हजारौँ सिनेमाको चिसो चिहान

मनोज पन्त मनोज पन्त
शुक्रबार, १ चैत, २०७५
डिजिटल संस्करण

फिल्म

आजभोलि सहरमा सिनेमासम्बन्धी घनीभूत बहस हुने गर्छन् । सिनेमा पढाउन भनी बगे्रल्ती खुलेका संस्थानहरू, सिनेमा महोत्सवहरू अनि अनगिन्ती मिडियाहरू हाम्रो सिनेमाको बाटो सोझ्याउन लागिपरेका छन् । लाग्छ, यी थुप्रै डिस्कोर्सबीचबाट थाकेको सिनेमा उद्योगले आफ्नो दिशा भेट्नेछ । किन्तु स्पष्ट दृष्टिकोण विनाका यी बहस प्रायः समय काट्ने चौतारी गफझैँ छन् । र, लड्दै–पड्दै, घिस्रिँदै यहाँसम्म अइपुगेको हाम्रो सिनेमा जगत् अक्करे भिरको फेदमा बाटो हराएर बिचल्लीमा परेको छ ।

हाम्रो विडम्बना, हामीले सिनेमालाई मनोरञ्जनको साधनको रूपमा मात्रै व्याख्या गर्यौँ । तर, हाम्रा अधिकांश सिनेमाले मनोरञ्जन गराउन सकेनन् । हामीले सिनेमाको ध्येयलाई फगत व्यवसायमा सीमित गर्यौँ । तर, हाम्रा अधिकांश सिनेमाले व्यवसाय गर्न सकेनन् । आफ्नै उद्देश्यमा चुकेका तमाम सिनेमाका कर्मकाण्डले कहिल्यै त्यो घेरोभन्दा बाहिर बसेर सिनेमाका अथाह सम्भावनालाई खोतल्ने प्रयास गरेन । सडेगलेका मसलाहरू लादेर,घिसिपिटी कथाहरू बान्ता गर्दै सिनेमाका हुलहरू बजारमा उत्रिए ।

फगत बजारको मुनाफाका लागि ठसठस कन्दै आफ्नो कर्ममा तल्लीन सिकारुबाट धेरै अपेक्षा राख्नु नै मूर्खता भइदियो । विदेशी सिनेमाले सिकाएका केही सीमित बासी सूत्रहरू उधारो मागेर, बजारमा होमिने यो संस्कार आफैँ साह्रै दुःखी छ । उसलाई अझै जिम्मेवारीको भारी बोकाएर क्षतविक्षत् पार्नुको कुनै स्वाद छैन । यी प्राणविहीन खोक्रा डब्बाहरूलाई उसैको चिरनिद्रामा सुत्न दिँदा बेस । हाम्रा अर्काइभमा थुप्रिएका हजारौँ सिनेमाको चिसो चिहानलाई खल्बल्याइरहनुमा कुनै तुक छैन ।

प्रविधिको सहज पहुँचले आजको मान्छे आफ्नो हात–हातमा विश्व बोकेर हिँडेको छ । उसलाई संसारका सबै कुनाका सिनेमाका आयाम अनुभव गर्न सहुलियत छ । त्यसैले ऊ हिजो–अस्तिजस्तो सिनेमाले कोच्याएर खुवाउने बासी अमिलो स्वादमा त्यति मजा मान्दै छैन । ऊ अनेकन विदेशी भेराइटीलाई अघि सारेर नेपाली सिनेमाको स्वादलाई जाँच्छ र चित्त नबुझाएर गुनासो गर्छ । ग्लोबलाइजेसनको चक्रव्यूहमा घेरिएको नयाँ पुस्ताले प्रविधि र शिल्पको बेतोड प्रयोग भएको अत्याधुनिक सिनेमाको पारखी भेटेको छ । तिनै विदेशीको सूत्र सापटी लिँदै प्रविधि र पैसाको सीमिततामा बनेका सिनेमा बोकेर बजारमा निक्लिएका हाम्रा व्यवसायीलाई आफ्नो माउसँग प्रतिस्पर्धा गर्न झन्–झन् गाह्रो हुँदै जानेछ । सिनेमालाई केबल मनोरञ्जन व्यवसायको रूपमा मात्रै बुझ्ने सोकल्ड सिनेमा उद्योगको अस्तित्व प्रत्येक दिन संकटले घेरिँदै छ ।   

हाम्रो सिनेमा उद्योगले भोग्दै गरेको संकटको कालो बादलमा केही उज्याला चाँदीका घेरा देखिन्छन् । जब हामी विदेशीले सिकाएको शिल्प र सौन्दर्य बोकेर उनीहरूसँग प्रतिस्पर्धामा उत्रन सक्दैनौँ भने हामी हाम्रो अस्तित्वका लागि पनि आफ्नै शिल्प र सौन्दर्यको उत्खनन गर्न बाध्य हुनुपर्नेछ । जब हामीलाई बोध हुन्छ, हामी माइकल ज्याक्सनजस्तो नाच्न जान्दैनाैं, हामीलाई मारुनी र चर्याहरूको मूल्यबोध हुँदै जान्छ । विदेशीले लादेका सौन्दर्यबोध बोकेर उनीहरूसँगै प्रतिस्पर्धा गर्दा हामीहरू थाक्छौँ । अनि हामीलाई हाम्रा सौन्दर्यका मानक त फरक पो छन् है ? भन्ने सचेतना उम्रँदै जान्छ ।

हाम्रा सिनेमा हाम्रा जस्ता भएनन् । यिनको कथ्य र शिल्पमा विदेशी स्वाद आयो । हामीले हाम्रो सिनेमामार्फत हाम्रा जीवन हेर्न पाएनौँ, हाम्रो बाचाकी हेर्न पाएनौँ । नेपाली सिनेमाको स्वरूपलाई लिएर केही दशकबाट एकाध चिन्ताहरू प्रकट हुन थालेका छन् । विगतका केही वर्षदेखि यो चिन्ताको फ्रिक्वेन्सी ह्वात्तै बढेको छ र मुख्य कुरा के भने यिनै सचेतनाको बुई चढेर नेपाली सिनेमाले नवलहरको बाटो खोजेको छ ।

यतिवेला हाम्रो सिनेमा जगत् बाटो हराएको बटुवाझैँ छ । बजारमा बिक्दै आएका मसला बिस्तारै दर्शकले पचाउन छाडेका छन् । नयाँ स्वाद र नयाँ मानकका स्तम्भ खडा गर्न हाम्रो संस्कार चुकेको छ । यदाकदा आफ्नै शिल्प र सौन्दर्य बोकेर केही गम्भीर प्रयास देखा पर्छन् । तर, गहिरो आत्मविश्वासमा खडा हुन नसकेर यी सिनेमाले नयाँ सडकको नक्सा खिच्न सकेका छैनन् । नेपाली सिनेमा मौलिक शिल्प र सौन्दर्यको बाटोतर्फ उन्मुख हुन खोज्दै छ, तर बाटो खन्ने केही थान गैँती र बेल्चा हराएका छन् । सिनेमाको शिल्पमा आफ्नो जीवन समर्पण गर्न लागिपरेको नयाँ पुस्ताले केही थान औजार खोजी गर्नुपरेको छ । जसले खनोस्, नेपाली सिनेमाको नयाँ बाटो ।

 १ . चेतनाको खोजी 
सबैभन्दा पहिले खोज्नुपरेको छ– सिनेमा चेतना । ५ दशकभन्दा लामो हाम्रो सिनेमाको इतिहासमा सिनेमाले साह्रै निम्छरो र साँघुरो अर्थ भेटेको छ । केही बासी आर्किताइप्सहरूलाई बटुलेर मान्छेलाई रनभुल्ल पार्दै पैसा सोहोर्ने साधनको रूपमा रहेको सिनेमाको बुझाइको दायरा फराकिलो पार्नु छ । निरन्तर प्रवाहमा रहेको समयको यात्रालाई बन्द बाकसमा कैद गर्नु र बारम्बार अनुभूत गर्न सकिने सिनेमाको महत्वलाई नजरअन्दाज गरेर हाम्रा सिनेमाका टाइमलाइनहरू प्रदूषित र भद्दा जीवनको आरोहण गर्न लागिपरेका छन् । हाम्रो जीवनलाई सबैभन्दा नजिकबाट छाम्ने माध्यम सिनेमा कसरी हुन सक्छ ? हामीलाई त्यसको हेक्का छैन । समयको इन्धन भरेर सिनेमाले कसरी काव्यिक उडान भर्न सक्छ ? हामीलाई त्यसको जानकारी छैन ।

सिनेमालाई केही सूत्रको भकारीमा बेरेर हामीले सिनेमाको व्याख्यामा पूर्णविराम लगाइदिएका छौँ । हाम्रा सांस्कृतिक आयामहरू, हाम्रा जीवनका मूल्यहरू, हाम्रा सिनेमाको कोड्सहरूले कहिल्यै खोज्न चाहेनन् । हाम्रै परिवेशमा बनेका सिनेमाका कथालाई हामीले एलिएनका कथाजसरी सुन्यौँ, हेर्यौँ । हाम्रो जीवन पद्धतिले नै हामीलाई आफ्ना मूल्यमा घृणा गर्न सिकाएको छ । तेस्रो विश्वको नागरिकको रूपमा हामी हाम्रो अस्तित्वलाई हेला गरेर हुर्कियौँ । आफ्नो भाषा बोलेबापत सजाय भोग्नुपर्ने प्रथा बोकेका हाम्रा स्कुलले हामीलाई आफ्नै अस्तित्वलाई घृणा गर्न सिकायो ।

विदेशी जीवनमूल्य, भाषा र संस्कारको हेजेमोनीले खर्लप्पै खाएको हाम्रो जीवनदर्शनले हाम्रो अस्तित्वलाई सकभर ढाकछोप गरेर एउटा नक्कली जीवन बाँच्न सिकाएको छ । आफैँ उभिएको जमिनलाई छिछि र दुरदुर गरेर खुट्टा उचालेको नयाँ पुस्ता, कुनै सरियल सिनेमाको पात्रझैँ जमिन र आकाशको बीचमा तैरिरहेको छ । सानो हावाको झोकाले उसलाई विचलित पारिदिन्छ । उसको टेक्ने लाठो छैन । समाउने डालो छैन । जब हामी आफ्नै अस्तित्वको गीत गाउन सक्दैनाैं, आफ्नै जीवनमूल्यमा बाँच्न सक्दैनौँ, हाम्रा सांस्कृतिक चेतना सधैं बोधो भइरहन्छन् र बाहिरी चेतनाको दास भएर आफूलाई सधैँ दोस्रो दर्जाको मान्छेको रूपमा उभ्याउँछौँ ।

विश्व–व्यवस्थाको अहिलेको कहालीलाग्दो संरचनाले हाम्रो मूल्यलाई डरलाग्दो हुन्डरीमा घिच्याइदिएको छ । यतिवेला हामीले हाम्रो मूल्य फिर्ता माग्नु परेको छ । हामीले हाम्रो जीवनदर्शनलाई अलिकति सोझ्याउनु छ र आफ्नो अस्तित्वको जमिनमा दह्रो गरी पाइला राख्नु छ । हामीले हाम्रो सौन्दर्य चेतनाको मूल्य बुझ्न सके मात्र त्यसको प्रतिबिम्ब सिनेमाको समयचित्रमा देखिएला र बिस्तारै सिनेमा लादिएका बहिरी सूत्रहरूलाई बिर्सिएर हाम्रो आफ्नै जीवन, हाम्रो आफ्नै कथ्य र हाम्रो आफ्नै बाचाकीको उत्खनन गर्न लागिपर्ला । थिएटरमा केही समय रमिता देखाएर कुलेलम ठोक्ने ध्येयबाट उम्किएर सिनेमाले चिरकालसम्म प्रभाव पार्न सक्ने सांस्कृतिक अभियानको बाटो समाउला । 

२. दर्शकको खोजी     
जुन सिनेमामा दम छ, तिनीहरूले आफैँ दर्शक भेटिहाल्छन् नि भन्ने चलनचल्तीको मान्यताको प्रभावले नयाँ आयामको बाटो छेकेको छ । हामी जे–जस्ता सिनेमाको स्वाद लिँदै हुर्कियौँ, त्यसैको रस बस्यो, त्यसकै नशा लाग्यो । तर, यी प्रदूषित सिनेमाका स्वाद बासी छन्, अपूरा छन् र सतही छन् भने अब नयाँ परिकारको खोजी गर्नुपरेको छ । दशकौँदेखि चाखिरहेको नियमित स्वादमा धक्का लाग्दा दर्शकहरू धर्मराउलान्, यही भयले थुप्रै सिनेकर्मी पुरानै सडेगलेका मसला हालेर बासी सिनेमा पस्कन लागिपरेका छन् । 

संसारभर सिनेमामा स्थापित थुप्रै नवलहरको नेतृत्व सिनेमाका समीक्षकले गरेका छन् । यथास्थितिका सिनेमालाई गाली गर्दै सिनेमाले हिँड्नुपर्ने बाटोको दिशानिर्देश गर्ने जिम्मेवारी सिने समीक्षकको काँधमा हुन्छ ।

नेपालको बौद्धिकवर्ग नेपाली सिनेमालाई हेयको नजरले हेर्छ । हलसम्म पुगेर सिनेमा हेर्नु इज्जतिलो काम हो जस्तो उसलाई लाग्दैन । नेपाली सिनेमाका ठेकेदारहरू भने आफ्नै नियमित दर्शकको गोलघेराको कन्फर्मिटीमा रमाएका छन् । गम्भीर प्रयासमा लागेका सर्जकहरू दर्शक नभेट्ने डरले हच्किएका छन् । अतः नयाँ सिनेमाको अभियानले नयाँ दर्शकको खोजी पनि सँगै गर्नु छ । सिनेमालाई आफ्नो जीवनशैलीभन्दा टाढा राख्ने जमातलाई सिनेमाको भोक जगाउन जरुरी छ । जबसम्म नेपाली सिनेमाको नवलहरलाई स्वीकार गर्न दर्शक एक हुँदैनन्, नेपाली सिनेमाले नयाँ बाटो खन्न धेरै गाह्रो छ ।

३. सर्जकको खोजी 
फरक सिनेमाका लागि दर्शक तयार छैनन् भनेर सिनेजगत् पुरानै भद्दा सूत्र खेलाउन तल्लीन छ । हाम्रा लागि सिनेमा बनेको भए पो हेर्नु भनेर दर्शकको एउटा जमात सिनेमाको संस्कारसँग विमुख छ । ‘सिनेमा पहिले कि दर्शक पहिले’ भन्ने बहस कुखुरा र अन्डाको क्लिसे बहससँग समानन्तर हुन खोज्छ । विपरीत किनारमा उभिएका यी दुई वर्ग एक–अर्कामा निहुँ खोज्दा सिनेमाले हिँड्न खोजेको बाटोमा पहिरो गएको छ । वास्तवमा दर्शक र सर्जक स्वतस्फुर्त रूपमा आफैँ सँगसँगै तयार हुँदै जाने हुन् । सबैलाई एउटा सचेतनाको धागोले डोर्याउन मात्र जरुरी छ । 

सिनेमालाई कमोडिटीको सीमितताबाट छुट्याएर गम्भीर साधनाको रूपमा अंगीकार गर्ने सिनेकर्मी बिस्तारै तयार हुँदै छन् । नयाँ पुस्ताको एउटा समूह हाम्रो सिनेमाको नयाँ भाषा खोज्न लागिपरेको छ । बजारमा चलिआएका परम्पराप्रति खेद प्रकट गर्दै नयाँ बाटोको अभियानमा केही सचेत सिनेकर्मी तल्लीन छन् । सिनेमाको नयाँ स्वरूपको पक्षमा आवाज उठिरहेका छन् । तर, सिनेमाको नयाँ लहर कोर्न सचेत आवाजका शृंखला मात्रै अपर्याप्त हुन्छ । कहिलेकाहीँ कलाको नाउमा भुत्ते हतियार प्रयोग गर्दै जीवनको बोधो र निरस आरोहण सिनेमाले गर्ने खतरा पनि हुन्छ । सिनेमाको चेतनासहित सिर्जनाको खुला उडान भर्न सक्ने सर्जकको खाँचो छ । संसारका विविध कुनामा आएका सिनेमाका लहरलाई त्यहाँका सचेत सर्जकले नै डोर्याएका छन् । म्याक्मल्बफ र किओरोस्तामी नहुँदा हुन् त इरानी सिनेमाले नयाँ आयाम नभेट्दो हो । क्रिस्टी पुउ र पोरुम्बु नहुँदा हुन् त रोमानियाको नवलहर यति स्पस्ट नहुँदो हो । त्रुफो र गोदार्दको अभावमा फ्रेन्च नवलहर कागजको पुलिन्दामा गुनासाहरूमै सीमित हुँदो हो । सिनेमाको चेतनालाई सिर्जनाको गहिरो छलाङले नसोझ्याएसम्म सिनेमाको नयाँ बाटोको सपना, सपनामै मात्रै सीमित हुन्छ ।

४. राज्यको खोजी 
राज्यको सिनेमासम्बन्धी चेतना बोधो छ । बजारिया मालभन्दा माथि सिनेमाका सम्भावना कहाँसम्म पुग्न सक्छन्, राज्य बेखबर छ । बाहिरतिर सिनेमा जागरण अभियानमा राज्यले कसरी होस्टेमा हैंसे गरेको छ, उसलाई जानकारी छैन । राज्यको अलिकति सचेत अभियानले हाम्रो सिनेमालाई आफ्नो मौलिक बाटो हिँड्न धेरै सहज हुँदो हो । सिनेमालाई मनोरञ्जनको व्यापारभन्दा माथि राखेर राष्ट्रको सांस्कृतिक प्रतिबिम्बको रूपमा खडा गराउन राज्यको सचेत कदम आवश्यक छ । तर, राज्य बजारको दुःखी खेलामा रमिता हेर्दै कानमा तेल हालेर सुतेको छ । राज्यको नैराश्यले सिनेमाले सही परिभाषा भेट्न सकेको छैन । राज्यको अकर्मण्यताले सिनेमाले तय गर्न खोजेको बाटोमा बीचैमा सुतेको साँपले झैँ प्रतिरोध गरेको छ । 

५. समीक्षाको खोजी 
आजभोलि सिनेमाबारे बोल्ने प्रथा जतासुकै झांगिएको छ । अनगिन्ती उम्रिएका श्रव्यदृश्य माध्यम र पत्रपत्रिकाले हलमा जेनतेन पुगेका सिनेमाको घाँटी निमोठिदिन्छन् । कटु आलोचनाको सुइरो रोपेर आत्मरतिमा रमाउँछन् । सिनेमालाई लिएर यतिबिघ्न बहस आकासिनु पक्कै सुखद कुरा हो । तर, कुनै सैद्धान्तिक दृष्टिकोण र स्पष्टताको अभावमा थुप्रै बहस कर्मकाण्डमै सीमित छन् । समीक्षकका अपूरा ज्ञान र दृष्टिकोणबीचबाट नेपाली सिनेमाले गन्तव्य नभेटेर धर्मराएको छ ।
संसारभरि सिनेमामा स्थापित भएका थुप्रै नवलहरको नेतृत्व सिनेमाका समीक्षकले गरेका छन् । यथास्थितिका सिनेमालाई गाली गर्दै सिनेमाले हिड्नुपर्ने बाटोको दिशानिर्देश गर्ने जिम्मेवारी सिने समीक्षकको काँधमा हुन्छ । उनीहरूले गरेको आलोचना र देखाएको बाटोलाई अंगीकार गर्दै सम्पूर्ण सिनेजगत् एउटा स्पष्ट बाटोमा हिँड्ने सम्भावना रहन्छ । तर, हाम्रोतिरका अधिकांश समीक्षकमा त्यो आत्मबोध छैन । विदेशी मूल धारका समीक्षा परम्परालाई अंगीकार गर्दै उनीहरू यथास्थितिको मलजल गर्छन् । कति समीक्षकले त त्यही सूत्रीय परम्पराका सिनेमा सर्जक बनेर आफूलाई विलय गराएका छन् । केही थोरै समीक्षकले गरेको कर्मबाहेक यहाँ च्याउझैं उम्रिएका अनगिन्ती समीक्षकहरू, गाईको ठाउँमा गाई पैसा राख्ने कर्मकाण्डमा नै सीमित छन् । अतः सिनेमाको स्वरूप र सौन्दर्यको गहिरो ज्ञानसहितको समीक्षा परम्पराको खोजी गर्नुपरेको छ, जसले गति हराएको, मति पनि हराएको, धर्मराएको, हाम्रो सिनेमा जगत्लाई स्पष्ट बाटो देखाउने कर्म गरोस्।

संक्रमणको विचलनमा गुज्रिएको हाम्रो सिनेमालाई केही सचेत प्रयासले यसको मौलिक स्वरूप खोज्न सजिलो हुनेछ । होइन भने विचलनको भुमरीमा हराएर कुनै गन्तव्यहीन यात्राझैँ हाम्रो सिनेजगत् अप्ठ्यारो बाटोमा बरालिइरहनेछ । यिनै गैँची र बेल्चाहरू खोजेर बाटो खन्न सकियो भने नेपाली सिनेमाले आफ्नो मौलिक स्वरूप र सौन्दर्य भेट्ला । होइन भने हाम्रा भ्रमित सिनेमाहरू जीवन र जगत्को गम्भीर कथ्यहरू कुँद्ने बाटोमा लाग्न धेरै गाह्रो छ । पलायनवादको उत्कर्षमा पुगेर हाम्रो सिनेमाको सौन्दर्य समाप्त हुने खतरा ज्यादा छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार