मेरा आत्मस्वीकृति

आफ्नै नजरमा

कृष्ण धरावासी कृष्ण धरावासी
शुक्रबार, १ चैत, २०७५
डिजिटल संस्करण

म यहाँ अरूका अवगुण केलाउँदै आफ्ना गुणको बखान गर्न खोजिरहेको छैन । बरू आज म आफ्नै बानी–व्यहोरामा रहेका अवगुण केलाउन उपस्थित भएको हुँ । मेरा गुणबारेमा त सबैले भन्लान् । अवगुणका बारेमा पनि बिस्तारै साउती गरेर भनिरहेकै पनि होलान् । तर,के म आफैँले चाहिँ मेरा आफ्ना अवगुण जान्नु पर्दैन ? जसले मलाई नै पाइला–पाइला हिँड्न अल्झाइरहेको हुन्छ ! यदि मैले धेरै काम गर्दागर्दै पनि असफलता हात पारिरहेको छु भने के ती सबै अरूकै कारणले मात्र भएका होलान् ! के तिनमा मेरा आफ्नैचाहिँ कुनै कारण नहोलान् ! आज म आफैँभित्र प्रवेश गर्न लागेको छु ।

प्राकृतिक रूपमा मेरा शरीरमा आएका कमजोरी मेरा अवगुण होइनन् । तर, शरीरको कमजोरीलाई नै निहुँ बनाएर सुविधा खोज्नु मेरो अवगुण हो । संसारमा हातै नहुने, खुट्टै नटेक्ने, आँखा नदेख्ने, अनेकौँ प्रकारका अपांगता बोकेर पनि आश्चर्यजनक सफलता हात पार्नेहरू कति छन् कति ! आफ्नो शरीरको कमजोरीलाई प्रोत्साहन दिनेहरू मात्र सडकमा भिख मागेर बसेका हुन्छन् । यी सबै कुरा जानेको मैलेचाहिँ आफूलाई कहिल्यै यो मनोरोगबाट बाहिर ल्याउन सकिनँ । मैले पनि पाँच वर्ष अमेरिका बस्दा मेरा यिनै कमजोरी देखाएर कुनै काम नगरी दिन काटिरहेँ, जबकि त्यहाँ ७०–८० वर्षका बूढाबुढीहरू पनि स्टोरमा काम गरिरहेका भेटिन्छन् । तिनको उमेर र अवस्थाअनुसारको काम पाइरहेकै छन् । म भने घुँडाको लुलोपनलाई आधार बनाएर सधैँ कामबाट भागिरहेँ ।

हेर्दा म साधारण, सरल र मिलनसार नै देखिए पनि भित्र–भित्र धेरै घमण्डी छु । मलाई ठीक लागेको कुरा अरूले जति नै भने पनि म छोड्न सक्दिनँ । मेरो घमण्डी बानीले घरभित्र कहिलेकाहीँ तनाव उत्पन्न भइरहेको हुन्छ । पछि म गल्ती नै साबित भए पनि आफ्नो जिद्दीमा उभिनै खोजिरहेको हुन्छु । 

वास्तवमा शरीरप्रति मैले कहिल्यै न्याय गरिनँ । मेरो शरीर बाल्यकालदेखि कमजोर त हो, तर त्यसलाई दह्रो बनाउन अपनाउने उपायबारे मैले कुनै महत्व दिइनँ । व्यायामबारे अरूलाई निकै प्रवचन पनि दिने गर्छु । जान्दछु भन्ने अहंले आफैँ ग्रस्त पनि छु, तर त्यो बुद्धिलाई आफ्ना लागि भने खासै प्रयोग कहिल्यै गरिनँ । दुई–चार दिन केही ग¥यो अनि छोडिदियो । मैले योग सम्बन्धमा धेरै किताब कण्ठ पनि गरेँ । मेरो कुरा सुनेर कतिजना योगगुरु पनि बने होलान् । तर, म भने, नियमित रूपमा कपालभातीसम्म नगरी दिन बिताइरहेको हुन्छु । सानैदेखि थाहा भएको यो घुँडाको समस्यालाई नियमित कसरत गरिरहेको भए कसरी नहुँदो हो ! बुद्धि मात्र फलाक्ने मेरो बानी आफ्नै लागि भने कहिल्यै उपयोगी भएन । 

मेरो सबैभन्दा घिनलाग्दो बानी त नाक कोट्याउने हो । यो बानी कहिलेदेखि लागेको हो मलाई थाहा छैन । मैले थाहा पाएदेखि नै मेरो देब्रे हातको चोरऔँलो नाकका दुलामा पुगिरहन्थ्यो । नाकमा केही नभए पनि औँलो कतिखेर नाकमा पुगिसकेको हुन्थ्यो । युरोप भ्रमणका वेला विप्लव प्रतीकले मलाई धेरैपटक नाकबाट औँलो हटाउन संकेत गरिरहन्थे । मेरा आफ्नै दुर्गुण, त्यो भ्रमणमा आफ्नै लागि असुविधाजनक भएकैले ‘युरोपमा’ भन्ने शीर्षकमा एउटा कविता लेखेको थिएँ । त्यसबाट शारीरिक रूपमै पनि वेलावेला समस्या हुने गर्छ । कहिलेकाहीँ नाकमा त्यसैको कारणले घाउ हुने, त्यसबाट रगत बग्नेसमेत हुने गर्छ । यी सबै कुरा थाहा हुँदाहुँदै पनि बानी किन नहटेको होला ? के अब मैले देब्रे हातको चोरऔँला काट्नू ! 

म अलिक फोहोरी पनि छु । म सधैँ नुहाउँदिनँ । चिसोपानी छ भने त झन् धेरै बहाना बनाउने गर्छु । लगाएका लुगा निकै मैलो नभएसम्म फेर्दिनँ । हातका नङमा फोहोर जम्न थालेको नदेखिएसम्म काट्दिनँ । सानामा दिदी हुर्कैकै थाङ्नामा हामी सबै भाइबहिनी हुर्किएकाले मुत गन्हाएको, नाकले त्यति थाहै पाउँदैनथ्यो । त्यही भएर होला, अचेल पनि मलाई फोहोरले त्यति प्रभावित पार्दैन । 

सभा–समारोहमा वा मान्यजनअघि बस्दा उपरखुट्टी लगाएर बस्नुलाई असभ्यता मानिन्छ । मलाई नै पनि स्टेजमा कोही त्यसरी बसेको मन पर्दैन, तर म आफैँचाहिँ किन त्यसरी बस्छु अचम्म लाग्छ, कुनै वेला थाहा पाउँछु र तुरुन्त झार्छु, तर फेरि कतिखेर खुट्टो घुँडामाथि चढिसकेको हुन्छ थाहै हुँदैन । कहिलेकाहीँ लाग्छ, स्टेजमा पुगेपछि घुँडादेखि उँधोको भाग खुस्काएर झोलामा हाल्न पाए पनि हुने ।

मलाई खानेकुरामा खासै आशक्ति छैन, तर कसैले केही खानेकुरा अगाडि राखिदिएछ भने, म त्यो नसकिएसम्म खाइरहेको हुन्छु । पेट अघाएकै थाहा पाउँदिनँ । अनि त्यसैका कारणले बारम्बार पेटको समस्या भइरहन्छ । मीठो–नमीठोको उति मतलब हुँदैन । ज्यादा दुर्गन्धित, पिरो र चिसोबाहेक अरू खानेकुरालाई मेरो कुनै दोष हुँदैन । त्यसरी खाएपछि जीउ पनि त खाएजस्तो हुनु नि ! 

म भन्न त कहिल्यै रिसाउँदिन भन्छु, तर त्यो मेरो आदर्श मात्र हो । म सामान्यतया, भित्रभित्रै रिसाइरहेको हुन्छु । आफैँलाई थाहा हुन्छ नाकका पोरा फुलिरहेका, तर सकेसम्म त्यसलाई दबाउन खोजिरहन्छु । मैले जति नाटक गरे पनि मेरो सन्किने बानी मेरा नजिकका साथी र आफन्तलाई राम्ररी थाहा छ । आफैँ सन्किने आफैँ थन्किने, त्यसैले म आफैँलाई बच्चोजस्तो लाग्छ । जति रिसाए पनि आजसम्म कसैमाथि हात उठाएको छैन । जित्न सक्छुजस्तो लाग्ने भए छोड्थेँ होला र ?

धेरै कुरा जान्दछु भन्ने अहं बोकी हिँड्ने म, खासमा त्यस्तो केही पनि जान्दिनँ । जे कुरामा पनि मेरो ज्ञान अधुरो छ । मिलाएर कुरा गर्ने हुँदा मेरा कुरा धेरैले पत्याएको देख्छु । बिस्तारै म आफैँ यस्तो भ्रममा छु कि म वास्तवमै जान्ने हुँ

धेरै कुरा जान्दछु भन्ने अहं बोकी हिँड्ने म, खासमा त्यस्तो केही पनि जान्दिनँ । जे कुरामा पनि मेरो अधुरो ज्ञान मात्र छ । म मिलाएर कुरा गर्ने हुँदा मेरा कुरा धेरैले पत्याएको देख्छु । बिस्तारै म आफैँ यस्तो भ्रममा छु कि म वास्तवमै जान्ने हुँ । मलाई भित्र–भित्र यो थाहा भइरहेको हुन्छ, मभन्दा जान्नेहरू नै मेरा वरिपरि छन्, तर त्यस्तो देखाउँदिनँ । मैले आफूले लुकाउन खोजेको अज्ञानता अरूले परैबाट थाहा पाइरहेका हुन्छन् । संसारमा सिक्ने कुरा कति छन् कति, तर म सिक्ने कुरामा एकदम नै ढिलो छु ।

हेर्दा म साधारण, सरल र मिलनसार नै देखिए पनि भित्र–भित्र धेरै घमण्डी छु । मलाई ठीक लागेको कुरा अरूले जति नै भने पनि म छोड्न सक्दिनँ । मेरो घमण्डी बानीले घरभित्र कहिलेकाहीँ तनाव उत्पन्न भइरहेको हुन्छ । पछि म गल्ती नै साबित भए पनि आफ्नो जिद्दीमा उभिनै खोजिरहेको हुन्छु । अज्ञानताबाट नै घमण्डको सुरुवात हुने हो । त्यो थाहा भएर पनि ज्ञान बढाउनतिर भन्दा घमण्ड जोगाउनै बढी समय दिइरहेको देख्छु आफैँलाई । मेरो यस्तो बानीका कारण मेरा कति साथीहरू मबाट टाढिने गरेका छन् ।

धेरै पछिसम्म एक्लो छोरो थिएँ । भाइ कुमार मभन्दा १५ वर्ष कान्छो छ । १५ वर्षसम्म तीन दिदीबहिनीको एउटा भाइ भएर घरमा पुलपुलिएर हुर्किएको थिएँ । मैले बाल्यकालमा आफ्नो प्रशंसा मात्रै सुनेँ । सबैको माया पाएर हुर्किएकाले गाली त सुन्नै परेन । त्यसैले मलाई आफ्नो सानो आलोचनाले पनि अत्याउँछ । सामान्य कुराले असामान्य रूपमा म प्रभावित हुन्छु । आलोचना नगरिने संसारमा केही हुँदैन, तर मलाई त्यसले ज्यादा छोइरहन्छ । आफूलाई आलोचनाले त्यति धेरै छुने भए पनि म फेरि अरूको आलोचनाचाहिँ किन गर्छु होला ? अनि अनावश्यक रूपमा म प्रतिक्रियात्मक हुनपुग्छु र झन् विवादमा पर्छु, परिरहन्छु ।

म निकै लोभी छु । मानिस त्यति धेरै लोभी हुनु जरुरी छ र ! तर यो लोभले कैयौँ सम्भव सुविधासमेतबाट म आफैँ र परिवारका सदस्य पनि वञ्चित भइरहेका हुन्छन् । त्यसैले पनि उनीहरू मलाई थाहा नदिई खर्च गरिरहेका हुन्छन् । कत्ति कुरा त उनीहरूले मलाई कहिल्यै पनि सुनाउँदा रहेनछन् । अब त मैले खासै लोभ नगर्दा पनि हुने हो । परिवारका सबैजना कमाउन थालिसकेका छन् । आफ्नो मात्र जीवन त जसले पनि पाल्न सक्ने भएकै हुन्छन् । उनै कमाउँछन् उनै खर्च गर्छन् । त्यसमा मेरो उति टाउको दुख्नु नपर्ने हो । तैपनि म उनीहरूको आर्थिक स्वतन्त्रतामा हस्तक्षेप गरिरहेको हुन्छु । मैले आर्थिक रूपमा त्यस्तो धेरै दान र सहयोग गरेको पनि छैन । हुन त, त्यति धेरै दान गर्न सक्ने अवस्था त नहोला, तैपनि किन त्यतातिर मन नगएको होला त ! 

जता लाग्यो, त्यतै लागिरहने मेरो एकोहोरो बानीले परिवारमा कहिलेकाहीँ तनाव ल्याइरहेको हुन्छ । म लेख्न वा पढ्न बसेँ भने भोक लागेको वा खाइसकेको थाहा पाउँदिनँ । मेरा लागि अरूले आफ्ना कति कुरा गुमाइरहेका हुन्छन् । यो एकोहोरो बानीले सधैँ राम्रै मात्र गर्छ भन्ने पनि त हुँदैन । मलाई लाग्छ, मलाई सहन घरभित्र गाह्रो छ । बाहिरबाट हेर्दा म टाडाको हिमाल मात्र हुँ ।

मेरो निकै नराम्रो बानी भनेको आफैँलाई सधैँ अहित गरिरहने आफ्नो शरीरमा हुने असुविधा र रोगहरूलाई लुकाउने हो । त्यसले गर्दा कति रोगहरू भित्र–भित्रै छिप्पिँदै पनि गइरहेका हुँदा हुन् । अनावश्यक रूपमा खप्ने बानीले आफैँ पीडित भइरहँदा पनि खासै परिवर्तित भइरहेको हुन्न । अरूलाई दुःख नहोस् भन्ने आदर्श पालेर आफैँलाई झन् धेरै दुःख दिइरहेको हुन्छु । 

म घरमा उति काम सघाउदिनँ । कुनै दिन फूर्ति लगाएर गर्न नै खोजेँ भने पनि त्यो अरूले गरेकोभन्दा झन् नराम्रो भएको हुन्छ । यथार्थमा म खासैे व्यावहारिक सीपै नभएको मानिस हुँ ।मेरो सबैभन्दा राम्रो सीपचाहिँ के हो भने, म एकदमै मिलाएर ढाँट्न जान्दछु ।  

सम्पादकको रोजाइ

सुझावित समाचार