शिव रेग्मी (१९९८–२०७५) को जीवनयात्रा फागुन ८ गते समाप्त भएको समाचारले साहित्यमा संलग्न भएका र नभएका मानिसहरू दुःखित भयौँ । तिनको मृत्युको समाचार दिँदा श्रव्य र दृश्य मिडियाले साहित्य र संकलन भन्ने दुईवटा शब्दको सर्वाधिक प्रयोग गरे । शिव रेग्मीसँग व्यक्तिगत रूपमा म धेरै सम्पर्कमा नभएको मानिस । मैले मित्रताको नाममा उनीबारे लेख्ने संस्मरण छैनन् । तर, उनीसँग राम्रो पहिचान भएको र उनले गरेका कामको विषयमा अन्तरंग छलफल गरेको भने सम्झना छन् ।
संवत् २०२७ सालतिर मैले ‘बारुद सुकाउने सूर्य’ शीर्षकको रेडियो नाटक लेखेको थिएँ जुन रेडियोमा तुलसी दिवस दाइ, पद्मकन्या कलेजकी अर्थशास्त्रकी निर्मला रेग्मी, संगीतकार सुश्री लोहनीले खेलेका थियौँ । त्यो कुनै पत्रिकामा छापिएको थियो । त्यस्तै २०२० सालमा बालकृष्ण समसँग पहिलो भेट गर्दा एउटा आइए पढ्ने युवकको उत्तेजना र चाखले गरेको अन्तर्वार्ता ‘समज्यूसँग एक बिहान’ शीर्षकमा ‘बिहान’ भन्ने पत्रिकामा छापिएको थियो । ती दुवै पाठ देख्न पाउने मेरो कुनै आशा थिएन ।
एक दिन शिव रेग्मीको संकलनबाट भेटिए भनेर स्व. सूर्य सुवेदीले ल्याइदिएपछि म पुलकित भएको थिएँ । त्यस्तै तारिणीप्रसाद कोइरालाका कविताको संकलन (२०७१) मैले भूमिका लेख्ने सर्तमा शिव रेग्मीले दिएका रहेछन् । मैले भूमिकाको आरम्भमा नै यसरी लेखेँ, ‘तारिणीप्रसाद कोइरालाका कवितामा उनको जीवनका सिर्जनात्मक दृष्टि र भावगत आयामहरूको इन्द्रेणी देख्न सकिन्छ । अध्येता र विद्वान् शिव रेग्मीले संकलन प्रकाशनका निम्ति भेला पारेका यी कविता पढ्न पठाइदिएपछि मलाई यो अवसर प्राप्त भएको हो ।’ सौम्य, सबैको कल्याण होस् भन्ने भावना झल्किने आँखा, स्मित हास्य, परिष्कृत भाष्य, अनि मिलनसार शिव रेग्मीस“ग साहित्य र संकलन मात्र होइन, उनले भेटेका लेखकहरूका स्वभाव र घटनाबारे पटक–पटक सुनेका र वार्ता गरेका स्मृति आए ।
म साहित्यिक आर्काइभबारे धेरै चाख राख्ने मानिस भएकाले शिव रेग्मीको अभियानलाई एउटा महायात्रा वा ‘ओडिसी’ भन्थेँ । उनको विषय र उनको संकलनको विषयमा लेख्ने कुरा मलाई चुनौतीजस्तै आयो । म उनका मित्र अनि साहित्यिक संस्कार र संस्कृतिलाई ‘रचना’ साहित्यिक पत्रिका चलाएर निर्माण गरिआएका (पछिल्लो वर्ष ५८ अंक १५८ निस्केको छ) र अहिलेको समयमा मैले खासै भेट्न नपाएका लेखक रोचक घिमिरेलाई भेट्न गहनापोखरी पुगेँ । ‘रचना’मा पूर्णांक ७९ वैशाख–जेठ २०६१ देखि अहिलेको अंकसम्म नियमित ‘बसिबिया“लो’ स्तम्भ लेखिआएका शिव रेग्मी रोचक घिमिरेका ठूला मित्र थिए भन्ने मैले थाहा पाएको थिएँ । शिव रेग्मीबारे रोचक घिमिरेले भनेको एउट समाचारले मलाई छोएको थियो । तिनले भनेका छन्, ‘रेग्मीले संकलन गरेका सामग्री अमूल्य भएकाले नेपाल प्रज्ञा प्रतिष्ठानले संरक्षण गरेर राख्नुपर्ने र त्यसो गर्न सके अमूल्य सम्पत्ति संरक्षण हुने र आउने पुस्ताले लाभ लिन सक्नेछन् (नयाँ पत्रिका, १० फागुन) ।’
रोचक घिमिरेकै विषयमा मेरा आफ्ना सैद्धान्तिक र समालोचकीय धारणा छन् । मैले लेखेको छु, ‘आज बाहिरी शक्तिवृत्त वा अर्जुन अप्पादुराई र अरू विद्वान्हरूले भनेजस्तो ‘सेलुलर’ शक्तिवृत्तको रचना गर्ने र स्थापित शक्तिहरू जस्तो प्रशासन र शक्तिकेन्द्रहरूको प्रभावभन्दा भिन्न सिर्जनात्मक शक्तिको रचना गर्नुपर्छ भन्ने विचार बलियो भएको छ । कहीँकतै सम्झौता नगरी नेपाली इतिहासका चुनौतीपूर्ण कालखण्डमा यस्तै सिद्धान्तलाई लिएर काम गर्ने ‘रचना’ पत्रिका र यसका सम्पादक, प्रकाशक र सहयोगी साहित्यकारहरूको यो आधी शताब्दी नेपाली साहित्यको इतिहासमा एक महत्वपूर्ण युग हो ।’ रोचक घिमिरेको ‘रचना’को अहिले पनि नियमित पाठक हुन पाउनुले मलाई एउटा युगको सम्झना गराउँछ (कान्तिपुर असार १२, २०७४) ।’
रोचक घिमिरेले मलाई एउटा ठूलो कम्पाउन्डको गेट खोलेर भित्र लगे । परैसम्म एउटा ‘टिरेस’को फराकिलो बाटो, अनि दुवैतिर नयाँ र पुराना घरहरू बनिएको यो थलोको दाहिनेपट्टिको घर रोचक घिमिरेको रहेछ । तीन तलामाथिको बैठक कोठाको भित्तामा साहित्यकार र पुर्खाका फोटाहरू टाँगिएका थिए जसमा कवि लक्ष्मीप्रसाद देवकोटाले जाडोयाममा छोटा दौरासुरुवालमाथि न्यानो देखिने कोट लाएर कविता पाठ गरेको फोटो थियो जुन रोचक घिमिरेको आफ्नो विशेष संकलनभित्र पर्छ । यतापट्टि टेबलमा उनले चाङ लगाएका किताबहरू देखाएर भने, ‘यिनै हुन् शिव रेग्मीले लेखेका र सम्पादन गरेका किताबहरू ।’ उनले मेरा निम्ति भनेर एउटा पातोमा ‘शिव रेग्मीका कृतिहरू’ पत्रपत्रिकाहरूको लिस्ट टिपेका रहेछन् । त्यसमा उनले लेखेका छन्, ‘खोजमूलक अध्ययन अनुसन्धानमा समर्पित जीवन, नेपाली भाषाका दुर्लभ साहित्यिक पत्रिका र पुस्तकका संग्रहकर्ता थिए शिव रेग्मी ।’ त्यसमा थप नोट गरेर रोचक घिमिरेले भनेका छन्, ‘शिव रेग्मी प्राथमिक र माध्यमिककालीन नेपाली साहित्यका अन्वेषक, अनि ओझेलमा परेका स्रष्टा, बिर्सिएका साहित्यिक घटना र महत्वपूर्ण वृत्तान्तहरू प्रकाशमा ल्याउन तल्लीन थिए ।’
साहित्यिक पत्रिका र किताबको संकलन भन्ने शब्दले मलाई किताबसँग जोडिएका एकाध कुराहरूको सम्झना गरायो । नेपालमा यस्ता संकलन सम्पन्न वर्गका मानिसले गर्दै आएको कथा छ । केशरशमशेर राणा, राणाकालका राजगुरु हेमराज पाण्डे, अनि हाम्रा नजिक, तर राणा घर परिवेशसँग जोडिएका कमल दीक्षितका नाम विशेषगरी यहाँ आउँछन् । उनीहरू किताबप्रेमी र किताब, पत्रिकाका संकलक भएका कारणले तिनमा प्रकाशित रचनाका पनि कुनै न कुनै रूपमा पाठक थिए होला भन्न सकिन्छ ।
हेमराज पाण्डे र कमल दीक्षितको कुरै भएन । केशरशमशेरको विषयमा थाहा भएन । तर, ती किताब र विषय चिन्थे भन्ने कुरा तिनका संकलनबाट केही अनुमान गर्न सकिन्छ । डिल्लीरमण रेग्मी र हृषिकेश शाह संकलक र पाठक दुवै थिए । तर, तिनका संकलन पुस्तकालय भएका होइनन् । हृषिकेश शाहको संकलनबारे मैले केही थाहा पाएको हु“ र देखेको हु“, तर डिल्लीरमण रेग्मीको संकलन अहिले आएर पुस्तकालयमा परिणत भएको छ । त्यति व्यवस्थित छैन जस्तो मेरो प्रभाव छ । शाहको विषयमा थाहा भएन । साधारण जीवनयापन गर्ने, गाँठ नभएका संकलकहरूलाई म अत्यन्त प्रशंसा गर्छु ।
त्यस वर्गमा पर्ने विराटनगरका विपिनदेव ढुंगेल, शिव रेग्मी र अच्युतरमण अधिकारी हुन् । ढुंगेलले राजालाई राख्ने ठाउँ भएन, किन्न लगाइदिनुप-यो भनेपछि सात लाखमा सरकारले किनेर केन्द्रीय पुस्तकालयमा उनको संकलन राखिदियो । यो कुरा शिव रेग्मीले देवेन्द्र भट्टराईसँगको अन्तर्वार्तामा भनेका छन् । अच्युतरमण अधिकारीले ‘उन्नयन’ पत्रिका अनेकौँ महत्वपूर्ण विशेषांकहरूसहित प्रकाशित गरी अहिले आफना संकलन र घरै छाडेर–बेचेर अमेरिका गएको कुरा पनि सम्झिनुपर्छ । किताब व्यापारी पनि संकलक र दृष्टि भएका हुन्छन् भन्ने कुरा रत्न पुस्तकका स्व. शिव श्रेष्ठ थिए । तिनको किताब, पत्रपत्रिकाको (योचाहिँ थोरै) संकलन धेरै राम्रो थियो, जुन मैले राम्ररी देखेको थिए“ । तर, तिनको उद्देश्य त्यो संकलन बिक्री गर्नु नै थियो । शिव रेग्मीको संकलन बेच्नका निम्ति थिएन । तिनले एउटा सबै अनुसन्धाताले पढून् भनेर तयार गरेको संकलन हो जसमा नेपाली साहित्य प्रमुख विषय छ ।
रोचक घिमिरेका भनाइमा त्यो मूलतः मध्ययुगीन साहित्यको बलियो संकलन हो । त्यसैले शिव रेग्मीको संकलन नेपाली साहित्यका अध्येता र विद्यार्थीहरूले प्रयोग गरे । प्रयोग गर्नेहरूले उनको नाम पनि नलिएर प्रयोग गरेका कुराले भने उनलाई स्वाभाविक रूपमा चित्त दुख्थ्यो जुन कुरा मैले उनको नजिकका मानिसहरूबाट थाहा पाएको हुँ । आफूले सम्पादन गरेको ‘सिर्जना र दृष्टिकोण’ (२०७१) मा सम्पादक सूर्य सुवेदीले शिव रेग्मीसँगको अन्तर्वार्तापछि लेखेका छन्, ‘शिव रेग्मीफ्याँकिएका पुराना गोरखापत्रदेखि मिल्किएका पुराना साहित्यिक पत्रपत्रिकाबाट हराएका र बिर्सिएका कवि–लेखकका कृतिहरू खोज्न र तिनीहरूको प्रकाशन गर्न–गराउन मद्दत गरेर थुप्रै पुराना लेखक–कविहरूलाई पुनर्जीवित गराउने काममा व्यस्त हुुनुहुन्छ ।’ (पृष्ठ ५५५) । शिव रेग्मीको चिन्ता पत्रपत्रिका र किताबको रक्षा साथै तिनको प्रयोग हुन सक्ने वातावरण बनाउनुपर्छ भन्ने कुरामा अडिएको थियो । ‘स्रष्टा र समय’ (२०६२) मा देवेन्द्र भट्टराईस“गको अन्तर्वार्तामा शिव रेग्मीले भनेका छन्, ‘मजस्तै पुस्तकको दुर्दशामा चिन्तित हुने यहाँ थुप्रै छन् । तर, यी अमूल्य सम्पत्तिको सुरक्षा गर्ने कसले ?’ उनले तीनकुनेको खाली जमिनमा सरकारले राष्ट्रिय पुस्तकालय बनाएर सुरक्षा हुन नसकेका पुस्तक, पत्रिका अभिलेखको संग्रह राख्नुपर्ने सुझाब दिएका छन् । खासै योजनाविना आधुनिक हुँदै गएको सहरको एउटा अनिर्णीत व्यस्त भागको खाली स्पेसमा साहित्यको आर्काइभको सपना देख्ने शिव रेग्मीको दृष्टि बिचौलिया र ठेकेदार अनि ठाउँ खोजीखोजी महलहरू बनाउनेहरूको वेगमा कहाँनेर समावेश हुन सक्छ, विचारणीय छ ।
शिव रेग्मीको जीवनी अनि उनले अन्तर्जातीय विवाह गरेर पाएका अनुभूति अनि उनको नितान्त काठमाडौंको जन्म, शिक्षा र दीक्षाबारे पत्रिकाहरूमा लेखिएका छन् । म यहाँ शिव रेग्मी एक समीक्षक र अनुसन्धानका मर्मज्ञ विश्लेषक पनि थिए भन्ने कुरा उल्लेख मात्र गर्न चाहन्छु । उनले ‘नेपाली कविताको भूमिकै भूमिका’ (२०५९) मा मोतीराम भट्टदेखि पछि ‘पच्चीस वर्षका नेपाली कविता’ (२०३९) सम्म र अझ यतासम्मका लेख समावेश गरेका छन् जसको आधार ऐतिहासिक छ । रेग्मीको समालोचकीय दृष्टि ‘भूपि शेरचनका कविता’ (२०५७) को भूमिकामा राम्ररी देखिन्छ । उनले भूपिका कवितालाई ‘विकीर्ण फूलहरु ’ भनेका छन् । उनको विचारमा भूपि स्वच्छन्दतावादी प्रगतिवादी धाराका सबल कवि हुन् । यी दुई धारबाट भूपिका कविता हेर्ने रेग्मीको दृष्टि आफ्नै किसिमले अर्थपूर्ण छ । उनको ‘खोजी–नीति’ (२०६९) लेखसंग्रहमा झर्रोवादीको पत्रिका ‘नौलो पाइलो’को कथा छ ।
यो पत्रिकाले मेरा रोमकुपहरू रोमाञ्चित हुन्छन् किनभने यसमा मैले ११ वर्षको उमेरमा लेखेको पहिलो कविता २०१३ सालमा प्रकाशित छ । यही किताबमा रेग्मीले ‘स्वास्नीमान्छे’ भन्ने शशीकला शर्माको पत्रिकाको इतिहास दिएका छन् । साथै, यसमा इलाम, पाल्पा, विराटनगर, पोखरा, देहरादुनका साहित्यिक गतिविधिका प्रसंग छन् । मोफसलको पहिलो पत्रिका ‘सेवा’ हो भन्ने उनको भनाइ छ । यही किताबमा मेरो निम्ति अर्को खुसी हुने लेख छ । शिव रेग्मीले मैले २०२७ र २०२८ मा सम्पादन गरेको पत्रिका ‘धूपी’का २ अंकको वर्णन गरेका छन् ।
म साहित्यिक आर्काइभबारे धेरै चाख राख्ने मानिस भएकाले शिव रेग्मीको अभियानलाई एउटा महायात्रा वा ‘ओडिसी’ भन्थेँ ।
नेपाली साहित्यका महत्वपूर्ण पत्रिकाहरू ‘प्रगति’, ‘धरती’, ‘माधवी’, ‘चन्द्रिका’, ‘इन्दु’ पत्रिकाका ऐतिहासिक परिचय छन् । त्यस्तै ‘खोजीमेली’ (२०७३) भन्ने उनको किताब ‘भर्खरै दिवंगत भएकी उनकी पत्नी ज्वाला रेग्मीको स्मृतिमा’ भनेर समर्पण गरेका छन् । पत्नीको मृत्युले उनको जीवन अर्कै मोडमा पुग्यो । उनको आर्काइभबाहेक शिव रेग्मीका १३ वटाभन्दा पनि बढी सम्पादन गरेका र लेखका संकलन गरिएका किताबको नेपाली साहित्य र मिडियाका विद्यार्थीले प्रयोग गरिआएका छन् । म सबै किताबको विषयमा यहा“ छलफल गर्न सक्तिनँ । तर, प्रेस काउन्सिलले प्रकाशित गरेको १९६५ देखि २०६४ सम्म अथवा १०० वर्षमा निस्केका पत्रिकाको ‘कोश’, नेपाली साहित्यिक पत्रपत्रिका (२०६५) मा रोचक घिमिरेको भनाइअनुसार, शिव रेग्मीले केही भूमिका लेखेनन् । उनलाई त्यसमा केही कुरा मन परेको थिएन । तर, त्यो कोश देख्दा शिव रेग्मीले ठूलो मद्दत गरेका थिए भन्ने देखिन्छ । तर, यो सहरको योजनाको अपरिभाषित, अघोषित, अनेकौँ कम्पनी र दलालीका नजर परेका थलोहरूमा एउटा संकलकको दृष्टि पर्नुले हामी सांस्कृतिक सम्पदा र आर्काइभका विचार राख्नेहरूको एउटा आवाज क्षीण हु“दै गएको विडम्बनालाई संकेत गर्छ । त्यसो त यहा“ किताब र पत्रिकाको आर्काइभ बनाउन ठाउँका अभाव छैनन् । दरबार छन्, तर चेतना र चिन्ता अनि संस्कार र शिक्षाको स्तरको कुरा मुख्य हो ।
शिव रेग्मीले महल र दरबारहरूबाट साहित्यिक आर्काइभ भेटेनन् । तिनको संकलन गर्ने पद्धतिको मूल आधार उनको दृष्टि र चाख हो । रोचक घिमिरेको भनाइमा तिनले हरेक पत्रिका र किताब प्रयोग गर्नेलाई सजिलो हुने गरी मिलाएर राखेका छन् । जुन वेला चाहियो, त्यो सामग्री सजिलै उनी दिन सक्थे । शिव रेग्मीको आर्काइभ गर्ने अभ्यास नै एकल व्यक्तिको महायात्रा वा ओडिसी थियो । ती त्यही निष्काम यात्रामा लागिरहन्थे । मानिसहरूले उनीबाट सहयोग पाइरहन्थे । आज यति धेरै वर्षपछि यतिका पुस्तकालयहरू भए पनि सहज रूपमा नेपाली साहित्यका सामग्री पाउने कुनै आर्काइभ नभएको कुरा बुझिनसक्नु छ ।
शिव रेग्मीको निष्काम संकलन सेवा एउटा महायात्रा थियो । यो राजनीतिक रूपले निस्पृह कर्म थियो, तर रेग्मीको संलनको महायात्रापछि एउटा चेतनाको यात्रा जोडिएको थियो जसलाई हामी प्रजातान्त्रिक चेतना भन्छौँ । फ्रान्सेली दार्शनिक जाक डेरिडाले ‘आर्काइभ ज्वरो’ (सन् १९९४) भन्ने आफ्नो सानो किताबमा यो विषयको जुन छलफल गरेका छन्, त्यो मलाई अत्यन्त मन पर्छ । फ्रायडेली विचारका अन्तर्यको विषयमा लेखिएको यो किताबको सारको रूपमा उनले भनेका छन्, ‘हामी आर्काइभमा सहभागी भएका छौँ कि छैनौँ, वा हामीले आर्काइभको प्रयोग गरेका छौँ कि छैनाैँ, यसको नैरन्तर्य कायम राखेका छौँ कि छैनौँ हेरेर अनि यसको व्याख्या गरेका छौँ कि छैनौँ भन्ने थाहा पाएर मात्र हामी आपूmले अनुभूत गरेको प्रजातन्त्रको प्रभावकारितालाई नाप्न सक्छौँ ।’
नेपालमा साहित्यिक किताब र पत्रिकाको आर्काइभको सोझो सम्बन्ध प्रजातन्त्रसँग देखिएको छैन किनभने यहाँका किताब र पत्रिकाका आर्काइभहरू सामन्तकालीन शासक र तिनका दरबारिया विद्वान्हरूले रचना गरेका थिए । प्रजातन्त्र आएपछिका सरकारहरूले किताब र पत्रिकाको आर्काइभ स्थापनालाई जति प्राथमिकता दिनुपथ्र्यो, त्यति दिएका उदाहरण छैनन् । त्यसैले शिव रेग्मीजस्ता व्यक्ति र एकल अभियन्ताको यो संकलनको महायात्राको अनि त्यसको प्रयोग अरूले गरून् भन्ने उनको चाहनालाई जाक डेरिडाले भने जस्तै एउटा बलियो प्रजातान्त्रिक चिन्ताका रूपमा हेर्न सकिन्छ भन्ने मेरो धारणा छ ।