साहित्यकार रवि प्राञ्जललाई मनपर्ने ६ पुस्तक

अन्वषेण अधिकारी अन्वषेण अधिकारी
शनिबार, ३ चैत, २०८०
डिजिटल संस्करण

साहित्यका धेरै विधामा कलम चलाएका रवि प्राञ्जल अध्ययनमा पनि कुनै एक जनरामा सीमित छैनन् । उनी आख्यान, गैरआख्यान, संस्मरण, दर्शनलगायत विविध क्षेत्रका पुस्तक पढ्न मन पराउँछन् । ‘रुचि पनि समयअनुसार परिवर्तन हुने रहेछ । मलाई आख्यान बढी मनपथ्र्यो । युवाकालमा थ्रिलर, जासुसी  टाइपका आख्यान पढ्थेँ । बिस्तारै साहित्यिक आख्यान पढ्न थालियो । दर्शन पढ्न मन लाग्यो,’ उनले भने, ‘अहिले गैरआख्यानमा मेरो रुचि छ । नियात्रा र संस्मरणहरू पढ्न  मज्जा लाग्छ ।’ आफूलाई मन पर्ने पुस्तकबारे अन्वेषण अधिकारीसँग उनले गरेको कुराकानी :

आमा : मजदुर वर्गबारे लेखिएको रुसी उपन्यास हो, आमा । रुसी क्रान्तिअघिको पृष्ठभूमिमा लेखिएको म्याक्सिम गोर्कीको यस उपन्यासले औद्योगिकीकरण, मजदुर वर्गका समस्या, आमा र धर्तीलाई हेर्ने दृष्टिकोण प्रस्तुत गरेको छ । यसमा तत्कालीन राजनीतिक–सामाजिक परिवेश देखाइएको छ । वर्गसंघर्ष चलिरहेको ठाउँमा यावत् घटनाहरू हुन्छन् । कथा प्रस्तुति बेजोड र गज्जब भएकाले यसलाई विश्व साहित्यकै उत्कृष्ट उपन्यासमध्ये एक मानिन्छ ।  मैले यो उपन्यास सोभियत संघको पुस्तकालयमा पढेको हुँ । उपन्यास हिन्दी भाषामा पनि थियो । मूल भाषामै पढ्न पाएको भए अझै मज्जा आउँथ्यो भन्ने लाग्छ ।

अरिवल बग्दछ इन्द्रावती :  राजनीतिक–सामाजिक मनोविज्ञानमा लेखिएका रमेश विकलका कथाहरू मलाई निकै मन पर्छ । समाजलाई मिहिन ढंगले बुझ्न सक्ने विकलको जस्तो खुवी कमै लेखकमा पाइन्छ । उहाँका रचनाहरूले जुन सन्तुष्टि दिन्थ्यो, त्यस्तो सन्तुष्टि अन्य आख्यानहरूमा कम पाएकाले पनि मैले गैरआख्यान पढ्न थालेँ भन्ने लाग्छ । उहाँले समाजमा भइरहेको पाखण्डीपनलाई (जे हुन्छ भन्छ, व्यवहारमा अर्कै हुन्छ) आफ्ना कथामा छर्लंगै देखाउनुहुन्छ । ‘अविरल बग्दछ इन्द्रावती’ यसैको एक ज्वलन्त उदाहरण हो । कुनै समय म विकलका सबै कथाहरू खोजी–खोजी पढ्थेँ । 

चपाइएका अनुहार : दौलतविक्रम विष्टको यो उपन्यास मलाई निकै मन पर्छ । यसमा बीभत्स सामाजिक विसंगति, युद्धबाट पीडित भएको समाजको वातावरणलाई पनि गहिरो र कलात्मक रूपमा व्याख्या गरिएको छ । प्राविधिक कुरा उठाइएको छ । धेरैले यो पुस्तक एकपटकमा बुझ्न नसकेको बताउँछन् । मैले पनि तीनपटक पढेँ । अझै पढ्न मन छ । 

घुमक्कड स्वामी : हिन्दी साहित्यका प्रसिद्ध लेखक राहुल सांकृत्यायनले यो पुस्तकमा यात्राका माध्यमबाट एउटा साधारण व्यक्तिले विविध ज्ञान प्राप्त गरेर अन्त्यमा उच्च जीवन प्राप्त गर्न सफल भएको देखाएका छन् । जीवनधर्मको खोजी गर्दै हिँड्ने विशेष पात्रको जीवनी र यात्रा विवरणको रूपमा यो पुस्तक लेखिएको छ । यसको कथाशैली बेजोड छ ।

योगी कथामृत (अटोबायोग्राफी अफ अ योगी) :  परम्हंश योगानन्दको विश्वका ४३ भाषामा प्रकाशित भइसकेको यो पुस्तक एकपटक पढ्नैपर्ने पुस्तक हो भन्ने मलाई लाग्छ । सन् १९४५ मा लेखिएको यो पुस्तकले हामीले हेरिरहेको दुनियाँबाट अलग दृष्टिकोणबाट चर्चा गरेको छ । यसमा ईश्वरसँग साक्षात्कार गर्ने विधिको चर्चा गरिएको छ । हामीभित्रै सबै छ, आफैँलाई गहिरिएर खोजियो भने रहस्यमा रहेका यावत् कुरा भेट्न सकिन्छ भन्ने पुस्तकमा देखाइएको छ । सुरुमा त पुराणको कथाजस्तो पनि लाग्न सक्छ । कतिपयलाई तर्कसंगत नलाग्ला । तर, ठाउँ–ठाउँमा यसको मिहिन व्याख्या गरिएको छ, जसले लेखकका तर्कहरूलाई स्पष्टसँग स्थापित गर्छ । यस्ता पुस्तकले मानिसको आध्यात्मिक चेतलाई जागृत गराउन सहयोग गर्छ ।  

भग्नभैरव :  हास्यव्यंग्य, निबन्ध, पत्रकारिता, सम्पादनलगायत धेरै विधामा भैरव अर्याल उत्कृष्ट लेखक हुन् । उनका कृतिहरू जति पढिनुपर्ने हो, जति चर्चा हुनुपर्ने हो, त्यति भएको छैन । उनको जीवनीमा आधारित रहेर प्रोल्लास सिन्धुलीयले लेखेको उपन्यास ‘भग्नभैरव’ मलाई निकै मन पर्छ । सत्य घटनामा आधारित यस पुस्तकमा विशिष्ट क्षमताको लेखनी भएका व्यक्तिलाई समाजले चिन्न नसक्दाको विडम्बना छ ।

कुशल सम्पादन, उत्कृष्ट कवित्व क्षमता, अखबारी लेखनमा अब्बललगायत उहाँका गुणहरूको मात्रै चर्चा गरिएको छैन । अर्यालमाथि भएको बौद्धिक श्रम शोषणबारे पनि लेखिएको छ । उनको क्षमता चिनेर जागिर दिनेले शोषण मात्रै गर्यो, त्यहीकारण उनी बाहिर हाँसेर पनि भित्र–भित्रै डिप्रेसनजस्तो अवस्थामा पुगे । बौद्धिक शोषण हिजो मात्रै थिएन, आज पनि छ । त्यहीकारण पनि यो पुस्तक पढ्नुपर्छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार