कवि र आख्यानकारको जम्काभेट

कविता

श्रवण मुकारुङ श्रवण मुकारुङ
शनिबार, ९ चैत, २०७५
डिजिटल संस्करण

आज त भेट नभए हुन्थ्यो, लागेको थियो
पृथिवी गोलो छ क्यारे
भेट भइहाल्यो !

उफ ! यो कस्तो सकस् ...
बनावटी भए पनि हाँस्नैपर्ने
वर्षौंदेखि मिलाउँदै आएको हात हो,
मिलाउनैपर्ने
जसोतसो–
दुवैले आ–आफ्नो दाहिने हात त पसा¥यौँ
तर देब्रे हात त दुवैको पछाडि ढाडमै छ
र, म देखिरहेको छु–
तपाईंको ढाडको दाहिने कोखाछेउ नांगो छुरीको तिखो टुप्पो
तपाईंले पनि देखिरहनुभएको होला–
मेरो ढाडको दाहिनेपट्टिको कोखाछेउ मुट्ठीभरि कालो मोसो
तैपनि मैले ‘के छ कविज्यू ?’ भन्दा
तपाईंले ‘भलै छ आख्यानकारज्यू’ भन्नुभो
तर लौ ...!
तपाईंको बत्तीस दन्त
भित्रभित्रै रगडिएर मुखको दुवैछेउबाट अचानक
भूजंगप्रयात् छन्दजस्तो सर्पिल आकारमा
रगतको मूल पो फुट्न थाल्यो
मेरो पनि मगज तातिएर
सुँगुरको जगरजस्तो कपाल छिचोल्दै 
दुवै कानमाथि एउटा रोचक फेन्टासी जस्तो
दर्जनौँ सिङ पलाइरहेको 
तपाईंले देखिरहनुभएको होला ।

यस लोकमा–
स्रष्टा नामको आ–आफ्नो दुःख बेसाउन आएका हामी
लोकतन्त्रले दोहोलो काढेको 
निम्छरा शब्दहरूको स–साना अर्थ कोट्याएर
त्यसलाई जोडेर, खोलेर, पोलेर, पेलेर
त्यसलाई पिटेर, कुँदेर, लिपेर, चम्काएर 
कुन दुःखले बनाएको हाम्रो चेतनाको मालसामान 
नबिकेर 
यो पुँजीवादी खुला समाज र समयद्वारा हल्लुँड बनाइएका हामी
आज यो सहरमा–
यस्तो नाजुक अवस्थामा फेरि भेट भयौँ
कि, एकअर्का अँगालो हाले 
पहिले हाल्नेको जातै जान्छ जस्तो, ज्यानै जान्छ जस्तो ।

कवि ठूलो कि आख्यानकार ...?
साहित्यको यति सानो यो भूपरिवेष्टित देशमा
कसले चलायो यति ठूलो ‘फुटाऊ र शासन गर !’ को घृणित बहस ?
कसले सुरु ग¥यो यस्तो भद्दा र खतरनाक षड्यन्त्र ...?
प्रगतिवादी समालोचकले ?
उत्तरआधुनिक निबन्धकारले ?
पूर्वाग्रही पाठकहरूले ?
उपबुज्रुक पत्रकारहरूले ?
कि, पढाउन छाडेर प्राचीन साहित्य
सामसुङ कम्पनीको मोबाइलमा नीलो फिल्म हेर्ने प्राध्यापकहरूले ?
कि, छापिएको प्रतिको खास संख्या लुकाएर
पुस्तक बिकाउन गाह्रो भएको स्टेट्मेन्ट दिने प्रकाशकहरूले ?

रिसानी माफ होस् कविजी !
आखिर तपाईं–
महाकवि देवकोटा, गोपालप्रसाद रिमाल पनि होइन
र म–
गुरूप्रसाद मैनाली, इन्द्रबहादुर राई पनि होइन
न तपाईं भूपि शेरचन, मोहन कोइराला वा वैरागी काइँला हो
न म पारिजात, प्रेमा शाह वा ध्रुवचन्द्र गौतम नै हुँ ।
तर, किन हाम्रो यो भेट यस्तो ?...
नुन चर्को भएको पिँडालुको तरकारीजस्तो ।

कि यो दुःखले बारेको संघर्षको साँघुरो कुनामा
एउटै ओछ्यान लाएर सँगै सुतेपछि
गोडा लागेर यस्तो भएको हो कि ?
कि, संसद् भवनछेउ बस्ने विप्लव ढकाल भन्ने मनुवाले सुझाएजस्तो 
हामीले एक–अर्कालाई कमजोरीसहित स्विकार्न नसकेर
यो हाम्रो धरहराजस्तो अग्लो मित्रतामा
एकाएक यत्रो हाइस्केलको भूकम्पले क्षति पु¥याएको हो ?
जसका कारण हामी अहिले
नुवाकोटको तारुका गाउँपालिकामा हरेक वर्ष जुधाइने 
गोरुजस्ता भएका छौँ
मान्छेहरूले–
घरि मेरो सिङमा तेल दल्दै छन्
घरि तपाईंको पुच्छर निमोठ्दै छन्
यो कुरा–
तपाईंलाई पनि थाहा छ
मलाई पनि थाहा छ
र पर डिलमाथि खापैखाप भएर 
हाम्रो यो तमासा हेरिरहेका गजलकारलाई पनि थाहा छ
तर, अपसोच हामी दुवैले–
लख्याइएको आ–आफ्ना अण्डकोष लुकाउन सकेका छैनौँ
र खुरले–
एक–अर्काको कमजोर मैदान कोतरिरहेका छौँ ।

कि पूर्वको लिम्बूवान–खम्बूवानतिर बस्ने 
मनु मञ्जिल भन्ने मान्छेको उक्साहटमा लागेर
तपाईंले संसारकै योग्य शत्रु मलाई देखिरहनुभएको हो ?
र मैले संसारकै भव्य शत्रु तपाईंलाई देखिरहेको छु
कि, पश्चिमको दाङ–देउखुरीतिरबाट उहिल्यै यो सहरमा आएको 
रमेश क्षितिज भन्ने दुःखी आत्माले
आफ्नो अल्लारे बैँसमा लभ गरिहिँड्दा 
धोका खाएर लेखेको आठहरफे गीतलाई 
गायत्री मन्त्र ठानेर
हामी दुवै डिप्रेसनको रोगी भइरहेका छौँ ?

मलाई थाहा छ–
यतिवेला तपाईं मलाई
तपाईंको आँखामा ठोकिन आइपुगेको
तर, तपाईंको आँखाको परेलाले च्यापिएर लगभग मरेको
गुहे भुसुनो ठानिरहनुभएको छ ।
र, तपाईंलाई थाहा छ–
यतिवेला म तपाईंलाई
ठानिरहेछु रछानको पानीमा तैरिरहेको बासीभातको डल्लोमाथि 
यताउता गरिरहेको कमिला
जो, ढाडिँदै गएपछि भातको डल्लो डुब्नेछ
र प्वाँख नपलाउँदै कमिला मर्नेछ ।

तर, सत्य त के हो भने
तपाईंको कवितासंग्रहको विमोचनमा
पुष्पलाल र केपी ओलीको काव्यको विशद चर्चा सुरु भो भने
तपाईंको हविगत के हुन्छ, मलाई राम्ररी थाहा छ
र मेरो उपन्यासको विमोचनमा
बिपी र शेरबहादुरको आख्यानकारिताको तुलनात्मक समीक्षा सुरु भो भने
मेरो हविगत के हुन्छ, त्यो तपाईंलाई राम्ररी थाहा छ ।

यति कुरा बुझेर पनि हामी
किन नबुझेझैँ गरिरहेछौँ हँ ...?
पुग्ने गन्तव्य एउटै नभए पनि
हामी एउटै डुंगाका यात्री हौँ ए भूतपूर्व मित्र !
त्यसैले–
सपनाबाट ब्युँझनुहोस् !
किनकि–
न तपाईं कविताको किम हो
न म नै आख्यानको ट्रम्प हुँ ।
यो विधाभञ्जनको युगमा
हाम्रो मित्रता वा दुस्मनीको कुनै अर्थ छैन
यो त केवल
सँगै सुतेकाले गोडा लागेको हो
तर, अपसोच ! 
हामी दुईतिर फर्केर
आ–आफ्नो छाती छुने गरी
घुँडो खुम्च्याउन तयार भएनौँ ।

त्यसैले–
भैगो अब हामी
यो इवी
यो अहंकार
यो तथाकथित शीतयुद्ध
र यो दशकौँ लामो
हाम्रो अग्लो–होचो सम्बन्धलाई यहीँ ब्रेकअप गरौँ ।
कि,
कतै तपाईंलाई झल्याँस्स सम्झिएँ भने मैले
मभित्र तपाईंप्रति प्रेम नजागोस्
कतै मलाई छुस्स सम्झिहाल्नु भो भने तपाईंले
तपाईंभित्र मप्रति घृणा नउम्रियोस् !
अब हामी–
निरपेक्ष
तटस्थ
अनभिज्ञ बाँचौँ
जसरी–
यो संसारमा कयौँ मानिसहरू
यसरी पनि बाँचिरहेका छन् 
हामीबीच हिजोको त्यो स्नेह र सदाचारको के कुरा भो र !
यो संसारमा
कस्ता–कस्ता महान् प्रेम, त्याग 
वा बलिदानले निर्माण भएका सम्बन्ध पनि
क्षणभरमै खरानी भएका छन्
यद्यपि,
हामी बाँच्ने धरती यही हो
हामी हिँड्ने बाटाहरू यिनै हुन्
यही बागबजार, यही रत्नपार्क
यही न्युरोड, यही पीपलबोट
यही भृकुटीमण्डप, यही पुतलीसडक
यही अनामनगर, यही बानेश्वर
यिनै सभा–समारोह र हुलमूलहरू
हामी दुई दिन खेल्ने रंगमञ्च हुन्
त्यसैले–
कहीँ कतै भिडमा
झुक्किएर फेरि कुम ठोक्किएछ भने
एकले अर्कालाई ‘सरी’ भनौँ
किनभने,
यो जीवन चलाउन ‘क्षमा’ शब्द
ईश्वरले मानिसलाई दिएको विकल्पहीन उपहार हो
र फेरि यहीँ, यसरी नै हाम्रो भेट भएछ भने
मैले–
आफ्नै दाँतले जिब्रो च्यापिएर
यसरी तपाईंको मुखबाट रगतको मूल फुटेको
देख्न नपरोस् !
तपाईंले पनि–
आफ्नै विवेकमा अहंको ऐँजेरु पलाएर
यसरी मेरो टाउकोमाथि सिङ उम्रिरहेको
हेर्न नपरोस् !

खोइ कता कहिले हो,
तपाईंले भन्नुभएको मैले सुनेको हो कि
मैले भनेको तपाईंले सुनेर भन्नुभएको फेरि मैले सुनेको हो–
आखिर
सत्य त यति हो रे त कविज्यू !
कि, सुन्दर कविताभित्र
गम्भीर आख्यान लुकेको हुन्छ रे !
र गम्भीर आख्यानभित्र
सुन्दर कविता मुस्कुराइरहेको हुन्छ रे !
कि सिके राउत र सरकारको कुराजस्तै हो यो कुरा ?
हो जस्तो पनि, होइन जस्तो पनि
होइन जस्तो पनि, हो जस्तो पनि
कि रेशम चौधरी र भीम रावलको कुराजस्तै हो यो कुरा ?
हो जस्तो पनि, होइन जस्तो पनि
होइन जस्तो पनि, हो जस्तो पनि
तै एकपल्ट–
मलाई हेरेर मुस्कुराउनुस् त कविज्यू ! 
 

सम्पादकको रोजाइ

सुझावित समाचार