समीक्षक चलचित्रकर्मी र दर्शकको बीचमा उभिएको एउटा पुल हो, जसले आफ्नो छाती चुपचाप बिछ्याएर चलचित्रले पस्किएको वैचारिक र कलात्मक सोचलार्ई दर्शकसम्म पु-याउने बौद्धिक कर्म गर्छ । चलचित्रको गुण–दोषको विवेचना गर्दै दर्शकलार्ई सिनेमाघरसम्म जाने वा नजाने भन्ने निर्णयमा प्रभावित बनाउन समीक्षकको भूमिका महत्वपूर्ण रहन्छ । यसर्थ, समीक्षकमा निहित बौद्धिकता चलचित्रले पस्किएको अन्तरवस्तु र शिल्पको न्यायोचित विश्लेषण गर्न अत्यन्त महत्वपूर्ण हुन्छ । चलचित्रकर्मको विश्लेषण गर्दा संसारभर नै चलचित्र समीक्षक (रिभ्युअर) मात्र नभई चलचित्रको समाालोचक (क्रिटिक) र सिद्धान्तकार (थ्योरिस्ट)को पनि पेसागत उपस्थिति देखिन्छ ।
चलचित्रमा कुनै पनि पात्रको उठान, विकास र विसर्जनको कथात्मक यात्रा बुझ्न समीक्षकलार्ई चलचित्रसम्बन्धी साधारण ज्ञान हुनु आवश्यक छ । तर, प्रयोगात्मक चलचित्रमा प्रस्तुत गरिएको भावबोध गर्न भने समीक्षकसँग मूर्त मात्र नभई अमूर्त भावहरू मनन गर्ने र विश्लेषण गर्न सक्ने साहित्यिक–दार्शनिक चेतनाको तह पनि प्रशस्त हुनुपर्छ ।
चलचित्र समालोचकले चलचित्रका सैद्धान्तिक पाटोको पनि उत्तिकै जानकारी राख्दै त्यसले पस्किएको सौन्दर्यशास्त्रीय मूल्यलार्ई अर्को तहमा उठाउने कार्य गर्छन् । यसका अलावा चलचित्रका सिद्धान्तकारहरूले समाज विज्ञान तथा चलचित्रको प्राज्ञिक क्षेत्रमा विकास भएका अनेकौँ सिद्धान्त तथा दर्शनहरूबाट चलचित्रले पस्किएको अन्तरवस्तु र शिल्पको विवेचना गर्छन् । साथै, चलचित्रको सिद्धान्तकारहरूले कुनै पनि समाजमा चलचित्र कस्तो कलात्मक दिशा समाउँदै छ भन्नेतर्फ पनि सैद्धान्तिक खाका कोर्ने काम गर्छन् ।
सन् १९०८ मा पहिलोपटक एडोल्फ ब्रेंसोले ‘द मर्डर अफ ड्युक डे गिज’ चलचित्रको अन्तरवस्तु र शैलीगत पक्षको सौन्दर्यशास्त्रीय समीक्षा गरेका थिए । त्यसअघिसम्म चलचित्रको साधारण कथावस्तु र घटनाहरूलार्ई जानकारी गराउने कार्यलार्ई नै समीक्षाका रूपमा लिइन्थ्यो । समालोचना गर्दा चलचित्रको अन्तरवस्तु र शिल्पबीचको मिहिन सौन्दर्यशास्त्रीय विश्लेषण गर्दै सिनेमाटिक उत्तर दिने प्रयास गरिएको हुन्छ । यद्यपि, चलचित्रको आलोचक, सिद्धान्तकार र चलचित्रका विश्लेषकहरूको वैचारिक अभिव्यक्तिको दायरा छुटाएर कित्ताकाट गर्ने कार्यले अन्ततोगत्वा चलचित्रसम्बन्धी ज्ञान उत्पादन हुने प्रक्रियामा संकुचन नै सिर्जना गर्छ ।
चलचित्रको समीक्षक, समालोचना वा विश्लेषण गर्दा चलचित्रकर्मीहरूको मोटिभ अर्थात् चलचित्र निर्माणसँग सम्बन्धित मूलभूत उद्देश्य र सर्जकहरूको सोच बुझ्न आवश्यक हुन्छ । साथै, नयाँ सोच र चलचित्रमा प्रयोग गरिएका अवधारणाहरू स्वीकार गर्न सक्ने खुला मन, मस्तिष्क पनि हुनुपर्छ । प्रसिद्ध निर्देशक आइजेस्टाइन समालोचकले चलचित्रको एउटै पाटो मात्र समातेर आलोचना नगरी समिष्टिगत विश्लेषणले मात्र चलचित्रले पस्किएको कलात्मक भावले न्याय पाउँछ भन्ने मान्यता राख्थे । विश्वभर औपचारिक, यथार्थवादी, मनोविश्लेषणात्मक, प्रतीकात्मक, सौन्दर्यशास्त्रीय, समाजशास्त्रीय र भाषाशास्त्रीयलगायत अन्य थुप्रै दृष्टिकोणहरूबाट पनि चलचित्रको समीक्षा गर्ने चलन देखिन्छ । नेपालमा हुने समीक्षाहरू कुनै पनि चलचित्र एकपटक हेरिसकेपछि त्यसले पस्किएको अन्तरवस्तु र प्राविधिक पाटोमा गरिने प्रतिक्रियामा सीमित हुने औपचारिक दृष्टिकोण हाबी भएको देखिन्छ ।
चलचित्रलाई समीक्षा गर्ने औपचारिक दृष्टिकोणमा चलचित्रको कथात्मक लय, पात्रको प्रस्तुति, पटकथाको संरचना, क्यामेराको प्रयोग, सम्पादन, ध्वनि र दृश्यसँगको संयोजनजस्ता पाटाहरूमा विश्लेषणात्मक दृष्टिकोण राखिन्छ । अखबार पढेर चलचित्र हेर्ने वा नहेर्ने धारणा बनाउने दर्शकहरूलार्ई समीक्षकहरूले चलचित्रबारे बनाएको धारणाले सोझो र महŒवपूर्ण प्रभाव पार्छ । नभेडेनो प्रेमा र अलेकजेन्डर टोडोरोभिकले सन् १९७१ मा सर्भियामा गरेको अनुसन्धानमा चलचित्रले पस्किएको विषयवस्तुको कारण ३७ प्रतिशत र त्यसपछि अखबारहरूमा आएको समीक्षाको कारण २९ प्रतिशत दर्शकले चलचित्र हेर्ने–नेहेर्ने निर्णय गर्छन् भन्ने देखाएको छ । नेपालमा अधिकांश पत्रपत्रिकामा आबद्ध पत्रकार समीक्षकहरूले औपचारिक दृष्टिकोणबाट नै समीक्षा गरिरहेको देखिन्छ ।
नेपालको सन्दर्भमा अधिकांश औपचारिक दृष्टिकोणबाट गरिएका समीक्षाहरू आर्थिक लेनदेनको तालमेल मिले चलचित्रको सकारात्मक पाटोमा बढी चर्चा हुने र आर्थिक लेनदेनमा बेखुसी भए नकारात्मक पाटो नै बढी छताछुल्ल हुने गरी पूर्वाग्रहहरूको अभिव्यक्त गर्ने थलोका रूपमा विकास हुँदै गएको देखिन्छ । साथै, चलचित्र प्रदर्शनमा आएको दिन नै समीक्षा लेख्ने वा केही दिन कुरेर मात्र समीक्षा गर्ने जस्ता निर्णयहरूलाई समेत आर्थिक लेनदेनको पाटोले प्रभाव पारेको स्पष्टै देखिन्छ ।
यर्थाथवादी दृष्टिकोणबाट चलचित्रको विवेचना गर्दा चलचित्रले सिर्जना गरेको चलचित्रीय यथार्थ अर्थात् सिनेमाटिक रियालिटीहरूको समालोचनात्मक विश्लेषण गरिन्छ । यस किसिमको समीक्षाहरूमा चलचित्रमा प्रयोग भएको प्राविधिक पाटोको भन्दा पनि चलचित्रको दृश्य भाषा, पात्रको संवेदना र चलचित्रमा देखाइएको परिवेशलाई नै मुख्य रूपले चर्चा गरिन्छ । चलचित्र मनोरञ्जन दिने साधन मात्र नभई यसले तत्कालीन समाजको कलात्मक यथार्थ प्रतिबिम्बित गरेको हुन्छ ।
कुनै पनि कलात्मक अभिव्यक्तिलाई सर्जक बाँचेको समाजको सामाजिक राजनीतिक चेतना र समकालीन संस्कृतिले गहिरो तरिकाले प्रभावित बनाएको हुन्छ । यथार्थवादी दृष्टिकोणबाट समीक्षा गर्दा चलचित्रले वास्तविकताको धरातलबाट आफूलाई अलग गराएर सिनेम्याटिक यथार्थ सिर्जना गर्दै दर्शकहरूलार्ई प्रेम, घृणाजस्ता भावनात्मक संवेदनाहरू महसुस गराउन सफल भए कि भएनन् भन्नेबारे चर्चा गरिएको हुन्छ । यस दृष्टिकोणमा चलचित्रहरूमा प्रयोग भएका निश्चित किसिमको प्रतीक र बिम्बहरूको चलचित्र बनेको समाज त्यसको पृष्ठभूमि एवं निश्चित कालखण्डलाई कतिसम्म चित्रित गरिएको छ भन्नेबारे पनि विश्लेषण गरिन्छ ।
चलचित्रहरूको यथार्थवादी समीक्षा गर्दा मूलधारका उही किसिमको चलचित्र हेरेभन्दा फरक दृष्टिकोणले हेरेर चलचित्रको फरक दृश्यभाषालाई स्वीकार गर्न सक्ने क्षमता समालोचकहरूले विकास गर्नुपर्छ । इटालियन सिनेमामा नवयथार्थवादको सैद्धान्तिक बाटो पहिल्याउन आन्द्रे बाँजाजस्ता समालोचकहरूको महŒवपूर्ण भूमिका थियो, जसले ‘काहिर डु सिनेमा’ जस्ता पत्रिकाको १९५१ मा नै सहस्थापना गरेका थिए ।
बाँजाको ‘चलचित्र भाषाको उद्विकास’ जस्ता लेखहरू चलचित्रको सैद्धान्तिक आधारशिलामा विवेचना गर्दै समालोचनाको स्वरूपमा तयार भएका थिए । नेपालमा चलचित्रको कलात्मक समालोचना अत्यन्त कम हुने हुँदा चलचित्रको बारेमा आफूले के जानेको छु र निर्देशकले के जानेको छैन भन्ने प्रमाणित गर्ने हेतुले नै अधिकांश चलचित्रका समीक्षाहरू भई नै रहेका देखिन्छन् । कम प्रकाश र छायाको संयोजनबाट सिर्जना भएका कलात्मक दृश्यलार्ई छायांकनमा कमजोरी भन्नेदेखि स्पष्टै रूपमा लिनिएर शैलीको कथावाचनलार्ई नन लिनिएर शैली भन्नसमेत समीक्षकहरूले बाँकी नराखेका थुप्रै उदाहरणहरू भेटिन्छन् ।
चलचित्रको सन्दर्भजन्य विश्लेषणको दृष्टिकोणबाट चलचित्र समीक्षा गर्दा चलचित्रलार्ई एउटा बृहत्तर सन्दर्भमा सिर्जना भएको एउटा कलात्मक अभिव्यक्तिका रूपमा मनन गरिन्छ । चलचित्रलार्ई निर्देशकको पूर्ण नियन्त्रणमा तयार भएको कलाकर्मका रूपमा मनन गर्दै निर्देशकको पृष्ठभूमि र उनमा निहित वैचारिक सोचलार्ई चलचित्रको अन्तरवस्तुसँग जोडेर चलचित्रलार्ई निर्देशक बाँचेको समाजको सामाजिक राजनीतिक चेतनाको उपजका रूपमा विश्लेषण गरिन्छ । विश्व परिवेशमा विकसित पपुलर संस्कृतिहरूले कस्तो मूल्य, मान्यता निर्माण गरिरहेछन् र तिनलार्ई चलचित्रमा कसरी पस्किएको छ भन्ने विश्लेषण गर्न पनि समालोचक आफैँसँग विश्व परिवेशको बोध गर्न सक्ने क्षमता हुनुपर्छ ।
समालोचकले चलचित्रले पस्किएको अन्तरवस्तुलार्ई सम्बन्धित समाजको ऐतिहासिकता र युगचेतनासँग जोडेर आलोचनात्मक दृष्टिकोणबाट विश्लेषण गर्दै वैकल्पिक सोच पस्कने सक्ने वैचारिक हैसियतको विकास गर्नुपर्ने हुन्छ । चलचित्रको अन्तरवस्तुले बोकेको वादमा आलोचनात्मक प्रतिवाद गर्दै समाजमा ज्ञानको नयाँ संश्लेषण गर्ने कार्यमा समालोचकहरूको महत्वपूर्ण भूमिका हुन्छ । अक्सर समालोचक, चलचित्रका मर्मज्ञ र सम्पादकहरूले चलचित्रले पस्किएको अन्तरवस्तुको सन्दर्भजन्य विश्लेषण गरेको देखिन्छ ।
नेपालमा राजनीतिक र सामाजिक विषयवस्तुमा निर्माण भएका चलचित्रहरूको अन्तरवस्तुबारे सामाजिक तथा राजनीतिक सन्दर्भसँग जोडेर समालोचनात्मक टिप्पणी भएको उदाहरण भए तापनि अधिकांश समीक्षाहरू चलचित्रको गुण र दोष मात्र विश्लेषण गर्ने औपचारिक दृष्टिकोणभन्दा माथि उठ्न सकेका छैनन् । सैद्धान्तिक दृष्टिकोणबाट चलचित्रको समीक्षात्मक विश्लेषण गर्दा समाज विज्ञानमा उपलब्ध थुप्रै सिद्धान्तहरूको प्रयोग भएको हुन्छ । चलचित्रको मनोविश्लेषणात्मक दृष्टिकोणबाट समालोचना गर्दा अक्सर मनोवैज्ञानिकहरू सिग्मन्ड फ्रायड र कार्ल जुंगका मनोविश्लेषणका सिद्धान्तहरू प्रयोग गरेर चलचित्रले पस्किएको चेतन, अर्धचेतन एवं अचेतन भावहरूबारे विश्लेषण गरिन्छ ।
त्यस्तै, नारीवादी दृष्टिकोणबाट चलचित्रमा नारीको प्रस्तुतीकरणको सवाल, नारी पात्रहरूलार्ई अपहेलित वा सशक्तीकरण गरिएका चारित्रिक भूमिकाहरूबारे चर्चा गरिन्छ । त्यस्तै, माक्र्सवादी दृष्टिकोणमा चलचित्रका पात्रहरूले बोकेको वर्गचेतना, वर्गीय पक्षधरता र पात्रमार्फत वर्गचेतना फैलाउन चलचित्र कतिसम्म सफल छ वा छैन जस्ता विषयवस्तुबारे चर्चा गरिन्छ ।
चलचित्रको वैचारिक विश्लेषण गर्ने वा कुनै पनि विचारको चलचित्रको माध्यमबाट आलोचना गर्ने दुवै कार्यहरू चलचित्रको सेरोफेरोमा नियतवश गरिन्छ । तसर्थ, चलचित्रलाई निश्चित खालको वर्गको वैचारिक उत्पादनका रूपमा मनन गर्ने वा चलचित्रमा निश्चित किसिमका विचारको प्रवाह गरेर एक किसिमको वर्ग संस्कृति तयार गर्नेजस्ता सांस्कृतिक स्वार्थहरूको सैद्धान्तिक दृष्टिकोणबाट चलचित्रको समालोचना गर्दा विश्लेषण गरिन्छ । चलचित्रका सैद्धान्तिक र दार्शनिक पाटोको विवेचना गर्नेहरूले चलचित्रमा प्रयोग भएका शिल्प तथा अन्तरवस्तुहरूले चलचित्रको सैद्धान्तिक धार कता जाँदै छ भन्नेतर्फ विश्लेषणात्मक उत्तरको खोजी गरिरहेका हुन्छन् ।
नेपाली चलचित्रहरूले पस्किएको अन्तरवस्तुमा सैद्धान्तिक दृष्टिकोणबाट विश्लेषण भएको अत्यन्त नगण्य उदाहरणहरू छन् । समाज विज्ञानको क्षेत्रमा धेरै कमले मात्र नेपाली चलचित्र क्षेत्रको अनुसन्धान गर्ने र सैद्धान्तिक विश्लेषण गर्ने हुनाले नेपाली चलचित्रहरूको सैद्धान्तिक समालोचना अत्यन्त कम हुने गरेको छ ।जेनेरिक दृष्टिकोणमा समीक्षा गर्दा चलचित्रलाई सोही जेनेरामा निर्माण भएको अन्य जेनेराको चलचित्रसँग तुलना गरिन्छ । एकै जेनेरामा निर्माण भएका चलचित्रहरूमा उस्तै खाल्को सूत्रबाटफरक किसिमको कथावाचन गरिएको छ कि छैन भनेर विश्लेषणात्मक सोच राखिन्छ ।
खास किसिमको जेनेराको मात्र चलचित्र समीक्षा गर्ने पहिचान नेपाली सन्दर्भमा बनाउन पत्रकारिताको समग्र विकास र व्यावसायिकताको पाटोले पनि भूमिका खेल्ने हुनाले वर्तमान अवस्थामा अधिकांश समीक्षकहरूले ‘ज्याक अफ अल ट्रेड्स, मास्टर अफ नन’ कै भनाइलाई आत्मसात गर्नुपर्ने बाध्यता छ । नेपालमा अक्सर समीक्षकहरूले सबै जेनेराको चलचित्रहरूमा कलम चलाउने हुनाले जे आउँछ, पचाउँछ ‘मिलाएर ठोक्ने हो’ भन्ने मनोवैज्ञानिक अहं प्रायः सबैजसो चलचित्र समीक्षाहरूमा महसुस हुन्छ ।
सम्बन्धित सञ्चारगृहको चलचित्र क्षेत्रको गुणात्मक विकास होस् भन्ने हेतुको कुनै रणनीतिक र कार्यनीतिक सोच नहुनुले पनि चलचित्र समीक्षाको क्षेत्रमा जसले जे मन लाग्यो, त्यही लेखे हुने प्रवृत्ति दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । सम्बन्धित बिटमा काम गर्ने समीक्षक पत्रकारहरूको व्यक्तिगत आग्रह पूर्वाग्रहहरूले प्रभाव सिर्जना गर्दा नेपालमा राम्रा चलचित्रलाई नराम्रो भनिएका र नराम्रो चलचित्रलाई राम्रो भनिएका बग्रेल्ती उदाहरण छन् । समीक्षक आफैँ कुनै चलचित्रको महत्वपूर्ण भूमिकामा संलग्न पनि हुने र आममानिसको धारणा निर्माण गर्न प्रभावकारी भूमिका खेल्ने सञ्चारगृहसँग सम्बन्धित रहेर काम पनि गर्ने अवस्थाले समीक्षकको निष्पक्षता र वस्तुनिष्ठतामा गम्भीर प्रश्न
सिर्जना हुन्छ ।
चलचित्रका मर्मज्ञहरूले मन खोलेर तारिफ गरेको चलचित्रका निर्देशकलाई समेत एक टेलिभिजन कार्यक्रममा फल्प निर्देशकको सूचीमा राखेरसमेत कार्यक्रम तयार पार्नुमा चलचित्रको गुणतत्व मनन गर्ने सवालमा व्यक्तिगत पूर्वाग्रह कति झल्किन्छ भन्ने स्पष्ट देखिएको छ । यसर्थ, खराब चलचित्रको गल्ती र कमजोरी औँल्याएर ‘राम्रो’ समीक्षक मात्र बनिरहँदा एक दशकअघिदेखिको मात्र प्रवृत्ति विश्लेषण गर्ने हो भने पनि नेपाली चलचित्र समीक्षा गर्ने चलनमा गुणात्मक फड्को आएको देखिँदैन ।
उसो त चलचित्रमा गुणात्मक फड्को आए मात्र समीक्षाले पनि फड्को मार्नेे हुनाले यी दुई विधाका बीचमा अत्यन्त आलोचनात्मक र सद्भावपूर्ण सम्बन्धले नै चलचित्रको गुणात्मक विकासमा टेवा पु-याउँछ । तसर्थ, समीक्षाले नै चलचित्रलाई फैलिन सहयोग पु-याउने एवं चलचित्रले समीक्षालाई खुराक दिने हुनाले चलचित्रकर्मी तथा समीक्षक हेर्दा फरक कित्तामा उभिएको देखिए पनि अन्ततोगत्वा एकै सिक्काका दुई पाटा नै हुन् भन्दा अतिशयोक्ति नहोला ।