भर्खरै शब्द खुट्याउन थालेकी थिएँ, वाक्य पहिल्याउन आउँदैनथ्यो । लाम्चा, पातला, रंगीचंगी गाता भएका किताबका पाना पल्टाउँदै चित्र हेर्न सिकिरहेकी थिएँ । त्यस्तै, एउटा उज्यालो किताबको दायाँ र बायाँ बसाएर आमाले दिदी र मलाई कथा सुनाउँदै हुनुहुन्थ्यो । त्यो ह्यान्स क्रिस्चियन एन्डरसनको ‘द लिटल म्याच गर्ल’को उल्था थियो ।नयाँ वर्ष अघिको हिउँ परिरहेको रात त्यो सानी केटी सलाइका बट्टा बेच्न खोज्दै थिई । किनमेलमा हतारिएका मान्छेलाई ऊतर्फ हेर्ने फुर्सद थिएन । घर फर्किंदा बाबुको कुटाइ खाने डर केटीलाई थियो । जाडोले कठ्यांग्रिएर मर्ने त्रास पनि थियो । ऊ आफ्नै सलाइका काँटी झिर्र–झिर्र बालेर न्यानो बन्ने प्रयासमा थिई । वेलावेलामा बटुवालाई अझै याचना गर्दै थिई, भोकले गलिसकेकी, थकाइले क्लान्त त्यो केटी ।
पच्चीस वर्ष बितिसक्यो, तर त्यो बेसहारा केटीको छट्पटीले ममा उब्जिएको औडाहा अझै सम्झिन्छु । दुइ–चार थोपा आँसु तप्प–तप्प मेरो फ्रकमा झरे । अघिसम्म चिरबिर गरिरहेकी छोरीको चालचुल नभएपछि आमाले मलाई हेर्नुभयो । मेरो सुँक्क–सुँक्कले आमा आत्तिनुभयो । ‘लौ, यो त रुन पो थालिछ,’ यस्तै, केही भन्नुभयो आमाले । ‘पख है त हेरौँ, यो केटीले सलाई बेचिसक्छे कि त ।’ पाना पल्टाएर अन्तिमतिर पु-याएपछि आमाले मलाई देखाउनुभयो, ‘यी हेर त, उसले क्रिसमस ट्री किनिछे, मीठा–मीठा खाना खाँदै बसिरहेकी छे ।’ मेरो प्रतिक्रिया सम्झना छैन, रमाएँ होला ।
आफैँले त्यो कथा पढ्न जान्ने भएपछि मात्र थाहा पाएँ, केटीले त्यो सुख–सयल सबै सपनामा देखेकी रहिछे । वास्तवमा ऊ मरिसकेकी रहिछ । मैले आमा र मेरो वार्तालापका टुक्राटाक्री सम्झिएँ, उहाँलाई पनि के अनुमान थियो होला र, सधैँ सुखै–सुखमा अन्त्य हुने बालकथामा यस्तो अप्रत्याशित मोड ! हतार–हतार छोरीलाई चित्र देखाएर फुल्याउनुभयो ।
तर, छोरीले त्यो व्यग्रता, शब्दले उब्जाएको त्यो पहिलो रुवाइ र काल्पनिक पात्रका लागि उत्पन्न करुणा बिर्सन सकिनँ । कति अनौँठो छ यो पठनको प्रक्रिया, एउटै बिम्बले हजारौँ पाठकलाई फरक–फरक अनुभूति दिन सक्ने शक्ति, एउटा स्थानको वर्णनले फेरि तिनै हजारौँ पाठकलाई आफ्नो बाल्यकालको एउटै बिन्दुमा हु¥र्याएर थचारिदिन सक्ने तागत । शब्दमै अल्झेर, त्यसका अर्थ खोजेर, आफ्नो अस्तित्व बिर्सिने चेष्टामा आनन्द खोज्ने काम हो यो । कति सही छ यो भनाइ, पढ्नु भनेको घन्टौँसम्म काठका खोपिएका खण्डलाई एकटकले हेर्दै विभ्रममा पर्नु हो ।
त्यो मायामोह, दृष्टिभ्रम, स्वप्नसंसार सबै मलाई स्वीकार्य थिए । घुम्न आतुर थिएँ, वर्णमालाले एक–अर्कामा लडीबुडी खेलेर, बेरिएर, उनिएर खडा गरेका अनौठा दुनियाँ । तर, त्यो रुन्चे रातले निर्धारण गरेको पठनमा मेरो पहिलो प्रेम, सधैँ आँसु नै हुन गयो । जति रुवायो, उति राम्रो । जति पीडा, उति आमोद । जेले घोच्छ, त्यही मेरो नसा ।
अहिले नेपाली साहित्यमा खुब आलोचित बनेको छ करुण रस ।
आक्षेप लाग्ने गर्छन्, लेखकले आँसु बिकाए, दुःखको बजार खोजे, वेदनालाई कृतिको विज्ञापन गर्ने माध्यम बनाए । विश्व साहित्यमा पनि आवाज उठ्छन्, यस्ता उपन्यासको सफलतापछि दुःखान्त कृतिको लर्को लागेको छ, यिनले कलिला मष्तिष्कमा नकारात्मक प्रभाव पार्नेछन् । गुगल सर्चमा हेर्नुपर्छ, मानिसहरूले हरेक क्षण खोजिरहेका हुन्छन्, ‘मुटु फुट्ने गरी रुवाउने उपन्यास,’ ‘दुःखदायी कथाहरू’ र ‘मृत्युसम्बन्धी दुःखद कृति ।’ ‘खोज’ मात्र भन्नुपर्छ, लाम लागेर फरर निस्किन्छन् सूची–‘रुवाएरै छोड्ने १० उपन्यास, ‘मन खोलेर रुन मन भए पढ्नुस् यी १५ टियरजर्कर’ अनि ‘यी कविता पढेर पनि आँसु आएनन् भने तपाईंको मन ढुंगा हो ।’
अहिले नेपाली साहित्यमा खुब आलोचित बनेको छ करुण रस । आक्षेप लाग्ने गर्छन्, लेखकले आँसु बिकाए, दुःखको बजार खोजे, वेदनालाई कृतिको विज्ञापन गर्ने माध्यम बनाए ।
जीवनमा उल्लास र सिद्धि मात्र चाहने हामी, कुन लुप्त कुण्ठाले चलचित्र, संगीत र पुस्तकमा विषाद पछ्याउँदै जान्छौँ ? ग्रिसेली दार्शनिक प्लेटोले शताब्दियौँअघि मानवजातिको यो विरोधाभासको व्याख्या गर्न भ्याइसकेका थिए । उनका अनुसार कलाको त्रासदी नै हामीलाई आफ्ना उद्वेगबाट निकास दिने माध्यम बन्छ । विशेषगरी, कारुणिक नायकका भावना आत्मसात् गरेपछि हामीलाई निजी चिन्ता र भय, डर र क्रोधलाई आफूबाट मुक्त गर्न बहाना मिल्छ । यही उहापोहलाई नियन्त्रणमा ल्याउने तुष्टिपूर्ण ‘कथार्सिस’, त्यो भारमुक्तिकै लागि हामी सिर्जनामा अवसादको अनन्त खोजीमा छौँ ।
मेरो अवचेतन मनले यस्तै निकास खोज्दै गयो । नत्र सयौँ परिकथा र लोककथामाझ किन मलाई आज पनि त्यो सानी सलाई व्यापारीको कथा कण्ठस्तै छ ? बाल्यकालका झल्याकझुलुक सम्झनामा आँसुले डामेको मेरो गाला कसरी प्रस्ट भई आइदिन्छ ? भावनाको त्यही बिसौनीले त होला, मेरा लागि पुस्तकको उत्कृष्टताको मापदण्ड तोकिदियो– जति अश्रुपूर्ण, उति असल ।
किशोरावस्थामा यसरी शिथिल पार्ने तीन कृति थिएः पारिजातको परिभाषित आँखाहरू; बिपीका बाबु, आमा र छोरा, अनि हार्पर लीको ‘टु किल अ मकिङबर्ड ।’ पारिजातको उपन्यासमा एउटा सुन्दर दृश्य छ, एउटी छात्रा आफ्नो लामो कपालमा फूल सिउरिएर सोचमा डुबेकी । पे्रमिल कथा सोचेर पढ्न थालेँ, र अन्त्य भयो एउटी बलात्कृत बालिकाको उराठलाग्दो यथार्थमा । दोहो-याएर यो उपन्यास पढेकी छैनँ, तर उसका अबोध आँखाले अझै सताउँछन् । बिपीको उपन्यास पढ्दा म तीनवटै पात्रका लागि रोएँः आत्मविश्वासहीन बाबु, निरीह छोरा र संकटमा परेकी आमा । हार्पर लीको उपन्यासमा आफ्नो छालाको रंगले अन्यायमा परेको टम रबिन्सनका लागि आँसु बगाएँ । एउटा नमीठो कुहिरोले घन्टौँसम्म छोपिरह्यो, आफन्त गुमाएजस्तो भान परिरह्यो ।
फेरि पनि मैले यस्तै कृति खोजिरहेँ, यिनैलाई स्नेहले सुम्सुम्याएँ, आफ्नो मानसपटलमा र अरूलाई गर्ने सिफारिसमा यिनकै नाम अघि आइरहे । ‘द टाइम ट्राभलर्स वाइफ’मा त्यो मायालु श्रीमतीको अन्त्यहीन पर्खाइले छोयो, ‘उलार’मा प्रेमललवा न्यायको खोजीमा काठमाडौं आउँदा उसँगै उपेक्षित भइरहेँ, ‘अन्त्यहीन अन्त्य’की नायिकाले आफ्नो श्रीमान् केटीको लुगा लगाएर ऊसामु आउँदा म पनि उस्तै कहलिएँ । ‘द गुड अर्थ’मा वाङ लुङको परिवारले भोकमरीका कारण आफ्नो गोरु मरेर खाँदा समवेदनामा आँसु झारेँ । ‘द काइट रनर’मा हसनको आमिरप्रतिको भक्तिले भावविह्वल भएँ । ‘सेतो धरती’मा एउटा बच्चाले कुकुरको थुन चुसिरहेको दृश्यमा आँखा भरिएर अघि पढ्नै सकिनँ ।
रोहिन्टन मिस्त्रीको ‘अ फाइन ब्यालेन्स’का दुई निरूपाय, निरुद्देश्य मगन्तेभन्दा दिक्दारी पात्र हुनै सक्दैनन्जस्तो लाग्थ्यो । त्यसलाई गलत साबित गर्न आइपुग्यो हान्या यानागिहाराको ‘अ लिटल लाइफ’को जुड । बाल्यकालमै यौन हिंसा र दुराचारको सिकार बनेको जुडलाई लाग्छ, ऊ कुत्सित छ, ऊ सबैको घृणा पाउन मात्र योग्य छ किनभने ऊ फोहोरी, संक्रमित र रोगी छ । मैले रोइरोइ जुडले कहिल्यै नपाउने पत्र लेखेँ, ‘जुड, तिमी असल र पवित्र छौ, तिमीजस्तो योग्य मानव यो सृष्टिमा छैन ।’ अन्तिमपटक सबैभन्दा बढी यही उपन्यासले गलायो, यति परास्त अनुभव गरायो कि अकासिएर राम्रा पुस्तकको टुप्पोमै पुग्यो । र त्यसपछि, यो दुःखको चुली कागजबाट उक्लिएर जीवनमा आइपुग्यो । एकपटक मात्र होइन, दुई वर्षको अन्तरालमा चारपटक । शब्द स्वाद मानी–मानी भन्दै थिए, ‘कति बनावटी दुःखमा आँसुको खोला बगाउनु, सक्कली दुःख पनि त भोगेर हेर ।’
त्यो मायामोह, दृष्टिभ्रम, स्वप्नसंसार सबै मलाई स्वीकार्य थिए । घुम्न आतुर थिएँ, वर्णमालाले एक–अर्कामा लडीबुडी खेलेर, बेरिएर, उनिएर खडा गरेका अनौठा दुनियाँ ।
यसअघि पनि जीवनमा कष्ट नभएका त कहाँ हुन् र, कसको जीवनी फिका रङले नपोतिएको होला ? तर, यो दुःखको गहिराइ अपरिमित, अग्लाइ अनन्त । कहीँ कतै निस्किने बाटो देख्दिनथेँ, निस्सासिन्थेँ, मेरा सपना पनि कालो धुवाँ ओकल्थे । मुटु जोड–जोडले ढ्यांग्रो ठोक्थ्यो, सायद अब यो रोकिन्छ, वा कहिल्यै थामिँदैन ।
यो मलिन कुहिरोमा निकै क्षण रुमलिएपछि मैले मेरो पूर्ववत् संसारको त्यान्द्रो समातेँ, मेडलिन थिनको ‘डु नट से वी ह्याभ नथिङ’ । यति मीठो भाषा, चिनियाँ आमाको कथा, संगीतज्ञको इतिहास । तर, मैले पढ्न सकिनँ– उनीहरूले भोगेका आपत् र निराशा, मैले सहन सकिनँ । पहिलेजस्तो असंलग्न भएर पढ्न सक्दिनथेँ । आफ्ना समस्याका छायाँ जताततै लम्बिएका देख्थेँ । फेरि छानेँ एलिजाबेथ स्ट्राउटको ‘माइ नेम इज लुसी बार्टन’ र फेरि पनि बीचैबाट त्यागिदिएँ यो गरिबी र दुराचारको निरूपण । यी दुवै उपन्यास अझै पनि अधकल्चै छाडिएका छन् ।
त्यतिवेला मेरो दुःखमोह सजायजस्तो भयो । मैले दुःखान्त चलचित्र पनि हेर्न छोडेकी थिएँ । हल्का, रमाइला, हाँसो ठट्यौलीका पुस्तकमा मात्र हात र आँट जान्थ्यो, र तिनमै आफूलाई डुबाउने प्रयास गर्थेँ । जीवनमा वास्तविक बज्रपात सहनुपर्दा मैले आफ्नो पठन रुचिलाई पनि विश्लेषण गर्न भ्याएँ । ढोँगी रहेछु म, छद्म र कृत्रिम दुःखमा आफ्नो ज्यानै दिने, संसारकै सबैभन्दा बुझकी पाठक भई उभिने, ती निर्जीव व्यक्तिको वेदनामा लीन हुने । दुःखको सौन्दर्य, यसको महानता र शक्तिको पूजा गर्ने । आफैँलाई पर्दा कहाँ गयो त्यो कष्ट–उपासना, त्यो भोगाइ–प्रेम ? आफू र आफ्नो वरपरकाको दुःख त सहन नसक्ने म, खुबबहादुर भएर यी सारा मनगढन्ते पात्रको पीडा आफ्नो काँधमा ओसार्न कति उत्ताउली भएकी ?
यो मनस्थिति धेरै समयसम्म रहिरह्यो । एक किसिमको सिकसिकी, नजानिँदो डर उत्पन्न भयो किताबी दुःखसँग । जसरी पलाएको थियो, मैले थाहै नपाउँदै त्यसैगरी, बिस्तार–बिस्तार हराएर पनि गएछ । या जीवनको उथलपुथलले समस्यासँग जुझ्न सिकायो, कि शाब्दिक कष्टसँग मैले खेलेको लडाइँका कवचले मलाई सुरक्षातिर डोहो-याए ।
पछिल्लो महिना पढेँ मैले, चित्रा बनर्जी दिवाकरुनीको ‘अ भाइन अफ डिजायर ।’ उपन्यासकी मुख्य पात्रले सन्तान गुमाएपछि उनको अवस्थाले विचलित बनायो, आँखाका कुना भिजे, अप्रीतिकर स्मृति मस्तिष्कमा ढक्ढक्याउन आए । तर म धेरै बहकिनँ । रोकिई–रोकिई पढेँ, आफूलाई अलिकति टाढै राखेर । उनीहरूको संत्रासले छोयो, तर मलाई छोपेन ।
म व्यक्ति ढोगी हुँ, तर सच्चा पाठक हुँ । आत्मपीडामा रमाउँछु, तर संसारप्रति सहानुभूति राख्ने शक्ति छ । तर, पनि डर लाग्छ अचेल, धेरै दुःखमा आफूलाई भुलाउन, त्यो आँसुमा कृतिको उत्कृष्टता खोज्न । ती सारा पात्रको पीडा त म एक्लैले खपिदिन्छु, मेरो दुःखमा पो कुन पात्र रोइदेला ?