भर्खर झरी परेर थामिएको छ । वरिपरिका डाँडामा हिउँ परेछन् । यो कठ्यांग्रिँदो हिउँदे झरीको बिहान कुनै अमूर्त स्मृतिको भारले थिचिएर म ब्युझिएँ । ‘स्मृतिविनाको मान्छे हावा फुकेको बेलुनजस्तो हलुंगो हुन्छ,’ कुन्देरा भन्छन् । तर, जति स्वर्गको चाहना गरे पनि हरेक मान्छे मर्न डराउँछ, हलुंगो हुन डराउँछ । एक–एक गर्दै बटुलेका स्मृति समेटेर मान्छे पहिचान बनाउँछ, इतिहास बनाउँछ, कथा बनाउँछ, काव्य बनाउँछ, र तिनै स्मृतिको भारले थिचिएर आफू हुनुको अनुभूति बनाउँछ ।
आज घाम नलाग्ला जस्तो छ । मैले फेरि आँखाबन्द गरेँ– बिस्तारै चाल मार्दै मेरो स्मृतिपटलमा एक हुल अफिमका फूल आइपुग्छन् । चिनेजस्तो पनि, बिर्सिएजस्तो पनि । कता–कताको साइनो लगाउँदै ती फूलहरू मसँग गफिन थाल्छन् । अचानक सहरको कोलाहल शान्त हुन्छ, सर्दु खोला सुसाउन थाल्छ । त्यसै पनि धरानमा खोला भनेकै सर्दु खोला हो, कहिले गड्गडाउँदै, कहिले लड्खडाउँदै सर्दु अनवरत बगेकै छ । फूलहरूको कोमल भारले थिचिँदाथिचिँदै म मेरा बाल्यकालीन दिनहरूमा पुग्छु ।
‘मामुलाई भन्ने हैन,’ दादाले भन्यो । रातको नौ–दश बजेको थियो होला । त्यसै पनि मामु–बाबा निदाइसक्नुभएको थियो । दिउँसै हामीले टिनको टोकरी र टर्चलाइटको जोहो गरिसकेका थियौँ । दादाले बिस्तारै चाल मारेर दैलोको छेस्किनी खोल्यो । म पनि सास रोकेर उसको पछि–पछि लागेँ । बाहिर निष्पट्ट अँध्यारो थियो । दादाले टर्च बाल्यो– चन्द्रशेखर सरको बगैँचाको एउटा चोक्टो प्रकाशित भयो । टर्चको दुधिलो प्रकाशमा अफिमका फूलहरू अझ कोमल देखिएका थिए । तर, फूल हेरिराख्ने फुर्सद हामीलाई कहाँ थियो र !
जूनको लयालु प्रकाशमा इन्दु दिदीको घरछेउको बोक्सीकाँडा फूलको बुटा देखियो । सुकेर खङ्ग्रङ्ग परेको बोटमा एक दुई बोक्सीकाँडा बाँकी थिए । बेपत्ता डर लाग्यो ।
दादाले हातैले माटो खोस्रन थाल्यो । चर्को उज्यालोसँग तर्किंदै, निद्रालु गँड्यौलाहरू बिस्तारै सलबलाउन थाले । हाम्रो हर्षको सीमा थिएन । एक–एक गर्दैै हामीहरू गँड्यौला बटुल्न थाल्यौँ । एक ट्वाक गँड्यौला बटुलेपछि, उस्तरी नै चाल मार्दैै घर फर्कियौँ । सुत्नुअघि दादाले हाम्रो बगैँचामा गँड्यौलालाई राम्ररी खन्यायो । हाम्रो गँड्यौला–हन्ट सोचेभन्दा बढी नै सफल भएको थियो ।
हुन त गँड्यौलाले हाम्रो जीवनमा त्यत्रो अर्थ राख्ला भनेर कसले पो सोचेको थियो !म सायद आठ–वर्षजति थिएँ होला, दादा मभन्दा तीन वर्ष जेठो । त्यो साल हामीमा अचानक बागबानीको रहर जागेको थियो । विडम्बना, त्यही साल हाम्रो बगैँचामा कहिल्यै नलागेको खडेरी लागेको थियो । स्कुलबाट फर्किएर सकिनसकी पाइप घिसार्दै हामी घन्टौँ पानी पटाउँथ्यौ । तर, छिमेकमा सबैतिर ढकमक्क अफिम र धनियाँ फूल फुलिसक्दा पनि हाम्रा बेर्ना तंग्रिएका थिएनन् ।
अनेक उपाय गर्दा पनि नलागेपछि, हामीले दीपकको परामर्श माग्यौँ । दीपक मेरै उमेरको थियो, तर मभन्दा धेरै उद्यमी । छुट्टीका दिनमा ऊ आँगनमा बसेर सलाईका काँटीहरूको महल बनाउँथ्यो, छेउमाउसको घरपालुवारूपी ‘गोपीकृष्णको’ रटान लगाउँथ्यो । रुपीको जिब्रो काटेर बोल्न सिकाएदेखि हामी केटाकेटीबीच उसको रवाफ नै अर्कै थियो । फेरि उसको बगैँचामा जस्तो अन्त फूल पनि सप्रिँदैनथ्यो ।
धेरै कर गरेपछि, ठूलै रहस्य खोलेझैँ उसले भन्यो, ‘पानी पटाएर मात्रै के हुन्छ र ? बारीमा गँड्यौला पनि त हुनुप-यो !’गँड्यौला ? गँड्यौलाबारे त हामीले सोचेकै थिएनौँ ।
यस्तो गुह्य ज्ञान पाएर हामी चकित प-यौँ । पानी त पाइपबाट ल्याउन सकिन्थ्यो, तर गँड्यौला कहाँबाट ल्याउने ? यो प्रश्नको हल पनि दीपकले नै ग-यो । उसकै निर्देशनमा हामीले गँड्यौला चोर्ने विस्तृत योजना बनायौँ । गँड्यौलाजस्तो अमूल्य धन दिउँसो चोर्ने कुरो पनि भएन । त्यही रात चन्द्रमोहन सरको घरबाट गँड्यौला–हन्ट थाल्ने निधो भयो । यसरी हाम्रा गुप्तकारनामाका रातहरू सुरु भए ।
करिब एक हप्तासम्म त हामीले नियमित रूपमा गँड्यौला–हरणको सिलसिला जारी राख्यौँ । तिनका नरम, उसिनेका चाउमिनजस्ता शरीर जिम्न्यास्टिक गर्दै हाम्रो ट्वाकबाट फुत्किन खोज्थे, दादा र म अनेक तिकडम गरेर तिनलाई कैद गथ्र्यौं । मेरा सपनामा पनि अब गँड्यौलाले अड्डा जमाउन थालेका थिए– कहिलेकाहीँ म सपनामा चपरीका चपरी माटो खन्दै हुन्थेँ, माटोमुनि एक रास गँड्यौला देखिन्थे, म हर्षले विभोर हुन्थेँ । एक दिन त सपनामा दादा र म गँड्यौला चोरेर फर्किंदै थियौँ, हाम्रो ट्वाक अचानक भारी भएर आयो । बट्टा खोलेर हेर्दा, गँड्यौलाको सट्टामा गुजुल्टिएर सर्पहरू सलबलाउँदै रहेछन्, हामी बेतोडले भाग्यौँ ।
धरानसँग मनसुनको प्रेमिल सम्बन्ध छ । लाडिएकी प्रेमिकाझैँ, बेमौसम, विनाकुनै पूर्वसूचना सहरलाई निथ्रुक्क पार्नु उसको पुरानै रबैया हो । मनसुन आउन त बाँकी नै थियो, तर त्यो साँझ अचानक पानी प-यो । झ्यालको डिलमा बसेर हामीले निकै बेर गम खायौँ । पानीमा पखालिएर कटहरका बाटुला पातहरू चिल्ला देखिएका थिए । वेलावेला बतासले मञ्जरीले ढकमक्क भएका आँपका गाछीलाई सुमसुम्याउँथ्यो । एक अँजुली मञ्जरी हावामा उड्थे । त्यत्रो पानीमा रुझेर पनि सिमलीको बुटो भने फुस्रोको फुस्रै थियो । मामु कोठामा ओहोर–दोहोर गर्दै हुनुहुन्थ्यो, तर कुन गहिरो चिन्तामा हामी डुबेका थियौँ, कसैलाई भानसम्म पनि थिएन । आज गँड्यौला चोर्न जाने कि नजाने हामी ठूलो दोधारमा थियौँ । बिस्तारै बादल हटेर, सूर्यास्तको लालीले आकाश रक्तिम भयो ।
‘पानी परेको दिन झन् धेरै गँड्यौला निस्किन्छन्,’ दादाले भन्यो । हामीले त्यो रात इन्दु दिदीको बारीमा आक्रमण गर्ने योजना बनायौँ । इन्दु दिदीको बारी अरूहरूको भन्दा ठूलो थियो, त्यहाँ फूलका प्रजाति पनि घेरै थिए । त्यहाँ धेरै गँड्यौला हुनुपर्छ भन्ने हाम्रो ठम्याइ थियो । सदाझैँ त्यो रात पनि हामी ट्वाक र टर्च लिएर निस्कियौँ, जुनेली रात थियो । कतै टाढा सर्दु सुसाएको आवाजबाहेक रात चकमन्न थियो । प्याटप्याटे चप्पलले हिलो छ्याप्दै दादा अघि हिँड्दै थियो । हिलोमा खुट्टा गाडिँदा ‘कचकच’ आवाज आउँथ्यो, म पनि एकतमासले ‘कचकच’को लयमा निमग्न हुँदै पछिपछि लाग्दै थिएँ । जूनको लयालु प्रकाशमा इन्दु दिदीको घरछेउको बोक्सीकाँडा फूलको बुटा देखियो । सुकेर खङ्ग्रङ्ग परेको बोटमा एक–दुईवटा बोक्सीकाँडा बाँकी थिए । मलाई किन हो किन, बेपत्ता डर लागेर आयो । आखिर मैले सुनेका कथाहरूमा बोक्सीहरू यस्तै रातमा त डुल्थे । दीपकले नै भनेको थियो– बोक्सीकाँडामा बोक्सीहरू लुकेर बस्छन् । हावाको पातलो सर्कोले पनि अनेक अदृश्य निशाचरलाई बौराउँथ्यो । फेरि बोक्सीलाई चमेलीको फूल मन पथ्र्यो, अनि इन्दु दिदीको बारी चमेलीको बगान थियो ।
चमेलीको मादकतामा लठ्ठिएर हो वा बोक्सीको वशीभूत भएर त्यो रात हामीले गर्न नहुने काम ग-यौँ । स–साना क्यारी बनाएर सम्याएको त्यो बगानमा अफिमका गुच्छा बिछट्टै खुलेका थिए । तिनका कोमल पत्रदल पवनसँगै स्पन्दित भएर फर्फराउँथे । कदमको हाँगाबीचबाट देखिँदै, छेकिँदै चन्द्रमा अनेक टुना गर्दै थियो । गँड्यौलाको साटो हामी भकाभक फूल उखेल्न थाल्यौँ । एक अँगालो धनियाँ फूल मात्रै के उखेलेका थियौँ, घरभित्र कोही खोक्न थाल्यो । हामी बेतहासा दौडियौँ । इन्दु दिदीको घरबाट हाम्रो घर अलि टाढै थियो, तर हामी एकै सासमा घर आइपुग्यौँ । घर आएपछि केही नबोली ती बिरुवालाई माटोमा गाड्यौँ । मलाई भने अफिमको पनि फूल चोर्न मन थियो ।
भोलिपल्ट बिहानै दूध किन्न जाने पालो मेरो थियो । हिजो फूल चोरेको किस्सा मेलै बिर्सिसकेकी रहेछु । त्यसै पनि चोर्न हामी यति अभ्यस्त भइसकेका थियौँ कि बिहान उठेर पश्चात्ताप गर्ने दिन गइसकेका थिए । निश्चिन्त, दूध लिन म लड्डु अंकलको दोकानतिर लागेँ । पानी परेपछिको बिहान त्यसै मोहक हुन्छ, म फुरुङ्ङ हँुदै दीपेन्द्र स्कुलको ग्यारेजनिर मात्र के पुगेकी थिएँ– अचानक, कराउँदै इन्दु दिदीका बुवा कदमका रूखमुनि देखिए ।
‘किसने हमारे बगिचेसे फूल चुराए, हम उनके हाथ–पैर एक कर देंगे!’ मेरो मुटु ढक्क फुलेर आयो । वरिपरि मबाहेक कोही थिएन । हुन पनि बगैँचा विरूपै भएको रहेछ । छेउमा बडेमानको बुढो गुलमोहरको रूख थियो, बिस्तारै म रूखपछाडि गएर छलिएँ । केही फूलका बोटहरू भाग्दाभाग्दै बाटोमै खसेका रहेछन् । ‘उस चोरकी अब खैरियत नही!’ बोट समेट्दै बुढा भन्दै थिए । मेरा हात–गोडा चिसा भए । दूध–सुध बिर्सिएर म थपक्क घर फर्किएँ । मामु भान्सामा हुनुहुन्थ्यो, छलिएर पछाडिको बगैँचामा पुगेँ र राति सारेका फूल उखेल्न थालेँ । उखेलिसकेपछि ती फूललाई रहरको दालका बोटमुनि गाडिदिएँ ।
डरले मेरो आङ शीतांग भएको थियो । केही नबोली मामुको छेउमा गएर बसेँ । दूध खोइ भनेर मामुले सोध्नुभयो, ‘मैले मसिनो स्वरमा भनेँ, ‘जरो आयो ।’साँच्चै मलाई केही दिनसम्म ज्वरो पनि आयो । त्यस रातपछि हाम्रो गँड्यौला–हन्टको परियोजना त्यसै तुहियो । तर, हिजोआज पनि झरी पर्दा ती अफिमका फूल चाँदनीमा नुहाएर आउँछन् र मलाई व्याकुल बनाउँछन् । साँच्चै मलाई केही दिनसम्म ज्वरो पनि आयो ।
मेरो बालहृदयमा तिनको सौन्दर्यले गहिरो आस्तिकताको बीज रोपिदियो । सायद त्यस रात त्यो दृश्य नदेखेको भए मलाई पुराणहरूमा अप्सराको सौन्दर्यको वर्णन सुन्दा शंका लाग्दो हो, तर मलाई थाहा थियो– यो जगत् अकल्पनीय सौन्दर्यले व्याप्त थियो । कहिलेकाहीँ स्वर्गको ढोका खुलेको वेला सो सौन्दर्यले आफ्नो दर्शन दिन्छ । मेरा लागि त्यो द्वार अक्सर पानी परेपछिको बिहान खुल्छ ।