नैतिक शक्तिका एक पुञ्ज

स्मृतिमा

किशोर नेपाल किशोर नेपाल
शनिबार, ९ चैत, २०७५
डिजिटल संस्करण

हाम्रो देशमा आ–आफ्नो क्षेत्रमा असीमित योगदान दिएका, साहसी र त्यागी व्यक्तित्वको सम्मान र चर्चा त्यति हुने गरेको छैन । यसको कारण भौगोलिक जटिलता पनि हुन सक्छ । सामाजिक चिन्तनमा कुलीन वर्गको प्रभाव पनि हुन सक्छ । आर्थिक हिसाबले त्यस्ता व्यक्तित्व चर्चा गर्नुपर्ने अवस्थामा नपरेको पनि हुन सक्छ । सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको लडाइँमा पहाडका, हिमालका र मधेसका धेरै सचेत मानिसको योगदान रह्यो । तर, राष्ट्रिय चर्चामा केही मानिस मात्रै आए । राजा महेन्द्रले बिपी कोइरालाको निर्वाचित सरकार विघटन गरेपछि कतिपय राजनीतिक कार्यकर्ता निर्वासनमा गए । तीमध्ये सिके प्रसाईं त्यस्ता अब्बल व्यक्तित्व थिए, जसको विद्वता र बौद्धिकता बहुप्रशंसित थियो । निर्वासनमा गएपछि उनी उत्तर बंगाल विश्वविद्यालयका प्राध्यापक बने । 

थोरै भए पनि हिमाल–पहाडका केही व्यक्तित्वको नाम चम्कियो । तर, मधेसले यति सौभाग्य पनि पाएन । मधेसमा त्याग, तपस्या र बलिदानको भावनाले राजनीति गर्ने धेरैको नाम राष्ट्रिय क्षितिजमा समाहित भएको पाइँदैन । सहिदकै कुरा गर्ने हो भने, सहिद दुर्गानन्द झा, सहिद सरोजप्रसाद कोइराला, सहिद तेजबहादुर अमात्य र अन्य कतिपय ज्ञात सहिदको विवरणसमेत पाइँदैन ।

मधेसमा जन्मिएका र मधेसलाई नै कर्मभूमि बनाएका महेन्द्रनारायण निधि, रामेश्वरप्रसाद सिंह, बोधप्रसाद उपाध्याय, निर्गुण यादव, ज्ञानीशंकर गिरीको नाम उनीहरूको योगदानको हिसाबले निकै कम चर्चामा आयो । व्यक्तिगत हिसाबले, यसले उनीहरूलाई कुनै फरक पारेन । तर, राष्ट्रिय चेतनाको संवद्र्धनका हिसाबले यो दुःखदायी कुरा हो । देशको लोकतान्त्रिक इतिहासका निर्माता नै इतिहासको अनकण्टारतिर धकेलिनु नेपालका नागरिकका लागि रुचिकर विषय होइन । यो देशका लागि शोभनीय कुरा पनि होइन । सडकको कुनाकाप्चामा सहिदको प्रतिमा खडा गरेर माल्यार्पण गर्ने चाहना निकै व्यापक छ, नेपाली जनतामा । तर, प्रतिमाकोे संरक्षण गर्ने र सम्मान गर्ने महŒवपूर्ण विषयमा भने कसैले जाँगर चलाएको देखिएको छैन ।

महेन्द्रनारायण निधि नेपालका त्यस्तै धरोहर हुुनुहुन्छ, जसको चर्चा निकै कम भएको छ । उहाँ देशको नेता हुनुहुन्थ्यो । मधेसको नेताभन्दा अन्याय हुन्छ उहाँमाथि । नेपाली समाज र राजनीतिमा उहाँको योगदान विलक्षणको छ । उहाँका पिता जमिनदार हुनुहुन्थ्यो । तर, निधिजीले त्यो बिरासत सम्हाल्नुभएन । उहाँले डिट्ठा गौरीनारायण गिरिको जानकी राइस मिलमा मुन्सीका रूपमा जीवन यात्राको प्रारम्भ गर्नुभयो । मिल त आखिर मिल नै थियो । निधिजी आउनासाथ त्यसको चरित्र बदलिने कुरा थिएन । तर, मिलको बजार व्यवस्थापनका लागि निकै घुम्नु पथ्र्यो – कहिले काठमाडौं, कहिले विराटनगर, कहिले पटना र कहिले सीतामढी । निधिजीजस्तो स्वाध्यायी व्यक्तिका लागि भ्रमण ज्ञान बटुल्ने अवसर थियो ।

एकपटक मिलकै कामले २००२ सालमा काठमाडौंमा भएका वेला उहाँ सिंहदरबारबाट पुतलीसडकतिर हिँडिरहनुभएको थियो । त्यो जमानाको काठमाडौंमा ट्राफिक जामको चिन्ता थिएन । निधिजी सडकको बीचबाट निर्धक्क हिँडिरहनुभएका वेला सडक कानुनको रक्षक एकजना सिपाहीले उहाँसँग अभद्र व्यवहार ग-यो । त्यो पनि राणाहरूको मोटरबाहेक अरू कुनै सवारी नगुड्ने खाली सडकको बीचबाट । निधिजीका बारे एउटा संस्मरणमा जनकपुरका प्रसिद्ध पत्रकार राजेश्वर नेपालीले काठमाडौंमा निधिजी कसरी पुतलीसडकमा बीच बाटो हिँडिरहनुभएको थियो ? कसरी त्यही एउटा कारणले उहाँ सिपाहीबाट बेस्सरी चुटिनुभयो भन्ने उल्लेख गरेका छन् । यही घटनाले निधिजीलाई एकतन्त्री राणाशासनविरुद्ध राजनीतिमा होमिने प्रेरणा प्राप्त भएको थियो ।

जानकी राइस मिलकै काम लिएर उहाँ पटना जानुभयो, २००३ सालमा । बिपी कोइरालासँग त्यहीँ उहाँको भेट भयो । बिपी नेपालमा राणातन्त्रको समाप्ति र पूर्ण प्रजातन्त्रको स्थापनाका लागि अत्यधिक सक्रिय हुनुहुन्थ्यो । निधिजीमा गहिरो प्रभाव प-यो बिपीको । बिपीले निधिजीलाई त्यही वर्ष माघमा कलकत्तामा स्थापना हुने नेपाली राष्ट्रिय कांग्रेसको स्थापना दिवसमा भाग लिन निम्त्याउनुभयो । तर, घरेलु कामले गर्दा त्यसमा उहाँ सहभागी हुन सक्नुभएन । त्यसपछि चैतमा विराटनगरको सीमावर्ती बजार जोगबनीमा भएको राष्ट्रिय कांग्रेसको विशेष बैठकमा उहाँलाई निम्त्याइयो । त्यहाँ उहाँको भेट भयो, भारतका समाजवादी चिन्तक डा. राममनोहर लोहियासँग । डा. लोहियाले त्यही वेला निधिजीलाई सक्रिय राजनीतिमा प्रवेशका लागि हौस्याउँदै भन्नुभएको थियो, ‘म मारवाडीको छोरा भएर राजनीतिमा छु । तपाईं कायस्थ हो, राजकाज र बन्द–व्यापारमा रुचि लिने जाति । तपाईंले राजनीतिमा भाग लिनुपर्छ ।’ जेलमा बस्दा निधिजीले डा. लोहियाको व्यक्तित्व र विचारप्रति मेरो आकर्षण थाहा पाउनुभयो र डा. लोहियासँग उहाँको आफ्नै संगतको कुरा बताउनुभएको थियो ।

राष्ट्रिय कांग्रेसको जोगबनी बैठकपछि सभापति मातृकाप्रसाद कोइरालाले निधिजीलाई केन्द्रीय समितिमा मनोनयन गर्नुभयो । यसपछि निधिजी प्रजातान्त्रिक राजनीतिको मूलधारमा आउनुभयो । यसपछिको समय राजनीतिक सक्रियतामा नै बिताउनुभयो निधिजीले । २०१५ सालमा भएको महा–निर्वाचनमा नेपाली कांग्रेस दुईतिहाइ बहुमतका साथ विजयी भयो । यो चुनावमा उहाँको विजय सहज थियो । उहाँलाई पार्टीले संसद्मा उप–सभामुखको दायित्व सुम्पियो । सभामुखमा कृष्णप्रसाद भट्टराईको मनोनयन भयो, जो निर्वाचनमा गोरखाबाट पराजित हुनुभएको थियो । युवा निधिको मनमा पार्टीको यो निर्णयले अलिकति खिन्नताको भाव पक्कै आयो । तर, उहाँ पार्टीले एकपटक निर्णय गरेपछि त्यसैमा अड्ने व्यक्ति हुनुहुन्थ्यो । 

आश्चर्यको कुरा, २०१५ साल पुस १ गते निर्वाचित सरकारका विरुद्ध राजा महेन्द्रले सैनिक प्रयोग गर्दा सबै नेता गिरफ्तार भए । निधिजी ती नेतामा हुनुहुन्थेन । निधिजीको साथ र सहयोग पाउनेमा बढी नै ढुक्क थिए राजा महेन्द्र । उनी निधिजीको सहयोग लिएर नेपाली कांग्रेसभित्रको राजनीतिक चलखेल र गुटबन्दीको प्रयोग आफ्नो पक्षमा गर्न चाहन्थे । निधिजीले यो कुरा राम्ररी बुझ्नुभएको थियो । उहाँका साथी, सहयोगी र संगातीहरू या जेलमा थिए, या भारतका सीमावर्ती बजारमा । प्रजातन्त्रको मूल्यमा राजालाई सहयोग गर्ने काम सम्भव थिएन, निधिजीबाट । राजा महेन्द्रले उहाँलाई दरबारमा ल्याउन पठाएको मोटर रित्तै दरबार फर्कियो ।

ड्राइभरले राजा महेन्द्रमा बिन्ती चढायो, ‘सरकार, उहाँ त आउन मान्नुभएन ।’ यो थियो, निधिजीको राजनीतिक दृढता र अडान । निधिजी सुधारवादी विचारका कट्टर लोकतन्त्रवादी नेता हुनुहुन्थ्यो । खास गरेर शिक्षाका बारेमा निधिजी सतर्क र संवेदनशील हुनुहुन्थ्यो । समाजमा राजनीतिक चेतना जगाउन शिक्षा प्रसारको सबैभन्दा बढी आवश्यकता भएको उहाँले राम्ररी बुझ्नुभएको थियो । उहाँले गान्धी र लोहियाका विचारको सूक्ष्म अध्ययन गर्नुभएको थियो । उहाँमा ती दुवै दार्शनिक राजनेताका विचार अन्तस्फुरित थियो । उहाँले राणाकालीन समयमा नै जनकपुरधाममा एउटा हाइस्कुल र आफ्नो गाउँ नगराइनमा एउटा स्कुलको माग गर्दै सरकारलाई अनुरोधपत्र पठाउनुभएको थियो । 

निधिजीको गाउँ नगराइन जनकपुरधाम नगरको प्रभाव क्षेत्रभित्र पर्छ । जनकपुरधामबाट पन्ध्र किलोमिटर दक्षिणमा रहेको नगराइन अहिले धनुषाको विकसित बस्तीमा गनिन्छ । निधिजी शिक्षाका बारेमा मात्रै होइन, कृषि र स्वास्थ्यका बारेमा पनि उत्तिकै व्यवहारिक हुनुहुन्थ्यो । एकपटक म निधिजीसँगै थिएँ । उहाँ आफ्नो कुनै हितैषीलाई सुझाब दिँदै हुनुहुन्थ्यो, ‘तपार्इं आफ्ना केटाकेटीलाई अंग्रेजी पढाउन चाहनुहुन्छ भने ठीक हो । छोराले अंग्रेजी जानेपछि उसले कोसँग बोल्नेछ ? के कहिल्यै सोच्नुभएको छ ? उसको त बोलचालको सम्बन्ध नै आफूसँगै  अंग्रेजी पढ्ने साथीसम्म सीमित हुन्छ । म भन्दिनँ, केटाकेटीलाई अंग्रेजी नपढाउनू । उसलाई अंग्रेजी सँगसँगै मैथिली र नेपाली सिक्न लगाउनू ।’

अहिलेको राजनीतिमा महेन्द्रनारायण निधिको जस्तो उचाइको व्यक्तित्व एकजना पनि देखिएका छैनन्– न नेपाल कम्युनिस्ट पार्टीमा, न नेपाली कांग्रेसमा । राजनीतिक नेतृत्वमा पुड्का, लोभी र स्वार्थी मानिसको वर्चस्व भएपछि राजनीतिक वातावरण धमिलिन्छ । निधिजीजस्ता ओजपूर्ण व्यक्तित्वको सम्झना मात्रैले पनि मानिस आलोकित हुन्छ, प्रेरित हुन्छ ।

निधिजीसँग मेरो सान्निध्य मेरा लागि भाग्यशाली क्षण थियो । कुरा २०२६ सालको हो । नेपाल विद्यार्थी संघ गठनको पूर्वसन्ध्या भन्दा हुन्छ, त्यो समयलाई । यही सिलसिलामा मलाई काठमाडौंबाट जनकपुर पठाइएको थियो । त्यहाँ मलाई सरोज कोइरालाको निवासमा पुग्नु थियो । त्यतिवेला जनकपुरको बाटो लामो थियो । काठमाडौंबाट रक्सोल र त्यहाँबाट भारतीय रेलमार्गबाट जनकपुर । म त्यहाँ पुगेँ । सरोज कोइरालाले बडो स्नेहपूर्वक स्वागत गर्नुभयो घरमा । त्यसपछि म राजनीतिक गतिविधिमा लागेँ ।

त्यहाँ, त्यतिवेलाको प्रजातान्त्रिक राजनीतिका दुई केन्द्र हुनुहुन्थ्यो– महेन्द्रनारायण निधि र सरोजप्रसाद कोइराला । उहाँहरूबीचको समन्वयले प्रजातान्त्रिक राजनीतिलाई गतिशील बनाउँथ्यो । दुवै नेताको बीचमा सद्भाव र सौजन्य भाव थियो परस्परमा । सरोज कोइराला निधिजीलाई आदर गर्नुहुन्थ्यो । निधिजी कोइरालाभन्दा सिनियर हुनुहुन्थ्यो, जीवन र राजनीति दुवैमा । सद्भावको त्यो समयमा पनि दुई नेताबीच कतै न कतै केही न केही तुस रहेको आशंका रहन्थ्यो । कार्यकर्ताको तहमा केही पारस्परिक अप्ठ्यारो अनुभव भए झैँ लाग्थ्यो । तर, दुई नेताबीच यस्तो मनोमालिन्य हुँदैनथ्यो । केही भए पनि नेताहरू अहिलेको जस्तो दोबाटोमा झगडा र विवादको बिस्कुन लगाउँदैनथे । कांग्रेसको राजनीतिमा यो ‘सामान्य विषय’कार्यकर्ता तहमा पुग्दैनथ्यो । 

नेपाल विद्यार्थी संघ गठनको वातावरण जीवन्त हुँदै थियो । जनकपुरमा धरपकडको मौसम सुरु भइसकेको थियो । पटनाबाट प्रकाशित हुने ‘हिमालेशिया’ साप्ताहिक नेपाली प्रजातान्त्रिक आन्दोलनको समर्थक थियो । त्यसका प्रधानसम्पादक जनकपुर आइरहन्थे । जनकपुर आएका वेला निधिजी र सरोज बाबुलाई भेट्थे । यी दुई व्यक्तित्व नै समाचारका प्रेरणा र स्रोत दुवै थिए । यतिवेला पनि हिमालेशियाका सम्पादक जनकपुर आएका थिए ।

उनी नेपाल विद्यार्थी संघको पहिलो अधिवेशनको सिलसिलामा नेपाली युवा जगत्बारे केही विशेष प्रस्तुति होस् भन्ने चाहन्थे । यो बडो अप्ठ्यारो काम थियो । सामग्री तयार गर्न होइन, त्यसलाई ठाउँमा पु-याउन । त्यतिवेला सञ्चार अजिबको शब्द थियो । इन्टरनेट थिएन । फ्याक्स थिएन । कुरियर सर्भिस पनि सुरु भएको थिएन । नेपाली हुलाकमा भरोसा राख्न सकिँदैनथ्यो । निधिजी हिमालेशियामा राजनीतिक लेख लेख्नुहुन्थ्यो । उहाँको लेख कसैले सीतामढी पुगेर भारतीय पोस्ट अफिसमा रजिस्टर्ड पोस्ट गरिदिन्थ्यो । 

निधिजीका लेख एकदमै विचारोत्तेजक हुन्थे, तत्कालीन सरकारले पचाउनै नसक्ने । कडा । प्रशासन निधिजी र सरोजबाबुलाई गिरफ्तार गर्ने बहाना खोज्दै थियो । सरोजबाबुलाई गिरफ्तार गर्नु सजिलै थियो । किनभने उहाँ क्रान्तिकारी धारका मानिनुहुन्थ्यो । वनारस, भारतमा निर्वासित जीवन बिताइरहनुभएका बिपी कोइरालाका पारिवारिक सदस्य । निधिजीलाई के भनेर, किन गिरफ्तार गर्ने ? उहाँ नेपाली कांग्रेसको गान्धीवादी मुहार हुनुहुन्थ्यो ।

अहिंसाका कट्टर अनुयायी । यसै वेला निधिजीको लेख प्रकाशित भयो हिमालेशियामा । लेख राजाप्रति कठोर मात्रै थिएन, जन–अधिकारको पक्षमा चर्को हुंकार थियो । हिमालेशियाको त्यो अंक जनकपुरधामको बजारमा आउन पाएन । सेन्सर भयो । निधिजीलाई गिरफ्तार गर्ने निहुँको खोजीमा रहेका तत्कालीन अञ्चलाधीश दामोदरशमशेरका लागि यो निहुँ यथेष्ट थियो । सर्जिमिन भयो । मुचुल्का तयार पारियो । निधिजीलाई गिरफ्तार गरेर जलेश्वर जेल चलान गरियो ।

यतिवेलासम्म कांग्रेसका नेता सरोजप्रसाद कोइराला, महेश्वरप्रसाद सिंह, ज्ञानीशंकर गिरि र मकेश्वरप्रसाद सिंह सुरक्षा कानुनअन्तर्गत गिरफ्तार भइसकेका थिए । सुरक्षा कानुन सरकारको हातमा रहेको यस्तो कानुन थियो, जसको धारले मानिसलाई वर्षौं बन्दी बनाउन सक्थ्यो । पहिलोपल्ट नौ महिनाका लागि कसैलाई थुन्न सक्थ्यो प्रशासनले । त्यसपछि थुनुवाको अवधि प्रत्येक नौ महिनामा नवीकरण हुँदै जान्थ्यो ।

निधिजीका लेख एकदमै विचारोत्तेजक हुन्थे, तत्कालीन सरकारले पचाउनै नसक्ने । तर, निधिजीलाई के भनेर, किन गिरफ्तार गर्ने ? उहाँ नेपाली कांग्रेसको गान्धीवादी मुहार हुनुहुन्थ्यो ।

पछिल्लो घटनामा महेन्द्रनारायण निधिविरुद्ध राजकाज (अपराध र सजाय) ऐनअन्तर्गत राजद्रोहको अभियोग लगाइएको थियो । बाँकी सबैलाई सुरक्षा कानुनको पुर्जी थमाइएको थियो । नेताहरूको गिरफ्तारीविरुद्ध युवाजगत् उद्वेलित थियो । महन्थ ठाकुरको जिम्मामा थियो, युवा नेतृत्वको कमान्ड । प्रचार–प्रसार र पर्चा–पाम्प्लेटको काम गर्दै थिएँ म । एक साँझ थाहै नपाई म गिरफ्तार भएँ । मेरा विरुद्ध पनि राजद्रोहको अभियोग लगाएर राजकाज ऐनअन्तर्गत मुद्दा चलायो प्रशासनले । अञ्चलाधीशको इजलासले मलाई ६ महिनाको जेलसजाय र तीन हजार रुपैयाँ सजाय तोक्यो । म जेल चलान गरिएँ ।

निधिजीलाई जलेश्वर जेलको जनाना खण्डमा राखिएको थियो । जनाना बन्दीहरू कम हुने भएकाले राजनीतिक नेतालाई त्यहाँ राख्ने गरिएको रहेछ । मलाई त्यहीँ पु-याइयो । एकछिनअघिसम्म मनमा एक किसिमको अत्यास थियो । तर, निधिजीसँगै राखिने भएपछि मेरो मनको अत्यास आश्वस्तिमा बदलियो । निधिजीसँगको बसाइले मेरो जीवनमा ठूलो प्रभाव पा-यो । उहाँले मलाई मैथिली भाषाको प्रारम्भिक ज्ञान दिनुभयो ।

मैथिली भाषामा प्रकाशित हुने ‘मिथिला मिहिर’ पत्रिका पढ्न सिकाउनुभयो । त्यसबाहेक, जीवन र जगत्का यस्ता धेरै व्यावहारिक ज्ञान दिनुभयो, जसको उपयोगिता मानवजीवनमा सधैँ रहेको हुन्छ । उहाँलाई उच्च रक्तचाप थियो । त्यसको औषधि नियमित खानुहुन्थ्यो । तरकारीमा ‘सोइजन’ खुब मनपराउनु हुन्थ्यो निधिजी । छिप्पिएको सोइजनको गुदी चुस्ने कलात्मक तरिका थियो उहाँको । उहाँ साधारण खाना मन पराउनुहुन्थ्यो । नेताहरू अनेक प्रकारका ऐवमा रमाएका हुन्छन् । मैले चिनेको निधिजीमा सुर्ती, चुरोट, खैनीजस्ता पदार्थको ऐव थिएनन् । कुनै त्यस्तो इच्छा र कामना पनि थिएनन् उहाँमा, जसका कारण नेताहरू विवादमा पर्ने गर्छन् ।

लोकतन्त्र, देशप्रेम र शान्तिप्रति निधिजीको निष्ठामा कसैले औँला उठाउन सक्दैन । उहाँ देशको नैतिक शक्तिपुञ्ज हुनुहुन्थ्यो । २०२७ सालपछि उहाँले आफ्नो सम्पूर्ण समय लोकतान्त्रिक अभियन्ताका रूपमा बिताउनुभयो । नेपालका गान्धीवादी नेता तुलसीमेहरको नेतृत्वमा स्थापित चर्खा प्रचारक समितिलाई मधेसमा गतिशील बनाउनुभयो । निधिजी आफैँ खादीका पारखी हुनुहुन्थ्यो ।

महेन्द्रनारायण निधिले आफ्नो सैद्धान्तिक र वैचारिक अडान कहिल्यै छाड्नुभएन, चाहे पार्टीभित्र होस्, अथवा पार्टी बाहिर । उहाँ कांग्रेसका कार्यवाहक सभापति सुवर्ण शमशेरको झन्डै झन्डै ‘समर्पणवादी’ नीतिका विरुद्ध हुनुहुन्थ्यो भने बिपी कोइरालाको राजतन्त्रविरुद्ध सशस्त्र संघर्षको नीतिको पनि समर्थन गर्नुभएन । रमाइलो कुरा, विघटित संसद्का सभामुख कृष्णप्रसाद भट्टराई र उपसभामुख महेन्द्रनारायण निधि दुवै नेताको एउटै ‘लाइन’ थियो– देशभित्र बसेर संघर्ष नगर्दासम्म प्रजातन्त्रको पुनस्र्थापना हुन सक्दैन । उहाँहरूको यो निष्कर्षलाई बिपीले पनि सह्राउनुभएको थियो । भट्टराई र निधिका केही अन्य समानता पनि थिए । दुवै नेता साम्यवादीसँग पानी बाराबारको पक्षमा कहिल्यै थिएनन् । दुवैजना साम्यवादी सिद्धान्तका प्रखर आलोचक थिए ।

अहिलेको राजनीतिमा महेन्द्रनारायण निधिको जस्तो उचाइको व्यक्तित्व एकजना पनि देखिएका छैनन्, न नेपाल कम्युनिस्ट पार्टीमा, न नेपाली कांग्रेसमा । राजनीतिक नेतृत्वमा पुड्का, लोभी र स्वार्थी मानिसको वर्चस्व भएपछि राजनीतिक वातावरण धमिलिन्छ । कार्यकर्ता अलमलमा पर्छन् । समर्थकले समर्थन फिर्ता लिन थाल्छन् । निधिजी जस्ता ओजपूर्ण व्यक्तित्वको सम्झना मात्रैले पनि मानिस आलोकित हुन्छ, प्रेरित हुन्छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार