महिलाहरू अभिनय गर्न डराउँथे

रंगमञ्चमा हामी तीन दिदीबहिनी सँगै थियौँ– चन्द्रमाला, निशा र म । कसैले हामीसँग नराम्रो व्यवहार गरेनन् ।

सूर्यमाला शर्मा सूर्यमाला शर्मा
शनिबार, ११ असोज, २०७६
डिजिटल संस्करण

सानैदेखि इन्द्रजात्रामा हुने रात्रिकालीन डबली नाटक हेरेर हुर्किएँ । त्यही नाटक हेर्न, खेल्न मेरा बुढामावलाका मामाहरू अबेर राति झ्यालबाट हाम फालेर जान्थे । म पनि मामाहरूको पछि–पछि जान्थेँ । मामाहरूले धेरैपटक केटी भएर अभिनय गरेको मैले नजिकैबाट देखेकी छु । सायद मेरो उमेर दश वर्षको हुँदो हो ।

केटाहरू किन केटी बनेर नाटक खेलेका होलान् भन्नेबारे मलाई जिज्ञासा लाग्यो । मैले आमालाई सोधेँ पनि । आमाले भन्नुभयो, ‘केटीहरू नाटक खेल्न डराउँछन् । लजाउँछन् । त्यसैले केटा नै केटी बनेको हो ।’ त्यसपछि मैले आफैँसँग धेरैपटक प्रश्न सोधेँ, ‘मैले नाटक खेल्न हुन्छ होला कि हुन्न होला ।’

हामी पाँच बहिनीमध्ये माइली बहिनी (चन्द्रमाला शर्मा) र म सानोमा असाध्यै मिल्थ्यौँ । सँगै फिल्म हेर्न जान्थ्यौँ । रन्जना हलमा फिल्म हेरेर फर्किंदा दश पैसामा फिल्मको गीतको किताब किनेर ल्याउँथ्यौँ । बहिनी त्यही फिल्मको गीत गाउँदै हिरोइनले जस्तै हाउभाउ गर्थी । ऊ कत्ति पनि लाज मान्दिनथी । म चाहिँ लाजले भुतुक्क हुन्थेँ । 

अचानक एक दिन चन्द्रमालालाई नाचघरमा हुने नाटकमा अभिनय गर्न बोलाइयो । ऊसँगै म पनि गएँ । सुनील पोखरेल र बद्री अधिकारीको निर्देशनमा राष्ट्रिय नाचघरमा ‘प्रश्न टाँगिएको जिन्दगी’ नाटकमा चन्द्रमालाले खेल्ने कुरा भयो । त्यो नाटकको रिहर्सलभरि चन्द्रमालासँगै म जान्थेँ । त्यसवेला नाटकमा अभिनय गर्ने महिलाहरू त्यति थिएनन् ।

कसैले अभिनय गर्न सक्छन् भन्ने सुनियो भने घरमै बोलाउन आइहाल्थे । त्यसवेला नाट्य क्षेत्रमा संलग्न एकदमै थोरै महिलामध्ये शकुन्तला मिस, भुवन चन्द, सुभद्रा अधिकारी, चैत्यदेवी, विमलादेवी नै हुनुहुन्थ्यो । तर, यत्ति महिला कलाकारबाट नाट्य क्षेत्र धानिन गाह्रो थियो । त्यसकारण उहाँहरूपछिका नयाँ अनुहारको खोजी पनि भइरहेको थियो । त्यही खोजीमा परेकी थिई चन्द्रमाला । 

नाचघरमा नाटकमा काम गरेपछि चन्द्रमालाले एक वर्ष प्रज्ञा प्रतिष्ठान काम गरी । त्यो एक वर्षको समयमा मैले पनि ‘प्रतिभा आकाश माग्छे’ नामक नाटकमा सहायक पात्रको भूमिका गरेँ । मुख्य कलाकार चन्द्रमाला नै थिई । यस नाटकलाई सुनील पोखरेल र बद्री अधिकारीले निर्देशन गरेका थिए । त्यसपछि चन्द्रमालासँगै म पनि रंगमञ्चमा देखिन थालेँ । 
०००
सुरुवाती चरणमा सहायक भूमिका गर्दै आइरहेकी थिएँ । चन्द्रमालाको बिहेपछि उनको स्थान मैले लिन पुगेँ । बालकृष्ण सम नै नाटकमा महिला पात्रको भूमिका गर्नुहुन्थ्यो भन्ने सुनेकी थिएँ ।नाटकमा महिलाको उपस्थिति निकै उत्साहजनक भए पनि सबैलाई सहज थिएन । औँलामा गनिन सकिने महिला रंगकर्मीबीच हामी पनि थपिएका थियौँ । हामी नाट्य क्षेत्रमा देखिन थालेपछि छिमेकीलाई कुरा काट्ने विषय बन्यो ।

बुबालाई हाम्रो क्षेत्र त्यति मन परिरहेको थिएन । कहिलेकाहीँ बुबा रिसाएझैँ पनि गर्नुहुन्थ्यो । तर, आमाको सपोर्ट थियो । धेरैपछि जब मेरो अभिनयको प्रशंसा हुन थाल्यो, बुबाले नै एकदिन आफूलाई नाटक खेल्न मन लागेको तर अवसर नपाएको कथा सुनाउनुभएको थियो । त्यसपछिका दिनमा रंगमञ्चमा लाग्न थप हौसला बढ्यो । 
०००
सन् १९८१ तिर सरस्वती पूजाको अवसर पारेर सुनील पोखरेल, बद्री अधिकारी, प्रदीप श्रेष्ठ, समन्त श्रेष्ठ, सबै मिलेर आरोहण भन्ने संस्था खोल्यौँ । यस संस्थाले प्रत्येक शनिबार नाटक देखाउने उद्देश्य राख्यो । यही संस्थामा रहँदा मैले निरन्तर नाटक खेलेँ । 

‘आरोहण’ थियो । ‘सर्वनाम’ थियो । ‘जेनाथ’ थियो । त्यो वेला नाटक खेल्नु ठूलो कुरा हुन्थ्यो । अनि एउटा ग्रुपकाले अर्को गुपको नाटक खेल्नु पनि सामान्य थियो । अहिलेजस्तो फ्यामिली गु्रप थिएन । सीमित भएका कारण महिला पात्रले अवसर पाउँथे । जस्तैः लक्ष्मी श्रेष्ठ, सुवर्णा पोखरेल दिदी हुनुहुन्थ्यो । मलाई र चन्द्रमालालाई सबै समूहका रंगकर्मीहरूले बोलाउनुहुन्थ्यो । 

प्रकाश सायमी, सुनील पोखरेल, सोमनाथ, सरुभक्तलगायतले पढ्न सिफारिस गर्नुहुन्थ्यो । पात्रबारे बुझ्न लगाउनुहुन्थ्यो । इन्डियन लाइब्रेरीबाट किताब ल्याएर दिनुहुन्थ्यो । आफ्नो भूमिकाबारे मिहिनेत गराउन कोसिस गर्नुहुन्थ्यो । नेपाली नाटकको अभावमा फ्रेन्च कल्चर सेन्टरमा हरेक हप्ता, हरेक महिना नयाँ नाटक गरिन्थ्यो । कहिले रसियन नाटक, फ्रेन्च नाटक, इन्डियन नाटक, कहिले त कवितामै नाटक गरिन्थ्यो । 

पछिल्लोपटक ‘सान्दाजुको महाभारत’ नाटकमा अभिनय गरेँ । त्योभन्दा अगाडि १९९० मा ‘अन्धायुग’ खेलेँ । २५ वर्षमा रमेश बुढाथोकी, सुनील पोखरेल, बद्री अधिकारी, मदनकृष्ण, हरिवंशका केही नाटकहरू खेलेँ । विजय मल्ल, गोविन्द मल्ल गोठालेको पनि नाटकमा काम गरेँ । रमेश बुढाथोकी, उज्ज्वल घिमिरे, रवीन्द्र खड्का, कृष्ण मल्ल, सहकर्मी साथीहरू नै हुन् । 

०००
बीस र तीसको दशकमा महिलालाई नाटकमा समाजले खुलेर अनुमति दिएको थिएन, तर केही महिला रंगकर्मीले गरेको कामले सम्मान पनि पाएकै थियो । त्यतिखेर रंगमञ्चमा लाग्नेहरूले प्रतिभालाई बुझ्थे । रंगमञ्चमा हामी तीन दिदीबहिनी थियौँ । चन्द्रमाला, निशा र म । कसैले हामीसँग नराम्रो व्यवहार गरेनन् । पुरुष कलाकारदेखि निर्देशकसम्मलाई हाम्रो घरमा जान आउन सहज थियो । त्यो वेला हामी डेरा लिएर केशरमहलमा बस्थ्यौँ । हामीलाई खोज्दै घरै आइपुग्थे रंगकर्मीहरू । अनि आमासँग गफिन्थे । हामी सम्झिएर आउने साथीहरूलाई आमाले खुबै सम्मान र प्रेम दिनुहुन्थ्यो । 

प्रायः नाटकको रिहर्सल वाल्मीकि क्याम्पस, रत्नराज्य क्याम्पसमा हुन्थ्यो । नाटक रिहर्सलपछि हामी बागबजारको पेटीमा लाइनै बसेर चिया पिउँथ्याैँ । नाटकमा लाग्ने सबै साथीहरूमा ऊर्जा थियो, पैसा थिएन । तर, हामी खुसी थियौँ । नाटक छान्ने र निर्देशन गर्ने सुनील पोखरेल र बद्री अधिकारी हुन्थे । बीचमा सुनील पोखरेल एनएसडीमा नाटक पढ्न दिल्ली गएपछि बद्री अधिकारीको निर्देशनमा काम गरियो । त्यसवेलाको टेप रेकर्डमा संवाद डब गरेर माइकमा लगाउँदै रिक्सामा चढेर बजारमा नाटकको प्रचार गर्थे साथीहरू । ललितपुर–भक्तपुर ट्याम्पु बुक गरेर पनि प्रचार गर्न पुग्थे साथीहरू । तर, हामी गएनौँ । 

नाटकमा महिलाको विशेष भूमिका हुन्थ्यो । टिममा पनि महिलालाई उत्तिकै सम्मानले हेरिन्थ्यो । महिला पात्रको भूमिका हुने संवादमाथि हामी धेरै छलफल गथ्र्यौँ । चित्त नबुझेको कुरा तुरुन्तै हटाउँथ्यौँ । ताली बज्ने संवादमा धेरै मिहिनेत गथ्र्यौं । आल्बर्ट कामुको ‘आउट साइडर’मा काम गर्दा कालो ड्रेसमा अभिनय गर्दा प्रहरीले समाउन आयो । ‘विनाचिहानको मृत्यु’ गर्दा पनि त्यस्तै भयो । नाटक खेलिन्जेल कुनै केटा साथीले हाम्रो अगाडि गाली गरेनन् ।

केही केटा साथीहरूले ड्रिंक पनि गर्नुहुन्थ्यो । वहाँहरूले मदिराको सुरमा बोलेको कत्ति पनि बुझिँदैनथ्यो । सुरुवाती चरणमा रंगमञ्चमा लाग्ने महिलाहरू निकै भाग्यमानी रहे । हामीले संघर्ष ग-यौँ । त्यही संघर्षको जगमा आजका महिला दिदीबहिनीहरू नाटक क्षेत्रमा संघर्ष गरिरहेका छन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार