संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई मनपरेका चार पुस्तक

नयाँ पत्रिका नयाँ पत्रिका
शनिबार, २६ फागुन, २०८०
डिजिटल संस्करण

मलाई कविता, कथा र नाटक मनपर्छ । बच्चा छँदा कविता लेख्थेँ । स्कुलमा पुरस्कार पनि पाएको थिएँ । चिकित्सा क्षेत्रमा लागेपछि साहित्यमा कलम चलाउन सकिएन । म स्वास्थ्य क्षेत्रमा संलग्न भएकाले नयाँ–नयाँ विषय र खोजबारे अध्ययन गर्न रुचाउँछु । विभिन्न जर्नल पढ्छु । तर, नेपाली कथा, कविता तथा लेख पनि पढिरहन्छु । इतिहास पढ्नमा पनि उत्तिकै रुचि लाग्छ । हेल्थ जर्नलहरू पढ्नमा रुचि जगाउन पनि मेरो विद्यालयदेखिको साहित्य पढ्ने बानीको प्रभाव कहीँ न कहीँ छ भन्ने लाग्छ । 
 

 १. मुनामदन :  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ निकै मनपरेको खण्डकाव्य हो । जीवनमा पहिलोपटक पढेको पुस्तक पनि यही हो । उहाँका हरेक कविताहरू उत्कृष्ट लाग्छन् । ‘मुनामदन’ नै पहिले पढ्नुको कारण मेरो साथी पनि हो । स्कुल पढ्दा उसले ‘मुनामदन’ खण्डकाव्य नै गाउन सक्थ्यो । सरल भाषामा सबैले बुझ्न सक्ने गरी लेखिएकाले पनि यो खण्डकाव्य धेरैको रोजाइमा परेको भन्ने लाग्छ । यो महाकविकै प्रिय रचना हो । 

 २.घुम्ने मेचमाथि अन्धो मान्छे :  मनपर्ने अर्का कवि भूपी शेरचन हुनुहुन्छ । उहाँका सबै कविता मनपर्छन् । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ले त्यतिवेलाको समाजको चित्रण गरेको छ । उहाँ समाजलाई प्रभावित गर्न सक्ने कवि हो । आफू बाँचेको समाजलाई कवितामार्फत उजागर गर्न सक्ने उहाँको खुबी निकै मनपर्छ । 

 ३.मुकुन्द–इन्दिरा : मलाई बालकृष्ण सम पनि मनपर्छ । उहाँका नाटक निकै उत्कृष्ट छन् । नाटक, कविता, कथा, निबन्ध सबैमा उहाँले कलम चलाउनुभएको छ । विशेषगरी मलाई उहाँका कविता मनपर्छ । अमरसिंह, मुटुको व्यथा, मुकुन्द–इन्दिरालगायत नाटक मनपर्छ । बाल्यकालमा उहाँका नाटक रेडियोमा बज्थे । सुन्न मज्जा आउँथ्यो । 

 ४.गौरी : राष्ट्रकवि माधव घिमिरेले पनि धेरै विधामा कलम चलाउनुभयो । मलाई उहाँका कविता निकै मनपर्छन् । उहाँले राष्ट्रिय भावना जागृत गराउने कविता तथा गीत लेख्नुभएको छ । ‘गौरी’ शोककाव्य, गीति नाटक ‘मालती–मंगले’लगायत उहाँका कृति विशेष मनपर्छ । ‘गाउँछ गीत नेपाली’, ‘नेपाली हामी रहौँला कहाँ’, ‘लाग्दछ मलाई रमाइलो’लगायत राष्ट्रभक्तिले ओतप्रोत गीतहरू सिर्जना गर्नुभएको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार