पाँचौँ स्मृति दिवस : स्वनामलाई किन सम्झिने ?

गिरिराजमणि पोखरेल गिरिराजमणि पोखरेल
शनिबार, २० पुष, २०८१
डिजिटल संस्करण

स्वनाम साथीले बनाउन खोजेको ‘कम्युनिस्ट’ प्रश्न गर्ने मान्छे थियो, चाटुकारिता गर्ने होइन ।

नेपाको कम्युनिस्ट अन्दोलनमा तथा सम्पूर्ण राजनीतिक वृत्तमा नै जीवन र व्यवहार दुवै पक्षबाट अत्यन्तै प्रेरणादायी र निष्ठावान् व्यक्तित्वमध्ये शीर्ष स्थानका एक व्यक्ति स्वनाम साथी हुनुहुन्थ्यो । स्वनाम साथीले सम्पूर्ण जीवनमार्फत भुइँमान्छेका पक्षमा निरन्तर आवाज उठाउनुभयो र अधिकारका खातिर संघर्ष गरिरहनुभयो । उहाँ एउटा अत्यन्तै विराट व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका अनेकौँ अनुपम आयाम छन् । केही खास आयाम वा विशेषता थिए, जसलाई सम्पूर्ण नेपाली जगत्ले थाहा पाउनुपर्ने र त्यसबाट केही सिक्नुपर्नेछ । विशेषगरी, स्वनाम साथी व्यक्तित्व र विशेषताबाट नेपाली कम्युनिस्ट आन्दोलनले धेरै कुरा सिक्नुपर्ने देखिन्छ ।

स्वनाम साथीको सबैभन्दा ठूलो विशेषता भनेकै उहाँ सम्पूर्ण रूपमा जीवनको अन्तिमसम्म पनि कम्युनिस्ट आन्दोनमा समर्पित र संगठित व्यक्ति हुनुहुन्थ्यो । अहिलेको समयमा सिद्धान्त र व्यवहारमा तालमेल नभएका कैयौँ कम्युनिस्टहरूलाई हामीले देखेका छौँ, तर उहाँको जीवनशैली र सिद्धान्तमा तात्विक भिन्नता थिएन । उहाँले आफ्नो जीवनशैलीलाई भुइँमान्छेहरूको जीवनशैलीभन्दा भिन्न बनाउनुभएको थिएन । साथै, उहाँ जीवनपर्यन्त संगठित रहनुभयो । अरूलाई पनि संगठित हुनलाई नै प्रोत्साहन गरिरहनुभयो । उहाँको यो विशेषता सबैभन्दा प्रमुख र महत्वपूर्ण छ । जसलाई हामी सबैले सिक्ने र आफ्नो जीवन व्यवहारमा आत्मसात् गर्नुपर्ने देखिन्छ ।

मार्क्सवादीहरू भनेका निजी सम्पत्तिका विरोधी हुन् । उनीहरूको मुख्य संघर्ष नै निजी सम्पत्तिको उन्मूलनको दिशामा हुन्छ । तर, अधिकांश नेताहरू निजी सम्पत्तिविरुद्धको संघर्षमा सक्रिय रहँदारहँदै सबैभन्दा बढी निजी सम्पत्तिको संग्रह गर्ने लाइनमा दौडिरहेको देखिन्छ । तर, स्वनाम साथी नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा यस्तो अपवाद हुनुहुन्यो, जसले पूर्ण रूपमा निजी सम्पत्तिको मोहलाई त्याग्नुभएको थियो । भएको निजी सम्पत्तिलाई पनि सर्वहारा जनताको सहयोगमा खर्च गरेर भौतिक रूपमा नै निजी सम्पत्तिविहीनको अवस्थामा पुग्नुभएको थियो ।

वास्तवमा स्वनाम साथी निजी सम्पत्तिजन्य ग्रन्थीबाट मुक्त भएको व्यक्ति हुनुहुन्थ्यो । जसले गर्दा नै उहाँलाई जीवन–व्यवहार र सिद्धान्त दुवै पक्षबाट सच्चा कम्युनिस्ट भइरहन मद्दत मिल्यो । उहाँको हामीले सिक्नैपर्ने र आत्मसात् गर्नुपर्ने विशेषता निजी सम्पत्तिको मोहलाई त्याग्नु पनि एक हो ।

स्वानाम साथीले पछिल्लो समय पूर्वीय द्वन्द्ववाद र मार्क्सवादलाई जोड्ने प्रयास गर्नुभएको थियो । उहाँ पूर्वीय द्वन्द्ववाद र मार्क्सवादलाई जोड्ने एउटा कुशल शिल्पी हुनुहुन्थ्यो । हामीले यस सन्दर्भमा बुझ्नैपर्ने एउटा महत्वपूर्ण कुरा, उहाँ पूर्वीय दर्शनको नाममा पूर्वमा विकसित सबै दार्शनिक पद्धतिको पक्षधर हुनुहुन्थेन । पूर्वीय दर्शनमा त जात व्यवस्थादेखि विभिन्न धार्मिक कर्मकाण्ड पनि पर्दछन् । उहाँले पूर्वीय दर्शनका विज्ञान र भौतिकतावादसँग सम्बन्धित विभिन्न वैज्ञानिक कुरालाई मार्क्सवादसँग जोडेपछि मात्रै मार्क्सवाद सम्पूर्णताको दिशातिर अघि बढ्न सक्छ र हामीले हाम्रो उद्देश्य प्राप्त गर्न सक्छौँ भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँले स्थापना गर्नुभएको ‘माक्सिय गुरुकुल’ यही मान्यताका आधारमा अस्तित्वमा आएको हो । उहाँको यस किसिमको सश्लेषणलाई आजको कम्युनिस्ट आन्दोलनले गम्भीरतापूर्वक लिनुपर्छ।

उहाँको जीवनव्यवहार र राजनीति जीवनबाट सिक्नुपर्ने अर्को कुरा भनेको वैज्ञानिक अनुसन्धानको निरन्तर जानकारी र त्यसको आफ्नो जीवनमा आत्मसात् गर्ने कुरा हो । उहाँले आजसम्म विकास भएको विज्ञान र प्रविधिलाई आफ्नो चिन्तन प्रणालीमा आत्मसात् गर्ने कोसिस गर्नुभएको थियो । समकालीन वैज्ञानिक अनुसन्धानको क्षेत्रमा के कस्तो विकास भएको छ भन्ने कुरामा पनि उहाँ निरन्तर जानकार हुनुहुन्थ्यो । उहाँ समकालीन विज्ञानका प्रगतिलाई आत्मसात् नगरी मार्क्सवादी आन्दोलन राम्रोसँग अगाडि बढ्न सक्दैन भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँसँग सूचनाको अथाह भण्डार थियो । हामीले आफूले नबुझेको कुरा स्वनामलाई सोधियो भने करिबकरिब उत्तर आउने कुरामा पक्का हुन्थ्यो । पुरानो भाषामा भन्ने हो भने उहाँ एकप्रकारको ‘इन्साइक्लोपेडिया’ नै हुनुहुन्थ्यो । उहाँको व्यक्तित्व अत्यन्तै तीक्ष्ण र सरल थियो । यस कुरालाई पनि हामीले ग्रहण गर्नुपर्छ ।

उहाँले योग र ध्यान विषयलाई कम्युनिस्ट आन्दोलनभित्र परिचित गराउने कोसिस गर्नुभयो । उहाँ जीवनमा एकपछि अर्को गरी धेरै रोगहरूसँग लड्नु भयो । यद्यपि, उहाँ अभाव र अप्ठ्याराका बिचमा पनि हाँस्न सक्ने हुनुहुन्थ्यो । विसं ०३० को दशकमा उहाँले स्थापना गरेको पार्टी सर्वहारा श्रमिक संगठन साँच्चैकै सर्वहारा पार्टी थियो । खासगरी, उहाँको कार्यशैलीको तरिकाले त्यो संगठन साँचो अर्थको सर्वहारा संगठन नै थियो । उहाँ सापेक्षित रूपमा सम्पन्न परिवारबाट आएको भए पनि वैचारिक झुकावका कारण सामान्य मजदुरहरूसँग काम गर्न थाल्नुभयो । महाबौद्धमा रिक्सावाला, भरियाहरूसँग काम गर्न थाल्नुभयो । उहाँले आफ्नो संघर्षमय जीवनशैलीको माध्यमबाट श्रमजीवी वर्गलाई मार्क्सवादसँग जोड्नुभयो । काठमाडौंका चिसा छिँडीहरूमा भरिया र मजदुरहरूसँग रात कटाएर आफ्नो संगठनलाई सही अर्थको मजदुर संगठन बनाउने प्रयास गर्नुभयो । त्यस क्रममा उहाँको शरीरले धेरै नै दुःख पायो । तर, उहाँले शारीरिक दुःख मात्रै पाउनुभएन, शरीरको त्यस प्रकृतिको पीडासँग लड्ने एउटा प्राचीन वैज्ञानिक हतियार पनि पाउनुभयो र त्यो थियो– ध्यान र योग । बुद्धले प्रयोग गरेको ध्यानको जुन हतियार थियो, त्यो हाम्रो भूभागबाट यो संसारलाई दिइएको सबैभन्दा शक्तिशाली हतियार हो । स्वनाम साथीले पनि आफ्नो जीवनमा बुद्धले दिएको हतियारलाई राम्रोसँग प्रयोग गर्नुभयो ।

अहिले संयुक्त राष्ट्रसंघले पनि विश्व ध्यान दिवस मनाउन थालेको छ । स्वनाम साथीहरूजस्ता विशिष्ट व्यक्तिहरूका कारणले नै हामीले यी उपलब्धिहरू हासिल गरेका हौँ । उहाँले ध्यानको विषयलाई हामीमाझ राम्रोसँग परिचित गराइदिएपछि हामीले सरकारको तर्फबाट यसको वैज्ञानिकतालाई पुष्टि गर्ने कार्यदल नै बनाएर त्यसबाट निष्कर्ष निकाली सबैले अभ्यास गर्ने एउटा प्रोटोकल नै बनाएका थियौँ । तर, अहिले सरकारले उक्त प्रोटोकलको बेवास्ता गरेको छ । यद्यपि, स्वनाम साथीको नेपाली कम्युनिस्ट आन्दोलनमा र आमजीवनशैलीमा नै ध्यान र योगको प्रचार गराउनुमा स्वनाम साथीको पनि धेरै ठुलो योगदान छ ।

वास्तवमा स्वनाम योग र ध्यानलाई पनि मार्क्सवादी आन्दोलनलाई अगाडि बढाउने एउटा अचुक हतियारको रूपमा हेर्नुहुन्थ्यो । स्वनाम भन्नुहुन्थ्यो, ‘हामीले पूर्वीय द्वन्द्ववादलाई गम्भीरतापूर्वक अध्ययन नै गरेका छैनौँ । पूर्व भन्नाले विशेषतः बुद्ध, महावीर, लाओत्से र शंकराचार्यका विचारलाई हामीले बुझ्नुपर्दछ । यिनीहरूको द्वन्द्ववादी विचारलाई जबसम्म क्रान्तिकारीहरूले अध्ययन गर्दैनौँ र बुझ्दनौं, तबसम्म यस धरातलमा मार्क्सिय द्वन्द्ववादलाई बुझ्न र लागू गर्न पनि गाह्रै पर्छ ।’ उहाँ यस किसिमको निष्कर्षमा पुग्नुभएको थियो ।

उहाँले बारम्बार उठाइरहने अति नै महत्वपूर्ण कुरा कम्युनिस्टहरू निरन्तर प्रश्न गरिरहने हुनुपर्छ भन्ने थियो । नेपालका कम्युनिस्ट पार्टीहरूले स्वनामको भनाइभन्दा ठिक विपरीत काम गरिहेका छन् र छौँ । हामीले पार्टीको मान्छे बनायौँ, अन्धभक्त मान्छे बनायौँ, गुटको मान्छे बनायौँ, आफ्नो वरिपरि चाटुकारिता गर्ने मान्छे बनायौँ, पदको पछाडि हिड्ने मान्छे बनायौँ । तर, उहाँले भनेजस्तो प्रश्न गर्ने मान्छे न हामी बन्यौँ न हामीले बनाउन सक्यौँ । यद्यपि, उहाँले बनाउन खोजेको ‘कम्युनिस्ट’ प्रश्न गर्ने मान्छे थियो । उहाँ स्वयं नै निरन्तर प्रश्न गरिरहने हुनुहुन्थ्यो । उहाँले प्रश्न गर्ने मान्छे बनाउने कुरालाई राजनीतिमा मात्रै जोड दिनुभएको थिएन । परिवार, समाज र सिंगो मानव संसारमै प्रश्न गर्ने मान्छेहरूको सिर्जना गर्ने कुरामा जोड दिनुहुन्थ्यो ।

यदि हामीले स्वनामको जीवनलाई व्यक्तित्वका आधारमा बाँडेर हेर्यौँ भने हामीले ३० को दशकमा सर्वहारा श्रमिक संगठन निर्माण गर्नेदेखि २०४६ सालसम्मको एउटा स्वनामलाई पाउँछौँ । २०४६ सालको जनआन्दोलनको सफलतापछि २०६२/६३ सालसम्मको अर्को स्वनामलाई पाउँछौँ । र, गणतन्त्र स्थापनादेखि संविधानसभाको निर्माणसँग उहाँको कीर्तिशेषसम्मको एउटा स्वनामलाई पाउँछौँ । यद्यपि, उहाँको आधारभूत स्वभावमा भने अन्तर भेटिन्न । उहाँ बदलिएको परिस्थितिअनुसार बदलिएको चेतना बोक्ने मान्छे हुनुहुन्थ्यो । उहाँ निरन्तर परिस्थितिअनुसार गतिशील हुने कोसिस गर्नुहुन्थ्यो । त्यसैले उहाँले विज्ञान प्रविधिलाई पनि आत्मसात् गर्नुभएको थियो । योग र ध्यानलाई पनि जीवनमा अवलम्बन गर्नुभएको थियो । तर, यी सबै कुराको अवलम्बनबाट आफ्नो वर्गीय पक्षधरता र वर्ग सचेत चिन्तनलाई त्याग्नुभएको थिएन । निरन्तर अडिग बनाइराख्नुभएको थियो । उहाँ केवल वर्ग सचेत मात्रै होइन, उत्तिकै देशभक्त पनि हुनुहुन्थ्यो । उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानीको नक्सापास गराउनेदेखि एमसिसीविरुद्धको अभियानलाई सक्रिय बनाउने कुरामा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।

स्वनाम साथी हामीसँग नभएको चार वर्ष भइसक्यो । स्वनाम कीर्तिशेष भइसकेपछि हामीले निरन्तर रूपमा स्वनामलाई वर्षैपिच्छे सम्झिने गरिरहेका छौँ । वास्तवमा हामीमध्ये स्वनामलाई सम्झिने अधिकांश व्यक्तिहरू स्वनामका भक्त भएका छौँ । स्वनामको गुणगान गाउँछौँ । उहाँलाई महिमा मण्डित गर्दछौँ । उहाँलाई महामानवको उपमा दिइरहन्छौं । तर हामीमध्ये अधिकांश व्यक्तिहरू स्वनामले सुझाएको बाटोमा कहिल्यै हिँडेका छैनौँ र हिँड्ने कोसिस पनि गरिरहेका छैनौँ । हामी स्वनामप्रेमी छौं तर उहाँको मार्गदर्शनलाई मिल्काइदिएका छौँ । उहाँले अंगीकार गरेको जीवनशैलीलाई हामीले आफ्नो जीवनशैलीमा रत्तिभर अंगीकार गर्ने कोसिस गरेका छैनौँ । साँचो अर्थमा स्वनामलाई प्रेम गर्नु, स्वनामलाई सम्झनु र उहाँप्रति श्रद्धा व्यक्त गर्नु त्यतिवेला मात्रै सार्थक हुन्छ, जतिवेला हामी उहाँले अंगीकार गरेको, सुझाएको र मार्गनिर्देश गरेको बाटोलाई आफ्नो जीवन–व्यवहारमा अंगीकार गर्दछौँ ।

सम्पादकको रोजाइ

सुझावित समाचार