समाजवाद : अस्थायी चौतारी

स्वनाम साथी स्वनाम साथी
शुक्रबार, १ चैत, २०७५
डिजिटल संस्करण

मेरो भन्नु छ

मित्र प्रचण्डजी, यो कम्युनिस्ट सरकार हो भने दीन-दुःखी गरिबका पक्षमा थोरै भए पनि काम गरिदिनू 

प्रचण्डजी कम्युनिस्ट आन्दोलनमा सबैभन्दा चतुर मान्छे हुनुहुन्छ । उहाँलाई एउटै मात्र प्रश्न सोध्नु छ मेरो, ‘तपाईंले अर्को बाटो देख्नु भएन ?’ अन्य विकल्प पनि थिए । रुस र चीनबाट राम्रा पक्ष सिक्न सक्छौँ । भारत र चीनसँग मिलेर अघि बढ्न सक्छौँ । त्यो बाटो किन पहिल्याउनु भएन ? राज्यसत्ता अहिले नै पल्टाउन नसकिए पनि केही राम्रा काम भने गर्न सक्थ्यौँ । तर, किन गर्नु भएन ? 

कम्युनिस्टको सरकार हो भने दीन–दुःखी गरिबका पक्षमा थोरै भए पनि काम गरिदिनु । २० लाख नेपाली खुला आकाशमुनि जीवन बिताइरहेका छन् । तीन लाख रुपैयाँमै एउटा घर बन्छ । दुईतिहाइको सरकारले घरबारविहीनको समस्या तत्काल समाधान गर्न सक्छ । तर, किन नगरेको ? 

हामीले तरकारीसँग दैनिक विष खाइरहेका छौँ । यो बन्द गरिदिनुस् । पहाडमा आधा जमिन बाँझो छ । त्यहाँ अर्गानिक खाना फल्ने वातावरण बनाइदिनुस् । घोषणापत्रमा लेखेका योजना पूरा गर्नुस् । शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुस् । पाकिस्तानमा इमरान खानले आठ करोड मानिसलाई निःशुल्क स्वास्थ्य सेवा दिन सक्छ भने नेपालमा किन नसकेको ? बलात्कार रोक्नुस् । बलात्कारीलाई तुरुन्त सजाय दिनुस् । 

मानव समाजको विकास चरणबद्ध हुन्छ र साम्यवादमा पुगेपछि मानिसलाई चाहिने सामान फालाफाल हुन्छ भन्ने दुईवटा भ्रान्ती छ । यो ठीक होइन । यी दुईवटा सिद्धान्त अब काम लाग्दैन । अस्ट्रेलिया, अमेरिका चरणबद्ध विकास नभई सीधै पुँजीवादी युगमा गयो । अफ्रिकाका कतिपय देशमा पनि त्यस्तै भयो । नेपालमा राई, लिम्बू, थारू र गुरुङले दास युग गुजार्नु परेन । ती समुदाय पृथ्वीनारायण शाहका पालादेखि सीधै सामन्तवादी युगमा पुगे । अहिले पुँजीवादको आधार बनाएर मात्रै समाजवादमा पुग्न सकिन्छ भन्ने कुरा नेताहरूले गरिरहेका छन्, यो तर्क युक्तिसंगत छैन ।

संविधानमा लेखिएको ‘समाजवाद उन्मुख’ यथार्थपरक छैन । उत्पादन व्यवस्थामा विकास नभई समाज अघि बढ्दैन भन्ने तर्क गलत छ । अहिले एटमबम बनाउने प्रविधि इन्टरनेटमा पाइन्छ । संसारका कुनै पनि प्रविधि इन्टरनेटबाट सिक्न सकिन्छ । सूचना र सेवा अहिले छेलोखेलो छ । 
०००
प्रचण्डजी मेरा साथी हुन् । उहाँको पुत्रको निधन हुँदा म भेट्न गएको थिएँ । उहाँले मेरो उपचारमा सहयोग गर्नु भएको छ । केपी ओलीजीसँग भेट नभएकोचाहिँ झन्डै चार वर्ष भयो । राष्ट्रपति विद्या भण्डारीसँग केही वर्षअघि बानेश्वरमा बस्दा भेट भइरहन्थ्यो । राजनीतिक परिस्थितिका बारेमा कुराकानी हुन्थ्यो । अहिले उहाँहरू निकै व्यस्त हुनुहुन्छ । उहाँहरूसँग भेट्ने इच्छा छ । 

आफूलाई मन परेको कुरा रहेन भने त्यसलाई गुमेको भन्न सकिन्छ । मलाई मन परेको कुरा भनेको यो समाज बदलियोस् भन्ने हो । सम्पत्तिको झगडा देख्न नपरोस् । अन्याय, अत्याचार थिचोमिचो देख्न नपरोस् । म त्यो समाज व्यवस्थाका लागि हिँडेको हुँ । म यसमा खुसी छु । म त्यागी मान्छे होइन । मैले केही पनि त्यागेको छैन । मन परेको कुरा छाड्नेलाई पो त्यागी भनिन्छ । यो बाटो छाडें भने मात्रै म त्यागी हुन्छु । म कुनै आस्थाका आधारमा आन्दोलनमा लागेको होइन । आस्था भनेको अन्धो कुरा हो । म जागरुक मान्छे हुँ । म भौतिकवादी हुँ । 

म कम्युनिस्ट आन्दोलनबाट अलग भएको छैन । म सबै कम्युनिस्ट पार्टीमा छु, तर कुनै पार्टीमा छैन । पछिल्लो पाँच वर्ष रोगका कारण संगठनात्मक जीवन बिताउन सकिनँ । मेरो उपचारका लागि जसजसले सहयोग गर्नुभयो म उहाँहरूप्रति अनुग्रहित छु । 

मलाई सार्वजनिक लाभको पदमा जाऊँ भन्ने कहिल्यै लागेन । मन्त्री, सांसद, राजदूत हुने चाहना कहिल्यै भएन । म केही पनि नहुनुमै खुसी छु । गाडी र बंगलाको कहिल्यै मोह भएन । मैले केही पनि गुमाएको छैन । मैले सम्पत्तिप्रतिको मोहचाहिँ गुमाएँ । मालिक हुने र नोकर हुने लोभ गुमाएँ । मसँग अलिकति बढी अहंकार थियो, त्यो गुमाएँ । क्रोध गुमाएँ, अझै अलिअलि बाँकी हुन सक्छ । अन्याय अत्याचारका विरुद्ध बोलेँ । आन्दोलनमा मैले कुनै उपद्रो काम गरेको छैन । योगदान पनि गरेको छैन, गुज्रेको हो मेरो समय । मेरा साथीहरूलाई भन्नु छ, माक्र्स र एंगेल्सको सिद्धान्तलाई ठीक ढंगले व्याख्या र प्रयोग गरौँ । समाजवाद अस्थायी चौतारी मात्रै हो । हामी धेरै पर
पुग्नु छ ।

कम्युनिस्ट नेता स्वनामसँग राजु स्याङ्तानले गरेको कुराकानीमा आधारित 

सम्पादकको रोजाइ

सुझावित समाचार