हरेक गाउँ परिवर्तन भइरहेको छ । म जन्मिएको झापाको अर्जुनधारा पनि धेरै परिवर्तन भयो । १० कक्षासम्म त्यहीँ पढ्दा बत्ती थिएन । टेलिफोन थिएन । टेलिभिजन पनि थिएन । ८ कक्षा पढ्दा मात्रै गाउँमा टेलिभिजन आयो । गाउँमा टिभी हेर्दाको रोचक घटना छ । स्कुलको हेडसर मोहन जोशी हुनुहुन्थ्यो । उहाँ थाइल्यान्डबाट फर्किँदा गाउँमा पहिलो टिभी लिएर आउनुभयो । सारा गाउँले जम्मा भयौँ । पहिलोपटक टिभी हेर्दा गाउँमा धेरै मान्छे जम्मा भएका थिए । कार्यक्रम नै भएको थियो गाउँमा ।
गाउँको बीचमा खोला छ । खोलापारि अर्जुनधारा, वारि शनिश्चरे । हामीले पढ्ने हाईस्कुल शनिश्चरेमा थियो । अरू समयमा स्कुल आउजाउ राम्रै हुन्थ्यो । तर, जब खोलामा बाढी आउँथ्यो त्यसवेला स्कुल बन्द हुन्थ्यो । शिक्षक र विद्यार्थी अर्जुनधाराकै धेरै थिए । खोलापारिबाट सरले माइकमा बोल्दै स्कुल बन्द भएको जानकारी दिनुहुन्थ्यो । महाभारत युद्धमा अर्जुनले आफ्ना घोडाहरू थाकेका वेला जमिनमा वाण हानेर पानी निकालेको र घोडाहरूले पानी पिएको मिथोलोजी अर्जुनधारासँग जोडिएको छ । त्यो ‘मिथोलोजी’ जोडिएको हुनाले अर्जुनधारा अहिले धार्मिक क्षेत्रको रूपमा विकसित भएको छ । मैले सम्झिँदा त्यहाँ पोखरी थियो । सानो मन्दिर थियो । रुख र ठूलो ढुंगा थियो । त्यही रुखको छहारी र ढुंगाको छेउमा गई कृष्ण धरावासी र म बस्थ्यौँ ।
निकै वर्ष गाउँ जान पाइनँ । बीचमा म बाहिर पनि गएँ । निकै पछि घुम्दै त्यही ठाउँमा पुग्दा छक्क परेँ । त्यो ढुंगामा लेखिएछ ‘आई एम स्टोन ।’ अनि रुखमा लेखिएछ ‘ट्री’ । रुख रुख नै हो । त्यो ढुंगा पहिला पनि ढुंगा थियो, अहिले पनि ढुंगा नै हो । तर, नाम फेरिएछ । आधुनिकताको सुरुवात ठानेँ । त्यसवेला आधुनिकताले अंग्रेजी शब्द लिएर आइरहेको थियोे । जहाँ कुनै नामको आवश्यकता थिएन, त्यहाँ ‘ट्री’ र ‘स्टोन’ लेखियो । पछि साइनबोर्ड पनि थपियो । हेर्दाहेर्दै पोखरीको बीचमा अर्जुनले वाण चलाउँदै गरेको सालिक ठडियो । छेउमा शिवजीको मन्दिर ठडियो । संस्कृत विद्यालय बन्यो । अहिले त मेला पनि पो लाग्छ । ढुंगा र रुखको न्वारनबाट के बुझिन्छ भने आधुनिकताले सबैलाई नामकरण गर्न खोज्छ । आफ्नो नाम दिन खोज्छ । ‘ग्लोबलाइजेसन’ अंग्रेजी भाषा बनेर आयो । आधुनिक भाषा सभ्यताको भाषा ठानियो ।
मलाई पढाउने एकजना शिक्षक रक्सी खाएर हल्लिँदै कक्षाकोठामा आउनुहुन्थ्यो । ‘यो हिसाब गर्’ भन्नुहुन्थ्यो । हिसाबको उत्तरमा २० आउनुपर्ने ठाउँमा २ आयो भने ‘सुन्ना थप्दे’ भन्नुहुन्थ्यो ।
हाम्रो पालामा गाउँमा बोर्डिङ स्कुल थिएन । हामी सबैले नेपाली नै पढ्यौँ । समय बित्दै जाँदा गाउँमा बोर्डिङ स्कुल खुल्यो । विद्यार्थीले टाई लगाएर स्कुल जान थाले । वैशाख–जेठको टन्टलापुर घाम छ । सानासाना विद्यार्थी कोटमाथि टाई झुन्ड्याएर हिँडेका छन् । गर्मी भयो भनेर खोल्न पनि नपाइने । कस्तो सास्ती । अहिले अर्जुनधारा धेरै फेरियो । धेरै बाटाहरू खुले । गाउँ सहरउन्मुख छ । अहिलेको रफ्तार हेर्दा अबको २५ वर्षमा पूरै झापा नै सिटी हुने हो कि जस्तो लाग्छ । जनसंख्या बढिरहेको छ । सहर बनेपछि त्यसका सकारात्मक र नकारात्मक पक्ष अवश्य हुनेछन् । गाउँ अहिलेको भन्दा केही समृद्ध पनि होला । तर, कस्तो समृद्धि, केका लागि समृद्धि भन्नेचाहिँ अलग विषय हो ।
सम्भवतः अब खेतहरू प्लटिङ हुनेछन् । झापा चराहरूका लागि विशेष ठाउँ मानिन्छ । यहाँ थरीथरीका चरा छन् । कति चरा लोप भइरहेका छन् । सहर वृत्ति हुँदै गर्दा चरालाई गाह्रो हुन्छ । पहिले वनबिरालो देख्न पाइन्थ्यो । अहिले त्यो पनि हरायो ।
त्यो कविता वाचन
पहिले गाउँमा कविगोष्ठी हुन्थे । त्यसको अगुवाइ कृष्ण धरावासी र मैले गथ्र्यौं । त्यसवेला हामीले सोच्दै नसोचेका मान्छे आउँथे । जिन्दगीमा कहिल्यै कविता पढ्दैनन् होला जस्तो लाग्ने मान्छेहरू कोटको खल्तीबाट कागज निकालेर कविता वाचन गर्थे । कस्तो रमाइलो लाग्थ्यो । बीचमा कविताको माहोल सेलाएर गयो । अहिलेचाहिँ निकै काम भइरहेको छ । कला, नाटकको क्षेत्रमा प्रगति भएको छ । कला–साहित्यको दृष्टिले झापा अगाडि बढिरहेको छ ।गाउँमा जीवनको लय छुट्टै हुन्छ । घरहरू पर–पर बसेका हुन्छन् । सबैलाई भेट्नुपर्छ भने अपोइन्टमेन्ट लिनु परेन । जीवन अनौपचारिक हुन्छ । पहिले त सहरमा मलाई अप्ठ्यारो फिल हुन्थ्यो । बिस्तारै अभ्यस्त हुँदै गएँ ।
मलाई गाउँले बनायो
म अंग्रेजी साहित्यको विद्यार्थी । मैले अंग्रेजीमै पिएचडी गरेँ । तर, म गाउँमा नहुर्केको भए नेपालीमा लेख्न सक्दिनथेँ होला । पिएचडीका लागि बढी केन्द्रित हुनुप-यो । त्यसले मेरो नेपालीको पढाइ छुट्यो । तर, जनआन्दोलनको दौरान नेपालीमा लेख्न थालेँ । बिस्तारै बानी बस्यो । गाउँमा मलाई पढाउने नेपाली विषयको शिक्षक हुनुहुन्थ्यो, शिवप्रसाद दाहाल । उहाँले राम्रो पढाउनुहुन्थ्यो । अंग्रेजीको शिक्षक त्यति राम्रा थिएनन् । हिसाबको त झन् बर्बादै थियो । शिक्षकहरूले घोकाउने, मिलेन भने बेतको लौरीले हिर्काउने गर्नुहुन्थ्यो । एकजना शिक्षक त मातेर फिट भएर कक्षामा आउनुहुन्थ्यो । ‘यो हिसाब गर्’ भन्नुहुन्थ्यो । हिसाबको उत्तरमा २० आउनुपर्ने ठाउँमा २ आयो भने ‘सुन्ना थप्दे’ भन्नुहुन्थ्यो ।
गाउँसँग हाम्रो एक किसिमको प्रेम छ । सहर बनाउँदा फराकिलो बाटो, सिटी, एयरपोर्ट पनि चाहियो । त्यो सँगै ठुल्ठूला पब्लिक पार्क चाहिन्छ । जंगल मास्न हुँदैन । सहर बनाउँदा गाउँको गुण नमर्ने गरी बनाउन पाए राम्रो हुन्छ । त्यसका लागि हाम्रा योजनाकार, राजनीतिज्ञ जानकार सचेत हुनुपर्छ । स्थानीय संस्कृतिलाई जोगाउनुपर्छ । प्रकृतिलाई जोगाउनुपर्छ ।
(कुराकानीमा आधारित)