तमोर नदीको किनारैकिनार तीन दिन हिँडेर भेडेटार आइपुगियो । र, कसैले भन्यो, ‘धरान उः त्यही हो ।’ टलक्क टल्किएका टिनका छाना, झुरुम्म घरहरू । सबैजसो ढुंगामाटो र काठले बनेका । खुत्रुक्क धरान बजार झरियो । जता गयो उतै मान्छे, जता मान्छे उतै सुँगुर । मानौँ जति मान्छे, त्यति नै सुँगुर । सहर भनेको बाक्लै घर, बाक्लै मान्छे, बाक्लै सुँगुर पो रहेछ कि भन्ने लाग्यो मलाई ।
त्यसपछि फिलिम हेर्न गइयो । कतै ‘टकिङ मुभी’ भन्ने पढेको थिएँ । सोचेँ— तै तै मौकामा सुनिहालूँ न त फिलिमको टकिङ ! ‘सावनकी रात’ भन्ने हिन्दी फिलिम लागेको रहेछ । फिलिमको यति–गति, मेलो–मेसोको अत्तोपत्तो भएन । मलाई यति थाहा भयो— बिजुली बलेको छ झलमल्ल । राम्राराम्रा तरुनी–तन्नेरीहरू छन् । ती जिस्किन्छन्, मस्किन्छन्, नखरा पार्छन् । फिलिममा झमझम पानी परेको छ । झिलिमिलि बत्ती, राम्रा तरुनी–तन्नेरी, नखरे प्यार मुहब्बत, गाना–बजाना, झमझम पानी– बस्, यही हो मेरो पहिलो फिलिम !
जोगबनीबाट दरभंगासम्म रेल चढियो । घुम्तीमा रेलको झ्यालबाट यसो मुन्टो निकालेर हेरेँ । अहो, यो फलामे सर्प कति लामो हो ! अगाडि हे-यो अनन्त लामो छ । पछाडि हे¥यो अनन्त लामो छ । त्यत्रो अजिंगर दुईवटा फलामे डन्डीमाथि बेत्तोडले दौडिएको छ । छेउमा थिए सहयात्री गंगाप्रसाद उप्रेती । अताल्लिँदै मैले भनेँ, ‘हाव गंगाजी, आज मार्ने भए है !’
०००
मेरो गाउँ पाँचथरको सुभाङ । गाउँको पुछारमा तमोर नदी छ, पारिपट्टि आठराई । हाइस्कुल पढ्न पारि गएँ । आइए पनि त्यहीँ पढेँ । काठमाडौंमा नेपाल विद्यार्थी फेडेरेसन रहेछ । त्यसलाई फेडे भन्थे । २०२३ सालमा त्यही फेडेले आइए स्तरीय देशव्यापी निबन्ध प्रतियोगिताको आयोजना ग-यो । कक्षाको प्रतिस्पर्धामा जितेर गंगा र म छानियौँ । र, कलेजका तर्फबाट प्रतियोगितामा भाग लिन काठमाडौं आयौं । त्यो थियो मेरो पहिलो काठमाडौं यात्रा । दुर्घटनामा परी फेडेका एक पदाधिकारीको निधन भयो । र, उनीसँगै निबन्ध प्रतियोगिता पनि स्वर्गे भयो । जे होस्, फेडेको कृपा र आफ्नो खुबीले गर्दा काठमाडौं टेक्न पाइयो ।
त्यसअघि मेरो मनमा सहरको कुनै मूर्त चित्र थिएन । गाउँबाट झगडियाहरू नेपाल आउँथे । उः वेला काठमाडौंलाई नेपाल भनिन्थ्यो । नेपाल उर्पm राजाको गाउँ । सहर, त्यसको संरचना, जीवनशैली, भोजन संस्कृति र सम्बन्धबारे लद्दु शिक्षाले मलाई एकजात सिकाएको थिएन । नेपालमा दरबार छ, जहाँ अग्लो सिंहासनमा राजा बस्छ । शिरमा श्रीपेच लगाउँछ र देश चलाउँछ । राजा विष्णुको औतार हो । असामान्य र अद्भुत जीव । बस्, पढिजानेको जम्मा यत्ति थियो ।
गाउँमा छँदा मेरो जीवनका आदर्श पात्र दुईजना थिए— लाहुरे र मास्टर । बा नामी ज्योतिषी थिए । बा धुलौटो कोर्थे र धूलामा मानिसको भाग्य हेर्थे । अनि अलिकता दछिना र अछेता थाप्थे । बाको धन्दाबाट म आकर्षित भइनँ । मेरा आँखा त लाहुरेमा परेका थिए । छे महिने छुट्टीमा मलायाबाट आउने लाहुरे । नरिवलको तेल हालेर चिटिक्क कपाल कोर्ने, सर्टको गोजीमा झम्के रुमाल भिर्ने, रेडियो घन्काउँदै र बुट टल्काउँदै आउने छाँटको लाहुरे । म कल्पिन्थेँ— लाहुर जाने हो, रेडियो घन्काउँदै आउने हो, तरुनी फकाउने हो । तर, मेरो नाकले मलाई धोका दियो । मेरो दोस्रो आदर्श पात्र थियो मास्टर । पठित, सभ्य, इज्जतदार मास्टर । ज्ञानको उज्यालो बाँड्दै हिँड्ने लोकोपकारी मास्टर ।
त्यो सहर, त्यो फेसन २०२४ सालमा आइएको जाँच दिन काठमाडौं आएँ । बस्, सहरसँग बल्ल मेरो साँच्चीको जम्काभेट भयो । र, सहरमा मेरो विस्मय, दकस, धक र बिरानोपनको विचित्रको अनुभूति सुरु भयो । नयाँ सडक, भूगोलपार्क भन्ने सुनेको थिएँ । घुम्दै त्यतै पुगेँ । जुद्धशमशेरको सालिकछेउबाट उत्तरतिर हेर्छु त मेरी आमा ! आँखाले भ्याउन्जेल एउटै घर छ । पर कहाँकहाँ इन्द्रचोकसम्म ! म तीन छक् परेँ । गाँठ्ठे, एउटै मनुवाको घर कत्रो, कति लामो ! हैट्, बजिया कति धनी ! हैन, यो घर त राजाकै पो हो कि ! इतिहासमा भीमसेन थापाले बनाएको धरहराबारे पढेको थिएँ । कथाले तानेर हेर्न गएँ । फेदमा उभिएर मास्तिर हेरँ । त्यसको अथाह उचाइसामु आफ्नो अथाह निचाइ, अहो ! म त आप्mनै आँखामा धुलोको कणतुल्य देखिएँ । मलाई बडो लघुताभास भयो । मलाई धेरै दिनसम्म हीन भावनाले डसिरह्यो । फर्केर त्यहाँ जान मलाई आँट आएन ।
राजाको गाउँमा बाघे ट्याक्सी फाटफुट थिए, प्राइभेट कार फाटफुट । हरिया बस दुई–तीनवटा थिए । तरुनीहरू हिपटाइट लगाउँथे, तन्नेरीहरू मुरली प्यान्ट जख्थे । मासुमै लिपिक्क टाँसिने वस्त्र । तरुनीहरूका नितम्ब, वक्ष र उदरका यथार्थ स्वरूपहरू भसक्कै गोचर हुन्थे । अनि तन्नेरीहरूका नितम्ब, भाले अस्त्र, तिघ्रा र पिँडुलाको रूपाकृति.... हैट् !
हिपटाइटवालीबारे एउटा तालको किस्सा थियो । रुमाल भुइँमा खस्यो कि हिपटाइटको टिमिक्कले निहुरिएर टिप्नै दिँदैन । जसले टिपिदियो, ऊसँग हिपटाइटवालीको लभ शुरु हुने खतरा छ । हिपटाइटधारीहरू मलाई कथाका अप्सराजस्ता लाग्थे । आफू भने भर्खरै आदिम जंगलबाट निस्केर आएको पाखेजस्तो । तिनका छेउ पर्न मलाई दकस लाग्थ्यो । छोए दाग लाग्ने डर, रुमाल टिपदिए लभ पर्ने डर ! सहरको जे पनि मेरा लागि बिरानो थियो । भाषा बिरानो, वस्त्र बिरानो, भोजन बिरानो । रहसहन यावत् कुरा बिरानै–बिराना । सहरको त्यो बिरानो जंगलमा धन्न म हराइनँ ।
आइएको जाँच दिएपछि मलाई गाउँ फर्किन मन लागेन । फर्किए म मास्टर हुन्छु, बिहा गर्छु र उतै हराउँछु भन्ने लाग्यो । काठमाडौंमा मेरा केही कुटुम्बहरू थिए । सिटौला, थपलिया र सेडाईंहरू । ती किञ्चित् हुनेखाने थिए । पढाइमा राम्रो भएर होला ती मलाई माया गर्थे । तिनले मलाई शरण दिए । र, असन, इन्द्रचोकमा ट्युसन पढाउने धन्दा मिलाइदिए । मेरो ट्युसने धन्दा कठिन थियो । विद्यार्थीहरूको नेवारी म फुट्टी नबुझ्ने, मेरो झर्रो नेपाली तिनले बाह्र–पन्ध्र प्रतिशत बुझ्ने । तैपनि मैले कन्दै पढाइरहेँ । तिनले अरुचि मान्दै पढिरहे ।
आइएमा फस्र्ट डिभिजन ल्याउने मेरो धोको थियो । धोको त पूरा भएन, तर लब्धांकमा म देशभरिको पहिलो भएँ । र, त्रिचन्न्द्रको बिए कक्षामा मैले महेन्द्र रत्न छात्रवृत्ति पाएँ । मासिक रु. एक समय पन्चानब्बे । त्यो महेन्द्रीय छात्रवृत्तिले मेरो बिए उता-यो । समयको हुन्डरी, परिवेश र संगतले म लाल बन्न बेर लागेन । बस्, पढ्ने महेन्द्रीय छात्रवृत्तिको सहाराले, लुकिछिपी विरोध बोल्ने महेन्द्रीय निरंकुशताको । यो एक संयोग, एक विरोधाभास— जिन्दगीको यो एक अनौठो नाटकीयता !
तिनताका काठमाडौंमा केवल दुई ठाउँमा भिड हुन्थ्यो— असन र इन्द्रचोकमा । त्यो खचाखच भिडलाई चिर्दै दुई गगनचुम्बी मानव फुच्चे चिनियाँ साइकलमा हुइँकिन्थे । तारन्तार घण्टी बजाउँदै, कतै खुट्टा नटेकी । त्यो बिरानो भिडमा तिनलाई देख्दा मलाई मेरा पनि कोही छन् भन्ने लाग्थ्यो । ती दुई टप्पु थिए— अभिनारायण सुवेदी र वसन्त सिटौला । म अपलक तिनलाई हेर्थेँ । अरे, कसैलाइै धक्का देलान् कि ! अरे, मेरा मान्छे धोबी धुलाइमा पर्लान् कि ! अरे, अरे !
नयाँ सडकमा दुईवटा नामी ठाउँ थिए— पिपलबोट र भूगोलपार्क । ती नामी ठाउँमा साँझपख नामी कविहरू नित्य हाजिर हुन्थे । मोहन कोइराला र मदन रेग्मी, द्वारिका र उपेन्द्र श्रेष्ठ, भूपि र भवनी घिमिरे, अभि र वसन्त दाइ, आदि इत्यादि । साहित्यमा मेरो रस बसिसकेको थियो । म ‘कोही न कोही’ पनि त्यहाँ जान्थेँ । र, छेउमा उभिएर तिनका गफ सुन्थेँ । म तिनका बोली सुन्थेँ, कुरो बुझ्नु त्यत्तिकै हो । अभि दाइ त्यही वेलादेखिका मेरा साथी । एक दिन तिनले त्यो नामी झुन्डसँग म अनामको चिनारी गराइदिए । भने— यी मेरा भाइ । साहित्यका हाम्रा सहयात्री । बुद्धि तीखो छ । मिहिनेती छन् । यिनले केही गर्छन् । त्यो सुन्दा गाँठ्ठे, मेरो त नाक फुलेर घिरौँलोजत्रो भयो । सोच्छु— जीवनमा कति साना कुराको कति प्रेरणादायी प्रभाव पर्छ !
लाल पाठशालामा प्रवेश
म सहर झर्दा शाही पञ्चायतको जग्जगी थियो । पञ्चायतको पेटबाट मण्डले नामक एउटा तत्व जन्मेको थियो । त्यो मण्डले शासकीय वृत्तको खतरा बिम्ब थियो । उद्दण्ड, क्रूर र उन्मत्त । भुक्तभोगीहरू भन्थे— मण्डले कानुनभन्दा माथि छ । गर्नु नगर्नु गर्छ । कांग्रेस–कम्निस्टलाई कुट्छ । कीर्तिपुरको बसमा विद्यार्थी युवतीहरूका स्तन समात्छ । कोही केही भन्न सक्दैन । सब हेरेकाहे-यै । मलाई सुन्दैमा डर लागेर आउँथ्यो । हैट्, दानवी मण्डले ! त्रिचन्द्र कलेजमा लाल युवाको जमात थियो । ती चीनमुखी थिए । ती मुख मिठ्याउँदै ‘अध्यक्ष माओ’ भन्थे, ‘सांस्कृतिक क्रान्ति’ भन्थे । फेडे, ‘लेन्दुपे’ र मण्डलेसँग ती लड्थे । ती सुस्ता, महेशपुर र उत्तरी चेकपोस्टमाथि राजनीति गर्थे । ती इन्डोनेसियाको कम्निस्ट संहारको चर्को
विरोध गर्थे ।
चीनमा सांस्कृतिक क्रान्ति हुँदो छ । नेता माओ छन् । सानो भियतनाम अजंगको अमेरिकी साम्राज्यवादसँग लड्दो छ । नेता होचिमिन्ह छन् । नेपालको नाकैमुन्तिर नक्सली किसान विद्रोहको आगो दन्किँदो छ । नेता चारु र कानु छन् । मेरो सेरोफेरोको परिवेशमा आवेगको उद्वेलन छ । क्रान्तिको राप र ताप छ । म जे बनेँ, लाग्छ— यही उद्वेलन र राप–तापले मलाई त्यो बन्न प्रेरित ग¥यो ।
सहर झरेर के बिराए“ ?
प्रकृति र पर्यावरण तथा जलवायु र खाद्यान्नको स्वच्छता र स्वस्थता दृष्टिले गाउँ कता कता राम्रो । तर, पढ्न पुस्तकालय चाहियो । गम्न वातावरण चाहियो । लेख्न संगत चाहियो । छाप्न प्रेस चाहियो । संवेदनामा तीक्ष्णता भर्न कालिदास, सेक्सपियर आदि चाहियो । निमेष–निमेषमा जगत् विचरण गर्न इन्टरनेट चाहियो । र, नै म सहर आएँ । बीचमा डेढ दशकजति गाउँमा बसेँ ।
फेरि घुमिफिरी उही सहर आएँ । तैपनि सम्झनामा गाउँ नित्य आइरहन्छ । जन्मँदा टेकेको माटो, सास फेरेको वायु, हिँड्न सिकेको बाटो, जन्म र कर्मदाता मातापिता, आफन्त र शुभचिन्तक, बन्धुबान्धव र कुलकुुटुम्ब, लगौँटिया र प्रेमी, चौतारी र देउराली— म जहाँ जाउँ, ती सब मसँगै हुन्छन् । नित्य, अविच्छिन्न, सदैव । तर, सहरमा नबसी मलाई धरै छैन । पठन, संगत र साधनाले मलाई यहीँ बाँधेर राखेका छन् ।
के सहर झरेर मैले बिराएँ ? त्यस्तो लाग्दैन । लोकहितका लागि जीवनमा मैले जे गरेँ, अथवा कमसेकम मैले जे गर्ने यत्न गरेँ, त्यसका लागि सहर धन्य छ । अनि गाउँ ? प्रत्यक्ष र नित्य सम्पर्कबाट गाउँ छुट्यो । यसमा मलाई किञ्चित्् विषाद र अवसाद छ । तर, सोच्छु— आखिर जीवन यस्तै त हो । केही पाउन केही गुमाउनुपर्ने । कहीँ हुन कहीँ नुहुन पर्ने ।
सहरले मलाई सबैथोक दियो । शरण दियो । सूचना दियो । ज्ञान दियो । संगत दियो । साधनाको परिवेश दियो । संघर्षका घर्षणदायी सन्दर्भहरू दियो । पहिचानको निर्माण गरिदियो । यति ठूलो गुनको पैँचो तिर्न सहरलाई मैले के दिएँ ? त्यस्तो उल्लेख्य केही नै दिइनँ । सायद सहर मलाई कृतघ्न भन्दो हो ।म सहर बुझ्दिनँ । जसले सहर बुझेकै छैन, त्यसले सहरलाई के दिन्छ ? यतिका वर्ष बसिसकेँ, तैपनि सहर मलाई अझै बिरानो लाग्छ । सहरमा घर बाक्लै, तर एक्लाएक्लै । सहरमा मानिस बाक्लै, तर एक्लाएक्लै । र, यो कोलाहलमय सघनतामा म आपूm पनि एक्लै । बस्ती बाक्लो हुनु, तर सम्बन्ध पातलो हुनु । सहरको यो कस्तो क्लेशकारक विरोधाभास !
बुढो हुँदै जाँदा लाग्छ— सपना देख्ने ग्रन्थिहरू पनि बूढा हुन्छन् । अचेल म हम्मेसी सपनै देख्दिनँ । देखिहाले पनि सम्झना हुँदैन । शायद यो मस्तिष्कको थकानको लक्षण हो । अथवा तेरा उर्वरशील दिन सकिए भन्ने जनाउ हो यो । तत्कालका घटना तत्काल बिर्सिनु र पुराना सम्झना जीवन्त रहनु वृद्धताको अर्को लक्षण हो सायद । गाउँ सधैँ मेरो लेखनीका कथ्यहरूको अजस्र मुहान हो । गाउँ मेरो भाषा, मेरो स्मृति–शृंखला, मेरो व्यक्तित्वको भ्रूण र मेरा यावत् कथ्यहरूको ममतामयी निर्माता हो । जीवनको खाँचोले, रहरले, लहडले वा लौकिक नियतिले मलाई गाउँबाट सहरतिर हुत्यायो । म यहीँ भौँतारिएँ, र जन्म दिने गाउँको दृष्टिमा म यतै हराएँ ।
गाउँ मौन भावले सोध्छ मलाई— तैँले आफ्नो जन्मदातालाई के दिइस् ? मसँग जवाफ छैन । छ त मसँग केवल केही विषाद, केही अवसाद !सहर झरेको ५ दशक बित्दा म जम्मा तीनपटक गाउँ पुगेँ । ३१ सालमा, ५१ सालमा र ६४ सालमा । मन्त्री भएर गाउँ नगएकोमा मसँग चित्त दुखाउने कतिपय बूढापाका आफन्त अझैँ जीवित छन् । म तिनलाई के भनूँ ? म त आफ्नै गाउँका लागि बिरानो भइसकेँ !