–प्रधानमन्त्रीहरू जादुगरको कुरा सुनेर केही गम्भीर भए । तर, बच्चाहरूको मुहारमा गम्भीरता ! कत्ति पनि सुहाएन । उनीहरूको मुहारमा उत्सुकता ल्याउन जादुगरले भन्यो, ‘तिमीहरू रेडियो सुन्ने ?’
सबैले खुसी हुँदै एक स्वरमा –सुन्ने– भने ।
जादुगरले थोत्रो रेडियोतिर हात बढायो । तर, रेडियोमाथि त बकुल्लो बसेको थियो । थोत्रो रेडियोको कान बटार्दै जादुगरले सेतो पन्छीसित भन्यो, ‘जा बकुल्ला जा । मलाई भोक लाग्या छ । माछा लिई आ ।’
बकुल्लो माछा लिन उड्यो । यता रेडियोमा समाचार बज्न थाल्यो ः
प्रधानमन्त्री केपी शर्मा ओली आज पिकनिक जानुभयो । पूर्व प्रधानमन्त्रीहरू– शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल तथा बाबुराम भट्टराई–द्वारा संयुक्त रूपमा आयोजना गरिएको पिकनिकमा ओलीले रेल र पानीजहाज देशमा आफ्नै शासनकालमा भित्रिने दाबी गर्नुभयो । काठमान्डुमा मेलम्चीको पानी खाएरै आफ्नो जवानी पुनः फर्काउने जिकिर गर्दै उहाँले भन्नुभयो, ‘मेलम्चीको पानी जरुर आउँछ, त्यही पानीले मेरो जवानी फर्काउँछ ।’
०००
मौसम अकस्मात गडबडियो । आकाशलाई सर्वत्र कालो मेघले खर्लप्प निल्यो । त्यो मेघ बच्चाहरूको मुहारमा समेत छायो । बालकहरू मलीन देखिए । पालमुनि बसेर सबैले हतार–हतार पुलाउ–मासु खाए । सामानहरू फटाफट प्याक गरियो । पाल बसको छतमा राखियो । किचन सामग्रीहरू डिग्गीमा कोचकाच गरियो । 
बच्चाहरू अस्थिर भए । यस्तैमा कसैले भनेको सुनियो ः
– रवीन्द्र अधिकारी खोइ ?
साँच्ची, रवीन्द्र अधिकारी थिएन । मिसले बच्चाहरूको टाउको गन्नुभयो । चवन्नजना मात्र देखिए । एकजना कता गयो ? रवीन्द्र अधिकारी कहाँ हरायो ? बच्चाहरूमा रुवावासी चल्न थाल्यो । मिस र भान्से दाइहरू रवीन्द्र अधिकारीलाई खोज्न निस्के । 
गगन थापाको मनमा चिसो पस्यो । खाजा खाएपछि ऊलगायत घनश्याम भुसाल, ठाकुर गैरे, विश्वप्रकाश शर्मा, लेखनाथ न्यौपाने, गुरुराज घिमिरे, योगेश भट्टराई, हिमाल शर्मा र रवीन्द्र अधिकारीले लुकामारी खेलेका थिए । कस्तो मज्जा भएको थियो ! रवीन्द्रले गगनलाई दुईपटक ‘ढ्याप्पा’ गरिदिएको थियो । तर, यसमा उसलाई कुनै खेद थिएन । किनकि रवीन्द्र उसको बेस्ट फ्रेन्ड थियो । 
तर, बेस्ट फ्रेन्ड हराइरहेको थियो । 
गगन साथी खोज्न निस्कियो । निकैबेर यताउता चहा-यो । नाम काढेर बोलायो । किन्तु कतैबाट आवाज आएन । खोल्सोको इन्दे्रणी पुल तरेर ऊ जङ्गलभित्र छि¥यो । 
जङ्गलको संसार सन्नाटामा डुबेको थियो । झाडी–बुट्यान पन्छाउँदै ऊ अघि बढ्यो । बढिरह्यो । कतै खस्राक–खुुस्रुक सुन्यो कि ऊ ‘रवीन्द्र’ भनी बोलाउँथ्यो । तर, त्यो नाम चिसो स्याँठमा बिलाइजान्थ्यो । साथी भेटिइने आशमा ऊ धेरै टाढा पुगिसकेको थियो । किन्तु रवीन्द्रको कतै अत्तोपत्तो थिएन । 
खोज्दा–खोज्दा ऊ खोंचजस्तो एउटा भिरालो 
ठाउँमा आइपुग्यो ।
ठूलो चट्टानमुनि गगनले स्कुल ब्याग देख्यो । उसको छाती ढक्क फुलेर आयो । झोला टिप्यो र खोली हे¥यो । झोलाभित्र पानीको बोतल, फिनी र सेलरोटी थिए । गगनको मन व्यथित भयो । उसलाई रुन आयो । आँखाहरू अश्रुपूर्ण भए । 
आँखाका टिलपिल–टिलपिल आँसु दानाहरू बरबर्ती झर्न थाले । साथीको झोलालाई काखमा राखी ऊ रोयो । धेरैबेर रोइरह्यो । 
अब त निकै अबेर भइसकेको थियो । झोला बोकी हिँड्नै लाग्दा उसको नजर ढुंगाको एउटा कापमा प¥यो । त्यहाँ हेलिकप्टर थियो । टुक्रा–टुक्रा भइ भुइँमा यत्रतत्र छरिएको । पाङ्ग्रा एकातिर, पखेटा अर्कोतिर । ती टुक्राहरूलाई उसले एक–एक गरी बटुल्न थाल्यो । 
अन्ततः हेलिकप्टरको अवशेषलाई उसले झोलामा जतनसित राख्यो । ज्याकेटको गोजीबाट मुर्चुङ्गा निकाल्यो र बजाउन थाल्यो । बजाइरह्यो । किन्तु मुर्चुङ्गाको विरही धुन सुनेर पनि उसकोे बेस्ट फ्रेन्ड आएन । भक्कानो छाड्दै ऊ चिच्यायो ः
– रवीन्द्र ! तिमी कहाँ बिलायौ ? मलाई एक्लै छाडी कहाँ हरायौ ?
उसको हृदय–बिगलित शोकमग्न आवाज अरण्य सन्नाटामा विलीन भयो । अकस्मात आकाशबाट आँसुको वर्षात् हुन थाल्यो । र, त्यो आँसुको वर्षात्मा ऊलगायत वृक्षका पात एवं जंगली फूलहरू निथु्रक्क भिजे । 
रनवनमा मुुर्चुङ्गाको उदास संगीत गुञ्जिरह्यो ।

सम्पादकको रोजाइ

सुझावित समाचार