ची मुसी ची

सीता तुम्खेवा सीता तुम्खेवा
शनिबार, २६ फागुन, २०८०
डिजिटल संस्करण

‘ची मुसी ची
मुसाले खायो धान !’
खेल्दाखेल्दै भाइले भनेथ्यो–
‘ठूलो भएसी तिमी र म 
पिलेन चढेर काठमान्डू घुम्न जाने, 
अघाउन्जी थुक्पा र मम खाने !’


 
हिजो साँझ 
मुख मिठ्याउँदै निदाएथ्यो मेरो भाइ
आफ्नै हातको सिरानी बिछ्याएर ।

जसै भाइ निदायो,
थर्थरी काम्न थाले धर्तीसँगै
भाइका सपना
र, सोहोरिए भुइँमा गल्र्यामगुर्लुम !

धर्ती माथि उठेजस्तै
सिंगै आकाश खसेजस्तै
बन्द भए मेरा आँखा ।
ब्युँझिँदा देखेँ, 
भुइँमा छरपस्ट छरिएका भाइका सपनाहरू 

लाग्यो– 
‘म एक बीभत्स सपना देखिरहेको छु ।’

त्यसो त, 
घुर्यानको गरामा प्रधानमन्त्रीको हेलिकोप्टर बस्नु
सरकारी राहत कोष
फलाना समाज कोष 
एनजिओ, आइएनजिओको पसल बिछ्याइनु
थरीथरी पार्टीका रंगीन झन्डाहरू फहर्याउँदै 
आँगनमा हाट लाग्नु– ‘सपनै त हो ।’
मन्त्रीको मुखबाट निस्किरहेको हावाको मुस्लो
राहतको पोकाभन्दा धेरै एसएलआरका फ्ल्यास लाइट
पोलिथिनका पोकामा तेर्सिएका दर्जनौँ हात
अन्ततः
थानका थान फोटा र भिडियोहरू मात्रै फर्किएको 
यो कुरूप दृश्य 
सपनाभन्दा कम कहाँ छ र ?

फेसबुक, टिकटक र ट्विटरभरि छरिएका
मेरा निरीह अनुहार
नेता, समाजसेवी, अधिकारकर्मीहरूको कलको रिङटोनको कर्कस
मानौँ, ‘म्याराथन प्रतियोगिता’ छ, मेरो आँगनमा

खै र, 
यतिवेला त म चिच्याइरहेको हुनुपर्ने होइन र ?
भएछु, आफ्नै रमिते ।

उठ् भाइ !
खेलौँ ची मुसी ची
फेरि अर्को मन्त्री आउँदै छ रे !
उसकै हेलिकोप्टर चढेर जाउँला काठमान्डू ।

हेर्, औँलाले कोरेर आकार दिएँ
तेरो सपनालाई !
ठ्याक्कै तेरो किताबको घामको चित्रजस्तै बन्यो
उठ् न भाइ !
सरकार फर्किसक्यो 
मस्त निदाइसक्यो सिंहदरबार पुगेर
अब फेरि ब्युँझेर अर्को भयानक विपत्ति
दौडिनेछ खण्डहर हाम्रो बस्तीमा ।

सम्पादकको रोजाइ

सुझावित समाचार