जब सुदूरपूर्वबाट उदाउँदै गरेको ज्योतिर्मय सूर्य
अनि
पश्चिम क्षितिजमा
गलेर बोटबाट झर्दै गरेको हलुवाबेदजस्तो घाम देख्छु
पुरुषका तीन प्रतिरूप एकैपटक मेरा मनमा छाउँछन् ।
उदाउँदो शिशु सूर्यमा देख्छु
रगतमा लत्पतिएको मेरो नवजात छोराको
रक्ताम्य अनुहार
जो भर्खरै मेरो देहबाट छुट्टिएर
काखमा खसेको छ ।
ऊ मेरो काखमा खस्दै गर्दा यस्तो लाग्छ
हिजो अँध्यारोसँग डराएर मेरो गुन्युभित्र छिरेको
मेरो पति रूप
पुत्रको स्वरूप लिएर
छिरेको छ मेरो घरभित्र
र उज्यालिदिएको छ मेरो गृहस्थ ।
मध्याह्नको
प्रचण्ड र ओजस्वी घाममा देख्छु पतिपरमेश्वरको स्वरूप
जो आफूलाई देवत्वकरण गर्दै
आफू आएकै बाटोतिर चोरऔँला ठड्याएर प्रश्न गर्छ
को हो यो मेरो बाटोमा मैलाई हिँड्न सिकाउने ?
ऐनामा प्रतिबिम्बित आफ्नै प्रतिबिम्बतिर फर्किएर प्रश्न गर्छ
को हो यो मसँग बराबरी हुन खोज्ने ?
जब
सन्ध्याअघि समुद्रमा डुब्दै गरेको निस्तेज घाम देख्छु
मृत्यु शड्ढयामा साससँग जुधिरहेका मेरा पितातुल्य ससुरा बा देख्छु
जसको प्रतापी पुंसत्व
उनका दाँतसँगै फुक्लेर गइसकेका छन्
जसको वीर्यको वीरता
उनका छोराहरूले अंशबन्डा लगाइसकेका छन् ।
म उनकी बुहारीबाट फेरि उनकी आमा भएकी छु
जसलाई निदाउने वेलासम्म छेउमा मै चाहिन्छ
ब्युँझिएर उठ्दा आँखाअघि मै चाहिन्छ ।
म उनलाई
खुवाइदिन्छु
नुहाइदिन्छु
दिसापिसाब गराइदिन्छु ।
अचम्म त यो लाग्छ
मेरा ससुराले
होसमा हुँदा, ‘बुहारी बुहारी’ भनेर बोलाउँछन्
अर्धबेहोसीमा दिवंगत सासूका नामले पुकार्छन्
अनि बेहोसीमा बर्बराउँदा
‘आमा आमा’ भन्छन् ।
यस बखत म,
समाजले ‘पुरुष’ नबनाइसकेको मेरो नाबालक छोरो
भीमसेनजस्ता मेरा पति
र
शिथिल ससुराका अनुहारमा
पालैपालो हेर्छु र मुस्कुराउँछु ।
ए ! कसैले त सोधिहेर
म एक्लै मुस्कुराउनुको कारण !
०००