कवि सुमिनाद्वारा लिखित ‘बागी स्त्रीको आत्मकथा’ पहिलो कवितासंग्रह प्रकाशित भएको छ । सायद यो वर्षको महिला हस्ताक्षरमध्ये यो एउटा अत्यधिक चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कवितासंग्रहमा कविले मुख्यतः महिलाका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि भन्न सकिन्छ । तर, यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आममहिलाको जीवनसित सम्बन्धित रहेको र आममहिलाको जीवनलाई प्रतिनिधित्व गरेको छ । महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दै मुख्यत पुँजीवादी समाजमा हुर्के–बढेका महिलाको चित्रण साथै उनीहरूको व्यथा–कथालाई वाणी दिएको छ ।
महिला सदासर्वदा पुरुषद्वारा शोषित–पीडित रहेको कुरा भने साँचो होइन । आदिम साम्यवादी, दास, सामन्ती, पुँजीवादी, समाजवादी तथा साम्यवादी युग गरी समाजलाई मार्क्सले मुख्यतः ६ युगमा विभाजित गरेका छन् । यी विभिन्न युगमा महिलाको स्थान र अवस्था एकै थिएन । समाजको विकास मातृसत्तात्मक समाजबाट भएको हुँदा त्यतिवेलाको समाजमा परिवारका सर्वेसर्वा महिला नै हुन्थे, पुरुष महिलाका अधीनमा हुन्थे । घुमन्ते आदि साम्यवादी युगको समाप्तिपछि मानिसहरू एक ठाउँमा बसेर खेतीपाती र पशुपालन गर्न थाले । यसरी व्यक्तिगत सम्पत्तिको उदयपछि खेतीपातीमा पुरुषकै स्वामित्व हुँदा महिलाभन्दा पुरुष बलिया भए यसरी नै पुरुषप्रधान समाजको प्रारम्भ भयो । त्यसवेलादेखि आजका दिनसम्म जेजति परिवर्तन भए पनि मूलतः पितृसत्तामक समाजमा उल्लेखनीय परिवर्तन भने भएको छैन ।
‘बागी स्त्रीको आत्मकथा’ काव्यपुस्तकले मुख्यतः पुँजीवादी समाज महिलाको स्थिति र अवस्थाको चित्रण गरेको छ । सुमिनाले आफ्ना कवितालाई आठ खण्ड, आठ उपशीर्षकमा विभाजित गरेकी छिन् । समग्रमा पुस्तकले विभिन्न दिशा र कोणबाट बागी स्त्री को विचार, भावना र कल्पनालाई प्रतिबिम्बित गरेको छ । यस संग्रहको पहिलो कविता हो ‘जंगली फूल’ जसमा बागी स्त्रीले आफूलाई बागी भएको अभिव्यक्ति जंगली फूलको उपमाबाट प्रकट गर्दछे ।
मलाई थाहा छैन
बगैँचाका अनुशासन
पालना गर्दिनँ म मालीका विधान
म त स्वाभिमानी पहराछेउ निर्भीक फुलेकी
एक जंगली फूल ।
जंगली फूलले आफूमा भएका काँडालाई प्रतिरक्षाका हतियारका रूपमा यसरी चित्रण गरेको देखिन्छ । ‘नचाहेर पनि क्रूर संसारसँग भिड्न काँडा उमार्नु आवश्यक हुन्छ ।’ वास्तवमा यो बोली जंगली फूलको भए पनि बागी स्त्रीको हो भन्ने कुरामा कुनै सन्देह छैन । व्यक्तीकरण गरेर लेखिएको यस कविताले परिस्थितिले नै कुनै पनि स्त्री वा व्यक्तिलाई विद्रोही बनाउँछ भन्ने सामाजिक तथा मनोवैज्ञानिक सत्यलाई उद्घाटित गर्दछ । यस कविताले वर्डस्वर्थको लुसी कविताको सम्झना गराउँछ । फरक यही छ लुसी बागी स्त्री नबनी बिलाउँछे । आफ्नो अस्तित्व गुमाउँछे ।
क्रान्तिजस्तो गम्भीर विषयलाई पनि फेसनको रूपमा लिने क्रान्तिकारी रोमान्सवादको विडम्बनापूर्ण अवस्था र चरित्रप्रति व्यंग्यबाणले प्रहार गर्न पनि पछि पर्दिनन् सुमिना । क्रान्ति जपपाठ लगाएर वा मन्त्र पढेर सम्पन्न हुने कुरा होइन । यो सही सिद्धान्त सही व्यवहारका आधारमा मात्र प्राप्त गर्न सकिने कुरा हो ।
त्यसैगरी, कविता ‘बागी स्त्रीको आत्मकथा’ले प्रतिकूल परिस्थितिले व्यक्तिलाई बाध्यतावश विद्रोही बनाउँछ भन्ने कुरा प्रस्ट्याउँछ । इब्सनको पुतलीघर नाटकमा नोराले आफ्नो अस्तित्वका लागि सडकमा गएको देखाइएको छ । त्यो पनि बागी स्त्रीको आत्मकथा हो । तर, त्यो विकल्पविनाको विद्रोह हो । सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’मा विद्रोह क्रान्ति विकल्पसहितको छ । यस अर्थमा यो एक कदम अघि छ ।
आँधी बन्न अभ्यस्त मान्छे कवितामा कविले आँधीको सामना आँधी भएर नै गर्न सकिन्छ भन्ने यथार्थ तथा प्रगतिवादी विचार व्यक्त गरेकी छिन् । बिघ्नबाधा पन्छाउँदै लक्ष्यतिर अघि बढ्ने उनको दृढता म भत्काउन अभ्यस्त छु कवितामा बुलन्द भएर अभिव्यक्त भएको छ । आकृति कवितामा महिला आफ्नो अधिकार र अस्तित्वका लागि संघर्षरत भएको कुरा प्रतिबिम्बित भएका छन् । फ्रान्सका क्रान्तिकारी विचारक रुसोले भनेका थिए, ‘मान्छे स्वतन्त्र जन्मिन्छ, तर उसले आफूलाई चारैतिर बन्धनमा जेलिएको पाउँछ ।’ कवि सुमिनाका पनि यस्तै विचार मुखरित भएका छन् कविता स्वतन्त्रताको फिरादमा !
खण्ड २ तानाशाह उपशीर्षकसम्म आइपुग्दा भने कवि महिला मुक्तिका विचारबाट बाहिर आएर शोषण–दमनमा आधरित वर्गीय समाजको चित्रण प्रस्तुत गर्दै मजदुर वर्गको पक्षमा उभिन्छिन् । शासक वर्गको अगाडि रोएर केही हुनेवाला छैन । संघर्ष गरेर नै अधिकार प्राप्त गर्न सकिन्छ भन्ने कविको वर्गीय विचार पनि उक्त खण्डमा व्यक्त भएको छ । आधुनिक तानाशाह कवितामा चारित्रिक विशेषता छताछुल्ल हुनुको साथै दासताबाट माथि नउठ्ने ‘दास मनोवृत्तिको’ पनि उल्लेख गरिएको छ । प्राचीनकालको दास विद्रोहको प्रसंग कोट्याउँदै ग्लाडिएटरको रूपमा खडा गरिएको विद्रोही स्पार्टाकसको नाम यसरी उल्लेख गरिन्छ कवितामा :
किनकि आजका दासहरू
स्पार्टाकास होइनन् ...
मान्छेहरूले आफ्नो दुःख–पीडाबाट मुक्ति पाउन ईश्वरको नाम गुहार्ने ढुंगाको मूर्तिको यथार्थपरक चित्रण हो ‘खै त्यो को थियो’ नामक कविता । प्रतिक्रियावादी शक्ति र सत्ताले चेतना वा विद्रोहको उज्यालो निभाउन खोज्दछ । तर, चेतना वा विद्रोहको उज्यालो एक फिलिंगो हो जसले सारा जंगल जलाउन सक्ने शक्ति राखेको हुन्छ । यस्तो विचार र भावना व्यक्त भएको पाइन्छ सुमिनाको फिलिंगो कवितामा !
त्यसैगरी, खण्ड ३ मा पनि पुराना कुराले समाजलाई अग्रगामी परिवर्तन गर्न नसक्ने हुनाले नयाँ कुरालाई लागू र स्थापित गर्न यस्तो ग्रन्थ निर्माण गरौँ भन्ने सन्देश दिँदै कविता लेखेकी छिन् । वर्ग भेद मात्र होइन, जातजाति भेदले विभाजित भएको अन्धविश्वास र अन्धपरम्परामा आधारित समाजमा शिल्पकार कालिगड सम्मानित हुनुपर्नेमा उल्टै उपेक्षित रहनुपरेको अवस्थाको उजागर र विरोध जनाउँदै सुमिना यक्ष प्रश्न कवितामा विभेदकारी समाजप्रति यक्ष प्रश्न तेस्र्याउँदै भन्छिन् :
सोध तिम्रा देव, घर,
मन्दिर र महलसँग सोध
सुनको जलपमा सजिएका
देवी, देवता र ईश्वरसँग सोध
को हो त्यसको निर्माता ?
को हो कालिगड ?
क्रान्तिजस्तो गम्भीर विषयलाई पनि फेसनको रूपमा लिने क्रान्तिकारी रोमान्सवादको विडम्बनापूर्ण अवस्था र चरित्रप्रति व्यंग्यबाणले प्रहार गर्न पनि पछि पर्दिनन् सुमिना । क्रान्ति जपपाठ लगाएर वा मन्त्र पढेर सम्पन्न हुने कुरा होइन । यो सही सिद्धान्त र व्यवहारका आधारमा मात्र प्राप्त गर्न सकिने कुरा हो । तर, क्रान्तिमा लागेका कैयौँ नेता क्रान्तिकारी सिद्धान्त तथा क्रान्तिको सही बाटो छोडेर प्रतिक्रियावादीको अगाडि घुँडा टेक्दै क्रान्तिलाई गुमराह गर्दा पनि कति कार्यकर्ता बेखबर रही क्रान्तिको सिद्धान्तलाई धर्मग्रन्थजस्तै जपेर क्रान्तिको सपना देखेर बसेको अवस्थामाथि उनी कविता लेख्छिन् । शम्बूकजस्तो शूद्रले तपस्या गर्यो भनेर रामले उसको हत्या गरिदिएको सन्दर्भलाई उपमाको रूपमा प्रयोग गर्दै सुमिना भन्छिन्– अबको युगमा शम्बूक जागिसकेका हुनाले उनीहरू हिसाब–किताब मिलान गर्न अघि बढिसकेको अवस्थामा उनीमाथि हिजोको इतिहास दोहोर्याउन सम्भव छैन । यी कुरा सुमिना यसरी व्यक्त गर्दछिन् आफ्नो कविता शम्बूकहरूमा :
शम्बूकहरू तिम्रो धर्मको ज्यादती छोप्न
बलि चढाइएका सिकार मात्रै होइनन्
नृशंस र अत्याचारविरुद्ध बोल्ने हुँकार हुन्
हजारौँ वर्ष पुराना अपमानहरूको हिसाब माग्न
तिम्रो ढोँग र पाखण्डविरुद्ध औँला उठाउन
शम्बूकहरू निरन्तर जन्मिरहनेछन् ।
शासकवर्ग कविलाई गुलाबको फूल, इन्द्रेणी, अप्सराका पाउजु, मधुमासका कविता लेख्ने दबाब दिइरहेको हुन्छ । उसलाई विचार र चेतनाका कविता मन पर्दैनन् । तर, स्वर्गबाट मनुष्य जातिको हितका लागि आगो चोरेर धरतीमा ल्याउने ग्रिक मिथको विद्रोही पात्र प्रमिथसको बिम्ब प्रयोग गर्दै कविले आफूले त्यस्तो कविता नलेख्ने जवाफमा भन्छिन् :
कविता शरीर होइन चेतना हो, विचार हो
नष्ट हुँदैन कविताको सामथ्र्य
बेथितिको साम्राज्यमा बोकेर विचारको लल्कार
कवितामा बलिरहन्छ युगौँसम्म
प्रमिथसको ज्वाला ।
स्वर्ण पिँजडा, बदलिएको सौन्दर्यचेतजस्ता कविताले पुँजीवादी समाजले सौन्दर्यको नाममा महिलालाई गुडिया बनाउन खोज्छ महिलाले पनि पुरुषको सन्तुष्टिका लागि फेसन गर्नुपर्ने बाध्यता रहन्छ भन्ने कुराको पर्दाफास गर्दै त्यसप्रति विद्रोह बोलेको विचार र भावना व्यक्त गरिएका छन् । हिजोका दिनमा नर्वेका क्रान्तिकारी नाटककार इब्सनले पनि यसरी नै बचपनमा महिला बाबुको इच्छाअनुसारका र विवाहपश्चात् पतिको चाहनाअनुसार पहिरन गर्नुपर्ने कारणले विद्रोह गरेर सडकमा गएको दृश्य देखाइएको छ । यो विद्रोह विकल्पविनाको विद्रोह भए पनि त्यतिवेलाको समयमा एक कदमअघिको विद्रोह थियो । केही कविता, वियोग र प्रेममा आधारित छन् यी कतै निराशावादी छन् भने कतै आशावादी ।
समग्रमा यो कवितासंग्रहमा महिला मुक्तिका स्वरसँगै जात व्यवस्थाविरुद्धको आवाज श्रमिकको पक्षमा वर्गीय विचार र आजको पुँजीवादी बजारको चित्र पनि उत्तिकै जोडदार उठेको छ । यस संकलनमा परेका प्रायः धेरै कविताले कुनै न कुनै रूपमा शोषण–दमनमा परेका महिलाका पीडा प्रकट गर्नाका साथसाथै उनीहरूलाई संगठित भई अधिकार प्राप्तिका लागि आवाज उठाउने र संघर्ष गर्ने सन्देश दिँदै महिला मुक्तिको गोरेटो पनि देखाउँछन् ।
यद्यपि, बढी महिलाका स्वर उठाउँदा महिलावादी बन्न सक्ने खतरा भए पनि उनले लिएको बाटो सही भएकाले त्यसबाट जोगिने प्रशस्त ठाउँ छ । फेरि उनको अन्तिम कविताले त्यसको संकेत पनि दिन्छ । वास्तवमा समाजमा महिला पुरुषसित वर्गीय युद्धमा काँधमा काँध र कलममा कलम मिलाई अघि बढेमा मात्रै महिला मुक्ति सम्भव छ । महिला मुक्तिको कुरा अभिन्न रूपमा वर्गीय मुक्तिसित जोडिएको कुरा हो । यो दिशा सुमिनाको कविताले समातेकै छ र अझ स्पष्ट र सशक्त रूपमा समात्दै जानेछ भन्ने अपेक्षा गर्न सकिन्छ । सुमिनाले आफ्ना गद्य कवितामा बिम्ब प्रतीक आदिको प्रभावकारी प्रयोग गनुका साथसाथै ठाउँ–ठाउँमा सरल भाषामा पनि आफ्ना विचार र भावना पोख्न सक्ने खुबी देखाएको पाइन्छ । यसै अर्थमा काव्यमा उनको भविष्य उज्ज्वल रहेको पनि आकलन गर्न सकिन्छ ।