जब हेलिकोप्टर मडारिन्छन् आकाशमा

किशाेर नेपाल किशाेर नेपाल
शुक्रबार, १ चैत, २०७५
डिजिटल संस्करण

आत्ममन्थन

आकाशमा आर्मीको हेलिकोप्टर मडारिइरहेको थियो । शेखरलाई लाग्न थालेको छ, सेनाको काम नै हेलिकोप्टर उडाउने र आकाशमा मडारिने हो । कुनै ‘कामविशेष’ हुनुपर्दैन । फूलपाती– दसैँको सातौँ दिनको महान् उत्सवमा आकाशमा हेलिकोप्टर मडारिएन भने दसैँ नै आउँदैन । फूलपाती बोकेको डोली गोरखाबाट काठमाडौं छिरेको स्वागत र खुसियालीमा माथि आकाशबाट पुष्पवृष्टि गर्नुपर्यो । आकाशमा हेलिकोप्टर मडारिनु ‘नियमित–आकस्मिकता’ हो । नेपाली नाटकका ‘राष्ट्रपति’ (क्षमा गर्नुहोला– गणतन्त्रमा ‘सम्राट्’ शब्दको प्रयोग राजनीतिक रूपले सही नहोला) बालकृष्ण समका विविध दार्शनिक पक्षका व्याख्या नै नियमित आकस्मिकता हो । यसपटक त बाला चतुर्दशीमा पनि आकाशमा हेलिकोप्टर मडारिइरहेको थियो । झन् शिवरात्रिजस्तो महान् दिवसमा नमडारिने कुरै भएन । शिवरात्रि आराध्यदेव शिवको जन्मदिन हो । निराकार ओमकारले मानिसको जीवनलाई एकाकार बनाउँछ । एकाकार सुख हो, अद्भुत सुख । 

महाशिवरात्रि शिवको उत्सव मात्र नभएर नेपाली सेनाको स्थापना दिवस पनि हो । सम्झिँदै जानुपर्दछ, राष्ट्रिय प्रजातन्त्र दिवस, संविधान दिवस, गणतन्त्र दिवसलगायत दिवसहरूमा नेपालको स्वतन्त्र आकाशमा हेलिकोप्टर मडारिन्छ । हुँडलिन्छ । गरिब नेपालीलाई विविध कर्तब त देखाएर मनोरञ्जन त दिनैपर्यो । 

सहरमा आज कुनै सत्तापुरुषको शव यात्रा थियो क्यारे । शवयात्रामा हुन सक्ने कुनै पनि प्रकारको आक्रमण र प्रत्याक्रमण रोक्न तैयार थियो सेना । राजनीतिमा रहेका मानिसलाई कहाँबाट खतरा छ र कहाँबाट सुरक्षा छ ? त्यो छिद्र पत्ता लगाउने काम सेनाको हो । त्यसैका लागि उडाउँछ सेनाले हेलिकोप्टर । जान्नेहरू भन्छन्– हवाईजहाजमा उड्नुभन्दा हेलिकोप्टरमा उड्नु रोमाञ्चक हुन्छ । दुवै प्याराफिनबाट चल्छन् । पर, खाडीमा रहेका तेलका कुवाहरूमा तेलको भाउ निकै सस्तो भए पनि काठमडौं र संघीय नेपालका निश्चित पम्पहरूमा प्याराफिन महँगो छ । शेखरलाई यो कुराको राम्रै ज्ञान छ । तर, के गर्नु र ? अर्काको हातमा परेको धन र दिमागमा रहेको ज्ञान काम लाग्दैनन् । 

शेखर बिहानैदेखि आकाश हेरेर बसेको छ दलानमा । यतिखेर ऊ सोच्दै छ– घरको आँगन फोहर छ । जति बढारे पनि सफा हुने होइन । उसकी स्वास्नीको जीवन यो आँगन बढार्दैमा सकिने भयो । उसकी स्वास्नीलाई पनि अलि राम्रो ब्युटिपार्लरमा लगेर सिँगार्ने हो भने करिश्मा र प्रियंकाभन्दा कम त देखिन्न होला । त्यसका लागि कुस्त पैसा चाहिन्छ । खोइ त पैसा ? शेखर आफ्नै विरुद्ध मजाले हाँस्यो । आँगनको एकछेउमा, हेलिकोप्टरको होहल्लाका बीच, शेखरकी महतारी फतफताउँदै थिइन्, ‘ग्यास छैन है बाबु । बिहान बल्ल–बल्ल पकाई तेरी दुलहीले । भरे के गरोस् त्यसले ? भुइँचालोपछि ल्याएको त्यो बिजुलीको चुलो बिग्रेको, अहिलेसम्म बनेको छैन । तिमीहरू केही कुरा विचार पु¥याउँदैनौ । घरव्यवहारमा कतिवेला के चाहिन्छ, कसैले भन्न सक्दैन । सबै कुराको जोहो नगरी यसरी त चल्दैन है घरव्यवहार । म मरेर गएको भोलिपल्ट थाहा पाउनेछौ, किन कराएकी रहिछ यो बूढी ।’

त्यसपछि महतारी रुन लागिन् सुँक्कसुँक्क । बाको मृत्यु भएदेखि उनको रुने बानी बढेको छ । महतारीलाई लागेको छ– उनको मृत्यु आसन्न छ । कालधाराको जान्नेले महतारीको जीवन बूढा बितेको सात वर्ष नकट्ने भ्रामरी दिमागमा रोपिदिएको छ । शेखर एकनासले महतारी रोएको हेरिरहन्छ । केही सम्झाउन पनि सक्दैन । ऊ प्रतिक्रियाहीन छ । उसले 
आफ्नी आमाको अवस्था मनोचिकित्सकलाई बतायो । उसको क्लिनिकमा लगेर जँचायो । ओखती लेखिदिएको थियो डाक्टरले । ओखती खानुभयो भनेर सोध्दा उनी हरेक दिन बिर्सिएँ भन्थिन् । उनले बहाना गर्दागर्दै ओखतीकै ‘डेट एक्सपायर’ भयो । किस्सा खत्तम ।

शेखर बिहानैदेखि आकाश हेरेर बसेको छ दलानमा । यतिखेर ऊ सोच्दै छ– घरको आँगन फोहोर छ । जति बढारे पनि सफा हुने होइन । उसकी स्वास्नीको जीवन यो आँगन बढार्दैमा सकिने भयो । 

के भनेर सम्झाओस् आमालाई शेखरले ? आमालाई सम्झाउनु गाह्रो हुन्छ । आमा त आमा हुन् । कचकच गरे पनि आमा हुन् । कराए पनि आमा हुन् । रोए पनि आमा हुन् । आमाले गाली गरे पनि मायालु, माया गरे अलौकिक । आमाको मायाबाट पार कहाँ पाउँछ मानिसले ? स्वास्नी भए उत्तिखेरै ‘वामझापु’ दिएर चुप लगाउन पछि पर्दैनन् लोग्नेहरू । थाहा छ– शेखरलाई यो कुरा । तर, सर्वदा पनि आमा हो नि त कुशनको । ‘कुशन’ बाले राखेको नातिको नाम । आमालाई सकेसम्म खुसी र सुखी राख्नु शेखरले आफ्नो कर्तव्य सम्झिएको छ । तर, के गर्नु ? आमाले खुसी हुन जानेकी छैनन् । कहिले नहाँस्ने मानिस कसरी खुसी हुन सक्छ ? भुराभुरीलाई जस्तो काउकुती लगाएर हँसाउनुभएन । काउकुती पनि कहिलेसम्म लगाइरहने ? मनोविनोद हुन्छ कि ? आमा हाँस्छिन् कि भनेर शेखरले एकपटक सिनेमाहलमा लिएर गयो आमालाई । जय बजरंगबली सिनेमाको सुरुदेखि अन्त्यसम्मको पूरा तीन घन्टा आमाले हनुमान चालिसा पाठ गरेर बिताइन् । आमालाई हँसाउने अरू कुनै सूत्र र उपाय थिएन । ‘अकबर–वीरबलको किस्सामा हँसाउने उपाय खोज्नुपर्ला,’ आफैँसँग फिस्स हाँस्यो शेखर !

शेखर केही सिर्जनात्मक काम गर्ने धुनमा थियो । ऊ एउटा कथा लेख्न चाहन्थ्यो । विद्यार्थी जीवनमा थुप्रै कथा लेखेको हो उसले । निरजाको कथा, सबिनाको कथा, नेप्टी र वीरबहादुरको कथा । वीरबहादुर जहिले पनि गीत गाइरहेको हुन्थ्यो, ‘तेरी प्यारी प्यारी सुरतको किसीकी नजर ना लगे, चस्मे बद्दूर !’अहिले उसले लेख्न लागेको कथा सर्वदाको हो । सर्वदा । छोरीकोे यो कस्तो नाम राखेकी हुन्, अलैँची दिदीले । अलैँची दिदीका बाआमाले यो कस्तो नाम राखेका अलैँची । सर्वदा त तैपनि राम्रो छ– करेसाबारीमा फुल्ने पहेँलो रंगको फूल । सर्वदा अर्थात् शेखरकी पत्नी । अलैँची दिदी उसकी सासू । हिन्दी भाषी प्रयोगमा ‘सासू माँ !’

सर्वदा अचेल अलि बढी नै जागरुक भएकी छिन् आजकाल । निम्न मध्यमवर्गीय परिवारमा बिहे गरेर आएपछि खुम्चिएकी थिइन् उनी । अग्रवाल कलेजबाट बिए पास गरेपछि उनमा मध्यमवर्गीय स्वभावको रन्को चढ्दै गयो । उनमा आत्मसम्मानको भाव बढ्यो । शेखरको बोली सुन्दा अलिकति पनि नखुम्चिने र बोल्दा अलिकति पनि नझस्किने स्वभाव विकसित भयो । शेखरले सर्वदामा आएको यो सुस्पष्ट परिवर्तनलाई आत्मसात् गरेको छ । ऊ खुसी पनि छ । परार साल फाइनल जाँच दिन गएको वेला बढनी स्टेसनबाट उनले भारतीय महिला अधिकारकर्मी मधुकीश्वरको पुस्तक ‘महिला आन्दोलन’ किनेर ल्याएकी थिइन् । त्यसै वर्ष उनी ‘गृहशोभा’बाट ‘मुक्ता’मा उक्लिइन् । अलिकति बुझिन्, नारी मुक्ति के हो ? मानिसको दिमागी सम्पत्ति भनेको ‘चाख’ नै त हो, जुन जागेपछि जाग्छ, जाग्छ । 

यसपटक फेरि पुगिन् उनी अग्रवाल कलेज एमएको फर्म लगाउन । सिलसिलामा उनको भेट भयो प्राध्यापिका श्रीमती शान्ता द्विवेदीसँग । अलिकति छन्दछाँट थाह पाइन् त्यो भेगको नारीमुक्तिको । तर, किन किन, सर्वदा कन्भिन्स हुन सकिनन् स्थूलकाय प्राध्यापिकाहरूको अभिमतसँग । सायद, हावापानीको करामत थियो यो । कता, कर्णालीको चिसो हावाले आत्मालाई शीतल बनाइरहेकी सर्वदा । कहाँ यो भोंपुको कर्कश आवाजले प्रदूषित ज्ञानभूमि । 

सर्वदा कपिलवस्तुमा जन्मिएर, १० वर्षको उमेरमा काठमाडौं उपत्यका छिरेकी थिइन् । बाबा कपिलेश्वर मिश्र सतुंगलको हाइस्कुलमा पढाउँथे । अलैँची दिदीले सतुंगल बसेर तेल घसेकी थिइन् कान्छो छोरा प्रवीणको शरीरमा । प्रवीण अहिले थाइल्यान्डमा पढ्छ एआइटीमा । कपिलवस्तुमा उनीहरूको मौजा छँदै छ । कपिलवस्तुका हुनेखाने परिवारका हुन् उनीहरू । शेखरको आर्थिक हैसियत सर्वदाको माइतीघरको बराबर छैन । कहाँ राजा पृथ्वीनारायण, कहाँ बिसे नगर्ची ! तर, ‘देखो भाइ कुदरतका खेल, पढे फारसी, बेचे तेल ।’ कथन त सही हो नि । त्यत्रो मौजावालकी छोरी सर्वदालाई शेखरको आँगन बढार्नु नै थियो ।

महाशिवरात्रि शिवको उत्सव मात्र नभएर नेपाली सेनाको स्थापना दिवस पनि हो । सम्झिँदै जानुपर्दछ, राष्ट्रिय प्रजातन्त्र दिवस, संविधान दिवस, गणतन्त्र दिवसलगायत दिवसहरूमा नेपालको स्वतन्त्र आकाशमा हेलिकोप्टर मडारिन्छ ।

प्रसंगमा शेखर सम्झिँदै थियो, उसका पिताजी रामानन्दप्रसाद खनाललाई । चट्टानजस्ता मानिस । शेखर आफ्नो बाको स्वाभिमान र इच्छाशक्ति देखेर अहिले पनि झसंग हुन्छ । रामानन्दजी शिक्षक थिए । उनी चाबहिल स्कुलमा पढाउँथे । म्याथम्याटिक्सका धुरन्धर । मीनभवन, बानेश्वरमा उनीहरूको पुख्र्यौली घर थियो । कपिलेश्वरसँग निकै पुरानो मित्रता थियो रामानन्दको । कपिलेश्वरलाई सतुंगलमा सम्पत्ति जोड्न लगाउने पनि रामानन्द नै थिए । यो घरबारी किनेपछि अलैँची मिश्रा निकै रमाएकी थिइन् । उनी छोरा छोरीको वैवाहिक सम्बन्ध यतै गाँस्न चाहन्थिन् । शेखर र सर्वदाको बिहे हुँदा सर्वदा १८ की थिइन्, शेखर २२ को । अहिले शेखर ४२ को भइसकेको छ । 

सोच्दासोच्दै शेखरको मन बिग्रियो । के लेख्नु आफ्नो कथा ? कोही नपाएर आफ्नै बाको कथा, आफ्नै आमाको कथा र अझै कोही नपाएर आफ्नै पत्नीको कथा । उसको मन उचाट्टियो । जति लेखिसकेको थियो त्यसलाई डिलिट गर्न खोज्यो । फेरि के भयो, शेखर रोकियो । रोकिएपछि रोकियो । आकाशमा हेलिकोप्टर घुमिरहेको थियो । कम्प्युटर बन्द गरेर शेखर जुरुक्क उठ्यो र पशुपतितिर लाग्यो । उसको मनभित्र खुल्दुली थियो, ‘कसको मृत्यु भएको रहेछ, हेलिकोप्टर नै आकाशमा लगातार घुम्नुपर्ने गरी ?’

शेखरले मीनभवन चोकबाट सजिलै रिङरोडमा चल्ने टेम्पो पायो । ऊ पिंगलाचोकमा नयाँ बनेको विद्युत् शवदाह केन्द्रको छेउमा ओर्लियो । त्यसपछि राजेश्वरी घाट निस्केर बागमतीको घाटैघाट आर्यघाटतिर लाग्यो । बीचमा पर्ने भस्मेश्वर घाट सुनसान थियो । यताको दाहसंस्कारको व्यापार सरेको थियो विद्युतीय शवदाहगृहतिर । शवदाह गरेर जीवन चलाउँदै आएका बाजेहरू बिलखबन्दमा परेका थिए । ती हिन्दू रीतिअनुसारका बाहुन नै हुन् त ? जैसी पनि होलान् । एकपटक शेखर केटाकेटी नै छँदा एकजना कामीसँग भेट भएको थियो उसको । ऊ उसको घरैछेउको सुब्बाको घरमा भान्से थियो । सुब्बा राजदरबारमा जागिरे थिए । 

घाटमा काम गर्ने बाहुनमध्ये केहीले विद्युतीय शवदाहतिर जागिर पाए पनि अरू धेरै त खाली नै थिए । फेरि, घाटको प्रच्छन्न जीवनको तुलनामा जागिरको महिमा नै के भयो र ? कात्रोदेखि बाँस र दाउरासम्म दाहसंस्कारका लागि आवश्यक सबै सामानको दलाली गर्दै आएका बाजेहरू अचानक बेरोजगार हुनु वा काम पाए पनि आंशिक मात्र पाउनु ठीक त पक्कै थिएन । शेखरले आफैँलाई सोच्यो– ऊ पत्रकार हुनुपर्ने मानिस थियो । अहिले पनि छन् जिज्ञासाहरू । तर, भएको छ साहु घनश्यामदासको म्यानेजर, जो घनश्यामदास, उसको परिवार र उसको उद्योग–व्यापार सबै कुराको म्यानेजर छ । सन्तोष यति मात्रै कि उसको तलब देशका ठूला पत्रकारले पाउनेभन्दा धेरै छ । झन्डै पचास हजार तलब बुझेर पनि बिजुली, पानी र ग्यासको घरायसी व्यवस्था शेखरले नै गर्नुपर्ने एउटा विडम्बना नै हो । काम गर्ने मानिस पाइए पो सर्वदाले आँगन बढार्ने कामबाट मुक्ति पाउनु !

शेखर आर्यघाटपारिको पटांगिनीमा उक्लियोे । मानिसहरूको हलुका भिड थियो त्यहाँ । उसले एउटा ठाउँ फेला पा¥यो जहाँबाट चिताको दृश्य प्रस्ट देख्न सकिन्थ्यो । उसले सम्झियो– उसको बाको मृत्यु हुँदा कति दुःख पाएको थियो उसले । घाटको ठेकेदारले बाको शरीर आर्यघाटको दुई नम्बर चितामा भस्म गर्न चार घन्टा पर्खिनुपर्ने सुनाएपछि शेखर बिरक्तिएको थियो । ‘बाको शरीर मात्रै छ हामीसँग,’ शेखर सोच्दै थियो, ‘बालाई अब के फरक पर्छ पशुपति मन्दिरभित्रै जलाऊन् कि टुकुचाको धारमा जलाऊन् !’

सोच्न त सोच्यो शेखरले । विषय कष्टकर थियो । उसले आफ्नो बालाई भस्मेश्वरतिर जलाउने व्यवस्था गरिदिन घाटको ठेकेदारसँग अनुरोध गर्यो । ठेकदार शेखरको अनुरोध मान्न तयार थिएन । 

झल्याँस्स ब्युँझियो शेखर सम्झनाको तरेलीबाट । बागमतीपारि भव्य तरिकाले फूलैफूलले सजाइएको चितामा लास राख्ने तयारी भइरहेको थियो । परिवारजन र आफन्तको रुवावासीले वातावरणलाई साह्रै कारुणिक बनाइरहेको थियो । शेखर हेर्दै थियो, कतिवेला दिइसकेछन् दागबत्ती । शेखरले बाको मृत्युको घटना सम्झियो । देशमा जन्म र मृत्यु दुवैको जगमा भेदभाव छ । बच्चा नागरिकता पाउने उमेरमा पुगेपछि आमाको नामको आधारमा मात्र नागरिकताको प्रमाणपत्र पाउन योग्य हुन्छ । उसले आफ्नो नागरिकताको प्रमाणपत्रमा आमासँगै बाबुको नाम लेखाउन चाह्यो भने के हुन्छ ? नागरिकताको प्रमाणपत्र अब एउटा नैसर्गिक आवश्यकता बन्दै छ । मुर्दाले नागरिकताको प्रमाणपत्र नदेखाएसम्म आफू पोलिने ठाउँ पाएन भने के हुन्छ ?

शेखरले त्यसपछि केही सोचेन । उसले पशुपतिनाथको आरती सकेर मात्र फर्किने मनस्थिति बनाएको थियो । त्योभन्दा दुई घन्टापहिले नै ऊ त्यहाँबाट बिथोलिएर उठ्यो । ऊ आएको बाटोबाट फर्किएन । साबिक मूलबाटो सुनसान थियो । त्यतैबाट फर्कियो । जीवनमा के–के नमिलेको भाव जाग्दै थियो उसको मनमा । ‘केही पनि त मिलेको छैन,’ शेखर आफैँलाई नियालेर हेर्न थाल्यो । 

सम्पादकको रोजाइ

सुझावित समाचार