कथाले भरिएका हाम्रा अस्पताल

नेपालमा स्वास्थ्यसम्बन्धी विषय साहित्य वा सिनेमामा गहिरोसँग आउन सके समाजमा नयाँ बहस सुरु हुन्छ

अन्वेषण अधिकारी अन्वेषण अधिकारी
शनिबार, १९ जेठ, २०८१
डिजिटल संस्करण

मलाई दिनमा एउटा राम्रो कविता वा कथा पढेर आनन्द लिएर सुत्न पाइयो भने त्यो दिन सुखद भएजस्तो अनुभव हुन्छ । तर, पछिल्लो समय अध्ययनका लागि चाहिने समय व्यवस्थापन गर्न सकेको छैन । दैनिक ४५ मिनेट वा एक घन्टा समय व्यवस्थापन गर्न पाउँदा पनि निकै खुसी लाग्छ । कुनै उपन्यास वा पुस्तकलाई टुंगोमा पुर्याउन पाउँदा आउने मीठो भावना र सन्तुष्टि अमूल्य नै लाग्छ ।


कस्तो पुस्तक अरूलाई पढ्न सुझाउने भन्ने प्रश्न उठ्दा मलाई के लाग्छ भने मैले सुझाएका किताबको अरूका लागि उही माने वा मतलब नहुन सक्छ । जस्तै, मेरो विश्वचेत अलिक खुल्दै गरेको वेलामा मलाई कुन किताबको सबैभन्दा बढी प्रभाव प¥यो होला भन्ने सोच्दा म केही पुस्तक र लेखक सम्झन्छु । मेरा साथीले मेरो बारेमा टिप्पणी गर्दा नैतिकता र पेसागत निष्ठाबारे आवश्यकताभन्दा धेरै नै चिन्ता गर्छ भन्छन् ।

खासमा आफ्नो चेतना विकास हुँदै गर्दा पढेका केही पुस्तकले मभित्र यस्ता भावना विकास गरे भन्ने लाग्छ । लियो टल्सटोयको ‘पुनरुत्थान’, जुन मैले भीष्म साहनीको हिन्दी अनुवादमा पढेको थिएँ, फ्योदोर दोस्तोवस्कीको ‘अपराध र दण्ड’, अनि सानोमा आमाले सुनाउने नीतिकथाको प्रभाव यो दिशामा बढी थियो । त्यसै वेलातिर किताबलाई पछ्याउँदै जाँदा पहिले रवीन्द्रनाथ ठाकुर र पछि बट्र्रेन्ड रसेल दुईजनालाई भेटेँ, त्यसपछिका केही वर्ष ती दुई लेखकका भेटेजति सबै पुस्तक पढ्न लागेँ ।

हाम्रो कामका दौरानमा कतिपय त्यस्ता विन्दु पनि हुन्छन्, जहाँ हाम्रो थोरै बढी ऊर्जा, थोरै बढी माया, थोरै बढी धैर्यता र समयले बिरामीको जीवन र उसको परिवारको जीवनमा ठूलो फरक पार्न सक्छ । त्यस्ता विन्दुलाई ठीक समयमा पहिचान गर्न सक्नु राम्रो डाक्टरको खुबी हो ।

ठाकुर युगकै सबैभन्दा प्रखर कवि हुनुका अलावा आधुनिकताउन्मुख दक्षिण एसियाली प्रबोधनका सबैभन्दा ओजस्वी उदाहरण थिए, र अर्कोतर्फ यहाँको प्राचीनकालदेखिको सभ्यताका राम्रा, धारण गर्न लायक सबै गुणहरूलाई जीवन्त बनाउने सबैभन्दा बेजोड व्यक्तित्व र दार्शनिक थिए । दार्शनिक र गणितज्ञसमेत रहेका रसेल तार्किक सोच पद्धतिलाई पैरवी गर्ने गजबका लेखक थिए । अनि नेपाली लेखकमा बिपीका मोदीआइनजस्ता कृतिले पनि प्रभावित गरे । यो सम्झँदा मलाई के लाग्छ भने मैले सुझाएका किताब होइन, सबैले त्यसैगरी पढ्दै जाने र आ–आफ्ना लागि ठाकुर, रसेल र बिपीलाई पत्ता लगाउनुपर्छ ।


नेपालीमा बिपीका कथा र उपन्यास मलाई मनपर्छ । मोदीआइन त छोरीहरूलाई पनि पढेर सुनाइसकेँ । शंकर लामिछानेका निबन्ध, गोपालप्रसाद रिमाल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, विमल निभा र भूपी शेरचनका कविता मनपर्छ । नेपालीमा विश्वस्तरका कृति थुप्रै छन् । जस्तै, कुनै वेला दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’ पढ्दा अप्रत्यासित रूपमा त्यो चेतनाले हिर्काएको सम्झन्छु । नेपाली लेखकका कृति विश्वस्तरका भईकन पनि विश्वबजारमा पुग्न नसकेको मुख्य कारण चाहिं विदेशमा जस्तो लेखकका कृतिलाई सकेसम्म सबै दृष्टिकोणले परिष्कृत बनाउन अनेक मिहिनेत गर्ने सम्पादकीय अभ्यास छैन । त्यसका लागि त्यस्तो क्षमता र लगन भएका सम्पादक, तिनलाई उपयोग गर्ने प्रकाशन गृह, त्यस्ता सम्पादकसँग सहकार्य गर्न र परेमा २०–२५ पटक पनि आफ्नो कृति पुनर्लेखन गर्ने धैर्य भएका लेखक नै नभएकाले होला ।


भर्खरै मात्र ‘भुक्तमान’ पढेर सिध्याएँ । यस पुस्तकको विमोचनमा पनि वक्ताका रूपमा थिएँ । सञ्चारकर्मी धीरेन्द्र सिनालले लेख्नुभएको यो पुस्तकले नेपालको स्वास्थ्य प्रणालीलाई एउटा बिरामी र तिनका परिवारको आँखाबाट हेरेको छ ।गर्भवती श्रीमतीको मिर्गौला खराब भएपछि उपचारका क्रममा आउने जटिलतालाई उहाँले पुस्तकमा उतार्नुभएको छ । १० वर्षसम्म उहाँहरूले भोग्नुपरेको सास्तीले साँच्चै रुवाउँछ । उपचारका लागि कहिले काठमाडौं, कहिले पश्चिम तराईका जिल्ला, कहिले सीमापारिका जिल्ला र कहिले दिल्लीका ठूला अस्पताल धाउँदाका अनुभव यसमा छन् । त्यहाँ अन्य बिरामीका अनुभव, चिकित्सकको व्यवहार, विद्यमान प्रणालीले औसत बिरामीलाई गरेको व्यवहारलगायत पुस्तकमा समेटिएका छन् । राज्यले काठमाडौंमा बनाएको नीति मोफसल पुग्दा कसरी काम नलाग्ने भइसक्छ भन्ने कुरा मिहिन रूपमा चित्रण गर्नुभएको छ ।

हाम्रो पेसा नै विशेष आँखीझ्याल हो । विपन्नदेखि उच्च वर्गसम्मका समाजका विभिन्न तहका मानिस भेट्न पाइन्छ । देशका विभिन्न वर्ग, विभिन्न आर्थिक श्रेणीका मानिस आउने भएकाले यहाँ बस्दा समाजबारे धेरथोर जानकार भइन्छ ।


एउटा बिरामी भएको परिवारको मानिसले हेर्दा हाम्रो स्वास्थ्य प्रणाली कस्तो देखिन्छ ? यस विषय जान्नका लागि पुस्तक उपयोगी छ । स्वास्थ्यसम्बन्धी सबै सरोकारवाला र राज्यको नीति बनाउनेहरूले यो पुस्तक पढ्नैपर्छ ।रमेश विकलको ‘आज फेरि अर्को तन्ना फेरिन्छ’, बुद्धिसागरको ‘कर्णाली ब्लुज’लगायतमा अस्पतालको चित्रण छ । तर, ती फिक्सन भए । विनोदविक्रम केसीले आफ्नी आमा बिरामी हुँदाको भोगाइबारे मर्मस्पर्शी छोटा निबन्ध लेख्नुभएको छ । तर, आम नेपालीको नेपालको स्वास्थ्यसेवा प्रणालीको भोगिएको प्रथम पुरुष अनुभव र ती अनुभवका गल्लीहरूबाट देखिने नेपालको स्वास्थ्य सेवा प्रणालीको जस्तो विस्तृत चित्र सिनालजीले व्यक्तिगत संस्मरणका रूपमा लेख्नुभएको छ, त्यसरी पहिले लेखिएको थिएन जस्तो लाग्छ ।


म फिक्सनभन्दा पनि ननफिक्सन धेरै पढ्ने गर्छु । स्वास्थ्यसम्बन्धी अनुसन्धानमूलक लेखहरूको लेखपढ हुन्छ नै । विशेषगरी ट्विटरमा धेरै समय बित्छ । त्यहाँ सेयर गरिएका राम्रा आलेख पढ्न मन लाग्छ । प्रायः ननफिक्सन नै हुन्छन् ।विगत केही महिनामा पढेका किताबमा पाउलो फ्रेरेको ‘पेडागोजी अफ द अप्रेस्ड’ पढ्न साथीहरूले लामो समयदेखि नै सुझाब दिइरहेका थिए । केही महिनाअघि पढेर सकेँ । समाजकै क्रान्तिकारी रूपान्तरण गर्ने शिक्षा कस्तो हुन्छ, त्यस्तो रूपान्तरणकारी शिक्षा लिने–दिने कसरी हो, यसका मुख्य पात्र को हुन्छन्, गुरुहरूमा कस्ता गुण हुनुपर्छ लगायत विषय यसमा छन् । रोमन सम्राट् र ‘स्टोइक’ दार्शनिक मार्कस अरेलियसको ‘मेडिटेसन्स’ पनि भर्खरै पढेको कृति हो । यो दुई हजार वर्षभन्दा अघि लेखिएको कृति हो । 


आजकल पढ्नेभन्दा अडियो बुक र पडकास्ट सुन्ने बढी हुन्छन् । यसै सालमा अल्जेरियन मूलका फ्रेन्च उपन्यासकार अबलेर कामुको ‘द प्लेग’ सुनेँ । पहिले आइएस्सी कालमा पढेको थिएँ । कोभिड सुरु भएदेखि नै यो पुस्तकमा फर्कन मन लागिरहेको थियो । १९४७ मा लेखिएको यो पुस्तकमा महामारी आउँदा समाजका विभिन्न तप्काका मानिसले कसरी व्यवहार गर्छन् भन्ने कथा छ । यो अस्तित्ववादी दर्शनबाट प्रभावित उपन्यास हो । जेम्स बाल्डविनका निबन्धको संग्रह ‘नोट्स फ्रम अ नेटिभ सन’ पनि यसै साल सुनेको कृति हो । उनी आफ्ना लेखनीमा सत्य र न्यायको बफादारी र पिँधमा पुगेकाको पैरवी मर्मभेदी दृष्टि र ओजपूर्ण शैलीसाथ राख्ने अश्वेत अमेरिकी लेखक हुन् । 


अहिले एम्पायर भन्ने पोडकास्ट सुनिरहेको छु । यसमा दुई इतिहासविद् विलियम डेरिम्पल र अनिता आनन्दले मानव समाजमा गएको ५–६ हजार वर्षदेखि उदाएका र अस्ताएका विभिन्न साम्राज्य, जस्तै– पर्सियन साम्राज्य, ग्रिक साम्राज्य, मेसिडोनियन साम्राज्य, बेलायती साम्राज्यलगायतको गठन र विघटनको इतिहासबारे रोचक चर्चा गरेका छन् । यो सुन्दा विभिन्न किसिमका क्रान्ति, दासप्रथा, विश्व व्यापार, संस्कृतिहरूको विकास आदि अनेक विषयमा कसरी प्रभाव पारे र विश्व समाज आजको अवस्थामा आइपुगेको छ भन्नेबारे धेरै बुझिन्छ ।


बानिरा गिरीको ‘कारागार’ पनि पहिलेदेखि पढ्नुपर्ने भनेर राखिरहेको थिएँ । आमा बिरामी छँदा अस्पताल कुर्न बस्दा पढेर सकेँ । यस अवधिमा पढेको प्रगति राईको ‘थांग्रो’ उपन्यास पनि निकै मनपर्यो । राजु स्याङ्तान मलाई असाध्यै मनपर्ने कवि हुन् र लामो प्रतीक्षापछि उनको कविता संग्रह ‘ओ पेङ्दोर्जे’ पढ्न पाइयो । त्यो सारै मन परेको थियो । नयाँ कवितामा मेरा जेठान दाजु गणेश श्रमणको संकलन ‘आगो लिएर गाउँ–गाउँमा’ का केही कविता आफ्नै मान्छेको भएकाले पनि प्रिय लाग्छन् । 


अस्पताल कथाको भण्डार
जनजीवन पनि देखिने गरी, सरकारलाई पनि दबाब हुने गरी, रचनात्मक तरिकाले अझै धेरै साहित्य सिर्जना गर्न सकिन्छ भन्ने लाग्छ । आन्तोन चेखव, आर्थर कोनन डोयल, माइकल क्रिकटन, खालेद होसेनी, ओलिभर स्याक्सजस्ता केही डाक्टरले आफूलाई इतिहासमा महान् साहित्यकारका रूपमा स्थापित गरेका छन् । उनीहरूको लेखाइमा अन्तज्र्ञान, संवेदनशीलता, पात्रका मनोभावको सूक्ष्म बुझाइ देखिन्छ । चिकित्सा पेसाको अभ्यास र प्रशिक्षणले पनि उनीहरूको लेखाइमा तीक्ष्णता ल्याउन भूमिका खेलेको हुनुपर्छ ।


हाम्रो पेसा नै विशेष आँखीझ्याल हो । विपन्नदेखि उच्च वर्गसम्मका समाजका विभिन्न तहका मानिस भेट्न पाइन्छ । विभिन्न समुदाय र क्षेत्रबाट आउनुहुन्छ । यही कीर्तिपुर अस्पतालमा सुदूपश्चिम र कर्णालीका धेरै बिरामी आउनुहुन्छ । देशका विभिन्न वर्ग, विभिन्न आर्थिक श्रेणाीका मानिस आउने भएकाले यहाँ बस्दा समाजबारे धेरथोर जानकार भइन्छ ।मैले कतिपय कवि र लेखकलाई बिरामीका रूपमा पनि भेटेको छु । निको भइसकेपछि हस्ताक्षर गरेर आफ्ना कृति दिनुहुन्छ । साहित्यप्रेमी बिरामीसँग साहित्यको कुरा पनि चल्छ । 


समाजमा कतिपयले डाक्टरको पेसालाई मानिसहरूले दया, करुणासँग र निःस्वार्थतासँग मात्र जोडेर रोमान्टिसाइज गर्छन् । तर, यसरी अतिरञ्जित गर्दा उल्टै मानिसका पूरा हुन नसक्ने गरी अपेक्षा बढ्छन् ।डाक्टर कतिपय अवस्थामा मात्र एउटा सामान्य सिपाही, कारिन्दा वा मानिसको स्वास्थ्य समस्यामा सहयोगी हो । ऊसँग कुनै मायावी शक्ति हुँदैन । बाहिरबाट बिरामीलाई देख्नेबित्तिकै सबै थाहा हुने पनि होइन । जादुले निको पार्ने क्षमता पनि हुँदैन । अस्पताल सञ्चालन गर्ने सयौँ कर्मचारी हुन्छन् । कोही निको भए भने एउटा डाक्टरको मात्र प्रतापले होइन, सारा प्रणालीको कारणले निको हुने हो । 


तर, हामीले सारा सिस्टमको प्रतिबिम्बका रूपमा एउटा डाक्टरलाई उभ्याएर हेर्छौं  । धेरैजसो अवस्थामा, हामी सामान्य कारिन्दा मात्रै हौँ । तर, त्यसो भन्दै गर्दा हाम्रो कामका दौरानमा कतिपय त्यस्ता विन्दु हुन्छन्, जहाँ हाम्रो थोरै बढी ऊर्जा, थोरै बढी माया, थोरै बढी धैर्यता र समयले बिरामीको जीवन र उसको परिवारको जीवनमा ठूलो फरक पार्न सक्छ । त्यस्ता विन्दुलाई ठीक समयमा पहिचान गर्न सक्नु राम्रो डाक्टरको खुबी हो ।


डाक्टर र बिरामीबीचको सम्बन्ध निकै गहिरो हुन्छ । अरूलाई कसैलाई नभनेका कुरा पनि बिरामीले डाक्टरलाई भनेका हुन्छन् । उहाँहरूबाट डाक्टरले स्वास्थ्यसम्बन्धी धेरै विवरण पाउँछन् । त्यसका कारण खोज्दा सामाजिक पक्ष आउँछ । बुढाबुढीको झगडा पर्छ वा पर्दैन । ऋण छ वा छैन । मानसिक समस्या किन छ ? यस्ता कुरा थाहा हुन्छ । बिरामीलाई लिएर डाक्टरका भोगाइ फरक–फरक हुन्छन् । कुनै वेला धेरै भावुक भइएला, कुनै वेला कम भावुक भइएला । थाम्न गाह्रो होला । कतिपय घटनाले रुवाउँछन् । बिरामीसँग उपचारमा संलग्न हुँदा नजिक भइएको हुन्छ । उनीहरूसँगको अन्तर्क्रियाले एउटा भावनात्मक सम्बन्ध बनेको हुन्छ । चिकित्सकको यो अनुभव साहित्यमा काम आउन सक्छ । यस्ता धेरै कथा अस्पतालमा हुन्छन् ।


नेपालमा बिरामीले स्वास्थ्यसँगै ठूलो आर्थिक समस्या पनि बोकेर आएका हुन्छन् । कहिलेकाहीँ महँगो औषधि चलाउनुपर्ने हुन्छ । तर, बिरामीसँग पैसा नहुन सक्छ । सबैलाई तनाव हुन्छ । एउटा प्रणालीमा चलेको देशमा यस्तो समस्या नहोला । भारतमै विपन्न नागरिकका लागि धेरै सहुलियत छ । हाम्रोमा घोषणा धेरै भएको छ । तर, कार्यान्वयन कम हुन्छ । राम्रो नेतृत्व र व्यवस्थापन क्षमता हुने हो भने अहिलेभन्दा धेरै राम्रो उपचार दिन सकिन्थ्यो होला ।


स्वास्थ्य बिमा पनि सोचेजस्तो प्रभावकारी छैन । सबै अस्पताललाई यसले समेटेको छैन । बिमा सुविधा भएका अस्पतालमा धेरै विषयका विशेषज्ञ चिकित्सक उपलब्ध नहुन सक्छन् । सर्वसाधारणका आवश्यकता पूरा गर्नभन्दा पनि अनावश्यक परीक्षण गरेर सरकारको पैसा दुरुपयोग गर्नका लागि बिमा सेवा भएजस्तो पनि देखिन्छ ।


नेपालमा स्वास्थ्यसम्बन्धी विषय साहित्य वा सिनेमामा गहिरोसँग आउन सके समाजमा नयाँ बहस सुरु हुन्छ । लकडाउनकै विषयमा धेरै कथाहरू बन्न सक्छन् । अहिले ननफिक्सन पुस्तकहरू आएका छन् । स्वास्थ्य प्रणालीमा नीतिगत सुधारका कुरा आइरहेका छन् । केही समयपछि फिक्सनमा पनि आउला । आधुनिक मानव इतिहासमै विश्वभर यति नराम्रो अनुभव बिरलै भयो । यही देशमा पनि उपचारै नपाएर मर्ने, अक्सिजन लगाइरहेका बिरामीलाई अक्सिजन सकियो, अब जता जान सक्छौँ जाओ भन्ने र हाहाकार हुने अवस्था आयो । यो कथा सायद कसैले लेख्दै होलान् । केही कविताहरूले लेखिसक्नुभयो ।


स्वास्थ्यबारे साहित्य लेख्न प्राविधिक ज्ञान भने जरुरी हुन्छ । विज्ञान सारक्षता चाहिन्छ । साइन्स फिक्सन वा हेल्थकेयरसम्बन्धी फिल्म वा पुस्तक निकाल्नेहरूले स्वास्थ्य र विज्ञानबारे धेरैभन्दा धेरै अध्ययन गर्न जरुरी छ । त्यसपछि मात्र उनीहरूले प्राविधिक पक्ष आफैँ खोज्न र पर्गेल्न सक्छन् । त्यसलाई सही रूपमा व्याख्या गर्न पनि उनीहरू सक्षम हुन्छन् । वा, सुरुवाती चरणको लेखनदेखि नै कोही विज्ञको सहयोग लिँदा यथार्थपरक हुन्छ ।

-प्रस्तुति : अन्वेषण अधिकारी

सम्पादकको रोजाइ

सुझावित समाचार