दमननाथ ढुंगानाको जीवन, संघर्ष र उपलब्धि मात्र एक व्यक्तिको कथा होइन, यो नेपाली लोकतन्त्रको एउटा जीवन्त गाथा हो । ०४८ को वैशाखदेखि उहाँसँग बिताएका क्षणहरूले मलाई एउटा विद्यार्थी र सहकर्मी दुवैका रूपमा शिक्षित गर्यो । मेरी आमा इन्दुको उहाँ दाजु भएकाले उहाँ पारिवारिक रूपमा मेरो मामा हो । राजनीतिक रूपमा म उहाँको सहयोगी हुँ । यहीकारण, जीवनको अन्त्यसम्म पनि म उहाँको साथमा थिएँ । उहाँको हँसिलो मुहार, स्पष्ट विचार र अडिग संकल्प मेरा लागि सधैँ प्रेरणाको स्रोत रहनेछ । उहाँसँग बिताएका धेरै अमूल्य पल अहिले झल्झली स्मृतिमा आइरहेका छन्, सधैँ आउनेछन् । २ मंसिरको त्यो दिनले मेरो जीवनमा एउटा गहिरो खालीपन छोडेको छ ।
दमननाथ ढुंगाना नेपाली राजनीतिमा एउटा शालीन र अडिग व्यक्तित्व । पूर्वसभामुख, अग्रगामी नेता र विचारशील मार्गदर्शकका रूपमा उहाँले जसरी देश र जनताको सेवा गर्नुभयो, त्यो सदा स्मरणीय छ । उहाँसँग बिताएका मेरा व्यक्तिगत अनुभवले मलाई नेपाली राजनीति र मानवता बुझ्न अझै गहिरो दृष्टिकोण प्रदान गर्यो ।
‘नेतृत्व भनेको मात्र आदेश दिने होइन, आफूले जिउने बाटो हो,’ उहाँ भन्नुहुन्थ्यो । ०४८ को वैशाखदेखि उहाँसँगको सहयात्राको साक्षी बनेँ । जसले मलाई व्यक्तिगत रूपमा र विचारधाराका हिसाबले समृद्ध बनायो । उहाँसँग फराकिलो राजनीतिक चेत थियो । विपक्षीप्रति पनि उदार हुनुहुन्थ्यो । उहाँको कार्यकाल सकिएपछि मध्यावधि चुनावमा उम्मेदवारी दर्ता गरेर फर्कंदै हुनुहुन्थ्यो । म चारतारे झन्डा बनाउँदै थिएँ । मेरा साथी पुष्कर शाह भने हँसिया–हथौडा अंकित झन्डा बनाउन तल्लीन थिए । उहाँले पुस्कारलाई भेटेर ‘क्याबात् पुस्कर’ भन्दै बधाई दिनुभयो ।
पासाङ ल्हामु शेर्पा र मदन भण्डारीको निधन एकै समयमा भयो । देशले मदनलाई मात्रै सम्झिएजस्तो वातावरण थियो । पासाङ पनि उत्तिकै सम्मानको हकदार छिन् भनेर उहाँले राष्ट्रिय विभूति घोषणा गर्न भूमिका खेल्नुभयो ।
मेरी आमा इन्दु बाल्यकालमै विवाहबन्धनमा बाँधिनुभएको थियो । हाम्रो बाल्यकालको धेरै समय मामाघरमा बित्यो । हजुरबुबा केदारनाथमा राजनीतिक चेतना उच्च थियो । उहाँ जीवनको उत्तरार्धमा पनि राजनीतिकै चिन्ता गर्नुहुन्थ्यो । उहाँलाई पक्षघात भएपछि हजुरआमा लक्ष्मीदेवीले उहाँको सेवामा जुन समर्पण देखाउनुभयो, त्यो आज पनि मेरो स्मृतिमा झल्किरहन्छ ।
मामा पटक–पटक जेल बस्नुपरेकाले माइजू भुवन ढुंगानाले पनि निकै दुःख पाउनुभयो । तर, निरन्तर साथ दिनुभयो । उहाँको साहित्यमा रुचि थियो । हामी भान्जा–भान्जीलाई निकै माया गर्नुहुन्थ्यो । हामी सानो छँदा कथा सुनाउनुहुन्थ्यो ।
मामाघरमा आर्थिक अभाव भए पनि दमननाथले राजनीति र वकालतलाई सँगसँगै अघि बढाउनुभयो । सानो मामाको विवाह भोजमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आउनुभएको मलाई झल्झली सम्झना छ । उहाँको आगमनले वातावरण निकै रमाइलो बनेको थियो । त्यसपछिका दिन बिपीका लागि निकै सकसपूर्ण रहे । दमननाथ पनि बारम्बार जेलमा पर्नुहुन्थ्यो । जेलमै बिरामी परेपछि उहाँलाई वीर अस्पताल भर्ना गरिएको थियो । उहाँलाई भेट्न आमाले मलाई पनि लिएर जानुभएको थियो ।
मैले त्यतिवेलादेखि नै उहाँको जीवनलाई नजिकबाट नियाल्न पाएँ । दमननाथले आफ्नो प्रारम्भिक जीवनमा विद्यार्थी नेताका रूपमा टोल संरक्षकको जिम्मेवारी सम्हाल्नुभयो । साहित्यमा गहिरो रुचि भएका उहाँका फुटकर कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका थिए । उहाँद्वारा रचित गीत ‘यही हो नेपाल, नेपालीको घर’ आजसम्म पनि नेपाली जनमानसमा गुञ्जिन्छ । पत्रकारको भूमिकामा उहाँ सदैव अब्बल रहनुभयो । उहाँको लेखन, विचार र वाक्शैली सधैँ वजनदार र प्रभावशाली रह्यो ।
शान्ति प्रक्रियामा भूमिका
मामा नेपालको संविधान जनताप्रति जवाफदेही भएन भन्नेमा चिन्तित हुनुहुन्थ्यो । आफ्नो जीवनकालमा राजनीतिको कुनै क्षेत्र बाँकी राख्नुभएन । उहाँको नेतृत्वमा पासाङ ल्हामु शेर्पालाई राष्ट्रिय सम्मान दिने काम भयो । यसैले उहाँको योजना र दूरदर्शितालाई उजागर गर्छ । त्यसैगरी, माओवादी द्वन्द्वको चरम समयमै उहाँ आफ्नो स्वास्थ्यको पर्वाह नगरी हापुरे वार्तामा सहभागी हुनुभयो । हापुरे वार्ता असफल भए पनि उहाँले शान्ति प्रक्रियालाई निरन्तरता दिन अहं भूमिका निभाउनुभयो । नयाँ संविधानप्रति उहाँको असन्तुष्टि स्पष्ट थियो । उहाँका विचारमा, संविधानले जनतालाई जवाफदेहिता प्रदान गर्न सकेको छैन ।
८३ वर्षको उमेरमा पनि उहाँको सक्रियता र जोसले हामी सबैलाई प्रेरित गर्थ्यो । उहाँसँग बिताएका हरेक पलले मेरो जीवनमा मूल्यवान् पाठ दिए । गएको असोज २ गते बिहान पत्रकार ज्वाइँ नारायण वाग्लेको फोन आयो, ‘सुरजजी तपाईंलाई दाजुले खोज्नुभाछ ।’ मामालाई हामीले प्रायः दाजु भनेर सम्बोधन गर्ने गरेका थियौँ । बहिनी सम्झनाको अचानक देहान्तपछि मामाघर नगएको धेरै भइसकेको थियो ।
त्यसपछि फोन गर्दा मामाले भन्नुभयो, ‘तँ व्यस्त होलास् । मलाई एउटा एफएम रेडियो ल्याइदे न । कसैले ल्याउन सकेन, तैँले ल्याउन सक्छस् ?’ अरूले गर्न नसकेका काम मैले गर्न सक्छु भन्ने विश्वास मामालाई थियो । अन्तिमसम्म पनि त्यो विश्वास कायम रहेछ ।
बजारभरि खोज्दा बल्ल पुरानो ढाँचाको कान घुमाउने रेडियो भेटेँ र लिएर गएँ । त्यसपछि उहाँलाई, ‘कति बजे घर आऊँ भनेर फोन गरेँ ।’ बल्ल थाहा भयो, उहाँ त अस्पतालमा हुनुहुँदो रहेछ । मलाई देख्नेबित्तिकै उहाँले भन्नुभयो, ‘दुई–चार दिन मलाई समय दिनू । अब चाँडै निको नहोला जस्तो छ । मसँग गोप्य रूपमा दिल्ली जाने तयारी गर ।’
छोरी डा. सुकेमल मसँगै थिइन् । उनैले भनिन्, ‘पापाको त लगेज तयार छ, हजुरको लागि ज्यान हाजिर !’ तीनवटा टिकट थियो, तर को–को जाने भन्ने तय भइसकेको थिएन । अन्त्यमा म र बहिनी नीतिका जाने भयौँ । अस्पतालबाट सीधै एयरपोर्ट गइयो । चेकजाँचका क्रममा पो थाहा भयो, ८० काटेका मानिस विमान चढ्न डाक्टरको स्वीकृति चाहिने रहेछ । अन्त्यमा अस्पतालबाट सिफारिस ल्याएर उहाँलाई दिल्लीस्थित म्याक्स हस्पिटलमा पुर्याइयो ।
त्यहाँ उहाँलाई आकस्मिक कक्षमा राखियो । भोलिपल्ट डा. सुवास गुप्ताको टिमले उपचार सुरु गर्यो । नेपालमा डा. सुधांशुले गर्नुभएको एमआरआईकै आधारमा उपचार अघि बढाइएको थियो । त्यसपछि कलेजोमा देखिएको दागलाई टियर प्रविधिबाट निको बनाउने सल्लाह भएअनुसार उपचार गरियो ।
करिब दुई हप्ताको दिल्ली बसाइका क्रममा दसैँको टीकाभन्दा दुई दिनअघि उहाँले भन्नुभयो, ‘तेरा छोरीहरूसँग दसैँ त आउँदो वर्षमा पनि मनाउन पाउँछस् । मसँग त अन्तिम हो ।’ हामी त कलेजोको उपचारका लागि दिल्ली गएका थियौँ । उपचार पनि भयो । त्यसपछि हामी नेपाल आयौँ । तर, उहाँको पहिलेदेखि नै छातीमा समस्या थियो, त्यो बल्झियो । त्यसको असर देखा पर्न थालेपछि खोक्न थाल्नुभयो । बिस्तारै गल्दै जानुभयो । त्यसपछि बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा भर्ना गर्यौँ । म अस्पतालमा उहाँसँगै थिएँ । सुगर–प्रेसर आफैँ चेक गर्थें । मंसिर २ गते बिहान म बत्तीसपुतली आउँदासम्म उहाँ सुतिराख्नुभएको थियो । म आफैँले प्रेसर चेक गरेँ । हाई थियो । ‘एकछिन आराम गर्नुस्, एक घण्टामा फेरि प्रेसर हेर्छु’ भनेँ । उहाँले प्यान र वाकर ल्याइदे भन्नुभयो । म अस्पतालबाट निस्किएर घर गएँ ।
एकाएक भाइ निशेषको फोन आयो, ‘छिटो आइज दाजुलाई गाह्रो भयो ।’ एकाएक उहाँ त कहिल्यै नआउने गरी सदाका लागि जानुभयो । म उहाँप्रति हार्दिक श्रद्धा व्यक्त गर्छु ।