लेखक भूषिता वशिष्ठलाई मन परेका सात पुस्तक

नयाँ पत्रिका नयाँ पत्रिका
शनिबार, २९ मंसिर, २०८१
डिजिटल संस्करण

तथ्यांकअनुुसार संसारभर प्रत्येक दिन एघार हजार पुस्तक प्रकाशित हुन्छन् । पहिले हामीले मान्छेको मूर्खतालाई अज्ञानको उपज ठानेका थियौँ, तर अब समयले प्रमाणित गरिदिएको छ कि मान्छे पढेर पनि मुर्खै रहन सक्छ । त्यसैले हिजोआज म पुस्तक किन पढ्ने र कसरी पढ्ने भन्ने विषयका बारेमा आफैँ सोचिरहेकी हुन्छु । 

आनन्दवर्द्धनको ध्वनि सिद्धान्तका अनुसार कुनै पनि शब्द वा वाक्य जति धेरै अर्थ वहन गर्न सक्छ, त्यो त्यति नै समृद्ध हुन्छ । जसरी वर्णमालामा केवल ४८ अक्षर छन्, तर तिनको मेलले अनगिन्ती शब्दहरू बनेका छन्, त्यसैगरी ती शब्दहरूको पनि यदि सार्थक प्रयोग भयो भने कल्पनातीत सत्य, रहस्य उद्घाटित हुँदै जान्छन् । त्यसैले हिजोआज म ती साहित्यप्रति आकर्षित हुन्छु, जसले नवीन प्रयोगमार्फत भाषा र अर्थ दुवैको परिधिलाई अकल्पनीय व्यापकता दिन्छन् । जस्तै– म हिजोआज पत्रिका पढ्दा के देख्छु भने लेखक फरक भए पनि, प्रायः लेखमा उही, उही शब्द, पदावली, उस्तै तर्क भेटिन्छ । तर, भाषा जैविक तत्व हो, यसले फैलिने, नयाँ फल वा फूल प्रदान गर्ने ल्याकत राख्दछ ।

योग वाशिष्ठ महारामायण : संसारमा मान्छेले भोग्ने कर्महरू सीमित छन् । उही जन्म, उही मरण, उही प्रणय, उही विरह, उही भोग, उही वैराग्य । कथाका मूल विषयवस्तु प्राचीनकालदेखि अहिलेसम्म आइपुग्दा पनि तिनै हुन् । तर, ती कथा कसरी भनिन्छन् भन्ने वैशिष्ट्यले केही साहित्य बन्छन् । ‘योग वाशिष्ठ महारामायण’ पढ्नुअघि नै मैले मार्खेज, इटालो क्यालभिनोका कथा र उत्तरआधुनिकवादको सिद्धान्त पढिसकेकी थिएँ । तर, जब मैले पहिलोपटक ‘योग वाशिष्ठ महारामायण’ पढेँ मेरो मन, मस्तिष्क, हृदय अपूर्व आनन्दले गदगद भयो । हुन त सबै दार्शनिक साहित्यले शब्द र अर्थको सम्बन्धबारे चर्चा गरेका छन् । डेरिडा, बार्थ, श्वेतकेतु इत्यादि । तर, कसरी शब्दले अज्ञात मात्र होइन, अज्ञेयलाई नै भेदन गर्न सक्छ भन्ने सबैभन्दा उत्तरआधुनिक उदाहरण हो ‘योग वाशिष्ठ महारामायण’ ।

समय त्रासदी : सरुभक्त पढेर नै मलाई पुस्तक पढ्ने व्यसन भयो । ‘समय त्रासदी’ पढ्दा म पुगनपुग सोह्र वर्षकी थिएँ । त्यो पुस्तकले मेरो मनमा यस्तो आन्दोलन ल्याइदियो कि म निरामिष भएँ, माछामासु खान छोडिदिएँ । मैले अघि भनेझैँ सरुभक्तको लेखनले सामान्यतया हाम्रा समाजमा अप्रचलित कथावस्तुलाई समेट्छ । डिस्टोपियन साइन्स फिक्सन आज पनि हामीकहाँ दुर्लभप्रायः छन् । यो पुस्तकले प्रयोगात्मक लेखनमा नयाँ आयाम ल्याएको थियो । त्यस्तै एक कालखण्डमा प्रेमा शाह, मनु ब्राजाकी, परशु प्रधान, ध्रुवचन्द्र गौतमले पनि थुप्रै प्रयोगात्मक कथाहरू लेख्नुभएको थियो । मलाई लाग्छ, आजभन्दा दश वर्षअघिका ‘मधुपर्क’ र ‘गरिमा’का सबै अंक संग्रहणीय थिए ।

द लिटिल प्रिन्स : फ्रेन्च लेखक एन्टोनी डी सेन्ट एक्सुपरीको यो पुस्तक मलाई सर्वाधिक मनपर्ने पुस्तक हो । यदि संसारमा एउटै मात्र पुस्तक पढ्न बाँकी रहन्थ्यो भने म यही पुस्तक चयन गर्थें । हरेक साल कम्तीमा एकपटक म यो किताब पढ्छु । जीवनका जो असाध्य सत्यहरू छन् ती कथामा मात्र, अझ बालकथामा मात्र अभिव्यक्त हुन सक्छन् जस्तो लाग्छ मलाई । यो पुस्तक आफैँमा एक उपनिषद् हो । लेखकले प्रीति, कल्पना, जिज्ञासा, आनन्द, मित्रता के हो एक ऋषितुल्य बालकको नजरबाट देखाएका छन् ।

अ थाउजेन्ड प्लाटुज : फ्रेन्च लेखक गिल्स डेल्युज र फेलिक्स गुआटारीले मिलेर लेखेको यो पुस्तक १९८० मा प्रकाशित भएको हो । यस पुस्तकले सिद्धान्तको एकछत्रीय संरचनाको मिठो आलोचना गर्छ । जसरी फ्रोएडको अडिपल सिद्धान्तपछि सारा विश्वले नै यौनप्रतिको अवधारणा अद्यावधिक गर्यो र सारा पुस्तक, सारा चिकित्सा सोही अवधारणाका आधारमा गर्न थालियो, लेखकद्वय, सारा वाद, सारा सिद्धान्तबाट मुक्त भएर शरीरलाई हरेक दिन नूतन आँखाबाट हेर्न, महसुुस गर्न प्रेरित गर्छन् । जस्तै– हामीले चुम्बन गर्न ओठै खोज्छौँ, प्रार्थना गर्न हातै पसार्छौं, तर के कविका बिम्बबाट बाहिर निस्किएर हामी कुहिनाले पुज्न सक्छौँ ? पैतालाले भुइँ चुम्न सक्छौँ ? सारा आर्जित ज्ञानलाई परै छाडिदिए, यदि हामी पृथ्वीमा पहिलो मनुष्य थियौँ भने हाम्रो शरीरले कसरी प्रेम, पीडा, प्रार्थना प्रकट गथ्र्यो होला ?

द आर्ट अफ लभिङ : एरिक फ्रमको यो पुस्तकले प्रेमका नाममा हामीले आफ्ना नजिकका व्यक्तिलाई औपनिवेशीकरण गरिरहेका छौँ भन्छ । हामी मानिसलाई बाँध्न चाहन्छौँ । एउटी आमाले आफ्नो स्वतन्त्रता कहिल्यै उपयोग गर्न पाएकी हुन्नन् । उनी कसैकी छोरी, कसैकी श्रीमती र कसैकी आमाका रूपमा बाँचेकी हुन्छिन् । भविष्यमा बच्चाले पनि मेरो सपनाका लागि बाँच्नुपर्छ भन्ने उनको सोच हुन्छ । उनले त्यसैलाई प्रेम भन्ने ठान्छिन् । समाजमा धेरैजसो मातापिताले नै आफ्नो सपना पछ्याएका हुँदैनन् । त्यहीकारण, बच्चाको सार्वभौमिक स्वतन्त्रता के हो भन्ने विषय उनीहरूले ख्याल गर्दैनन् । बच्चा आफ्नै तरिकाले बाँचोस्, आफ्नै सपना बनाओस् भन्ने सोच्दैनन् । व्यक्तिको वैयक्तिक स्वतन्त्रतालाई पक्षपोषण गरेर पनि प्रेम गर्न सकिन्छ भन्ने विषय यस पुस्तकमा लेखिएको छ ।

द गड अफ स्मल थिंग्स् : अरुन्धति रोय, जेम्स सल्टर, केट फोल्क, पर्सिभल एभरेट, मिलन कुन्देरा, अस्कर वाइल्ड, ओसन भोंग, मिरान्डा जुलाई, यी सबै लेखक मैले अघि भनेजस्तै त्यस्ता शिल्पकार हुन्, जसले अंग्रेजी भाषाको व्याकरणलाई विनिर्माण गरेर, यसलाई काँचो सुनजस्तै तरल, कोमल र अनेकार्थी बनाएका छन् । अरुन्धति रोयका हरेक वाक्य साहित्यका विद्यार्थीका लागि वेदवाक्य समान छन् । हो, कहिलेकाहीँ रोयका राजनीतिक विचारसँग म सहमत हुन सक्तिनँ । तर, त्यो वेला पनि उनको भन्ने शैलीबाट कायल नभइरहन सकिन्न । रोय आर्किटेक्ट पनि भएका हुनाले उनले कसरी आप्mना उपन्यासको क्रमशृंखलालाई अत्यन्त विचारपूर्ण ढंगले डिजाइन गर्ने कुरा पनि साझा गरेकी थिइन्, जो पाठकका रूपमा पनि प्रत्यक्ष महसुस गर्न सकिन्छ । रोयको राहेल र स्यालिन्जरको होल्डन कलफिल्ड मात्रै त्यस्ता पात्र होलान्, जसको पूरा संवाद नै मलाई कण्ठस्थ छ ।

शाकुन्तल : युनानी नाट्य परम्पराले भावनाका कुनै एक पहलु लिएर त्यसको एकाकी विरेचनलाई प्राथमिकता दिन्छ । जस्तै– नाटक या दुखान्त हुन्छ या सुखान्त । दुखान्त काव्यले ईष्र्या, कुण्ठा, पराजय भाव, जुगुप्सा, भय, इत्यादिको विरेचन गर्छ भने सुखान्त काव्यले प्रणय, करुणाको आनन्द दिन्छ । तर, पूर्वीय महाकाव्यहरूले नवरसलाई नै बोकेका हुन्छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल’ यो विहंगम प्रयोगको सार्थक उदाहरण हो । उहाँले नेपाली व्याकरणको परिधिलाई पनि व्यापक बनाउनुभएको छ । भाषाको विनिर्माण, नूतन वाक्यगठन, अनपेक्षित शब्द विन्यासमार्फत, अनेक छन्दको प्रयोग गरिएको यो महाकाव्य शिल्पका हिसाबले पनि र दार्शनिक कसीमा पनि उत्तिकै अब्बल छ । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार