यस वर्षको महिला दिवसको नारा यस्तो छ, ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार ।’ विश्वभरिका महिलाले यो नाराका साथ १०९औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै गर्दा मैले आफ्नै गाउँकी रमपुराबाली काकीलाई सम्झिन पुगेँ । उनी डोम समुदायकी अत्यन्त गरिब परिवारकी श्रमिक महिला थिइन् । मधेसको गाउँ देहातमा विवाहित महिलालाई ससुरालीघरमा उनैको नामबाट बोलाउने चलन छैन, कि त उनको माइती गाउँको नाममा ‘बाली’ थपेर बोलाइन्छ वा उनको बच्चाको नाम जोडेर फलानोको आमा भनेर बोलाउने चलन छ । मैले उल्लेख गरेकी काकीको माइती हाम्रै गाउँ (सप्तरी जिल्लाको कनकट्टा)सँगैको रामपुरा गाउँमा थियो । त्यसैले हामी उनलाई रमपुराबाली काकी भन्थ्यौँ ।
लगभग ३० वर्षअघिको प्रसंग सम्झिन्छु । त्यतिवेला म ७–८ वर्षकी थिएँ । हाम्रो गाउँभरिमा एउटै मात्र घर डोम परिवारको बसोवास थियो । परिवारमा श्रीमान्, श्रीमतीबाहेक दुई छोरी र एक छोरा थिए । हाम्रो घरको उत्तरतर्फ पोखरीको महार(डिल)मा रमपुराबाली काकीको घर थियो । त्यहाँ उनको मात्रै घर थियो । वरिपरि कसैको घर थिएन । घर त के भन्नु, परालले छाएको एउटा सानो झुपडी थियो । छेउमा सुँगुर राख्ने सानो गोठ ! बाँसले बनाएको गोलाकार बेरही (सुंगुरलाई थुनेर राख्ने ठाउँ)लाई सुगुँरको गोठ भनिन्थ्यो । घरमा न झ्याल थियो, न कुनै ढोका ! सुँगुर राख्ने ठाउँ साह्रै फोहोर थियो, टाढैसम्म दुर्गन्ध आउँथ्यो ।
रमपुराबाली काकी प्रायः हप्ताको दुईपटक हाम्रो घरमा आउँथिन् । उनी आँगनको एउटा कुनामा बस्थिन् । असाध्यै राम्री थिइन् । साडी लगाउँथिन् । गोरो अनुहारकी काकीले नाकमा फुली लगाउने गरेको झलझली सम्झिन्छु । उनको साडी ठाउँ–ठाउँमा टालिएको हुन्थ्यो भने ब्लाउजमा पनि प्वाल हुन्थे । उनी हाम्रो घरमा बाँसको डाला, हातेपंखालगायत सामग्री लिएर आउँथिन् बेच्नका लागि । घरमा भएका टुटेफुटेको बाँसका डाला, ढकिया, छिटा, कोनिया, चगेँरी, सुप(नाङ्लो)को मर्मत पनि गर्थिन् । ज्यालाबापत हजुरआमाले केही चामल दिने गरेको सम्झिन्छु ।
गाउँमा कसैको बिहे हुँदा रमपुराबाली काकीको विशेष खोजी हुन्थ्यो । किनभने बिहेमा चाहिने डालदौरा, चँगेरा, दौरा (डाला), हातेपंखा र बेहुलाले लगाउने मौर रमपुराबाली काकीले नै बनाएर ल्याउँथिन् । घरमा हुने पावैनत्योहार (चाडबाड)मा चाहिने बाँसका सामग्री उनैले बनाउँथिन् । विशेषगरी चौरचन र छठ पावैनमा काकीलाई भ्याइनभ्याई हुन्थ्यो । गाउँभरिबाट एकैपटक माग आउँथ्यो । आपूर्ति गर्ने उनको एक मात्र परिवार थियो हाम्रो गाउँमा । गाउँमा कसैको मृत्यु हँुदा उनकै परिवारसँग आगो किनेर दागबत्ती दिने चलन थियो ।
रमपुराबाली काकी हाम्रो घरमा आउँदा हामी बच्चाहरू उनको वरिपरि झुमिन्थ्यौँ । हामी त्यसरी झुम्मिनुको कारण हुन्थ्यो– झुनझुना र घिर्नी पाउने लोभ । काकीले एकैछिनमा कसैलाई सानो आकारको झुनझुना त कसैलाई घिर्नी बनाएर दिन्थिन् । झुनझुना र घिर्नी भनेका बाँसको पातलो बती (कैम्चा)ले बनेको खेलौना हुन् । काकी झुनझुनाभित्र साना–साना ढुंगाको टुक्रा राखिदिन्थिन् । हामी बच्चाहरू दिनभरि बजाउँदा पनि थाक्दैनथ्यौँ । अचेल प्लास्टिकको झुनझुना पाइन्छ । त्यतिवेला गाउँ–देहातमा हामी बाँसकै झुनझुना लिएर खेल्थ्यौँ ।
त्यसरी रामपुरबाली काकीको अगाडि–पछाडि झुम्मिँदा हजुरआमा हामीलाई गाली गर्नुहुन्थ्यो । उनको जिउमा छोइन्छ भन्ने चिन्ता हजुरआमालाई हुन्थ्यो । काकी पनि हामीलाई टाढै बस्न भन्थिन् । कहिलेकाहीँ काकीको जिउमा छोइँदा हजुरआमा हामीलाई पोखरीमा नुहाउन लगाउनुहुन्थ्यो । जिउमा गंगाजल छर्किसकेपछि मात्रै घरभित्र पस्न दिनुहुन्थ्यो । त्यतिवेला यस्तो किन गरेको होला भन्ने मनमा लाग्थ्यो । काकी यति राम्री छिन्, तर उनको जिउमा यस्तो के रहेछ हामीले छुन नहुने ? मनमा प्रश्न जाग्थ्यो । तर, बाल्यकालमा ती सब कुरा एकैछिनमा बिर्सिन्थ्यौँ । अहिले आएर सम्झिँदा लाग्छ त्यो त छुवाछुत रहेछ ! कुनैवेला म आफैँले पनि झुनझुना दिने काकीसँग छुवाछुत गरेकी रहेछु । ती कुरा सम्झिँदा मनै कस्तो–कस्तो अमिलो हुन्छ । पछुतो र पीडा एकैसाथ महसुस हुन्छ ।
चन्द्रग्रहण वा सूर्यग्रहण लागेको भोलिपल्ट काकी घरमा आउँथिन् । गाउँभरिका बासी खानेकुरा जम्मा गरेर घर लैजान्थिन् । यसबारे एकपल्ट हजुरआमाले भनेको सम्झिन्छु– ‘ग्रहणका वेला पाकेको खाना अछुत हुन्छ । हामीले खानुहुँदैन पाप लाग्छ, तर डोमले खान मिल्छ !’ गाउँमा कुकुरले जुठो पारेको दूध रमपुराबालीलाई दिने गरिन्थ्यो ।
०००
यी घटना झन्डै ३० वर्षअघिका हुन् । आज यी सबै घटना लेखेर रमपुराबाली काकी वा डोम समुदायलाई होच्याउन खोजेकी होइन । तर, म जन्मे–हुर्केको समाज र मेरै अग्रजले डोम समुदायसँग गरेको विभेदलाई उजागर गर्ने प्रयास मात्रै गरेकी हुँ । हामीबाट जान–अन्जानमा विभेद भएकै हो । ती दिन सम्झिँदा आफैँलाई पीडा महसुस हुन्छ ।
यसबारे धीरेन्द्र प्रेमर्षिजीले एउटा गीत लेख्नुभएको छ, ‘हमरे डाला पनपथिया से देबतो पितर पुजाइछै, कहुँ यौ बाबु तैयौ हमर देह किए छुवाइछै ?’ गीतमा डोम समुदायले भोगिरहेको छुवाछुतमाथि सुन्दर चित्रण गरिएको छ ।
चन्द्रग्रहण वा सूर्यग्रहण लागेको भोलिपल्ट काकी हाम्रो घर आउँथिन् । गाउँभरिका बासी खानेकुरा जम्मा गरेर घर लैजान्थिन् । हजुरआमाले भनेको सम्झिन्छु– ‘ग्रहणका वेला पाकेको खाना अछुत हुन्छ । हामीले खानुहुँदैन, पाप लाग्छ, तर डोमलेखान मिल्छ !’
मधेसी दलित समूहभित्र पर्ने एक समुदाय हो डोम । डोम समुदायलाई सामाजिक संरचनामा सबैभन्दा पिँधमा पारिएको छ । डोम जातिसँग समाजका अन्य उच्च जाति त छुवाछुत गर्छन् नै, साथै दलितले पनि छुवाछुतकै व्यवहार गर्छन् । अरू जातका मानिस डोमले छोएको खाँदैनन् । अन्य जातिसँग उनीहरूको बिहेबारी चल्दैन । सहरमा डेरा पाउन मुस्किल हुन्छ । अन्य जातिसँगै बसोवास गर्न पाउँदैनन् । यी र यस्ता विभेद अहिले पनि कायम छ । केही हप्ताअघि सिरहाको लहानमा एक डोम परिवारका बच्चाले मुसहर परिवारका मानिसको जिउ छोइदिँदा स्थानीय मुसहर र कोइरी जातका मानिसले सामूहिक रूपमा डोमलाई कुटपिट गरेको समाचार प्रकाशमा आएको थियो ।
तर, आजको मधेसी समाजमा डोमको अवस्था केही मात्रामा फेरिँदै छ । सामाजिक चेतना तथा विभिन्न सामाजिक आन्दोलनको प्रभावले डोम समुदायका बालबालिका स्कुल–कलेज जान थालेका छन् । डोम समुदायको साक्षरदर पनि बढ्दै छ । ०६८ को जनगणनाअनुसार २०.३ प्रतिशत डोम साक्षर छन् । यो धेरै राम्रो अवस्था त होइन, तर सुधारोन्मुख छ । हालै सप्तरीकै डोम समुदायका एकजना युवाले डाक्टरी पढ्न भर्ना पाएका छन् । उनले प्रवेश परीक्षा उत्तीर्ण गरेको खबर सबैतिर चर्चाको विषय बनेको थियो । सरकारले डोम समुदायको छात्रछात्राका लागि डाक्टरी पढ्न विशेष प्रकारको छात्रवृत्तिको व्यवस्था गरेको छ ।
तीस वर्षअघि रमपुराबाली काकीले डोम समुदायको भएकै कारण भोगेको अवस्था आजभोलि छैन । केही परिवर्तन हुँदै छ । यसपालि जाडो बिदामा आफ्नो गाउँ जाँदा केही परिवर्तन देख्न पाइयो । आजकाल डोम समुदायका महिला घर–घरमा गएर डाला, ढकिया, छिटा बेच्नुपर्ने अवस्था छैन । उनीहरूले बनाएका बाँसका सामग्री अब बजारमा बेचिन्छ ।
उनीहरूको सीपको बजारीकरण भएको छ । आफ्नो मिहिनेतअनुसार मोल निर्धारण गर्ने अधिकार उनीहरूले उपयोग गर्न थालेका छन् । तर, तीस वर्षअघि त्यो अवस्था थिएन । उनीहरू आफ्नो मिहिनेतको उचित पारिश्रमिक पाउँदैनथे । न त सम्मान नै मिल्थ्यो । त्यतिवेला रमपुराबाली काकी हाम्रो घर, छरछिमेकमा बाँसका सामान बेच्न आउँदा पुरुषले जिस्क्याउने गरेको सम्झिन्छु । ब्लाउज लगाउने उनको आर्थिक हैसियत थिएन । न त उनका छोरीहरू जिउभरि लुगा लगाउँथे ! हाम्रै छरछिमेकका युवा उनीहरूमाथि छड्के आँखा लगाउँथे, उनीहरूको मजाक उडाउँथे, जिस्क्याउँथे । आज ती दिन सम्झिँदा लाग्छ रमपुराबाली काकी र उनकी छोरी विभेद मात्रै होइन, हिंसाकै सिकार भएका थिए । अहिले उनीहरूको सीप बजारसम्म पुगेपछि त्यस्तो विभेद र हिंसामा धेरै कमी आएको अनुभूति हुन्छ ।
डोम समुदायको बसोवास र रहनसहनमा पनि परिवर्तन आएको छ । मधेसका गाउँतिर डुल्दा अनुभव हुन्छ, डोम समुदायका मानिसले टिनले छाएको घर बनाएका छन् । कतिपयले घरमा चर्पी पनि बनाएका छन् । आजकाल गाउँमा भोजभतेरमा डोमलाई जुठो खाना उठाउनुपर्ने बाध्यता छैन । पहिले प्रायः डोम समुदायका परिवार ऐलानी र पर्ती जमिनमा बसोवास गर्थे । अहिले ४० प्रतिशत डोम परिवारसँग आफ्नै जग्गा रहेको तथ्यांक छ ।
पछिल्लो समय डोम समुदाय राजनीतिक र सामाजिक रूपमा संगठित हुन थालेका छन् । आफूविरुद्ध हुने छुवाछुत र विभेदविरुद्ध आन्दोलन पनि गर्न थालेका छन् । मन्दिर प्रवेशको आन्दोलन सफल भएको छ । सार्वजनिक ठाउँमा छुवाछुत गर्नेविरुद्ध मुद्दा हाल्न थालिएको छ । अहिले डोम समुदायका युवती पनि राजनीतिमा सक्रिय हुन थालेका छन् । यसको जल्दोबल्दो उदाहरण हुन्, सुनिता डोम । उनी नयाँ शक्ति पार्टीमा आबद्ध छिन् । युक्ति मरिकजस्ता अभियन्ता त पहिलेदेखि नै राजनीतिमा सक्रिय नै थिए । अब रमपुराबाली काकीले भोगेको विभेद र विवशता डोम महिलाले सहेर बस्दैनन् ।